सगरमाथाको गौरव यदि कायम राख्ने हो भने यसको आरोहणको क्रममा केही समय बिश्राम दिनुपर्ने वा आरोहण दलको संख्या तोकेर ठोस नीतिगत व्यवस्था गर्नुपर्ने बेला भइसकेको छ ।
गजेन्द्र बुढाथोकी
सन् २०१९ को वसन्तकालीन आरोहणको मौसममा सगरमाथाको शिखरमा पुग्ने आरोहीहरूको ताँती अत्याधिक भएपछि त्यहाँ ‘मानव ट्राफिक जाम’को अवस्था आएको आरोहीहरूले सार्वजनिक गरेका तस्बिरहरूले देखाएका छन् । अत्याधिक भीडकै कारण शिखरमा पुग्न र ओर्लन आधा घण्टादेखि २ घण्टासम्म पर्खनु पर्ने अवस्था आएको आरोहीहरूको भनाइ छ । पर्यटन विभागका अनुसार मे २२ र २३ का दिन सगरमाथाको चौथो शिविर र त्यसभन्दा माथि आरोहीहरूको चाप अत्याधिक भएको हो ।
सगरमाथाको माथिल्लो शिविरमा चलेको तीव्र हावाका कारण मे २१ मा आरोहीहरू शिखर चढ्न नसकेकाले एकै पटक चाप देखिएको हो । विश्वकै सर्वोच्च शिखर सगरमाथाको आरोहणका लागि विश्वभरिकै पर्वतारोहणप्रेमीहरूको आकर्षण रहने गरेकाले यस्तो भीड बढ्नु नौलो कुरा होइन, तर आरोहण रेकर्ड राख्ने नाममा जो पनि ठेलेर, बोकेर, जोखिम मोलेर भएर पनि शिखरमा पु¥याउने र त्यहाँ अवाञ्छित क्रियाकलाप गर्ने क्रम बढेपछि अब आरोहणको व्यवस्थापनमा बेलैमा ध्यान दिइएन भने सगरमाथाको मर्यादा अब नरहला भन्ने त्रास बढेको छ । पर्यटन विभागका अनुसार यस वर्ष आइतबारसम्म नेपालका ३२ वटा हिमाल आरोहणका लागि ११६ आरोहण दलका ८९६ जनालाई अनुमतिपत्र दिइएको छ, त्यसमध्ये ४४ आरोहण दल (एक्सपीडिसन)का ३८१ जनाले सगरमाथा आरोहणका अनुमति लिएका छन् । एउटा आरोहण दलका लागि १२ देखि १५ जनासम्म सहयोगी र शेर्पा गाइडहरूको टोली हुन्छ । यस हिसाबले चालू वर्षको आरोहणको मौसममै कम्तिमा ५ हजार मानिसहरू सगरमाथाको बेसक्याम्प र माथिका क्याम्पहरूमा आधार बनाएर बसेका अनुमान छ । यो निकै ठूलो संख्या हो ।
सगरमाथा चढ्न आरोहीहरू त्यतिकै खाली हात जाँदैनन् । सिलिन्डरदेखि खानपिनका सामानसमेत बोकेर जाने आरोहीहरूले आफ्ना ७० प्रतिशत फोहर सगरमाथामै छोड्ने गरेका छन् । आरोहण दल कम्तिमा १५ दिनदेखि २ महिनासम्म बेसक्याम्पदेखि साउथकोलसम्म बस्ने गर्छ । हिमालमै रहने आरोहीहरूको मल–मूत्रको व्यवस्थापन अर्को ठूलो समस्या बन्दै आएको छ । सगरमाथामा आधार शिविरभन्दा माथि जतासुकै टेन्ट, सिलिन्डर, प्लास्टिकका टुक्रा, क्यान, झन्डा, अन्य धातुका टुक्रालगायतका फोहर देखिन थालेकै कारण कतिपय विदेशी सञ्चारमाध्यमहरूमा यसलाई विश्वकै अग्लो डम्पिङ साइट भन्न थालेका छन् ।
नेपाल र चीनको सीमामा उभिएको सगरमाथा दक्षिणी अर्थात् नेपाली मोहडाबाट मात्र नभइ उत्तरी अर्थात् तिब्बती मोहडाबाट पनि आरोहण गरिन्छ । तर, नेपाली मोहडाबाट जस्तो तिब्बती मोहडाबाट आरोहण अव्यस्थित छैन । सगरमाथा आरोहणलाई व्यवस्थित तुल्याउनैका लागि सन् २०१९ जनवरी १ तारिखबाट लागू हुने गरी नयाँ नियम नै तोक्यो, जसअन्तर्गत यस वर्ष सगरमाथाका सफाइकै लागि भनेर आरोहण दलको संख्या तोकिएको छ भने आगामी वर्षबाट पनि उत्तरी मोहडाबाट सगरमाथा आरोहण सहज हुने छैन, किनकी चीन सरकारले आरोहणको रोयल्टी दर पनि बढाएको छ र वातावरणीय संरक्षणका नाममा नयाँ नियमहरू थपेको छ । चीन सरकारले आरोहणको आरम्भ गर्नुपूर्व पाँच हजार अमेरिकी डलर ‘माउन्टेनिरिङ सेक्युरिटी डिपोजिट’का रूपमा राख्नुपर्ने नयाँ नियम लागू गरेको छ, जुन हिमाल आरोहणका क्रममा कुनै दुर्घटना नभएमा वा वातावरणीय क्षति नपु¥याएको अवस्थामा आरोहणबाट फर्केर आएपछि फिर्ता दिइने भनिएको छ ।
हामीले सीमित सलामी दस्तुर (रोयल्टी) आउने नाममा सगरमाथा र अन्य हिमालहरूको आरोहणलाई यति अव्यवस्थित र खुल्ला छोडिदियौं कि यी हिमालहरू साना टाकुराभन्दा पनि सस्ता भए । हाल सरकारले सगरमाथा आरोहण गर्न चाहने विदेशीका लागि ११ हजार अमेरिकी डलर (१२ लाख हाराहारी रुपैयाँ) र नेपालीका लागि ७५ हजार रुपैयाँ आरोहण दस्तुर तोकेको छ । नेपालमा रहेका ६ हजार मिटरभन्दा माथिका १३१० हिमालमध्ये ४१४ वटा हिमाल खुल्ला गरेको छ । नेपाल साहसिक पर्यटनकै कारण विश्वभरि प्रख्यात छ र यहाँका अग्ला हिमालहरू आरोहरणका लागि विश्वभरिककै आरोहीहरूको आकर्षण पनि हुने गरेको छ ।
सन् २०१८ मा कुल ११ लाख ७३ हजार पर्यटक नेपाल भ्रमणमा आएकोमा तीमध्ये ६० प्रतिशतले बिदा/मनोरञ्जन/यात्राजस्ता पर्यटकीय उद्देश्यले, १४.४ प्रतिशत तीर्थयात्रामा, १६ प्रतिशत पर्वतारोहण र साहसिक यात्राका लागि र ९.६ प्रतिशतले अन्य विभिन्न उद्देश्यले नेपाल भ्रमण गरेका थिए । प्रतिशतका हिसाबले हेर्दा पर्वतारोहण र साहसिक यात्राका लागि आउने पर्यटक केबल १६ प्रतिशत देखिए पनि यो नै नेपाली पर्यटनको मूल आधारका रूपमा रहँदै आएको छ । पर्यटन विभागका अनुसार नेपाल भ्रमणमा अएका विदेशी पर्यटकबाट सन् कूल रु ७० अर्ब ३१ करोड ७९ लाख वरावरको विदेशी मुद्रा आर्जन भएको थियो ।
संख्यात्मक रूपमा पर्यटकको आगमन २५ प्रतिशतले बढ्दा पर्यटनको आय भने केबल ७ प्रतिशतले मात्र बढेको देखिन्छ । अघिल्लो वर्ष २०१७ मा ६५ अर्ब ८०करोड ९२ लाख रुपैयाँ पर्यटन आय रहेको थियो । संख्यात्मक रूपमा पर्यटक बढेको देखिए पनि अहिले प्रतिपर्यटक खर्चदर घटेर ४४ डलरमा सीमित भएको छ भने बसाइ अवधि पनि १३ दिनमात्रै छ । मूलतः पर्यटन उत्पादनका क्षेत्रहरू विस्तार र विविधीकरण गर्न नसकेकै कारणले गर्दा नेपाल आउने पर्यटकहरूको बसाइ अवधि कम रहने गरेको र उनीहरूले गर्ने खर्चदर पनि कम भएको हो । जतिसुकै ठूल्ठूला र आदर्शका कुरा गरे पनि नेपालको पर्यटन भनेको हिमाल, पर्वत र साहसिक पर्यटनकै वरपर केन्द्रीत छ र त्यसमा मूल्य अभिवृद्धि (भ्यालु एडिसन)का श्रृङ्खला नजोड्ने हो भने हामीले पर्यटन क्षेत्रबाट अझै समुचित लाभ कमाउनै सक्दैनौं ।
पर्वतारोहण दल र पर्वतारोहीहरुको स्थिति हेर्दा सन् २०१७ मा पर्वतारोहण दलको संख्या १ हजार ७९८ रहेकोमा सन् २०१८ मा १ हजार ९१० पुग्यो भने पर्वतारोहीहरूको संख्या भने ८ हजार २ सय ६ बाट बढेर ८ हजार ६ सय ४१ पुगेको देखिन्छ । यसबाट प्राप्त रोयल्टी अघिल्लो सोही अवधिको तुलनामा करिव ९ करोडले मात्र बढेर सन् २०१८ मा ५८ करोड १४ लाख ४३ हजार ८४० रुपैयाँ पुग्यो । पर्यटन विभागका विवरणअनुसार यस वर्ष (२०१९)को वसन्त ऋतुमा ३२ वटा हिमाल आरोहणका लागि ११६ आरोहण दलका ८९६ पर्वतारोहीलाई अनुमति दिइँदा ४९ करोड ६० लाख रुपैयाँ रोयल्टी आर्जन भएको छ ।
पर्वतारोहण दल र संख्या | ||||
वर्ष | पर्वतारोही दल संख्या | पर्वतारोहीको संख्या | सामयिक रोजगारी | सरकारलाई प्राप्त रोयल्टी रकम रु. ‘०००’ |
२००४ | १२८ | ९४० | ६३६ | १५६२.४० |
२००५ | १३३ | ९८६ | ४३४४ | १४५६.१२ |
२००६ | १६२ | ११२८ | ४८४३ | १६९८.३० |
२००७ | २०२ | – | ८०८० | २३९४.२६ |
२००८ | १६२ | १००९ | ९८७ | ३५४.२६ |
२००९ | २३६ | १५१९ | २५९८ | २८४१२३.०० |
२०१० | २६९ | १९४२ | २२०२ | २१६५६०.०० |
२०११ | २५९ | १९५१ | २६१६ | २३२५३२.०० |
२०१२ | ३०० | २५६६ | १९३८ | ३४५१६१.०० |
२०१३ | २९६ | २२६६ | २८७४ | ३४०८२१.०० |
२०१४ | ३२० | २५०० | २४५० | ३९०१८०.५६ |
२०१५ | ३८० | ४००३ | १६२१ | ३३६७४५.७५ |
२०१६ | २७८ | १९८१ | ९८२ | २५५७४४.७० |
२०१७ | १७९८ | ८२०६ | १६७२ | ४९०१९१.०० |
२०१८ | १९१० | ८६४१ | १८०० | ५८१३७५२.०० |
एकै वर्षमा साढे ८ हजारभन्दा बढी पर्वतारोहीहरू नेपालका हिमाल आरोहणका लागि धुइरिनु चानचुने कुरा होइन, करिब एक दशकअगाडि यो संख्या सबै गरी करिब एक हजारको हाराहारीमा मात्रै थियो । हिमालयन डेटाबेसका अनुसार सन् १९५० देखि २०१८ का बीचमा १२ हजार ७२५ जनाले सगरमाथा आरोहणका प्रयास गरेकोमा ४ हजार ७२४ जनाले सफल आरोहण गरिसकेका छन्, तीमध्ये महिला आरोहीहरूका संख्या ६०२ छ । कुल आरोहीमध्ये २ हजार ८५६ जना शिखरसम्म पुग्न सकेनन भने झन्डै २५ सय आरोहीहरू चौथो शिविरबाटै फर्किए । यस वर्ष गत बुधबार (जेठ ८ गते)सम्म थप ४५० आरोहीहरू सगरमाथाको शिखरमा पुगिसकेका छन् ।
आरोहण त्यति सजिलो छैन, सगरमाथा आरोहरणका क्रममा सन् २०१८ सम्म २९५ जनाको मृत्यु भएकोमा यस वर्ष थप १० जना आरोहीको मृत्यु भएको छ । हिमालयन डेटाबेसका तथ्यांक विश्लेषणबाट के देखिन्छ भने सगरमाथामा आरोहीहरूको मृत्युको कारणहरूमा पहिलो नम्बरमा खसेर, त्यसपछि आरोहणका क्रममा चिसोले कठांग्रिएर (एक्युट माउन्टेन सिकनेस– एएमएस), हिम पहिरो र मौसमका कारण तेस्रो कारक हो । यस्तै, अर्को कारक हिउँका चिसोले शरीरका भित्री अंगले काम नगरेर, अकस्मात मुटुले काम नगरेर (एएमएसभन्दा फरक किसिमका समस्या)ले, थकावट र तन्द्रा, आइफल खसेर, अक्सिजन सकिएर, बाटो भुलिएर, खर्भासमा खसेर र हराएर आरोहीहरूको मृत्यु हुने गरेको छ । सगरमाथामा मृत्यु भएका ३ सय आरोहीहरूमध्ये अधिकांशको शव अहिले पनि त्यही हिमालमा छ, जुन प्राविधिक र कानुनी समस्याका कारण ल्याउनै सकिएको छैन ।
सगरमाथाको गौरव यदि कायम राख्ने हो भने यसको आरोहणको क्रममा केही समय बिश्राम दिनुपर्ने वा आरोहण दलको संख्या तोकेर ठोस नीतिगत व्यवस्था गर्नुपर्ने बेला भइसकेको छ । अनेकन रेकर्ड राख्ने नाममा आरोहीहरूको मृत्यु हुँदा देश नै बदनाम हुने हो, त्यस्तो अवस्थामा केही हजार डलरको रोयल्टीले त्यो क्षतिपूर्ति भर्न सक्दैन । यसै पटक पनि १० जना आरोहीका मृत्यु हुँदा अन्तर्राष्ट्रिय सञ्चार माध्यममा भीडका कारण भएको मृत्यु भन्न थालिएको छ । सगरमाथाको आरोहणका क्रममा यसलाई व्यवस्थित गर्ने उपाय हो, आरोहणका लागि प्राप्त हुने रोयल्टी दर बढाउने र फोहर नियन्त्रणका लागि कडा नीतिगत व्यवस्था गर्ने । सगरमाथा सफाइका लागि हाल चालिएका केही गतिविधि पर्याप्त छैन, न त त्यहाँको फोहरलाई व्यवस्थापन गर्ने उचित संरचना नै छ । तिब्बततर्फको सगरमाथाका फोहर प्रशोधन गर्ने संयन्त्र नै बनाइसकिएको समाचार आएको छ, त्यो मोडल नेपालले पनि अनुशरण गर्नुपर्छ वा यसका लागि चीन सरकारसँगै सहकार्य गरेर सगरमाथा सफाइका लागि विशेष अभियान चलाउनु अपरिहार्य छ ।
र, अन्यमा
हालैमात्र नापी विभागको सगरमाथा मापन टोली सर्वोच्च शिखरमा पुगेर जीपीएस जडान गरेर आएको छ । प्रारम्भिक आँकलनले हालसम्म भनिइदै आइएको ८८४८ वा ८८५० मिटरका दुवै विवरणभन्दा फरक नतिजा देखाएको छ । नापी विभागले विभिन्न विन्दुसँग समकक्षता कायम गरि वैज्ञानिक आधारमा सगरमाथाको वास्तविक उचाइ सार्वजनिक गर्न ६ महिना लाग्ने बताएको छ, यसको खास उद्देश्य अन्तर्राष्ट्रिय रूपमा उक्त तथ्यांकलाई प्रमाणीकरण गराउनु हो । आशा गरौं, भूकम्पले बढाएको भनिएको २ देखि ४ सेन्टिमिटर (यसअघि घटाएको भनिएको थियो) हिउँका थुप्रोमात्र नहोस् ।
कारोबार दैनिक, १४ जेठ २०७६