खुद्रा पैसाका निक्षेप लिँदैनन बैंकहरू

नेपाली मुद्राको चलनचल्ती बढाउने ऐन-२०१४ अनुसार नेपालमा नेपाल राष्ट्र बैंकद्वारा जारी सबै दरका मुद्राहरू कानुनी रूपमा ग्र्याह्य (लिगल टेन्डर) हुन्, सोही कारण प्रत्येक नोटमा “नेपाल सरकारको जमानत प्राप्त यसको रूपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रू…  पाइने छ” लेखिएको हुन्छ ।

राष्ट्र बैंकले बिनासुरक्षण नयाँ मुद्रा जारी गर्न पाउँदैन, अन्तरराष्ट्रिय मुद्रा कोषमा सुरक्षणबापत सरकारले सुन र अन्य सम्पत्ति राखेको हुन्छ ।  सरकारले विशेष कानुन बनाएर चलनचल्तीबाट हटाएकोबाहेक राष्ट्र बैंकद्वारा जारी प्रत्येक पैसाका समान मूल्य हुन्छ । तर, नेपालका बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्र बैंकद्वारा जारी गरिएकै साना दरका नोट निक्षेपमा स्वीकार्दैनन भन्दा तपाई‌लाई आश्चर्य लाग्नसक्छ ।

“हामी त वाक्कदिक्क भइसक्याैं, निजी बैंकहरू त परै जाउन्, कृषि विकास बैंक, (राष्ट्रिय) वाणिज्य बैंकले समेत यस्तो पैसा लिएर नआउनुस् भनेर निक्षेप स्वीकार्दैनन,” ताैलिहवाका टंकप्रसाद शर्माले भन्नुभयाे, “१-२का सिक्का मात्र होइन, ५-१० का नोटसमेत यहाँका बैंकहरूले लिन मान्ने गरेका छैनन ।”

ताैलिहवाकाे चन्द्रघण्टा दुर्गा मन्दिरमा हरेक १०-१५ दिनमा जम्मा हुने खुद्रा पैसा बैंकले लिन नमानेका हुन् । सरकारी स्वामित्वको कृषि विकास बैंकले खुद्रा पैसाका निक्षेप लिन नमानेपछि निजी क्षेत्रका ग्लोबल आइएमइ बैंकमा जाँदा सो बैंकले समेत खुद्रा पैसाका निक्षेप लिन नमानेको उहाँले बताउनु भयो ।

“बैंकहरूले लिन नमानेपछि स्थानीय बनियाँलाई सस्तोमा बेच्ने गरेका छाैं, पैसाका पनि मूल्य नहुने दिन आउँदा रहेछन्,”शर्माले गुनासो गर्नुभयो ।

यस सन्दर्भमा प्रतिक्रियाका लागि सम्पर्क गर्दा कृषि विकास बैंकका प्रवक्ता हिमलाल पाैडेलसँग सम्पर्क हुनसकेन भने सोही बैंकका अर्का अधिकारीले आफू सम्बन्धित अधिकारी नभएकाे भन्दै नाम उल्लेख गर्न अस्वीकार गर्दै सानो पैसा गन्न गाह्रो हुने भएकाले निक्षेप नलिएको हुनसक्ने बताए ।

“यो समस्या ताैलिहवामा कृषि विकास बैंकको शाखामा मात्र नभएर देशभरि नै देखिएको छ । यसबारे नेपाल राष्ट्र बैंकले नै स्पष्ट नीति निर्देशन जारी गर्नुपर्छ,” ती अधिकारीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *