अर्थतन्त्रमा कहिलेसम्म भ्रम सिर्जना गर्ने?

Nepal Under Construction

बलियो र सबल आधार भएको उच्च आर्थिक वृद्धिदर हासिल गर्नका लागि अर्थतन्त्रमा वर्षौंदेखि थुप्रिँदै आएका संरचनागत समस्याहरूलाई सम्बोधन नगरी हुँदैन ।

गजेन्द्र बुढाथोकी
प्रधानमन्त्री केपी ओलीका मुख्य प्रेस सल्लाहकार कुन्दन अर्याल, पीएचडी,ले हालै ‘हिजो, आज र भोलि’ शीर्षकमा एउटा इन्फोग्राफिक्स फोटो ट्वीट गरे, जसमा विगत १० वर्षको औसत आर्थिक वृद्धिदर ४.३ प्रतिशत रहेको, आर्थिक वर्ष २०७४/७५मा करिब ६ प्रतितश २०७५/७६ मा ७.१ प्रतिशत वृद्धिदर हासिल भइ इतिहासकै तीव्र आर्थिक वृद्धिदर हासिल भएको भन्दै आउँदो चार वर्ष अर्थात् आव २०६९/८० मा ११ प्रतिशत वृद्धिदर हासिल हुने दाबी गरिएको छ । यो तथ्यांकलाई कसरी आफूअनुकूल बटारिन्छ भन्ने नियतको एक झलक हो । यसका केही तथ्यांकीय त्रुटिहरू पहिला हेरौं । एक दशकको अवधि भन्नाले आव २०६५/६६ देखि २०७५/७६ को अवधिलाई लिनुपर्ने हुन्छ । यो १० वर्षको औसत वृद्धिदर ५.२५ प्रतिशत रह्यो । यदि परिवर्तनपछिका १० वर्ष (२०६३/६४–२०७३/७४)को अवधि लिइएको भए पनि उक्त अवधिको औसत वृद्धिदर ४.८९ प्रतिशत रह्यो ।

अब दोस्रो दाबीलाई हेरौं, वितेको आर्थिक वर्ष २०७५/७६ मा ७.१ प्रतिशतको आर्थिक वृद्धिदर हासिल भइ इतिहासकै तीव्र विकासको वर्ष भनिएको छ । पहिलो त, गत आवको आर्थिक वृद्धिदरको विवरण प्रारम्भिक अनुमानमात्र हो । गत वर्षको ७.१ प्रतिशत भनिएको वृद्धिदर पनि उत्पादकको मूल्यमा हो, आधारभूत मूल्यमा त वृद्धिदर ६.८ प्रतिशत भनिएको छ । ढाँटेको कुरा काटे मिल्दैन भनेझैं वितेको आव इतिहासकै उच्च आर्थिक वृद्धिदर हासिल भएको वर्ष हुँदै होइन, उत्पादकको मूल्यमा नेपालमा तीनपटक ८ प्रतिशतभन्दा माथिको वृद्धिदर हासिल भएको देखिन्छ आव ०४०/४१, आव ०५०/५१ र आव ०७३/७४ । आव ०४०/४१ मा नेपालको आर्थिक वृद्धिदर ८.७९ प्रतिशत पुगेको थियो, जुन इतिहासकै सर्वाधिक उच्च हो ।

प्रजातन्त्रको बहालीपश्चात नेपालले अबलम्बन गरेको आर्थिक उदारीकरण र खुला बजार अर्थतन्त्रको मूल नीतिसँगै अघि सारिएका पहिलो चरणको आर्थिक सुधारका कार्यक्रमहरूको परिणाम स्वरूप आव ०५०/५१ मा वृद्धिदर ८.२ प्रतिशत पुगेको थियो । अघिल्लो वर्ष (०७२/७३)मा भूकम्प र भारतीय आर्थिक नाकाबन्दीको प्रतिकूल प्रभावबाट ब्युँतिएर अर्थतन्त्र पुनर्बहाली हुँदा आव ०७३/७४ मा नेपालको आर्थिक वृद्धिदर ८.२ प्रतिशत नाघ्यो ।

गत वर्षका दुई त्रैमासिकमा वास्तविक वृद्धिदरको तथ्यांकले सरकारी दाबीलाई झुठो सावित गरिरहेको छ, गत वर्ष पहिलो त्रैमासमा रहेको ६.९ प्रतिशत वृद्धिदर त्यसपछिको चौमासिकमा ६.४ प्रतिशतमा झरेको छ । एसियाली विकास बैंक (एडीबी)ले यस वर्ष नेपालको वृद्धिदर ६.२ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ भने विश्व बैंकले ६.४ प्रतिशत । नेपालका स्वतन्त्र अर्थशास्त्रीहरूले ६.६ देखि ६.८ प्रतिशतका बीचमा वृद्धिदर कामय भए, धन्य मान्नु पर्ने बताउँदै आएका छन् ।
भर्खरैमात्र स्वतन्त्र थिंकट्यांक, इन्स्टिच्युट अफ इन्टीग्रेटेड डेभलमेन्ड स्टडिज (आईआईडीएस)ले सार्वजनिक गरेको ‘नेपाल इकोनोमिक आउटलुक–२०१८/१९’ ले प्रचलित आर्थिक अनुमान विधिहरूको प्रयोग गरेर चालू आर्थिक वर्ष २०७६/७७ मा वृद्धिदर ६.०२ प्रतिशत र आव ०७७/७८ मा अझ घटी ५.७७ प्रतिशतमा झर्ने प्रक्षेपण गरेको छ ।

सरकारले उच्च र महत्वाकांक्षी वृद्धिदरको लक्ष्य नै राख्न नमिल्ने भने होइन, तर त्यस्तो लक्ष्य वास्तविक धरातलमा हासिल हुनसक्ने भयो भनेमात्र सरकारको विश्वसनीयता रहन्छ । पन्ध्रौं योजना अवधि (२०७६÷७७–२०८०÷८१)मा औसत ९.६ प्रतिशतको वृद्धिदर हासिल हुने लक्ष्य छ, यो योजनाविदहरूले अर्थतन्त्रमा हुनुपर्ने लगानी, पुँजी निर्माणसमेत हिसाब गरेर निकालेको आँकडा हो । यसमा पनि आउँदो आर्थिक वर्षदेखि औसतमा ९ प्रतिशतभन्दा माथिको स्थिर वृद्धिदर हासिल हुनुपर्छ । योजनाविद्हरूभन्दा पनि अघि बढेर सरकारका सल्लाहकारले कसरी ११ प्रतिशतको वृद्धिदर हासिल हुने प्रक्षेपण सार्वजनिक गरे, त्यो सरकारले नै जानोस् ।

अर्थशास्त्री डा. विश्वम्भर प्याकुरेलसहितले गरेको एक अध्ययनअनुसार औसत ८ प्रतिशतको स्थिर वृद्धिदर हासिल गर्न कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को औसतमा ४५ प्रतिशतको स्थिर लगानीको आवश्यकता पर्छ । रकमगत आधारमा यो औसतमा साढे १५ खर्ब रुपैयाँबराबर हुन आँउछ । स्वयं राष्ट्रिय योजना आयोगले औसत ९ प्रतिशतको वृद्धिदर हासिल गर्नका लागि सुरुको वर्ष साढे १६ खर्ब, त्यसपछि १८ खर्ब ७२ अर्ब, तेस्रो वर्षमा २० खर्ब २३ अर्ब र चौथो वर्ष २३ खर्ब ३८ अर्ब रुपैयाँ लगानी आवश्यकता रहेको जनाएको छ । यो लगानीको ३९ प्रतिशत सरकारले बेहोर्ने प्रक्षेपण गरिएको छ । यसलाई आधार मान्दा ६ खर्ब ४० अर्ब रुपैयाँ सरकारले विकासका लागि लक्षित लगानी गर्नुपर्छ ।

गत आर्थिक वर्षमा विकासका लागि जाने पुँजीगत शीर्षकमा ३ खर्ब १३ अर्ब रुपैयाँ विनियोजन भएकोमा जम्मा २ खर्ब ४० अर्बमात्र खर्च गर्न सकेको सरकारले उच्च आर्थिक वृद्धिदरको गफ नदिए पनि हुन्छ । फेरि पुँजीगततर्फ विनियोजित सबै बजेट विकास निर्माणकै लागि खर्च हुने पनि होइन, त्यसको औसतमा ४५ प्रतिशत बजेटमात्र पुँजीगत निर्माणमा खर्च हुन्छ, बाँकी सवारीसाधन किन्न, घरजग्गा र फर्निचर खरिद, मेसिनरी औजारलगायतका शीर्षकमा खर्च हुन्छ । यस्तो किसिमको खर्च प्रवृत्तिले उच्च आर्थिक वृद्धिदर त होइन, हाल कायम रहेको औसत ६ प्रतिशतको स्थिर आर्थिक वृद्धिदर कायम राख्न पनि सरकारलाई गाह्रो पर्नेछ ।

साँच्चै भन्ने हो भने उच्च र दिगो आर्थिक वृद्धिदरका लागि सरकारमा ठोस प्रतिबद्धता नै देखिएन । प्रत्येक पटक भाषणहरूमा ‘समृद्धि’ शब्द नछुटाउने प्रधानमन्त्री ओलीको भनाइ र सरकारको समग्र कार्यसम्पादन प्रगतिबीचमा ठ्याक्कै आकास जमिनको अन्तर छ । उच्च आर्थिक वृद्धिदरका लागि सरकारसँग ठोस कार्ययोजना नै नभएको स्पष्ट भइसकेको छ । सरकारले मुख्य आर्थिक सल्लाहकार संयन्त्रका रुपमा नीति अनुसन्धान प्रतिष्ठान गठन गरे पनि कार्यक्षेत्र र अधिकारका विवादले काम गर्न नपाउँदै यो संयन्त्र कोमा गयो । प्रधानमन्त्रीले निकै आशा गरेर (आफ्नै पार्टीभित्र व्यापक विरोध र आलोचनाका बाबजुद) अर्थमन्त्री बनाएका डा. युवराज खतिवडा पनि विशुद्ध प्राविधिक विज्ञ (कोर टेक्नोक्र्याट)भन्दा माथि उठ्न सकेनन् । डा. खतिवडाले प्रभावकारी राजस्व परिचालनको नीति बनाउन नसक्दा लक्ष्यभन्दा १३ प्रतिशत कम राजस्व उठ्यो । सरकारले नेपाल टेलिकम, नेपाल राष्ट्र बैंक आदिबाट पाउनु पर्ने लाभांश अग्रीम तानेर ८ खर्ब ५९ अर्ब राजस्व संकलन भएको समायोजित तथ्यांक सार्वजनिक गरे पनि महालेखाकै विवरणले गत वर्ष उठेकोमा जम्मा राजस्व ७ खर्ब २९ अर्ब ५२ करोड रुपैयाँमात्र भएको देखाएको छ । सरकार र राष्ट्र बैंकको खातामा करिब ४४ अर्बले राजस्व भिन्नता देखिएको छ ।

श्रीपशुपतिनाथको कृपाले दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल भइरहँदैन, यसका लागि लगानी बढाउनु पर्छ, सार्वजनिक पुँजी निर्माण हुनुपर्छ । विज्ञ अर्थमन्त्री भएका नाताले कम्तिमा सरकारले विगत केही वर्षदेखि स्थगित रहेको आर्थिक सुधारलाई गति दिन्छ र त्यसकै आधारमा अर्थतन्त्रले पनि लय समाउँछ भन्ने अपेक्षा थियो, तर सरकारले सुधारका नाममा ‘स’समेत उच्चारण गर्न धक मान्यो । बलियो र सबल आधार भएको उच्च आर्थिक वृद्धिदर हासिल गर्नका लागि अर्थतन्त्रमा वर्षौंदेखि थुप्रिँदै आएका संरचनागत समस्याहरूलाई सम्बोधन नगरी हुँदैन ।

परम्परागत ढाँचाका योजना र बजेट निर्माण अनि त्यही ढंगको कार्यान्वयन पद्धति रहिञ्जेलसम्म कुनै वर्ष चिठ्ठा परेर उच्च आर्थिक वृद्धिदर हासिल भइहाल्यो भने पनि त्यसले निरन्तरता पाउन कठिन नै हुन्छ । सरकारले गएको वर्ष त विराशतमा प्राप्त यो कार्यपद्धतिलाई चिर्न सकेन नै, चालू आर्थिक वर्षमा पनि यसलाई चिरेर अघि बढ्ने कुनै सोच बनाइसकेको देखिँदैन । देश संघीयतामा गइसकेको अहिलेको परिप्रेक्षमा थोरैमात्र नीतिगत ठेल्ने/धकेल्ने (पुसअप) पहल भयो भने पनि अर्थतन्त्रले गति लिनसक्ने आधार भने रहन्छ, तर यसका लागि हाम्रो परम्परागत कार्यसञ्चालन पद्धति र संरचनालाई बलदिने हिम्मत भने गर्नसक्नु पर्छ ।

राष्ट्रिय योजना आयोगलाई अहिले आवधिक योजना बनाउनेबाहेक विकास आयोजनाहरूको अनुगमन गर्ने दायित्व पनि सुम्पिइएको छ । वास्तविकता के हो भने आयोगसँग विकास आयोजनाहरूको सही अनुगमन र मूल्यांकन गर्ने संयन्त्र नै छैन । उदाहरणका लागि, केही समयअघि सिक्टा सिँचाइ आयोजनाको अनुगमनका पुगेका आयोगका पदाधिकारी र अधिकारीहरूले चिटिक्क परेको आयोजनाको नहरको फोटो खिचेर निकै गतिलो प्रगति भइरहेको प्रतिवेदन तयार पारे, जब पानी पठाएर नहर परीक्षण गरियो, पानीको दबाब झेल्न नसकेर मूल नहर नै भत्कियो । यो तरिकाको अनुगमन पद्धतिबाट सरकार नझुक्किने कुरै छैन ।

अहिले दाताहरूले पनि विकासका लागि सहयोग गर्छु भनेर हात बढाएको अवस्था छ, हालसालैमात्र विश्व बैंकले संघीयताको कार्यान्वयनका लागि दोस्रो चरणको विकास सहयोगबापत करिब ११ अर्ब रुपैयाँ दिने सहमति जनाएको छ । एसियाली विकास बैंक (एडीबी)ले यही सन् २०१९ को मध्यसम्ममा नेपालका लागि नयाँ सहायता नीति जारी गर्ने तयारीमा छ । अन्य दाताहरूले पनि यसैअनुसार आफ्नो नेपाल सहायता नीति, रणनीतिहरूमा परिवर्तन गर्दैछन् । यस्तो अवस्थामा गलत आर्थिक विवरणहरू देखाएर एक दिन झुक्याउन सकिएला, दुई दिन झुक्याउन सकिएला, तेस्रो दिन त सिक्टाको नहर भत्किएजस्तो वास्तविकता बाहिर आइ नै हाल्छ । त्यसैले तथ्यांक लुकाउने, बंग्याउने होइन, सही तथ्यांक दिएर मुलुकलाई दिग्भ्रमित हुनुबाट बचाउनु जरुरी छ ।

कारोबार दैनिक १४ साउन २०७६

स्रोत परिचालन र बजेट व्यवस्थापनमा चुकेको सरकार

गतवर्ष राजस्व परिचालन, विदेशी सहायता र आन्तरिक ऋणबाट उठेको छ, जम्मा ९ खर्ब ५५ अर्ब ९८ करोड र कुल बजेट खर्च भएको छ, १० खर्ब ९४ अर्ब ४५ करोड (संशोधित लक्ष्यभन्दा पनि १ खर्ब ६ अर्ब कम), भनेपछि बाँकी १ खर्ब ३८ अर्ब ५१ करोड रुपैयाँ सरकारले कहाँबाट उपयोग ग¥यो त? यो वर्ष ३ खर्ब ११ अर्ब ८४ करोड रुपैयाँ वैदेशिक सहायता परिचालन हुने सरकारको अपेक्षा रहेकोमा त्यसको ४२.७१ प्रतिशतमात्रै अर्थात् १ खर्ब ३३ अर्ब रुपैयाँमात्रै वैदेशिक सहायता परिचालित भयो भने आन्तरिक ऋणबाट १ खर्ब २९ अर्ब उठाउने लक्ष्य रहेकोमा जम्मा ९६ अर्ब ३८ करोड रुपैयाँमात्रै उठेको छ ।

Continue reading “स्रोत परिचालन र बजेट व्यवस्थापनमा चुकेको सरकार”

आर्थिक वर्ष वैशाखबाट वा आर्थिक कार्याविधिमा परिवर्तन!

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको बजेटरी विवरणअनुसार ‘असारे विकासमा लगानी’ का बाबजुद असार ३० गतेसम्मको पुँजीगत खर्च जम्मा ६८ प्रतिशतमात्रै छ ।

सरकार यदि साँच्चि नै शासकीय सुधार गर्न प्रतिबद्ध छ भने आर्थिक कार्यविधिमा परिवर्तन गरेर संविधानमा तोकिएको बजेट आउने मितिपछि पुराना भुक्तानी जारी गर्न नमिल्ने गरि प्रणालीगत परिवर्तन गर्नुपर्छ ।

गजेन्द्र बुढाथोकी
हरेक वर्ष असार लागेपछि अत्याधिक बजेट खर्च हुने क्रम बढेपछि यसलाई नियन्त्रण गर्नका लागि आर्थिक वर्ष नै वैशाखबाट सुरु गरेर मुलुकको क्यालेन्डरसँग समायोजित गर्नुपर्ने धारणा बढ्न थालेको छ । नेपालमा किन र कहिलेबाट असारमा आर्थिक वर्ष आरम्भ गर्न थालियो भन्ने विषयमा औपचारिक दस्तावेजहरू प्राप्त भएका छैनन् । असारबाट मुख्य खेतीपातीका मौसम आरम्भ हुने भएकाले त्यसैलाई आधार मानिएको हो कि भन्ने देखिन्छ । योभन्दा अलि अघि बढेर हेर्ने हो भने कौटिल्यको अर्थशास्त्रमा राजस्व उठाउने अधिकारीहरूले असारमा आफ्नो हरहिसाब फरफारक गर्नुपर्ने व्यवस्था गरिएको पाइएकाले नेपालका तत्कालीन नीतिनिर्माताहरूले कतै त्यही आधार त लिएका होइनन भन्ने पनि देखिन्छ । Continue reading “आर्थिक वर्ष वैशाखबाट वा आर्थिक कार्याविधिमा परिवर्तन!”

ओली सरकारले भ्रमणमै खर्चियो अढाइ अर्ब

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले चालू आर्थिक वर्षको १० महिनामा भ्रमण शीर्षकमा करिब २ अर्ब ५५ करोड रुपैयाँ खर्च गरेको पाइएको छ । चालू आर्थिक वर्षका लागि भ्रमण (विशिष्ट व्यक्तिको भ्रमण र प्रतिनिधिमण्डलको खर्चसमेत) १ अर्ब ८३ करोड रुपैयाँ विनियोजन भएकोमा त्यो रकम पुस नलाग्दै सकिइसकेको थियो ।
महालेखाका अनुसार पुस मसान्तसम्म भ्रमण खर्चबापत २ अर्ब २० करोड रुपैयाँ खर्च भइसकेको छ । हालको राजस्व शीर्षक वर्गीकरणअनुसार भ्रमण बजेटलाई तीन भागमा खण्डीकरण गरिएको छ, भ्रमण, विशिष्ट व्यक्ति र प्रतिनिधिमण्डको भ्रमण तथा अन्य भ्रमण । यी तीनमध्ये भ्रमण शीर्षकमा यस वर्ष १ अर्ब ७२ करोड विनियोजन भएकोमा पुस मसान्तसम्ममा नै २ अर्ब १५ करोड खर्च भइसकेको थियो ।

( अपडेट- महालेखा नियन्त्रणकका विवरणअनुसार चालू आर्थिक वर्षको असार २० गतेसम्म भ्रमण शीर्षकमा मात्र २ अर्ब ८२ करोड ३८ लाख खर्च भइसकेको छ भने अर्थ विविधका निकासा २६ करोड रहेको छ)

यस्तै, विशिष्ट व्यक्ति र प्रतिनिधिमण्डलको भ्रमण शीर्षकमा जम्मा ६ करोड ५० लाख रुपैयाँ निकासा भएकोमा राष्ट्रपति विद्यादेवी भण्डारीको चार पटकको विदेश भ्रमणमा नै ७ करोड ९३ लाख रुपैयाँ खर्च भएको अर्थमन्त्रालयको विवरणबाट देखिएको छ । राष्ट्रपतिले यसै आर्थिक वर्षमा मात्र चीन, अमेरिका, पोल्यान्ड, र कतारको भ्रमण गरेकी छन् ।
विशिष्ट व्यक्ति र प्रतिनिधिमण्डलको भ्रमण शीर्षकमा जेठ मसान्तसम्म १० करोड रुपैयाँ खर्च भइसकेको महालेखा परीक्षकको कार्यालयले उल्लेख गरेको छ ।
प्रधानमन्त्री, मन्त्रीहरू, मुख्यसचिव र अन्य मन्त्रालयका अधिकारीहरूसमेतको विदेश भ्रमणको क्रम बढ्दै गएर विनियोजित भ्रमण खर्चको बजेट अपुग भएपछि अर्थमन्त्रालय विविधबाट जेठ मसान्तसम्म करिब २५ करोड रुपैयाँ भ्रमणका लागि निकासा भइसकेको पाइएको छ । विदेश भ्रमणमा जाने पदाधिकारीका लागि हवाई टिकट, होटल खर्चदेखि दैनिक भ्रमणभत्तासमेत दिने गरिएको छ ।
प्रधानमन्त्री केपी ओलीले यस वर्ष भारत, चीन, अमेरिका (दुई पटक), पोल्यान्ड, कोस्टारिका, स्वीजरल्यान्ड (२ पटक), भियतनाम, कम्बोडिया, फ्रान्स र बेलायत गरी १० वटा देशको भ्रमणमा गएका छन् । प्रधानमन्त्री ओलीको प्रत्येक विदेश भ्रमणमा औसतमा २ देखि ४ करोड रुपैयाँसम्म खर्च भइरहेको उपलब्ध विवरणहरूबाट देखिन्छ । यसमा हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहणमा भारत जाँदा र युरोपको भ्रमणमा भएको खर्चको विवरण भने समावेश छैन ।
प्रधानमन्त्रीपछि धेरै विदेश भ्रमण गर्नेहरूमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटा, उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव र र अर्थमन्त्री डा. युवराज खतिवडा रहेका छन् । कार्यभारका हिसाबले परराष्ट्रमन्त्रीको विदेश भ्रमण स्वभाविक भए पनि अन्य मन्त्रीहरूको विदेश भ्रमणको मोह अचम्म लाग्दो नै छ ।
सूचना तथा सञ्चारमन्त्री बाँस्कोटा भारत, यूइए (दुबई), इथियोपिया, स्पेन, फ्रान्स, जर्मनी, स्वीजरल्यान्डलगायतको मुलुक पुगेका छन् भने उपप्रधानमन्त्री यादव भारत, बेलायत, कजाकास्तान, स्वीजरल्यान्डलगायतका मुलुकको भ्रमणमा गएको देखिन्छ ।
यस्तै, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री यादव यूइए (दुबई), बहराइन, चीन (२ पटक), भारत, अमेरिकालगायतका मुलुक पुग्दा अर्थमन्त्री डा. खतिवडा इन्डोनेसिया, अमेरिका, बेलायतलगायतका मुलुक पुगेका छन् ।
सरकारका धेरैजसो मन्त्री यस वर्ष बढी चीनको भ्रमणमा गएको विवरणले देखाउँछ । विदेश भ्रमणमा जाने अन्य मन्त्रीहरूमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, वनमन्त्री शक्ति बस्नेत, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, कृषिमन्त्री चक्रपाणी खनाल, युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनुवार, कानुनमन्त्री भानुभक्त ढकालदेखि कृषि राज्यमन्त्री राजकुमारी चौधरीसमेत रहेका छन् ।
सरकारको भ्रमण खर्च हरेक वर्ष चुलिँदै गएको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष ०७३-७४ मा भ्रमण खर्चबापत २ अर्ब २८ करोड २८ लाख रुपैयाँ खर्च भएकोमा यो भ्रमण खर्च गत आर्थिक वर्ष २०७४-७५ मा ३ अर्ब ३४ करोड ३१ लाख रुपैयाँ पुग्यो ।
चालू आर्थिक वर्षमा मन्त्रीहरूको विदेश भ्रमणको मोहले गत वर्षको भन्दा अझ ठूलो राशि भ्रमणमा खर्च हुने देखिएको स्वयं अर्थमन्त्रालयका अधिकारीहरू स्वीकार गर्छन् ।

कारोबार दैनिक, १५ असार २०७६

लाचार उदारवाद – विषादीयुक्त तरकारीलाई खुला प्रवेश

विषादीयुक्त टमाटर

सरकार प्रमुखले प्रयोगशाला नै छैन भनेर गलत जानकारी दिएका छन्, अहिले पनि देशका सात स्थानमा तरकारीको विषादी प्रयोग गर्ने केन्द्र छन् ।

नेपालमा बिनापरीक्षण तरकारी र फलफूल भित्र्याउन दे, भनेर दबाब दिने भारतले भने नेपालबाट निर्यात हुने कृषिजन्य वस्तुलाई वर्षौंदेखि क्वारेन्टाइन र विषादी परीक्षणको नाममा दुःख दिने काम गरिरहेको छ । नेपालको जस्तो लगभग सीमावर्ति क्षेत्रमै, नभए पनि ५ देखि १० किलोमिटरभित्रमा नै विषादी परीक्षण गरिँदैन ।

गजेन्द्र बुढाथोकी

सरकारले असार २ गते नेपाल राजपत्रमा ‘परिणात्मक बन्देजका सूचना’ प्रकासित गरी नेपालबाट निर्यात हुने र आयात हुने केही वस्तुहरूमा परिणात्मक बन्देज लगायो । राजपत्रका सूचनाको पैठारी (आयात)सम्बन्धी विशेष व्यवस्थामा उल्लेखित– ‘ताजा तरकारी तथा फलफूल पैठारी गर्दा सम्बन्धित भन्सार विन्दुमा क्वारेन्टाइन र जीवनाशक विषादीको अवशेष परीक्षण अनिवार्य रुपमा गरेरमात्र गर्नुपर्ने’ भन्ने व्यवस्थाको सरकारले कार्यान्वयन गर्नेवित्तीकै भारतका तरकारीका थोक निर्यातकर्ताको अतालिए र भारतीय दूतावासमार्फत दबाब सिर्जना गरे । प्रधानमन्त्री केपी ओलीले आफ्नो संसदीय दलको बैठकमा “भारतबाट पत्र आयो! खोई कसलाई पत्र आयो मैले थाहा पाइनँ । कसले पढ्यो त्यो पत्र मैले बुझेको छैन”, भनेर पानीमाथिको ओभानो बन्ने प्रयास गरे पनि भारतीय दूतावासका प्रवक्ता अभिशेक दुवेले लिखित र मौखिक रूपमा तरकारीमा विषादी परीक्षण रोक्न दबाब दिइएको मिडियामा स्वीकार गरेका छन् । (यी पंक्तिहरू लेखिसकिएलगत्तै  भारतीय  दूतावासको  धम्कीयुक्त पत्र सार्वजनिक भएको छ, हेर्नुहोस्  पत्र)
परिणामतः सरकार भारतीय दबाबका सामु झुक्यो र भारतबाट आउने तरकारी तथा फलफूल बिनाकुनै परीक्षण नेपाल भित्र्याउने अनुमति दियो ।
सरकारले विषादी परीक्षण रोक्ने निर्णयको व्यापक आलोचना बढेपछि ‘पूर्वाधार नभएको’, ‘तयारी नपुगेको’ भन्दै पन्छिने प्रयास गरेको छ । यो सरकारको लाचार उदारवादको नमुना हो । तरकारीमा विषादी परीक्षण नौलो कुरा पनि होइन । कृषि मन्त्रालयअन्तर्गत २०७५ सालपछि पुनर्गठित निकाय छ– प्लान्ट क्वारिन्टिन एवं विषादी व्यवस्थापन केन्द्र । बाली संरक्षण निर्देशनालय, हरिहरभवन, राष्ट्रिय प्लान्ट क्वारेन्टिन कार्यक्रम, हरिहरभवन र विषादी पंजीकरण तथा व्यवस्थापन शाखा, हरिहरभवन गाभिएर प्लान्ट क्वारेन्टिन एवं विषादी व्यवस्थापन केन्द्र बनाइएको हो । अहिले केन्द्रिय स्तरमा एउटा प्लान्ट क्वारेन्टिन एवं विषादी व्यवस्थापन केन्द्र तथा त्यसको मातहतमा १५ वटा क्वारेन्टिन कार्यालयहरू र सात वटा विषादी अवशेष दु्रत विश्लेषण इकाई स्थापना भइ निरन्तर तरकारी तथा फलफूलमा रहेको विषादी परीक्षण गर्दै आएका छन् । काठमाडौंको कालीमाटी तरकारी बजार, सर्लाहीको नवलपुरमा रहेको फलफूल तथा तरकारी बजार विकास समिति, झापाको बिर्तामोडमा रहेको कृषि उपज केन्द्र, कास्कीको पोखरामा रहेको शान्तीवाटिका कृषि बजार, रुपन्देहीको बुटबलमा रहेको कृषि उपज थोक बजार, बाँकेको नेपालगन्जमा रहेको रानीतलाउ कृषि उपज केन्द्र र कैलालीको अत्तरियामा रहेको कृषि उपज थोक बजारस्थित परीक्षण केन्द्रहरूले बकाइदा विषादी परीक्षण गरिरहेका छन् ।

गत आर्थिक वर्ष २०७४÷७५ मा देशैभरि रहेका यी सबै विषादी परीक्षण केन्द्रहरूमा कुल ४ हजार ७८२ तरकारी तथा फलफूलका नमुना परीक्षण गरिएकोमा ३३ वटा नमुनामा खानै नहुने गरि अत्यधिक विषादी प्रयोग भएको तथा १०३ नमुना केही दिन पर्खेर खानुपर्ने अवस्थाका पाइएको थियो । यो तथ्यांकले पनि सरकारको पूर्वाधार र क्षमता नभएको भन्ने भनाइको खण्डन गर्छ । संघीयताको कार्यान्वयनसँगै कर्मचारी समायोजनपछि केही जनशक्तिको अभाव भएको होला, तर नेपालमा तरकारीमा भएको विषादी परीक्षण गर्नै नसकिने गरी पूर्वाधारको अभाव भने भएकै छैन । स्वयं विषादी व्यवस्थापन केन्द्रका अधिकारीहरू नमुना प्राप्त भएको एक दिनभित्रै सात वटै केन्द्रले तत्कालै विषादी परीक्षण गर्नसक्ने क्षमता रहेको बताइरहेका छन् । सरकारले निर्णयले कार्यरत जनशक्ति र निकायकै क्षमताको खिल्ली उडाएको छ ।
देशका सात कृषि बजारमा संकलन गरिएका नमुनामध्ये केबल ०.७ प्रतिशत नमुनामात्रै खान अयोग्य ठहर भएको र २ प्रतिशत नमुना केही दिन पर्खेर (विषादी प्रयोग भएका कम्तिमा १४ देखि २८ दिनसम्म त्यसलाई टिप्नु वा उपभोग गर्न नहुने भनी विभिन्न विषादीमा ‘पर्खनु पर्ने’ अवधि तोकिएका हुन्छन्)मात्र उपभोग गर्नुपर्ने, अर्थात् औसतमा केबल ३ प्रतिशतमात्र तरकारी तथा फलफूलमा विषादी अवेशष बढी पाइएको छ । यस्तो अवस्थामा भारतले ‘चोरका खुट्टा काट्’ भन्दा आफ्ना देशबाट उत्पादित तरकारी तथा फलफूल बिनाकुनै परीक्षण नेपाल भित्र्याउन दबाब दिनुको सोझो अर्थ हो, उताबाट आउने तरकारीमा तोकिएको मापदण्डभन्दा बढी नै विषादी प्रयोग भइरहेको छ र यदि यहाँ लगातार परीक्षण गरिए विषादीयुक्त तरकारी अन्यत्र पनि बेच्न सकिँदैन ।
नेपालले बिनापरीक्षण भारतीय तरकारीको आयात नगर्ने निर्णय गरेपछि ‘गांव कनेक्सन’, ‘ग्रिन टिभी’लगायत कृषिमै केन्द्रीत भारतका वैकल्पिक सञ्चारहरूले प्रकासन–प्रशारण गरेका समाचार विश्लेषणहरूमा प्रष्टै भनिएको छ– ‘भारतमा किसानहरूले अधिक उत्पादन लिने नाममा अनियन्त्रित ढंगले विषादी प्रयोग गरेकै कारण बजार गुमाउने खतरा बढेको छ ।’ गांव कनेक्सनको रिपोर्टअनुसार अमेरिकाले भारतबाट आयात हुने २६ टन झिगें माछा अत्याधिक विषादी प्रयोग भएकै कारण फिर्ता गरिदिएको थियो भने केही खाडी मुलुकले भारतीय बासमती चामलमा तोकिएको मापदण्डभन्दा बढी विषादी प्रयोग गरेको भन्दै त्यसमा गम्भीर आपत्ती जनाइसकेका छन् ।
भारतमा हाल ९० हजार मेट्रिक टन बराबरको विषादी प्रयोग हुन्छ, यसको ठूलो हिस्सा तरकारी बालीमै प्रयोग हुन्छ । नेपालमा हाल भारतका सीमावर्ति बिहार, पश्चिम बंगाल, उत्तरप्रदेशसहित कर्णाटक, मध्य प्रदेश, महाराष्ट्रलगायतका प्रदेशहरूमा उत्पादित तरकारी आयात हुने गरेको छ ।
चालू आर्थिक वर्षको पहिलो ११ महिना अर्थात जेठ मसान्तसम्म नेपालका कुल २६ अर्ब ४६ करोड रुपैयाँबराबरको तरकारी र १७ अर्ब ३ करोड रुपैयाँबराबरको फलफूल आयात भएको छ । नेपालले अहिलेसम्म १६ किमिसका विषादीको प्रयोगमा रोक लगाइसकेको छ, तर तीमध्ये अधिकांश अझै पनि भारतमा प्रयोग भइरहेका छन् । नेपालमा हालसम्म १ सय ३९ किसिमका २ हजार ५ सय ७६ व्यापारिक नाम भएका विषादीहरू दर्ता छन् भने भारतमा २ सय ३४ किसिमका ५ हजारभन्दा अधिक विषादीहरू चलनचल्तीमा छन् । अन्य मुलुकमा प्रतिबन्धित इन्डोसल्फानसहितका करिब १ सय घातक विषादी भारतीय किसानले प्रयोग गरिरहेका छन् ।
कृषिसम्बन्धी एक अध्ययनमा भारतीय किसानहरूले ऊखुमा प्रयोग गर्ने विषादीसमेत तरकारी बालीमा प्रयोग गर्ने गरेको उल्लेख छ । कृषि तथा वनविज्ञान विश्वविद्यालयका लागि मीनराज पोखरेलले गरेको एक अध्ययनअनुसार पर्सा जिल्लाका किराना, साइकल, पान पसल र पेट्रोल पम्पमा समेत नेपालमा प्रतिबन्धित विषादी बिक्री भइरहेको पाइएको थियो । नमुना (स्याम्पल)मा पर्सा समेटिएको भए पनि नेपालका अधिकांश सीमावर्ति क्षेत्रहरूमा भारतबाट अवैध रूपमा यसरी प्रतिबन्धित विषादी आयात गरेर बेच्ने गरिएको छ ।
सन्दर्भ भारतबाट आयात हुने तरकारीको बिनापरीक्षण आयातको भए पनि अब स्वदेशमै उत्पादन हुने तरकारीमा समेत विषादी प्रयोगबारे अब गम्भीर विचार गर्नुपर्ने बेला भइसकेको छ । र प्लान्ट क्वारेन्टिन एवं विषादी व्यवस्थापन केन्द्रका विवरणअनुसार २०७४ असार मसान्तसम्म देशभित्र २१९ विषादी आयातकर्ता छन् भने तिनले १३९ किसिम (सामान्य नाम)का २ हजार ५७६ किसिमका विषादी आयात गरेर १२ हजार ८८७ खुद्रा बिक्रेतामार्फत बेच्ने गर्छन् । गत आर्थिक वर्ष ०७४÷७५ मा ५७४ टन विषादी आयात भएको छ, जसका लागि करिव ६९ करोड रुपैयाँ खर्च भएको देखिन्छ । नेपालमा विषादीको प्रयोग ३९६ ग्राम विषादी प्रति हेक्टर÷प्रति वर्षमात्रै छ, जबकी भारतमा यो अनुपात औसत ५०० ग्राम प्रतिहेक्टर छ । नेपालको विषादी प्रयोग अन्य विकासशील मुलुकहरूको दाँजोमा र औसत विश्वस्तरभन्दा कम रहे पनि ८० प्रतिशत विषादी तरकारी बालीमा नै प्रयोग भइरहेको तथा ९२ प्रतिशत किसानले ‘पर्खनु पर्ने अवधि’ भित्रै तरकारी टिपेर बजारमा पठाउने गरिरहेकाले चिन्तालाग्दो अवस्था देखिएको छ ।
कृषि तथा वनविज्ञान विश्वविद्यालयका लागि मीनराज पोखरेलको अध्ययनअनुसार प्रत्येक कृषक घरधुरीले बाह्य सामग्री खरिद गर्दा लाग्ने समग्र खर्चको १८ प्रतिशत विषादीमा खर्च गर्ने गरेका छन् । अध्ययनमा सामेलमध्ये ७४ प्रतिशत किसानले एग्रोभेट, बीउविजन केन्द्र र विषादी विक्रेताको सिफारिसमा, ९ं५ प्रतिशतले किसाने आफैले जानेका भरमा, ६.४ प्रतिशत किसानले छिमेकी किसानको आधारमा विषादी किन्ने गरेका छन् केबल ५.६ प्रतिशतले मात्र कृषि सेवा केन्द्रको सल्लाहमा, ३.६५ प्रतिशतले विज्ञको सल्लाहमा र ०.९४ प्रतिशतले अगुवा कृषकको सल्लाहमा विषादी किन्ने गरेका छन् । यसरी विषादी किनेर लाने ८५ प्रतिशतले आफैले विषादी छर्कने गरेका छन् ।
अत्यधिक विषादीका प्रयोग तथा असुरक्षित प्रयोग एवं व्यवस्थापनकै कारणले प्रमुख तरकारी बेल्ट काभ्रेको पाँचखालसहित अनुसार नेपालका पुराना व्यावसायिक तरकारी पकेट क्षेत्रहरूमा क्यान्सर, श्वासप्रश्वास, मुटु, मृगौला, कलेजो, रगत, आँखा, पाचन प्रणाली, नशाका रोगहरूबाट पीडितहरूको संख्या बढ्दै गएको विभिन्न फरक–फरक अध्ययनले देखाएका छन् । अब हामी आफै विचार गरौं, तरकारी र फलफूलका नाममा हामीले भान्सामा कति मन्द विष भित्र्याइरहेका हौंला?

तरकारीमा विषादीको अत्यधिक प्रयोगले सम्बन्धित कृषक परिवारमा मात्र होइन, वातावरणीय प्रणालीमा नै गम्भीर असर पारिरहेको छ । बालीमा लाग्ने धेरै प्रजातिका किराहरूले विषादी पचाउन थालिसकेका छन्, जमिन र पानीमा घुलन नहुने विषादीको अवशेषका प्रतिकूल असर देखिन थालिसकेका छन् । विषादी भनेको विष नै हो, औषधि होइन । विश्वभरि नै उपभोक्ताहरूमाझ विषादी प्रयोग नगरिएका प्रांगारिक (अग्र्यानिक) तरकारी, फलफूललगायतका अन्य कृषि उपजको माग बढ्दै गएको छ । भारतको सिक्किम राज्यले पूरै प्रान्तलाई नै ‘अग्र्यानिक’ घोषणा गरिसक्यो । हामीले पनि रसायनिक विषादीको विकल्प सोच्नै पर्ने बेला भइसकेको छ । हाम्रा पितापुर्खासँग जैविक विषादी प्रयोगसम्बन्धी अमूल्य ज्ञानभण्डार थियो । नीम, तीतेपाती, बाबरी, कपुर, टिम्बुर, बकाइनो, खिर्रो, केतुकी, असुरो, कपुर, पुदिनालगायतका जडिबुटीदेखि गाईभैंसीको गहुँतलगायतका जैविक विषादीले खेतबारी सुरक्षित बनाइन्थ्यो । विगत केही वर्षयता नेपालमा शत्रुजीव व्यवस्थापन (आईपीएम) विधिको पनि प्रबद्र्धन गरिँदैछ ।
चाहे स्वदेशी होस् वा विदेशबाट आयातीत नै किन नहोस्, सबै किसिमका तरकारी, फलफूलसहितका कृषि उपजहरूमा विषादी परीक्षण गरिनैपर्छ । नेपालमा बिनापरीक्षण तरकारी र फलफूल भित्र्याउन दे, भनेर दबाब दिने भारतले भने नेपालबाट निर्यात हुने कृषिजन्य वस्तुलाई वर्षौंदेखि क्वारेन्टाइन र विषादी परीक्षणको नाममा दुःख दिने काम गरिरहेको छ । नेपालको जस्तो लगभग सीमावर्ति क्षेत्रमै, नभए पनि ५ देखि १० किलोमिटरभित्रमा नै विषादी परीक्षण गरिँदैन । काँकडभिट्टाबाट नमुना लगेर कोलकाता र दिल्लीमा जाँच गरिन्छ र त्यही बहानामा १५ देखि २० दिन लगाइदिएर नेपाली उपज कुहिने अवस्थामा पु¥याइन्छ ।
सरकार विषादी परीक्षणको निर्णयबाट हिम्मतपूर्वक घुँडा धसेर पछि हट्ने भए २०७५ पुस २० गते नै जारी भएको (२०७१ को निर्देशिका खारेज गरी जारी नयाँ) विषादी अवशेष द्रूत कार्यक्रम सञ्चालन निर्देशिका’ पनि खारेज गर्नुप¥यो, होइन भने निर्देशिकाअनुसार संघीय र प्रादेशिक निर्देशक र सञ्चालक समिति गठन गर्ने, हाल भएका सातै वटा प्रयोगशालालाई दक्ष जनशक्तिसहित स्तरोन्नति गर्ने तथा सातै वटा प्रदेशका प्रमुख भन्सार विन्दुमा रहेका प्लान्ट क्वारेन्टाइन चेकपोस्टलाई समेत स्तरोन्नति गरी तत्कालै विषादी परीक्षणको व्यवस्था मिलाए, नेपालीको भान्सामा विषादीरहित कृषि उपजमात्र प्रवेश गर्ने व्यवस्था गर्नुपर्छ ।

कारोबार दैनिक २३ असार २०७६

कमजोर वित्तीय सचेतना र वित्तीय पहुँचका भ्रम

NRB_Nepalinomy

राष्ट्र बैंकले ८९ प्रतिशतमा बैंकिङ पहुँच पुगेको दाबी गरे पनि राष्ट्र बैंककै अर्को तथ्यांकले बैंकिङ क्षेत्रमा खुलेको कुल खातामध्ये ३३.६ प्रतिशतमात्र बचत खाता भएको देखाएको छ । यसमा लघुवित्त र सहकारीका खातासमेत जोड्दा मुश्किलले ५१ प्रतिशतमा मात्र बैंकिङ पहुँच पुगेको देखिन्छ ।

गजेन्द्र बुढाथोकी
नेपाल राष्ट्र बैंकले हालै नेपालका ८९ प्रतिशत जनंसंख्यामा वित्तीय पहुँच पुगेको विवरण सार्वजनिक गरेको छ । राष्ट्र बैंकले नै सार्वजनिक गरेका दुई वटा तथ्यांकहरू हेरौं । पहिलो, वित्तीय समावेशीकरण पोर्टलमा सार्वजनिक गरिएको तथ्यांकले भन्छ– नेपालीहरूको देशभरिको बचत खाता संख्या २ करोड ३० लाख ५७ हजार पुगेको छ, २ करोड ६० लाख जनसंख्या मानेर (कसरी मान्यो, त्यो राष्ट्र बैंकले नै भन्ला) यसकै आधारमा ८९ प्रतिशतको वित्तीय पहुँच पुगेको दाबी गरिएको हो ।

राष्ट्र बैंककै चैत महिनासम्मको अर्को तथ्यांकले भन्छ– देशभरि २ करोड ६९ लाख १० हजार खाता खुलेका छन्, यसमध्ये चल्ती खाताको हिस्सा ८.६ प्रतिशत, बचत खाताको हिस्सा ३३.६ प्रतिशत, मुद्दती खाताको हिस्सा ४७.३ प्रतिशत, ‘कल डिपोजिट’को हिस्सा ९.८ प्रतिशत र ‘मार्जिन खाता’को हिस्सा ०.७ प्रतिशत छ । यी दुई तथ्यांक एकआपसमा बाझिएकामात्रै होइन, भ्रम सिर्जना गर्ने खालका पनि छन् । कुल खुलेका बैंक खातामध्ये साढे ३३ प्रतिशत बचत खाताको संख्या हिसाब गर्दा त्यो करिब ९० लाख ४१ हजारमात्र हुन आउँछ । यसलाई वर्तमान जनसंख्या (केन्द्रीय तथ्यांक विभागले पछिल्लो श्रमशक्ति सर्वेका लागि गणना गरेको २ करोड ९० लाख २२ हजार)को अनुपातमा हेर्दा जम्मा ३१ प्रतिशतको मात्र बैंक खाता खुलेको देखिन्छ ।

राष्ट्र बैंकको बैंकिङ पहुँचको विवरणमा देखिएको अर्को अन्योल भनेको जनसांख्यिक पहुँचको विवरण नै हो । जन्मिनेवित्तीकै सबैले खाता खोल्दैनन् । तथ्यांक विभागको विवरणअनुसार हाल १५ वर्षमाथिको वयस्क जनसंख्या २ करोड ७ लाख ४४ हजार छ भने घरपरिवार संख्या ६६ लाख घरपरिवार रहेको छ । राष्ट्र बैंकको वित्तीय पहुँचको तथ्यांक केलाउँदा वयस्क जनसंख्याको १११ प्रतिशत वित्तीय पहुँच देखिन्छ भने कुल घरपरिवार संख्याको ३४९ प्रतिशत बैंकिङ पहुँच पुगिसकेको देखिन्छ । यो विश्वकै विकसित अर्थतन्त्रहरूबराबरको वित्तीय पहुँच हो । के यो सम्भव छ त?

राष्ट्रिय योजना आयोगले हालै सार्वजनिक गरेको पन्ध्रौं योजनाको आधारपत्रअनुसार हाल १८.९ प्रतिशत नेपाली गरिबीको रेखामुनि छन्, संख्यात्मक रूपमा हेर्दा करिब ५४ लाख जनसंख्या गरिबीको रेखामुनि छन् । अर्कातिर नेपालमा वित्तीय पहुँचसम्बन्धी सर्वे (नेपाल फिन्स्कोप सर्वे)अनुसार ४२ प्रतिशतको आय प्रतिदिन २ अमेरिकी डलरभन्दा कम छ । राष्ट्र बैंकको तथ्यांकले गरिबीको रेखामुनि रहेका सबै नेपाली पनि बैंकिङ प्रणालीमा समेटिइसकेको देखाउँछ । मासिक आम्दानी ६ हजारभन्दा कम रहेका ४० प्रतिशत वा नियमित मासिक आम्दानी नभएका करिब ६४ प्रतिशत कसरी औपचारिक वित्तीय प्रणालीमा सामेल भए?

वित्तीय समावेशीकरणको विवरणका लागि बैंक (वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीसहित)बाहेक, लघुवित्त र सहकारीको पहुँचलाई समेत समावेश गरिएको देखिन्छछ । उपलब्ध तथ्यांकलाई छुट्ट्याएर हेर्दा वाणिज्य बैंकमा पहुँच हुनेहरू ५० प्रतिशत, विकास बैंकमा १२, वित्त कम्पनीमा २ प्रतिशत छन् भने ३६ प्रतिशतले लघुवित्त संस्थाहरूबाट पहुँच पाएका छन् ।
यो तथ्यांक विश्वसनीय भने छैन, किनभने वाणिज्य बैंकहरू अझै ग्रामीण क्षेत्रमा पुगेकै छैनन् । देशभरिमा वाणिज्य बैंकहरूको शाखा संख्या ३ हजार ३७६ मात्र छ । तिनीहरू पनि अधिकांश सहरी र सुविधाजनक क्षेत्रमा मात्र थुप्रिका छन् । राष्ट्र बैंककै विवरणले काठमाडौं, मोरङ, कास्की, चितवन, रुपन्देही, झापा, सुनसरीलगायतका केही जिल्लामा मात्र वाणिज्य बैंकका अत्याधिक शाखा थुप्रिएका देखाउँछ । सहरी र सुविधाजनक क्षेत्रमा थुप्रिएका वाणिज्य बैंकहरूले कसरी ५० प्रतिशत जनसंख्यामा बैंकिङ पहुँच पुर्‍याए?

राष्ट्र बैंकको तथ्यांकलाई ‘नेपाल फिन्स्कोप सर्वे–२०१४’ र ‘ग्लोबल फाइनान्सियल डेटाबेस– २०१७’का तथ्यांकहरूसँग दाँजेर हेरौं । सन् २०१४ को फिनस्कोप सर्वेमा ८२ प्रतिशत नेपाली वित्तीय समावेशीकरणमा समेटिएको उल्लेख हुँदा बैंकिङ क्षेत्रबाट सेवा लिनेको संख्या ४० प्रतिशत थियो भने २१ प्रतिशतले अन्य औपचारिक (लघुवित्त र सहकारी) संस्थाबाट सेवा लिइरहेको बताएका थिए भने २१ प्रतिशतले अनौपचारिक क्षेत्रबाट वित्तीय सेवा पाएको बताएका थिए । सहकारी क्षेत्रबाट सेवा लिइरहेका ११ प्रतिशतलाई जोड्दा बल्ल ५१ प्रतिशतले औपचारिक वित्तीय सेवा पाएको उक्त सर्वेले देखाएको छ । अध्ययनले १८ प्रतिशत जनसंख्या कुनै पनि किसिमको वित्तीय सेवामा नसमेटिएको देखाएको छ ।

बैंकिङ प्रणालीभन्दा बाहिर रहेका ६० प्रतिशतमध्ये ५६ प्रतिशत कहिल्यै पनि बैंकिङ प्रणालीमा आएकै थिएनन भने ४ प्रतिशत यसअघि बैंकिङ प्रणालीमा आएर पनि बाहिरिएका हुन् ।
यसैगरी ‘ग्लोबल फाइनान्सियल डेटाबेस– २०१७’/विश्व बैंकका अनुसार नेपालका ४५ प्रतिशत वयस्क जनसंख्यामात्र वित्तीय प्रणालीमा समेटिएका छन् । १५ वर्षभन्दा माथिका ५० प्रतिशत वयस्क पुरुष वित्तीय प्रणालीमा समेटिँदा ४२ प्रतिशत महिलामात्र यस्तो सेवामा समेटिएका छन् । यी तथ्यांकहरूलाई एकै ठाउँमा राखेर हेर्दा नेपालमा अझै पनि ठूलो जनसंख्या औपचारिक वित्तीय प्रणालीबाट बाहिरै रहेको देखिन्छ ।

फिन्स्कोप सर्वेले भन्छ, बैंकिङ प्रणालीमा ५१ प्रतिशतले कारोबार गरेको देखिए पनि ११ प्रतिशतले सहकारी र बैंक दुईटैमा कारोबार गर्छन् । यसरी सहरी क्षेत्रमा यसरी बहु–बैंकिङ कारोबार गर्नेहरूको संख्या निकै ठूलो छ । विभिन्न बाध्यताका कारण र बैंकहरूले आफ्नो कारोबार विस्तारका लागि आक्रामक ढंगले निक्षेप विस्तारका योजना ल्याउनाले एकै व्यक्ति दुई वा त्यसभन्दा बढी बैंकमा खाता हुने अवस्था सिर्जना भएको छ । यसैगरी ग्रामीण क्षेत्रमा लघुवित्त र सहकारीमा बहु–कारोबार गर्ने प्रवृक्ति देखिएको छ । एकै व्यत्ति धेरै वटा संस्थामा देखिँदा वित्तीय पहुँचको संख्या पनि बढेको देखिनु स्वभाविक हो ।

राष्ट्र बैंकले ८९ प्रतिशतमा बैंकिङ पहुँच पुगेको दाबी गरे पनि राष्ट्र बैंककै अर्को तथ्यांकले बैंकिङ क्षेत्रमा खुलेको कुल खातामध्ये ३३.६ प्रतिशतमात्र बचत खाता भएको देखाएको छ । यसमा लघुवित्त र सहकारीका खातासमेत जोड्दा मुश्किलले ५१ प्रतिशतमा मात्र बैंकिङ पहुँच पुगेको देखिन्छ ।

पहुँच र उपभोग

वित्तीय समावेशीकरणका कुरा गर्दा पहुँच र उपभोग बढ्नु अलग कुरा हुन् भन्ने बुझ्न जरुरी छ । बैंकमा खाता खोलिए पनि निष्क्रिय खाताको संख्या अत्याधिक छ । राष्ट्र बैंककै तथ्यांकले भन्छ– ४१ प्रतिशत बचत खाताहरू निष्क्रिय छन् । यसमध्ये सहरी क्षेत्रमा ४७ प्रतिशत बचत खाताहरू निष्क्रिय छन् भने ग्रामीण क्षेत्रमा अलि कम अर्थात २१ प्रतिशतमाक्रै निष्त्रिय छन् । ग्रामीण क्षेत्रमा खाता नै कम खुल्ने र खाता खोल्ने पनि अलि ‘पैसावाल’, नियमित आय हुनेहरूले खोल्ने भएकाले निष्क्रिय खाता कम भएको हुनसक्ने देखिन्छ ।

राष्ट्र बैंकको बाध्यकारी व्यवस्था र लघुवित्त कम्पनीहरूसहित बैंक तथा वित्तीय संस्थाहरूको बढ्दो प्रतिष्पर्धाले गर्दा केही हदसम्म वित्तीय पहुँच बढेको मान्न सकिए पनि त्यसको उपभोग निकै कमजोर छ । यूएनडीपीको एक अध्ययनले वाणिज्य बैंकहरूले बढीमात्रामा आफ्नो कारोबार ठूला तथा मझौला निर्यातकर्ता, थोक व्यापारी र उद्योगहरूमा केन्द्रिकृत गर्दा साधारण नागरिक, खासगरि कृषि क्षेत्रमा संलग्न नागरिकहरूको वित्तीय पहुँचका लागि लघुवित्त संस्था र सहकारीहरूमा भर पर्नुपरेको देखाएको छ ।

केही समययता सरकारले जेष्ठ नागरिक, एकल महिला, अपांगता भएका व्यक्तिसहितका राज्यले संरक्षण दिनुपर्ने वर्गको सामाजिक सुरक्षा भत्ता बैंकमार्फत् दिने व्यवस्था गरेपछि बाध्य भएर वृद्ध बा–आमा तथा अशक्त नागरिकहरूले बैंकमा खाता त खोलेका छन्, तर उनीहरूलाई दिनुपर्ने सेवा प्रवाहमा बैंकहरू चुकेका कारण तिनले सास्ति पाएका छन् । सरकारले हरेक चौमासिकमा बैंकमा जम्मा गरिदिएको पैसा ‘बैंकले खाइदिन्छ’ भनेर वृद्ध एक–दुई दिन लगाएर वृद्धभत्ता बुझ्न लाइन लागेर बसेका कारुणिक दृष्य देख्न थालिएको छ । यो वित्तीय सचेतना नबढाउँदाको परिणाम हो ।

एक अध्ययनले केबल १८ प्रतिशत नेपालीमा मात्र वित्तीय सचेतना रहेको देखाएको छ, अर्थात् किन बैंकमा बचत गनुपर्छ वा बैंकिङ कारोबार गर्दाका के फाइदा छन् भन्ने विषयमा अशिक्षित वा साक्षरमात्र भएका नेपालीलाई मात्र होइन, शिक्षित नेपालीहरूलाई समेत बुझाउनै सकिएको छैन भन्दा पनि हुन्छ । नियमित आय नभएको, बैंकमा पहुँच नभएको, कागजपत्र नभएको, झन्झटिलो प्रावधान (केवाईसीलगायत), टाढा भएकोजस्ता कारण देखाउँदै खाता नखोल्ने, कारोबार नगर्नेहरूको संख्या ठूलो छ ।

लेनदेनका मामिलामा अझ चिन्ताजनक अवस्था छ । बैंकमा राख्ने धितो नभएको, मागेको ऋण तिर्ने स्रोत नदेखाएको, धितोले नखामेको (अर्थात् धितोमा राखेको घर–जग्गा आदिको मूल्य बैंकले गरेको मूल्यांकन) कम भएको जस्ता कारण देखाउँदै बैंक–वित्तीय संस्थाले ऋण नै दिँदैनन । यूएनडीपीको अध्ययनमा एउटा गजबको उदाहरण दिइएको छ, यदि दोलखाको किसानले गाई पाल्नका लागि ऋण लिनु पर्‍यो भने किसानले आफ्नो जेथा (घर–जग्गा) त धितो राख्नु पर्छ नै, यसबाहेक ‘दोलखा डेरी’को प्रत्याभूति (ग्यारेन्टी) पनि पेश गर्नुपर्छ । किनकी, वाणिज्य बैंकहरूले किसानका सट्टा ‘दोलखा डेरी’लाई पत्याउँछन् । यस्तो झन्झटमा फँसिरहनुभन्दा किसान, साना तथा मझौला उद्यमीहरू यदि लघुवित्त र सहकारीहरू छन् भने तिनको शरणमा पर्छन् वा निजी क्षेत्रका लगानीकर्ता–साहु/महाजनसँग चर्को दरमा ऋण लिन पुग्छन् ।

नेपालको केन्द्रीय बैंक यतिखेर मर्जर, बिगमर्जर यस्तै के केजाति अभियानमा लागेको छ । वित्तीय प्रणालीको संख्या उपयुक्त आकारमा राख्नु एउटा आवश्यकता होला, तर त्यसभन्दा पहिलाको आवश्यकता वित्तीय पहुँचमा अभिवृद्धिको हो । हुन त नेपालमा वित्तीय पहुँच बढाउन नै भनेर विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ), एसियाली विकास बैंक (एडीबी), संयुक्त राष्ट्र संघीय विकास कोष (अनड्याफ), बेलायती विकास विभाग (डीएफआईडी)लगायतका दाताहरूबाट अर्बौं रुपैयाँका ऋण र अनुदान ल्याएर पटक–पटक फरक फरक परियोजना चलाइएकै हुन् । त्यस्ता परियोजनाले राष्ट्र बैंकका केही तत्कालीन अधिकारी र केही चलखेलबाट नियुक्त परामर्शदाताहरूको व्यक्तिगत ‘वित्तीय पहुँच’मात्रै बढ्यो, नागरिक तहमा केही ठोस प्रतिफल देखिएन ।

अहिले पनि वित्तीय सारक्षता अभिवृद्धिका नाममा यूएनडीपीकै उन्नतिलगायतका परियोजनाबाट लगानी भइरहेका देखिन्छ । अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी), ओइसीडीलगायतका दातृ संस्थाबाट सहयोग लिएर धितोपत्र बोर्ड पनि विक्तीय साक्षरताकै कार्यत्रमहरू पनि चलाइरहेको छ । यसका प्रतिफल कहाँ कसको वित्तीय पहुँचमा देखिने हो, ठेगान छैन ।
कारोबार दैनिक १७ असार २०७६