अर्थधार
चालू आर्थिक वर्षमा औपचारिक माध्यमबाट करिब ९ खर्ब रुपैयाँ र त्यसमा ३० प्रतिशतजति अनौपचारिक माध्यमबाट गरी करिब ११ खर्ब रुपैयाँबराबरको रेमिट्यान्स प्रवाह हुने अपेक्षा गरिएको थियो । तर, कोभिड–१९ महामारीको असरले कम्तिमा २५ प्रतिशतले रेमिट्यान्स घट्ने प्रारम्भिक अनुमान छ ।
- गजेन्द्र बुढाथोकी
विश्वव्यापी रूपमा कोरोनाभाइरस (कोभिड–१९)को विश्वव्यापी महामारी फैलिँदै गएसँगै भर्खरै वैदेशिक रोजगार विभागले सबै देशका लागि श्रम स्वीकृति रोकेको छ । यो निर्णयले श्रम स्वीकृति लिइसकेका करिब ४० हजार र विदामा घर फर्केका करिब २० हजार नेपाली आप्रवासी श्रमिक प्रत्यक्ष रूपमा प्रभावित हुनेछन । यीबाहेक अहिले म्यानवार कम्पनीहरूलाई पासपोर्ट बुझाइसकेका र ‘भिसा आइहाल्छ’ भनेर प्रतीक्षामा रहेका करिब ५० हजारजति भएको अनुमान छ । नेपालका प्रमुख श्रम गन्तव्यहरू कतार र साउदी अरब दुई देशले प्रारम्भिक चरणमा नेपालीसहितका आप्रवासी कामदारका लागि तत्कालका लागि प्रवेशमा रोक लगाएका छन् । हालै गरिएको नेपाली श्रम आप्रवासनसम्बन्धी एक अध्ययनअनुसार कतारमा ४ लाख ६ हजार ९१७ जना र साउदी अरबमा ३ लाख ३४ हजार ४५१ जना नेपाली श्रमिकहरू कार्यरत छन् । कोभिड–१९ को विश्वव्यापी महामारी कति समय फैलिन्छ र यसको असर कस्तो रुपमा विस्तार हुन्छ भन्ने विषयमा अहिले नै यसै भनेर ठोकुवा गर्न सकिने अवस्था छैन । यसले विश्वव्यापी अर्थतन्त्रमा नै गहिरो प्रकृतिको झड्का ल्याउने अर्थशास्त्रीहरूले बताइसकेका छन् ।
अहिले विश्वकै प्रमुख अर्थतन्त्र, अमेरिकामा बढ्दो विस्तारसँगै त्यहाँ स्वास्थ्य सावधानीका लागि अबलम्बन गर्न थालिएका व्यवस्थाहरूले आर्थिक गतिविधिलाई शिथिल बनाउने नयाँ आकलन जारी भएका छन् । सरकार समर्थित केही नेपाली अर्थशास्त्रीहरूले नेपाल विश्व अर्थतन्त्रसँग प्रत्यक्ष आवद्ध नभएको अर्थात् एकलकाँटे अर्थव्यवस्था भएकाले यहाँ कोभिड–१९ का पार्नसक्ने आर्थिक झट्काको असर निकै कम पर्ने अभिव्यक्ति दिन थालेका छन् । ती अर्थशास्त्रीहरूले के पनि तर्क गरेका छन् भने विदेश जान नपाउने यो १ लाख जति जनसंख्यालाई तत्कालै कृषि र आर्थिक उत्पादकत्व बढाउने गतिविधिमा परिचालित गर्न सकिने अवस्था भएकाले नेपालको अर्थतन्त्रमा यसले सकारात्मक प्रभाव पार्छ । यो कुतर्कसिवाय अरु केही होइन । किनकी, नेपाली युवा जनशक्ति, जो वैदेशिक रोजगारीका लागि जान तत्पर भएर म्यानपावर एजेन्सीलाई पासपोर्टसमेत बुझाइ सकेका छन्, उनीहरू फेरि फर्केर कृषिमा संलग्न हुनसक्ने सम्भावना निकै कम छ ।
अहिले कृषिमा संलग्न जनशक्ति कति छ भन्ने कुरामा नै स्पष्ट छैन । नेपाल जीवनस्तर मापन सर्वे (तेस्रो), जनगणना, नमुना कृषि सर्वे र नेपाल श्रमशक्ति सर्वेका फरक–फरक तथ्यांंकलाई एकै ठाउँ राखेर औसत निकाल्दा करिब ६० प्रतिशत नेपाली कृषिकर्ममा संलग्न रहेको देखिन्छ । यो पछिल्लो दशकमा घट्दो क्रममा छ । आगामी वर्ष सम्पन्न हुने नयाँ जनगणनाले यथार्थ अनुपात देखाउला नै । वास्तविकता के हो भने कृषिको बढ्दो लागत, घट्दो प्रतिफल र कमजोर प्रतिष्पर्धी क्षमताका कारण यस क्षेत्रबाट पलायन हुनेहरूको अनुपात प्रत्येक वर्ष बढ्दो क्रममा छ । त्यो जनशक्तिलाई पुनः कृषिमा फर्काउनका लागि सरकारसँग आकर्षक प्याकेज वा कार्यक्रम छैन । कृषिमा दिइएको अनुदानको दुरुपयोग भएका, सत्ताधारी दलका कार्यकर्ताले त्यो अनुदान हात पारेकोलगायतका समाचार आइरहेका छन् । त्यसैले विदेश जना नपाएका नेपाली युवालाई फेरि कृषिमा प्रयोग गरेर आर्थिक वृद्धिलाई माथि लैजान सकिन्छ भन्ने कुरा कोरा कल्पनामात्र हो ।
कृषि तथ्यांक नै विश्वसनीय छैन । चालू आर्थिक वर्षमा मौसमको प्रतिकूलताका कारण धानको उत्पादन १ प्रतिशत (मात्रै?)ले घटे पनि अन्य क्षेत्रले त्यसका क्षतिपूर्ति गर्ने भएकाले आर्थिक वृद्धिदरमा असर नपार्ने ती अर्थशास्त्रीहरूको दाबी छ, तर केन्द्रीय तथ्यांक विभागको प्रारम्भिक अध्ययनले त्यसो भन्दैन । पहिलो ६ महिनाको अध्ययनले कृषिको वृद्धिदर ३ प्रतिशतभन्दा कम रहने देखायो । देशका मुख्य कृषि पकेट क्षेत्रहरूमा बढेको जमिन खण्डीकरण, बढ्दो आन्तरिक आप्रवासनका कारण तराई क्षेत्रहरूमा बसोबासका लागि मासिँदै गएको धान खेत र युवा जनशक्ति पलायन हुँदा रहेको बाँझो जमिनलगायतका कारण धान खेतीयोग्य भूमिमा यो वर्ष करिब अढाइ प्रतिशतले कमी आएको प्रारम्भिक अनुमानले देखाएको छ । धान लगाइने जमिनको अनुपातमा विगत तीन वर्षदेखि नै लगातार कमी आइरहेको छ ।
आफ्नो उत्पादनले वर्ष दिन पनि धान्न नसकिने अवस्था, बढ्दो महँगीका कारण आयले उपभोगका आवश्यकता धान्न नसकिने अवस्था तथा अन्य आर्थिक–सामाजिक कारणहरूले गर्दा कामको खोजीमा थातथलो छाड्ने नेपालीहरूको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । यस्तो आप्रवासन मूलतः तीन किसिमको हुन्छ, एउटा परम्परागत बसाइसराई, जुन एक गाउँबाट अर्को गाउँ वा गाउँबाट सहर अथवा पहाडबाट तराईतिर हुने गर्छ । पहाड र गाउँहरू अहिले लगभग खाली हुन थालिसकेका छन् । आयआर्जनको अवसर खोज्दै सहर र तराई झर्नेहरूले त्यहाँ पनि अवसर नपाएपछि कामको खोजीमा विदेशिनु पर्ने बाध्यता बढ्दो क्रममा छ । विगतमा यसरी कामको खोजीमा भारत (मुग्लान) भासिन्थे भने प्रजातन्त्र प्राप्तिपछि पासपोर्टमा गरिएको उदार व्यवस्था र विश्व श्रम बजारमा उपलब्ध अवसरहरूले भारतबाहेक पूर्वी एसियाली र खाडी मुलुकहरूमा रोजगारीका लागि जाने क्रम बढेको हो । हालसम्म १५६ मुलुकमा नेपालीहरू श्रमको अवसर खोज्दै पुगिसकेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाउँछ ।
विदेशी भूमिमा ४५ लाख नेपाली
स्वदेशमा रोजगारीको अवसर नपाएर तथा बढी आयआर्जनका लागि भन्दै विदेशिएका नेपालीहरूको संख्या कति छ भन्ने कुरामा स्पष्ट विवरण भेटिँदैन । वैदेशिक रोजगार विभागका अनुसार सन् २००० अप्रिलदेखि २०१९ को जुलाइसम्ब ५९ लाख ५५ हजार पटक श्रम स्वीकृति जारी भएको छ । यसमा पटक–पटक स्वदेश फर्केर पुनः श्रम स्वीकृति लिनेको संख्यासमेत जोडिएकाले वास्तविक रूपमा विदेशी भूमिमा कति नेपाली कार्यरत छन् भन्ने खुल्दैन ।
राहदानी विभागले सन् २०१० को डिसेम्बरदेखि २०१९ को जुलाई १५ सम्म ५९ लाख ७३ हजार ३११ वटा राहदानी जारी गरेको छ । राहदानी जारी भएको र श्रम स्वीकृति लिएको संख्याबराबरी नै जस्तो देखिए पनि राहदानी लिएर विदेश नजाने, घुमफिर वा अन्य प्रयोजनका लागि मात्र राहदानी बनाउने आदिको संख्या कटाउँदा विदेशी भूमिमा करिब ४५ लाख नेपाली कार्यरत रहेको पुष्टि हुन्छ ।
राहदानी विभागको गत आर्थिक वर्षको प्रतिवेदनअनुसार ६६ देशमा नेपाली पासपोर्टबाहकहरूको संख्या २३ लाख ५० हजारको हाराहारीमा छ ।
गत आर्थिक वर्ष २०७५/७६ मा वैदेशिक रोजगारबाहेक घुमफिर (यात्रा), व्यवसाय, अध्ययन र अन्य प्रयोजनका लागि भनेरमात्र ११ लाख ३१ हजार नेपाली विदेशिएका थिए । यसलाई नै आधार मानेर गणना भारतमा कार्यरत नेपालीको संख्यासमेत गणना गर्दा विदेशमा कम्तिमा ४५ लाख नेपाली कार्यरत छन् भन्ने आकलन निकालिएको हो । एक पटक अनुमान गरौं, यसको ५० प्रतिशतमात्रै नेपाली पनि कोभिड–१९ को विश्व स्वास्थ्य संकटका कारण नेपाल फर्कनु परे के हाम्रो अर्थतन्त्रले उनीहरूलाई सहजै व्यवस्थापन गर्नसक्छ?
भारतमा नेपालीः भ्रम र यथार्थ
सबैभन्दा अन्योल त, छिमेकी मुलुक भारतमा कति नेपाली छन् भन्ने कुरामा स्पष्ट विवरण नै छैन । फरक–फरक प्रयोजनका लागि गरिएका अनुमानहरूले फरक–फरक विवरण देखाउने गरेका छन् । कतिपयले भारतमा ५० लाख नेपाली छन् भनेर लेख्ने गरेको पाइन्छ, तर संयुक्त राष्ट्र संघीय आप्रवासन संगठन (आईओएम)ले भर्खरै प्रकासित गरेको पहिलो ‘नेपालको आप्रवासन राष्ट्रिय प्रोफाइल–२०१९’ले भारतमा औसतमा ७ देखि १० लाखको हाराहारीमा मात्र नेपाली भएको देखाउँछ ।
आईओएमले सन् १९८१ देखिको नेपाल र भारतका जनगणनालाई तुलना गरेर निकालेको विवरणले के भन्छ भने विगतमा तेस्रो देशमा रोजगारीका अवसर नपाउँदा भारतमा अल्पकालीन रोजगारीको खोजीमा नेपाली जाने गरे पनि यो क्रम १९९०को दशकपछि क्रमसः घट्दै गएको छ । उदाहरणका लागि सन् १९८१ को जनगणनाका समयमा नेपालमा अनुपस्थित जनसंख्यामध्ये ९३ प्रतिशत भारत गएका थिए भने सन् २००१ मा यो अनुपात ७७ प्रतिशतमा झ¥यो भने सन् २०११ मा आइपुग्दा अझ घटी ३७.५ प्रतिशतमा झ¥यो । संख्यात्मक रूपमा हेर्दा सन् २०११ मा नेपालका अनुपस्थित जनसंख्या १९ लाखमध्ये ७ लाख भारतमा थिए । आईओएमले सन् १९९५/५४ देखि सन् २००१ सम्म गरिएको नेपाल र भारतका जनगणनाबाट नेपालीहरूको जनसंख्यालाई तुलनात्मक अध्ययन गर्दा भारतमा करिब ६ लाखको हाराहारीमा मात्र नेपाली देखियो ।
नेपालको पछिल्लो जनगणनाको औसत ३८ प्रतिशतलाई आधार मानेर हेर्दा अहिले भारतमा १० लाखको हाराहारीमा मात्र नेपाली कार्यरत रहेको देखिन्छ । जहाँबाट वार्षिक औसत डेढ खर्ब रुपैयाँको हाराहारीमा रेमिट्यान्स प्राप्त हुन्छ । भारतमा समेत अहिले कोभिड–१९ को संक्रमण तीव्र छ । यसले श्रम अप्रावासनमा मात्रै होइन, खुला सीमा र अन्तरआवद्ध अर्थतन्त्र भएको नेपालको समग्र अर्थतन्त्रमा नै गम्भीर असर पार्ने खतरा बढेको छ ।
पछिल्लो अध्ययनले श्रमबजारमा वार्षिक साढे ५ लाख नेपालीहरू हरेक वर्ष थपिन्छन् भन्ने देखाउँछ । तीमध्ये निजी क्षेत्र र अनौपचारिक अर्थतन्त्रमा गरी करिब एकदेखि डेढ लाखले मात्रै रोजगारीको अवसर पाउँछन् । नयाँ थपिने श्रमशक्तिका लागि नै रोजगारी अवसर उपलब्ध गराउन सक्ने मुलुकले विदेशबाट फर्कने जनशक्तिको व्यवस्थापनका लागि जुन अनुपातमा लगानी गर्नुपर्ने हो, त्यसको सामथ्र्य कति छ भन्ने विषयमा अहिले कमै ध्यान गएको देखिन्छ ।
सबैभन्दा ठूलो जोखिम त, यो विश्व स्वास्थ्य महामारीका कारण नेपालीहरूले अन्तर्राष्ट्रिय श्रम गन्तव्यहरूमा क्रमसः रोजगारी गुमाउँदै जाने र यसको प्रभावले गर्दा नेपालले औपचारिक तथा अनौपचारिक रूपमा प्राप्त गर्ने रेमिट्यान्स प्रवाह घट्दै जाने वा रोकिने अवस्था आएको छ । रेमिट्यान्सले श्रम आप्रवासनमा गएका परिवारको घर खर्चमात्रै चलाएको छैन, अर्थतन्त्रमा यसको चक्रिय प्रभावले गर्दा उपभोग बढाएको छ । उपभोगले आयात बढाएको छ । यसले थोक तथा खुद्रा व्यापार, होटल तथा रेष्टुँरा गतिविधि तथा शिक्षा र स्वास्थ्य क्षेत्रमा हुने खर्च बढाउँदा समग्रमा सेवा क्षेत्रलाई जीवन्त तुल्याएको छ ।
विगत दुई दशकमा औपचारिक र अनौपचारिक (हुन्डी तथा ह्यान्ड क्यारी)बाट भित्रिएको करिब ९० देखि ९५ खर्ब रुपैयाँ नै नेपालको बैंकिङ प्रणालीलाई धानिदिएको छ । चालू आर्थिक वर्षमा औपचारिक माध्यमबाट करिब ९ खर्ब रुपैयाँ र त्यसमा ३० प्रतिशतजति अनौपचारिक माध्यमबाट गरी करिब ११ खर्ब रुपैयाँबराबरको रेमिट्यान्स प्रवाह हुने अपेक्षा गरिएको थियो । तर, कोभिड–१९ महामारीको असरले कम्तिमा २५ प्रतिशतले रेमिट्यान्स घट्ने प्रारम्भिक अनुमान छ । यसले नेपालको विदेशी विनियमय सञ्चितिमा गम्भीर धक्का पर्ने छ, किनभने अर्को विदेशी मुद्रा आर्जनको स्रोत पर्यटन क्षेत्रमा कम्तिमा ४० अर्ब रुपैयाँको क्षति पुग्ने अनुमान छ ।
त्यसैले कोभिड–१९ जन्य विश्व स्वास्थ्य महामारीको असरलाई अहिले नै अबमूल्यन गरेर हामीलाई पशुपतिनाथले बचाइहाल्नु हुन्छ नभनौं । नेपालमा कोट अनकोटमा “स्वास्थ्यसम्बन्धी समस्यै आइनहाले” पनि विश्वव्यापी आर्थिक झट्काबाट स्वयं पशुपतिनाथले समेत बचाउन मुश्किल पर्ने प्रष्ट देखिएको छ ।