हाँस्यव्यंग्य
महामुनि ओलीपाध्याकृत
नेपाली संक्षिप्त रामायण
– बुढाथोकी जीएस
मा निषाद प्रतिष्ठां त्वमगमः शाश्वतीः समाः ।
यत्क्रौंचमिथुनादेकमवधी काममोहितम् ।।
……
एक दिन महामुनि ओलीपाध्या भट्टीलोक पुगी गया पिउँ कि केही भनी
प्रचण्ड मुनिश्वर पनि त्यहीँ थिया, दुवैले मिलेर पिए पनि
तहीँ महामुनिले नेपाली रामायण रची दिया भारत चिढाउँ कि भनी
……
महामुनि ओलीपाध्याकृत नेपाली संक्षिप्त रामायण.
भक्तजनहरू ल आउनुस् । चट्टसँगले कम्प्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय गान गाएर यो महापुराण आरम्भ गरौं । हाम्रो देश ऋषिमुनिको देश हो । सबै वेदवेदान्त यहीँ लेखिएको हो । नेपालमा छापाखाना थिएन । यहाँबाट हाम्रा वेदवेदान्त लाँदै उता छाप्दै गरे । भए–भरका धार्मिक थलोजति उतै बनाइ दिए । रामायण–महाभारत दुईटै नेपालमा लेखिएका हुन्, तनहुँमै लेखिएका हुन् ।
भक्तवृन्दलाई आज म नेपालको रामायणबारे बताउँछु । सुन्नुस्, जनकपुरमा जनकोपाध्या ओलीकी छोरी थिइन जानकी, जसलाई हामी सीता पनि भन्छौं । हाम्रै पुर्खाका, साख्खे आफ्नै हुन् । जनकोपाध्याका हजुरबुवा ताप्लेजुङबाट बसाइ सरेर त्याँ गा हुन् ।
ती राम झन् नेपाली हुन् । उनी त्यहीँ वीरगन्ज नेर ठोरीमा जन्मेका । नपत्याएँ श्रृङ्ग ऋषिलाई सोध्नु्स् । ती दशरथ पाध्या बडो तनाबमा थिए । तीन तीन बिहे गरेका थिए, बालबच्चा नभएर उनलाई बहुत टेन्सन थियो । ती श्रृङ्ग रिढीका हुन् । तिनै ऋषिलाई बोलाएर लौन बाजे, यसो दबाइ, सबाइ बताइ दिनु परो । चिनाटिप्पण हेरिदिनु परो । मेरो त सन्तानै भएनन भनेछन् । श्रृङ्ख ऋषिले पुत्रिष्ट यज्ञ लगाएर ट्याक्क त्यहीँ चुरेको चारकोशे जंगलबाट एउटा यसो के फल ल्याएर लौ बुढा, यो तीन भाग पारेर रानीहरुलाई खुवाइ देऊ सन्तान हुन्छ भनेर दिए । फलमा कस्तो शक्ति हेर्नुस् । पिलित पिलित तीनै वटा रानीले बच्चा पाइदिए । हाम्रा जडिबुटीमा त्यति शक्ति छ, नपत्याए त्यो बालकृष्ण आचार्य भन्ने केटोलाई सोध्नुस् त । त्यो हाम्रै केटो हो, यहीँको स्याङज्याको । केटोले यहीँबाट झारपात, जराजुरी लगेर कुटकाट पारेर त्यो रामदेवसँग मिलेर इन्डियामा व्यापार गरेर अहिले इन्डियाकै धनी भाछ । त्यो केटो पनि सानैदेखि चलाख थियो । मभन्दा पनि चन्डाल । म यता राजनीतितिर लागेँ । केटो औषधि व्यापारतिर । मेरो सत्ता बचिरहेछ भने चट्टसँग केटालाई बोलाएर आर्थिक सल्लाहकार बनाउने विचार गर्दैछु । यो केटो रामायणकालतिर जन्मेको भए त्यो विचरो हनुमानले पहाड उखेल्नै नपर्ने ट्याक्कसँग यही केटोले सञ्जीवनी बुटी खोजिदिन्थ्यो र पतञ्जलि ब्रान्डमा रामलाई बेचिदिन्थ्यो । अस्ति कोरोनिल पाउडर भनेर जराजुरीका ढुटो बेचेन?
यता हाम्री जानकीको बिहे गर्न ठिक्क परेको, उता राम केटोका पनि बिहे गराउनु प¥यो केटी खोजी देऊ भनेर दशरथले लमी ठिक्क पारेका । दशरथ भनेका पनि मेरा आफ्नै मान्छे हुन नि फेरि । नपत्याए हेर्नुस्, बेलाबेलामा मेरालागि दस भाइ मिलेर विज्ञप्ति जारी गरिरहन्छन् । हुन त रावणका पनि १० वटै टाउको थियो रे, अब अरेका कुरा कसले पत्याउने? जानकी फेरि कत्ति राम्री भने नि, सूर्यका उजेलो पनि ओझेलमा पर्ला जस्तो (भक्त दीर्घामा गलल हाँसो गुन्जन्छ), …ए भाइ किन हाँसेको? तिमीहरुको अइश्वर्या राय कि प्यारिस हिल्टीन केके भन्छौ नि, तीभन्दा जानकी ओली राम्री थिइन । नहाँस)
हाम्रो पुख्र्यौनी एउटा धनुष थियो । हाम्रा बाजेबराजुले यसो कोसी किनारतिर सिकार खेल्न राख्या । केटाकेटीले भाँच्छन् भनेर शिवजीको धनुष हो, चलाउँनु हुँदैन भन्थे । जनकोपाध्या अलिकता सन्की, बुढाले यो शिवजीको धनुष जसले उचालेर ताँदो लगाउन सक्छ मेरी छोरी उसैसँग बिहे गरिदिन्छु भनेछन् । कुन जमानादेखि मक्किएको थियो, ठोरीबाट आएको केटो थियो नि केरे राम कि केजाति अरे । केटोले यसो उचालेर ताँदो चढाउन मात्रै के खोजेको थियो, प¥याक्कै । त्यो भाँचिएको धनुष अहिले पनि धनुषाधाम भन्ने ठाउँमा छ ।
सीता हामीले भारतका राजकुमार, भारतका होइन, अयोध्याका राजकुमारलाई दिएको हो । अयोध्या भनेको भारतमा होइन, त्यही वीरगन्जनजिकैको ठोरीमा छ । यहाँको जनकपुर, ६–७ सय किलोमिटर टाढाको भारतीय अयोध्या हुँदै होइन । कहाँ छोरीको बिहे गर्न खोजेको छ, कल्ले के गरेको छ, त्यसबेलाका जमानामा न टेलिफोन, न मोबाइल कताबाट थाह होस् । थाह हुन पनि सम्भव थिएन । ठोरीबाट केटाका लमी आए । सजिलैसँग कुरा भयो, बिहे पनि भयो ।
फेरि दशरथका सन्तानमा अर्को कलह आइलाग्यो । जसरी अहिले मलाई कुर्सीबाट, सत्ताबाट हट भनेका छन् । त्यसरी नै दशरथका सन्तानमा पनि सत्ताको लडाइँ चलेछ । अनि, राम वनवासमा बसे । कहाँ बसे भन्दा तनहुँ आसपासको जंगलमा । त्यहाँ बाल्मिकीको आश्रम पनि थियो ।
एक दिन कताबाट कसरी त्यो रावण भन्ने फटाह कोशी तरेर आएछ । राम्री आइमाइ देखेपछि मन पग्लियो । त्यसका दशा, अपहरणै गरेर लगेछ । त्यो रावणको दरबार पनि लंकामा होइन, यीँ, उ तीँ कोसी पारी, विराटनगरबाट अलि वारी सुनसरीमा छ, श्रीलंका टापु भन्ने ठाउँ । त्यहीँ उसका दरबार थिए । आफ्नी श्रीमती लगेपछि राम त्यसै चुप लागेर बस्ने कुरा भएन । खोज्न गए । वनको बाटो उनले आदिवासी हनुमान, सुग्रिबहरूलाई साथ लिएर गए । उदयपुरको मैनामैनीमा शिवको आराधना गरे र हनुमानप्रसादहरूले कोसीमा पुल बनाएर हमला गरे । त्यति टाढा भएको भए सम्भवै हुन्थेन ।
पछि, सीतालाई फिर्ता ल्याएपछि पनि बबाल भयो, यो त हुँदैन, अर्काले लगेकी स्वास्नी फिर्ता ल्याउनु भएन भन्दिए । अनि रामले लगेर बाल्मिकी आश्रममा राखिदिए । त्यति ढाटा भएको भए,त्यत्रो दिन लगाएर घर माइती आउजाउ गर्न सजिलो हुँदैन थियो । ठोरीबाट यसो नजिकै थियो, खुर्ररर सीतालाई छोडे बेलुका फर्के ।
त्यो छुद्र रावणलाई मारेको पनि रोचक कुरा छ । ऊ मारिँदैन थियो, विद्वान नै हो । राज्यकाज्य चलाउनचाहिँ । त्यसका देश समृद्ध पनि थियो । भयो के भने गरिबमाथि अलिकता थिचोमिचो भयो भने हाम्रा प्रचन्डजीहरुले त्यहीँ सशस्त्र जनयुद्ध गरिरहेको । भाइचाहिँ छ नि, विभूषण, उसलाई त्यो रावणलाई सिंहासनबाट गलहत्याउन पाए, आफू राजा बन्न पाइन्छ भन्ने थियो । रामहरुले आक्रमण गरेका बेला रावणका कमजोरीबारे छुस्स कुरा लगाइ दियो । बडोमाको घ्याम्पे भूँडी भएको रावणको नाइटो नै कमजोरी रहेछ, त्यही यसो सुइरोले घोचेर मारे ।
इतिश्री ओलीश्खडे, बेसारे महात्यम्यम्, महामुनि ओलीकृतम्, रामायण समाप्ति
(कामना, गाइजात्रा अंक २०७७ भाद्र)