व्यंग्यः चम्चा माहात्म्य

-अर्थमिस्त्री-

यतिखेर यत्रतत्र चम्चाहरू चमक–चमक चमकिदैछन्, यो चम्काइको चालमा पनि चतुर्‍याइ छ । चलाख चम्चाहरू आफ्नो मूल भाँडालाई बचाउन बजाउँदैछन्, चाकर चम्चाहरू अर्काको भाँडा थोत्रो भन्दै डाङडाङ डुङडुङ पार्दैछन् । वास्तवमा यी चम्चाहरूको चक्कर भनेको चोकन हात पार्नमात्रै हो ।

चम्चाहरू पनि थरिथरिका हुन्छन्, कोही चम्चाहरू चाकर हुुन्छन्, कोही चण्डाल, कोही चतुरे । चैते चम्चाहरू जता मिठो चाखन पाइन्छ, त्यतै कुदिरहेका हुन्छन् । चकचके चम्चाहरूको कामचाहिँ उप्रदो गर्नेमात्रै हुन्छ । चटके चम्चाहरू दलका सभासम्मेलन, अधिवेशन, महाधिवेशनका बेला खुवै देखिन्छन् । केही चम्चाचाहिँ निकै चण्ड हुन्छन्, उग्ररूपमा हमला गर्नु तिनको काम, कर्तव्य र अधिकारभित्रै हुन्छ । धेरैजसो चम्चाहरू चौथी ताकेर बसेका हुन्छन् । चनमते चम्चाहरूका कामचाहिँ पार्टी र तिनको भातृ संगठनभित्र राम्रा–राम्रीहरू खोज्नु, तिनलाई आँखा लगाउनुमात्रै हुन्छ ।

अर्काथरि चम्चा भनेकाचाहिँ चपरासीमात्रै हुन्छन्, पार्टी कार्यालयको कुर्सी मिलाउनु, कार्यक्रमहरूतिर झन्डासन्डा, ब्यानर टाँस्नु, प्लेकार्ड मिलाउनु तिनको मुख्य काम हो ।

Chamcha
Chamcha

केही चम्चाहरूचाहिँ चर्तुमुखी हुन्छन्, आफूलाई यसरी प्रस्तुत गर्छन्– मानौ तिनले नजानेको केही नहोला । तिनकै पछि लागेर चल्ला चम्चाहरू पनि आफूलाई चहकाउने प्रयास गरिरहेका हुन्छन्, तर तिनको चम्काइ चिचिलै हुन्छ, तिनलाई उपल्लो तहको चम्चाले हप्कीदप्की गर्ने वित्तीकै चाइचुँइ बन्द हुन्छ ।

कुरा चपाइ चपाइकन बोल्ने चम्चाहरू चप्काउनमा निकै माहिर हुन्छन् । एकथरि चम्चाहरू चमेनागृह वरिपरिमात्रै देखिन्छन्, तिनको काम भातका चपरी लडाउनेमात्रै हुन्छ ।

चम्चाहरूको मुख्य काम चन्दा उठाउनेबेलामा बढी देखिन्छ, चप्पल लगाएर पार्टीमा छिरेका कतिपय चम्चाहरूले चन्दा उठाएरै चाँदमहल जोडिसकेका छन् । चम्चाको चयन गर्दा तिनका भान्छले पनि निकै ख्याल गरेका हुन्छन् । आफ्नो भागमा भोग बढी लगाउने चम्चाको छनोट तिनको प्राथमिकतामा परेको हुन्छ ।

चमेरे प्रवृत्तिका चम्चाहरूचाहिँ चुनावका बेला देखिन्छन् । केही चम्चाहरू चमत्कारी पनि हुन्छन्, योग,रोग, भोगमा तिनले महारथ हासिल गरेका हुन्छन् । जन्मजात चम्चाहरूको चमडी निकै मोटो हुन्छ, गैंडालाई पनि तिनले माथ खुवाउँछन् ।

अर्काथरि नवचमत्कारीहरू पनि अहिले थपिएका छन्  । गोंगबु बसपार्कतिर एउटा चटकी बस्छ, अनेकथरि चटक देखाउँछ, लास्टमा एउटा ओखती निकाल्छ, खासमा त्यो ओखती पनि के हो उसलाइ पनि थाह नहुन सक्छ । अनि भन्छ, पिनासले टाउको दुख्यो कि नेताका भाषणले चतुरे चम्लागाइँको हल्लाउँदै सुघाउँदै । हो, यस्तै चतुरे चम्लागाइँ मार्काका चमत्कारीहरूको चहलपहल बढेको छ । चम्किलो  चित्रमा चिच्याउँदै हिड्ने यस्ता चमत्कारीहरूका पनि चम्चा बढेका छन् । चमत्कारी चाचाहरूका लागि केही चस्स कसैले चुहाउनै हुँदैन, चिथर्न आइ पो हाल्छन् ।

यतिखेर चम्चाहरू चरक्क चिरिएका छन्, एक दलका चम्चाले अर्को दलको चम्चालाई चड्काउँला झैं गरिरहेका छन्, तर तिनीहरू भुस्याह कुकरजस्तै मात्रै हुन् । साँच्चै भिडन्त भयो भने चम्चाहरू पहिल्यै चम्पत हान्छन् ।  हिजो चिरिएका दलका चम्चाहरू भने एकअर्कालाई चाट्दै छन् । चम्चाहरूको चुर्तिफूर्ति यस्तै बेलामा देखिने हो । केही चम्चाहरूचाहिँ अहिले चुर्ना परेकोझैं भएका छन्, चाक चहर्‍याएपछि चकटीमा चलमलाउँदैछन् । केहीथरि चम्चाहरूको घमण्ड भने अहिले चकनाचुर भएको छ, चउरमा बसेर चुक चाट्दै अर्कोथरि चम्चाको आलोचना गर्नमा तिनको दिन बित्दैछ । यस्ता चम्चालाई चलाउनु हुँदैन, बोलायो चलायो कि चटारिन्छन्, यिनको चिड्चिडाहटको चपेटामा पर्ने खतरा बढी हुन्छ ।

कतिपय चम्चाहरूको चिस्र्याइँ सामाजिक सञ्जालदेखि अनलाइन खबरपत्रहरूसम्म देखिन थालेको छ । नजिकै कोही चिहिरिएको सुन्नु भयो भने त्यो पक्कै कुनै दल, समूह र कुनै नव-चमत्कारीको चम्चा हुनसक्छ ।

अर्को अर्थमा यिनीहरू आफूलाई चल्तीका चम्मा ठान्छन्, जो निकै चढिएका हुन्छन्, माउ पार्टी सत्तामा हुँदा यिनीहरू चलतापूर्जा हुन्छन्. यतिबेला यिनको चडखडी हेर्न लायकको हुन्छ । यीमध्ये केही चम्चाचाहिँ चटके हुन्छन्, अरुको चित्रमा चलखेल गरेर चलाख्याइपूर्वक चपाती चपाउन यिनीहरू खप्पिस हुन्छन् ।

चम्चाहरूको चरण मोलाइमा पनि स्वार्थ छ, चटनी चाट्न पाएन भने चम्चाहरूमा चरम असन्तुष्टि बढ्न थाल्छ, अनि चम्चाहरूबीचमै चर्काचर्की सुरु हुन्छ । त्यस्तो बेलामा एक चम्चाले अर्को चम्चालाई च्यात्ने, खुइल्याउने काम निकै हुन्छ । एकले अर्कोलाई चड्काउनेमात्र होइन, चिर्पटले हानेको समेत देखे–भोगेकै हो । हाम्रा वरिपरि चम्बलका चम्चाहरू पनि छन्, तिनको चरित्र ठ्याक्कै वीरप्पनजस्तै हुन्छ । तिनीहरू चानचुने कुरै गर्दैनन, चानसले चम्किएका चम्बलेहरू आफूलाई चतुर्मुखी नै ठान्छन् ।

अहिले चटपटे चम्चाहरूको चर्काचर्कीमा नपरिकन तिनका चर्तिकला हेर्नुमा नै बुद्धिमानी छ । चोथाले चम्चाहरूले चिथार्नेसम्म खतरा पो हुन्छ त । चम्चा चिन्न अहिले धेरै केही गर्नै पर्दैनचिरिबिरे सञ्जालमा चिहाए पुग्छ । हरेक दल र समूहका चम्चातिनका उपचम्चा र सहायक चम्चाहरूलाई यतिखेर आफ्नो मुद्दा सहीअरुको खराब भन्ने नयाँ काम आइलागेको छ। सत्ताधारीका दलका चम्चा अलि चड्खडिएका छन्, विपक्षी दलका केही चरिनङ्ग्रे, अर्काथरि चम्चाहरू छन चुर्ना परेजस्ता, अर्का विशिष्ट चम्चा छन्, चमत्कारी । चिरबिरे सञ्जालमा चम्चाहरूका कहिलेकाँही त चर्काचर्की नै पर्छ । एक चम्चाकाे माउ मुद्दामा कसैले केही चुइक्याउँनु हुँदैन, चर्को तालले चर्तिकला देखाउन पो सुरु गरिहाल्छन् त ।

चम्चाहरूले कहिल्यै चेत्दैनन, चेपुवामा परेर चोक्टिएका दिनमात्र चित्कार्छन ।

चम्चा त नभइ हुँदैन हेर्नुस् । जेमा पनि जहिल्यै पनि । उहिले चरु होम्न चम्चा नहुँदा केराका पातबाट काम चलाउँथे, आजकल स्टिलदेखि चाँदीका सम्म । त्यसैले त चम्चाहरू अजर छन्, अमर छन् । एक पुस्ताका चम्चा हराएर जान नपाउँदै अर्को पुस्ताका चम्चा चम्किइहाल्छन् । आउनुस्, सबै मिलेर चम्चागान गाउँ ।

चम्चेश्वर महादेवकी जय।  चम्चा सेनाकी जय ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *