पाम आयलको परकम्प
भारतले मलेसियाबाट तयारी पाम तेल ल्याउन बन्द गर्नेवित्तीकै बजार हाम्रो हातमा आइहाल्छ, रातारात अर्बौं कमाउँला भनेर नेपालका नटबोल्टु उद्योगीहरूले पाम तेलमा मेड इन नेपालको छाप लगाउने तयारी गरेका थिए, तर नाफा खाने चुत्को साउँ पनि फुत्क्यो भन्ने अवस्था आयो ।
गजेन्द्र बुढाथोकी
यतिबेला नेपालका एकथरि ‘निर्यात उद्यमी’हरूको चित्कार सुनिन थालेको छ– ‘हाम्रो उद्योग/लगानी डुब्नै लाग्यो, लौन सरकार बचाइ देऊ ।’ यो चित्कार त्यतिकै आएको होइन, पछिल्लो दुई वर्षयता नेपालको ‘मुख्य निर्यात उत्पादन’ का रूपमा सरकार, सरकारी मान्छे र ती निर्यात उद्योगीहरूले चिनाउँदै आएको पाम आयल अर्थात् ताडीको तेलको आयातमा भारतले रोक लगाएपछि यो चित्कार सुनिन थालेको हो । ज्ञातव्य छ, ‘पाम आयल’ नेपालको आफ्नो आन्तरिक उत्पादन होइन, नेपाल–भारतबीचको विद्यमान व्यापार सन्धीको लाभ उठाउँदै नेपालका केही ‘उद्योगीहरू’ले छिटो नाफा कमाउन चलाएको नटबोल्टु उद्योगका उत्पादन हो, अर्थात विदेशबाट नट र बोल्टु अर्थात पेचकिला ल्यायो, यहाँ कस्यो, नेपाली उत्पादन भनेर बेच्यो ।
नेपाली पाम निर्यातका विरुद्धमा भारतको ‘सोयाबिन प्रोसेसर्स एसोसियसन अफ इन्डिया (सोपा)’ले गत अप्रिलमा सरकारलाई लेखेको पत्रमा नेपालसहितका दक्षिण एसियाली देशका उत्पादनमा भन्सार शुल्क नलाग्ने भनेर दिएको सुविधाको नेपालले दुरुपयोग गरेको आरोप लगाइएको थियो । सोपाले स्पष्ट रुपमा नै नेपालमा पाम आयलको उत्पादन नहुने र यसको प्रशोधनका लागिसमेत अत्यन्त्यै कम क्षमता रहेको भन्दै नेपालले इन्डोनेसिया र मलेसियाबाट प्रशोधित पाम आयल र दक्षिणी अमेरिकाबाट सोयाबिन अर्थात भटमासको तेल ल्याएर भारततर्फ निर्यात गरिरहेको आरोप लगाइएको थियो ।
व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रको विवरण हेर्ने भने यसलाई आरोपमात्रै भन्न सकिने अवस्था छैन । आर्थिक वर्ष २०७४/७५ मा नेपालबाट एक पैसाको पनि पाम आयल निर्यात नभएकोमा आव २०७५/७६ मा मात्र १० अर्ब ३३ करोड ३० लाख रुपैयाँका पाम आयल भारततर्फ निर्यात भयो भने गत वर्ष २ अर्ब ३४ करोड ६३ लाख रुपैयाँबराबरको सोयाबिन आयल निर्यात भयो, जुन अघिल्लो वर्ष सून्यबराबर थियो । यसैगरी, चालू आर्थिक वर्षको पहिलो पाँच महिना अर्थात् मंसिर मसान्तसम्ममै ११ अर्ब ५२ करोड रुपैयाँको पाम आयल र ३ अर्ब ८ करोड रुपैयाँको सोयाबिन आयल निर्यात भएको देखिन्छ । यसबाटै पुष्टि हुन्छ, हिजोसम्म कुनै निर्यात आधार नै नभएका उद्योगहरू कसरी रातारात देखा परे र रातारात देशको प्रमुख निर्यात वस्तुमा दरिए?
गत वर्षदेखि भारतले मलेसियाबाट प्रशोधित पाम आयल ल्याउनमा कमी गर्न थालेपछि नेपालका पूर्व वनास्पति उद्योगीहरू रातारात जागेका हुन् र मलेसिया, इन्डोनेसिया, पपुवा न्युगिनी, सिंगापुरसहितका देशबाट कच्चा पाम ल्याउने वा अद्र्धतयारी पाम आयल ल्याइ यहाँबाट सून्य भन्सारमा भारततर्फ निर्यात गरेर रातारात अर्बौं कमाउने धन्धामा लागेका हुन् । अहिले भारतले आफ्ना आन्तरिक पाम प्रशोधक र भटमास प्रशोधक उद्योगहरू बचाउने नाममा प्रशोधित पाम आयल (रिफाइन्ड पामोलिन) आयातमा रोक लगाएपछि यी नटबोल्टु उद्योगका उद्योगीहरू आफ्नो लगानी डुब्यो भन्दै सरकारसँग निर्यातको पहल गरिदिन आग्रह गर्दैछन् । न आफ्नो देशको कच्चा पदार्थमा आधारित उद्योग, न त नेपालमा प्रशस्त मूल्य अभिवृद्धि (भ्यालु एडिसन) भइ मुलुकले फाइदा पाइ रहेको क्षेत्र, सरकारले के आधारमा ती उद्योगीहरूका लागि लबिङ गरिदिने हो? सुन्दै उदेकलाग्दो छ ।
राष्ट्र बैंकका एक अध्ययनअनुसार आर्थिक वर्ष २०७२/७३ मा ४५ हजार ९१७ मेट्रिक टन भटमासको तेल उत्पादन भएकोमा, आव २०७३/७४ मा ६७ हजार ८७३ टन पुग्यो भने आव ०७४/७५ मा घटेर ४६ हजार ६१८ मा मेट्रिक टनमा झर्यो । पाम आयल त गत वर्षदेखि उदाएको उद्योग भएकाले यसको कुनै आधिकारिक तथ्यांक पाउन गाह्रो छ । चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा नै नेपालबाट १ लाख ११ हजार ७११ टन पाम आयल भारततर्फ निर्यात भएको देखिनुले यसको रातारात उदय भएको र अब भारतले आयातमा प्रतिबन्ध लगाएसँगै यसको त्यसरी नै अस्त हुने लगभग निश्चित नै छ ।
उद्योगीहरूका अनुसार अहिले नेपालका पाम उद्योगहरूसँग ७० हजार टन पाम तेल भण्डारणमा छ भने विदेशबाट करिब त्यति नै अनुपातमा मगाइएको कच्चा पाम तेल नेपाल आउने क्रम छ । यसको अर्थ भारतले मलेसियाबाट तयारी पाम तेल ल्याउन बन्द गर्नेवित्तीकै बजार हाम्रो हातमा आइहाल्छ, रातारात अर्बौं कमाउँला भनेर नेपालका नटबोल्टु उद्योगीहरूले पाम तेलमा मेड इन नेपालको छाप लगाउने तयारी गरेका थिए, तर नाफा खाने चुत्को साउँ पनि फुत्क्यो भन्ने अवस्था आयो ।
ठिक यही प्रसंग सन् २००२ मा नेपाल–भारत वाणिज्य सन्धीको नवीकरण हुँदा पनि उठेको थियो, जतिबेला भारतले नेपालबाट अत्याधिक निर्यात भएको भन्दै वनास्पति घिउ, एक्रेलिक यार्न, कपर वायर र जिंक अक्साइडमाथि कोटा लागू गरेको थियो । सन् १९९६ को नेपाल भारत वाणिज्य सन्धीले दिएका भन्सार तथा कोटामुक्त बजार प्रवेशको व्यवस्थाका फाइदा उठाउँदै नेपालमा व्यापक रूपमा वनास्पती घिउ, ऊनी धागोमात्र होइन, तामाको तारको बन्डल बेर्ने उद्योगहरू पनि खुलेका थिए । सन् १९९६–९८ का बीचमा नेपालमा स्थापित १६ वटा वनास्पति घिउ उद्योगहरूको जडित क्षमता नै १ लाख ४६ हजार १८० टन पुगेको थियो । नेपालमा उत्पादित वनास्पती घिउको ८६ प्रतिशत भारतमा निर्यात हुन्थ्यो भने २ प्रतिशतजति तिब्बत निर्यात हुन्थ्यो । नेपाल राष्ट्र बैंकले गरेको आर्थिक गतिविधि अध्ययनअनुसार गत आर्थिक वर्ष २०७४/७५ वनास्पति घिउको कुल जडित क्षमता ९ हजार ९३ मेट्रिक टन रहेकोमा गत आव २०७५/७६ को अर्धवार्षिक अवधिमा कुल जडित क्षमता ८ हजार टनमा झरेको छ भने उत्पादन त्यसको ६७ प्रतिशतमात्र हुन्छ ।
हाम्रो आफ्नो उत्पादन आधार नभएका उद्योगहरूले यो नियति भोग्नु त निश्चित नै थियो । अहिले पनि नेपाली निर्यात डालो हेर्ने हो भने सन्तोष गर्ने ठाउँ छैन । पाम आयल र सोयाबिन आयलले उचालेको निर्यातका भरमा व्यापार घाटा कम हुँदैछ भन्नु परालको खरानीको न्यायोमात्रै हो । हामीले लामो समयसम्म भारत निर्यात हुने वनास्पति घिउलाई नै अहिले पाम आयलजसरी नै मुख्य निर्यात वस्तु मान्दै आयौं ।
नेपालका टप १० निर्यात वस्तुका रूपमा रहेका तयारी पोशाक, ऊनी गलैंचा, पश्मिना र हस्तकलाका वस्तुको उदय र अस्त दुवै देख्यौं । सन् २००५ मा मल्टिफाइभर एग्रिमेन्टको खारेजीपश्चात नेपालका तयारी पोशाक उद्योगहरूले दुर्दिन बेहोर्न सुरु गरे भने रगमार्ग फाउन्डेसनका नाममा केही एनजीओहरूले बालश्रमको मुद्दा उठाएर जर्मनीसहितका युरोपेली बजारमा नेपाली गलैंचाको बदनाम गर्न थालेपछि यहाँका गलैंचा (कार्पेट) उद्योगहरूले दुर्दिन बेहोर्न सुरु गरे । यो खेलमा नेपाली उद्योगीहरूको पनि ठूलै कमजोरी रह्यो भने भारतीय उद्योगीहरूको पनि यसमा भूमिका खेले ।
छिटो नाफा कमाउने नाममा हाते गलैंचाका नाममा मेसिनले बनाएका गलैंचा, ढुटा र कमसल ऊन तथा हानिकारक केमिकलको प्रयोग गरेका गलैंचा युरोपेली बजारमा पठाउने तथा भारतमा उत्पादित यस्तै कमसल गलैंचाहरू नेपाली गलैंचाका नाममा पठाउने प्रवृत्ति बढ्दै जाँदा यहाँको निर्यातमा पुरै धक्का लाग्यो । यस्तै, रेशमी पश्मिनाका नाममा पोलिस्टर धागो मिश्रित पश्मिनाको निर्यात थालिएपछि त्यो बजारमा पनि असर प¥यो । अहिले चीन, खासगरी तिब्बतमा नेपाली हस्तकलाजस्तै देखिने गरी मेसिनबाट प्रस्तर मूर्ति र अन्य हस्तकलाका सामग्री उत्पादन हुन थालेपछि नेपाली हस्तकलाको बजारमाथि संक्रमण सुरु हुने आशंका बढेको छ ।
साँच्चै भन्ने हो नेपालको निर्यात डालो नै निकै साँघुरो छ । हामी अझै पनि आधारभूत कृषि उत्पादनकै बजारमा आश्रित छौं । पाम र सोयाबिन आयलबाहेक नेपालका प्रमुख निर्यातजन्य वस्तुहरूमा ऊनी गलैंचा, तयारी पोशाक, मुसुरोको दाल, पोलिस्टर तथा अन्य धागो, टेक्सटाइल, फलाम तथा स्टिल र तिनका उत्पादनहरू, हस्तकलाका सामानहरू, चाँदीका गरगहनाहरू, टुथपेस्ट, अलैंची, चिया, अदुवा, नेपाली हातेकागज, छाला, पश्मिना सल र जडिबुटी देखिन्छन् । नेपालले निर्यात अभिवृद्धिका राष्ट्रिय रणनीति बनाउँदा पनि अलैंची, चिया, हातेकागजजस्ता प्राथमिक वस्तुहरूको निर्यातमा नै मुख्य जोड दिएको देखिन्छ, जसको वास्तविक मूल्य अभिवृद्धि पनि कम छ भने बजार पनि सीमित छ ।
अर्थतन्त्रलाई नै टेवा पुर्या किसिमका वा दिनप्रतिदिन उचालिँदै गएको व्यापार घाटा संकुचित पार्ने किसिमको वस्तु उत्पादन, विविधीकरण र निर्यातमा मुलुकले ध्यानै दिन सकेन । निर्यात प्रबद्र्धनसम्बन्धी नीति, रणनीति र कार्ययोजनाहरू तत्कालका लागि कामचलाऊ (एडहक) किसिमका मात्र हुने गरेका छन् भन्ने कुराको उदाहरण हेर्न भैरहवास्थित पहिलो विशेष आर्थिक क्षेत्र (एसइजेड) पुग्दा हुन्छ, जहाँ नाममात्रका दुई–चार उद्योगले यसको इज्जत धानिदिँदैछन् । विशेष आर्थिक क्षेत्र मूलतः निर्यात उद्योगलाई प्रबद्र्धनका लागि खोलिएको हो । तर, त्यहाँ गएर उद्योग खोल्न उद्योगीहरू नै तयार नभएपछि अहिले यसको औचित्यमाथि नै प्रश्न उब्जिएको छ । यसैगरी, तयारी पोशाक उद्योगीहरूले विगतमा वीरगन्जमा निर्यात प्रवद्र्धन क्षेत्र (इपीजेड) स्थापना गरी यस्ता उद्योगलाई त्यहाँ सार्न माग गरेका थिए, त्यसको पनि खासै औचित्य सावित हुनसक्ने देखिएन ।
ठूलोअलैंची, चिया, अदुवासहितका कृषिजन्य वस्तुको प्राथमिक बजार भनेको भारत हो भने मुुुुसुरोको दालको मुख्य बजार बंगलादेश हो । उद्धरण चिह्न (“”) भित्र राखेर कुरा गर्नुपर्दा मुसुरोको दाल आयात–निर्यातको कथा, सुपाडीको कथाजस्तै हो । अर्थात्, तेस्रो देशबाट ल्याएर नेपाली उत्पादन भनेर बंगलादेश पठाउने । यसले पनि कुनै न कुनै दिन वनास्पती घिउको नियती बेहोर्नुपर्ने जोखिम छ ।
अलैंची, अदुवा, अम्रिसोमा भारतले बेलाबेलामा झन्झट दिने क्रम रोकिएको छैन । एक वर्ष त सहज रुपमा निर्यात भयो भने किसानहरूले आनन्द मान्दा अर्को वर्ष कुनै न कुनै बहानामा भारतले अवरोध सिर्जना गरेकै हुन्छ । चियाका हकमा हालसम्म नेपालबाट हरियोपत्ती किनेर लगी दार्जिलिङ चियाका नाममा विश्व बजारमा पठाउने गरिएको स्वयं पश्चिम बंगाल टि प्रोड्युसर्स एसोसियसनसँग सम्बद्ध व्यवसायीहरूले स्वीकार गरेका छन् । अब दार्जिलिङ चियाको आधिकारिकतासहित निर्यातका लागि त्यहाँका उद्योगीहरूले अमेजनलगायतका विश्वका प्रमुख बजारसँग सम्झौता गरेका छन् । यसले आउँदा दिनहरूमा यहाँको निर्यातमा असर पर्ने नै छ । ठूलोअलैंचीका भविष्य पनि उज्यालो देखिँदैन, किनकी सिक्किमसहितका समान हावापानी र भूधरातल भएका भारतीय प्रदेशहरूमा यसको उत्पादन आरम्भ भइसकेको छ ।
त्यसैले सीमित वस्तु, उत्पादन र बजारका भरमा टिकेको नेपालको निर्यातलाई अहिलेकै ढाँचाबाट माथि उठाउन सम्भव पनि छैन । पर्याप्त मूल्य अभिवृद्धिसहितका वस्तु विविधीकरणमा नगइकन न हाम्रो निर्यातले लय समाउँछ, न त त्यसले चुलिँदै गएको व्यापार घाटालाई नै कम गर्न योगदान पुर्याउँछ । अहिले भारतीय अर्थतन्त्रमा देखापरेको मन्दीका असरले नेपाली अर्थतन्त्रमा देखापरेको सुस्तता र राष्ट्र बैंकले लिएको नीतिका कारण सवारी साधनसहितका वस्तुको माग खुम्चिएको कारणले आयात घट्यो भनेर रमाउनु पर्ने अवस्था छैन, किनकी पाम आयल र सोयाबिन आयलले उचालेको नेपालको निर्यात अब पुनः संकुचित हुने स्पष्ट संकेत देखिएको छ । करिब १५ खर्ब रुपैयाँ पुगेको आयात यो वर्ष अर्थतन्त्रमा आएको संकुचन र सरकारका नीतिका कारण हदैसम्म खुम्चिए पनि साढे १३ देखि १४ खर्ब रुपैयाँकै बीचमा रहने निश्चित छ ।
गत वर्ष पाम आयलका कारण करिब ९७ अर्ब पुगेको निर्यात यो वर्ष पुनः पहिलाकै आकार अर्थात् ७५ देखि ८० अर्बका बीचमा नै रहने छ । यसको सोझो अर्थ, नेपालको व्यापार घाटामा कुनै ठूलो संकुचन आउने छैन । यो नेपाल एकीकृत व्यापार रणनीति, व्यापार घाटा न्यूनीकरण रणनीति, नेपाल राष्ट्रिय क्षेत्र निर्यात रणनीतिजस्ता जेजस्ता रणनीति बनाए पनि त्यसको कार्यान्वयनका लागि सरकारले प्रभावकारी भूमिका खेल्न सकेन भन्ने कुराको प्रमाण हो । कागजमा नीति, रणनीति, कार्ययोजना बनाएरमात्र हँुँदैन, त्यसको कार्यान्वयनका लागि ठोस प्रयास पनि चाहिन्छ ।
किसानदेखि उद्योगीसम्मलाई उत्पादन विस्तारमा सहभागी गराइ निर्यातका लागि सहजीकरण गरिनु पर्छ । व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रजस्ता संरचनाले निर्यात प्रबद्र्धनका लागि ठोस भूमिका खेल्न नसकेको स्पष्ट नै भइसकेको छ, त्यसैले अब विश्व बजारको नयाँ प्रतिष्पर्धात्मक वातावरणको पहिचान गरेर त्यही अनुसारको निर्यात प्रबद्र्धनका रणनीति बनाइनु आवश्यक छ । सबैभन्दा मूल कुरा त नेपालले अहिले नेपाल भ्रमण वर्ष २०२० मनाइरहँदा पर्यटनसँग आवद्ध गरेर राष्ट्रिय उत्पादनको बजारीकरणका लागि नै के गरिदैछ भन्ने कुराले खास अर्थ राख्छ । यसतर्फ पनि विचार गर्नु आवश्यक छ ।
-नागरिक दैनिक, २९ पुस २०७६