सम्पत्ति शुद्धीकरणको डरलाग्दो चक्र

Money Laundering Nepal

स्वतन्त्र अध्ययनहरूले नेपालमा मूलतः हाल तीन किमिसबाट सम्पत्ति शुद्धीकरणको चत्र चलाइरहेको देखाउँछन्, व्यापार, रेमिट्यान्स र रियल इस्टेट कारोबार ।

नेपालमा परिवर्तनपछि अर्थान् सन् २००६ देखि २०१६ को बीचमा मात्र १२ देखि १५ अर्ब अमेरिकी डलरबराबरको पैसा विभिन्न माध्यमबाट नेपालबाट भित्र्याइ शुद्धीकरण गरिएको अनुमान गरिएको छ ।

गजेन्द्र बुढाथोकी
नेपालमा लामो समय बसेर व्यावसायिक कारोबार गरेका एक विदेशीले हालैमात्र सोधे– ‘नेपालमा अहिले व्यावसायिक लेनदेन कसरी हुन्छ?’ सहज उत्तर थियो, प्रतीतपत्र (एलसी) खोलेर, टीटी वा ड्राफ्टबाट । लामो समयसम्म नेपालको गलैंचा निर्यात र ‘अन्य कारोबार’मा संलग्न रहेका ती विदेशीले कुरा नलुकाइ भने, ‘यो त बैंकिङ च्यानलको कुरा भयो, जसको हिस्सा आधा पनि छैन । तिम्रो देशको आधा कारोबार हुन्डीबाट हुन्छ । खासगरी अमेरिका र युरोपमा हुने वैध तथा अवैध दुवै कारोबारमा हुन्डीकै माध्यम प्रयोग हुने गरेको छ । ’ उनका अनुसार पञ्चायतकालमा तत्कालीन राजदरबारभित्रै र आसपासकै मानिसहरूको संरक्षणमा हुन्डीको कारोबार चल्ने गरेको थियो । अहिले यसमा केही परिवर्तन भए पनि अवैध धन प्रवाह विगतमा भन्दा दोब्बरले बढेको अनुमान छ । विशेषगरी ‘मिलेमतोवादी पुँजीपति’हरूले नेपालभित्र र नेपाल बाहिर पुँजी प्रवाहका लागि हुन्डीलगायतका साधन प्रयोग गर्ने गरेका छन् ।
वर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा, नेपाल राष्ट्र बैंकका अनुसन्धान विभागको प्रमुख हुँदादेखि नै बारम्बार नेपाली अर्थतन्त्रको आकार अहिले देखिएजस्तो सानो छँदैछैन भन्ने गर्थे । गभर्नर हुँदा उनले नेपालमा अनौपचारिक अर्थतन्त्रको आकारबारे केन्द्रीय बैंकले अध्ययन गरिरहेको बताएका थिए, तर त्यो अध्ययन भयो कि भएन भन्ने विषयमा औपचारिक जानकारी कतै आएन, न त त्यसबारे कुनै अध्ययनका निचोड नै कतै सार्वजनिक गरियो । केही समयअघि मात्र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सार्वजनिक गरेको एक अध्ययनअनुसार नेपालको कुल अर्थतन्त्रको ३७ प्रतिशत अनौपचारिक वा छायाँ अर्थतन्त्रले ओगटेको छ । करिब ३४ खर्ब ६४ अर्बको हालको कुल अर्थतन्त्रमा यो सानो आँकडा होइन । यसलाई समेत समायोजन गर्दा देशको अर्थतन्त्रको आकार ४७ खर्ब रुपैयाँ ५१ अर्ब रुपैयाँभन्दा नाघ्छ ।
उच्चस्तरीय कर पुनरावलोकन आयोगको प्रतिवेदन २०७१ अनुसार नेपालको कुल व्यापारको करिब ४० प्रतिशत अनौपचारिक व्यापारले ओगटेको छ । यसमध्ये प्रमुख व्यापार साझेदार भारतसँगको व्यापारमा मात्र अनौपचारिक व्यापारले करिब ३८ प्रतिशत हिस्सा ओगटेको छ । यसले पनि हाम्रो अर्थतन्त्रको न्यून मूल्यांकन भइरहेको भन्ने भनाइलाई बल पुर्‍याउँछ ।
कुनै अर्थशास्त्रीय सूचकहरूको प्रयोग नगरीकन सामान्य नजरबाट हेर्दा पनि यतिबेला नेपालीहरूको आथिक अवस्थामा निकै सुध्रिएको देख्न सकिन्छ । फरक–फरक निकायले भिन्दाभिन्दै प्रयोजनका लागि गरेका अध्ययनहरूले पनि औसत नेपालीको आय र जीवनस्तरमा सुधार भइरहेकै देखिन्छ । ठोस तथ्यांक भएका पञ्चायतकाल वा त्यसभन्दा अगाडिका परिवेशलाई अलग राख्दा पनि विगत ३० वर्षमा नेपालीहरूको जीवनस्तरमा उल्लेख्य सुधार आइसकेकै पनि देखिन्छ ।
२०३६–०४६ सालको आसपासमा दुई छाक मिठोमसिनो खान पाउने, राम्रो लत्ताकपडा लगाउने तथा शिक्षास्वास्थ्यमा पहुँच हुने नेपालीहरूको संख्या निकै थोरै देखिन्थो । नेपाल राष्ट्र बैंकले २०४४/४५ साल (सन् १९८८/८९)मा गरेको घरपरिवार सर्वेक्षणले गरिबीको रेखामुनि रहेका नेपालीहरूको संख्या ४९ प्रतिशत रहेको अनुमान गरेको थियो । त्यसपछि २०५२/५३ मा गरिएको पहिलो जीवनस्तर मापन सर्वेलले गरिबीको रेखामुनि रहेका नेपालीहरूको संख्या ४२ प्रतिशत रहेको देखायो । राष्ट्रिय योजना आयोगद्वारा हालै सार्वजनिक गरिएको पन्ध्रौं योजनाको आधारपत्र तथा मध्यमकालीन खर्च संरचना (एमटीईएफ)ले निरपेक्ष गरिबीको रेखामुनि रहेका नेपालीहरूको जनसंख्या १८.७ प्रतिशतमा झरेको दाबी गरेको छ ।
गरिबीको मापन र विधिहरूबारे प्रश्न भए पनि एउटा कुरा के स्वीकार्नुपर्छ भने २०४६ सालको तुलनामा २०७६ सालमा आइपुग्दा गरिबीको अनुपात आधाभन्दा बेसी अंकले घटिसकेको छ, जुन कुरा मानिसहरूको जीवनशैलीले पनि देखाउँछ । गरिबीको रेखाबाट उक्लेर मध्यम वर्गमा चढेका नेपालीहरूको अनुपात झन्डै २० प्रतिशत पुगिसकेको छ भने उपल्ला धनीहरूको संख्या पनि बढेर १ प्रतिशतबाट २ प्रतिशत भएको छ । धनीहरूले अधिक सम्पत्ति आफूमा केन्द्रीकृत गराउँदा मुलुकमा आयगत र सामाजिक असमानता भने बढेर गएको छ ।
मुलुकको अर्थतन्त्र विस्तार हुँदै जाँदा मानिसहरूको आयस्तरमा पनि वृद्धि हुनु स्वभाविक नै हो, तर पछिल्ला दशकमा जुन ढंगले सीमित वर्गका नेपालीहरूको आय र सम्पत्तिमा चमत्कारिक वृद्धि देखिन थालिएको छ, त्यसले देशभित्र कालो धनलाई सेतो बनाउने वर्ग बढेको प्रष्टै देखिन थालेको छ । विभिन्न नाममा स्रोत नखुलेका पैसा नेपालमा भित्र्याउने र त्यसलाई लगानी भएको देखाइ त्यसलाई शुद्धीकरण गर्ने अभ्यास डरलाग्दो ढंगले बढेको छ ।  स्वतन्त्र अध्ययनहरूले नेपालमा मूलतः हाल तीन किमिसबाट सम्पक्ति शुद्धीकरणको चक्र चलाइरहेको देखाउँछन्, व्यापार, रेमिट्यान्स र रियल इस्टेट कारोबार ।

क.व्यापारः
नेपालको बाह्य व्यापार बढेर हाल १२ खर्ब ५० अर्ब रुपैयाँबराबर पुगेको छ । मुलुकको अर्थतन्त्रको आकार बढेसँगै बाह्य व्यापारको आयतन पनि बढ्नुलाई अन्यथा लिन नसकिए पनि जुन अपत्यारिलो ढंगले देशको बाह्य व्यापारको राशि बढेर गएको छ, त्यसले विभिन्न किसिमका शंका–उपशंकाहरू उब्जाएका छन् । उदाहरणका लागि नेपाल विश्व व्यापार संगठन (डब्लूटीओ)को सदस्य बनेको पहिलो वर्ष सन् २००४/५ मा नेपालले १ खर्ब ४९ करोडको आयात र ५८ करोड रुपैयाँको निर्यात गर्दा कुल व्यापारको आयतन २ खर्ब ८ अर्ब रुपैयाँ बराबर रहेकोमा सन् २०१७/१८ मा आइपुग्दा १२ खर्ब ४२ अर्ब रुपैयाँको आयात गरी ८१ अर्बको निर्यात गर्दा कुल व्यापारको आयतन १३ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ । अर्थात्, विगत १३ वर्षमा आयात ७३१ प्रतिशतले बढेको छ भने निर्यात मुश्किलले ३९ प्रतिशतले मात्रै बढेको छ ।
नेपालले आयात गर्ने कुल ९६ समूहका झन्डै ४७ हजार किसिमका वस्तुमध्ये दर्जनौं वस्तु यस्ता छन्, जुन नेपालभित्र खपत  हुन त परै जाओस्, कुन प्रयोजनका लागि आयात भइरहेको छ भन्ने अनुमान समेत गर्न सकिँदैन । आयातका नाममा कृत्रिम कारोबार गरेर मुलुकमा सम्पत्ति शुद्धीकरण भइरहेको हुनसक्ने आशंकलाई यसले बल पुर्‍याएको छ ।
ग्लोबल फाइनान्सियल इन्टिग्रिटी (जीएफआई)ले हालै भारतको अन्तर्राष्ट्रिय व्यापारमा भइरहेको गलत बिल–विजकीकरणले भइरहेको राजस्व क्षतिबारे विस्तृत अध्ययन गरेको छ । नेपालको ६५ प्रतिशत अन्तर्राष्ट्रिय व्यापार आश्रित रहेको भारतको बाह्य व्यापारमा भइरहेको गलत बिल–बिजकीकरणको विश्लेषण नेपालको समेत बाह्य व्यापारका विश्लेषणका लागि उपयोगी हुनसक्छ ।
अध्ययनअनुसार भारतको कुल अन्तर्राष्ट्रिय व्यापारको १२ प्रतिशत गलत बिल–बिजकीकरणमार्फत् भइरहेको छ, अर्थात् अध्ययनका लागि उपयोग गरिएको सन् २०१६ को तथ्यांकअनुसार ६ खर्ब १७ अर्ब डलरमध्ये ७४ अर्ब डलरको व्यापार अन्तर यस्तो बिजकीरणका कारण देखिएको छ । भारतको आयात–निर्यातका प्रायः सबै वस्तुमा गलत बिजकीकरण (न्यून र अधिक दुवै) भइरहेको अध्ययनको निचोड छ । यसबाट भारतले वार्षिक १३ अर्ब डलरको राजस्व गुमाइरहेको छ, जुन सन् २०१६ को राजस्वको ५.९ प्रतिशत हो । नेपाल, भुटान, बंगलादेश, बर्मा (म्यानमार), पाकिस्तान, चीनलगायतका राष्ट्रसँग सीमा जोडिएको भारतको सीमावर्ति क्षेत्रबाट हुने व्यापारमा बढीमात्रामा गलत बिजक प्रयोग भइरहेको ठहर अध्ययनको छ । भारतको सबैभन्दा ठूलो व्यापारिक साझेदार चीनसँग मात्र कुल व्यापारको दुई तिहाइ गलत बिजकमार्फत् हुने गरेको छ ।
यसलाई नेपालको हकमा हेरौं । नेपालको भारतसँग ६५ प्रतिशत व्यापार साझेदारी छ भने चीनसँग २.३ प्रतिशत, दुवै देशबाट हुने व्यापारको दुई तिहाइ हिस्सा गलत बिजकमार्फत् नै हुने गरेको छ । अधिक विजकीकरणमार्फत् विदेशमा स्वदेशी पुँजी पलायन गर्ने, कर छली गर्ने, एन्टी डम्पिङ भन्सार कम गर्ने गरिएको जीआईएसले उल्लेख गरेको छ, यो सन्दर्भ न्यून बिजकीकरणमा पनि लागू हुन्छ । तर, न्यून बिजकीकरणबाट गरिएको आयात भने बढीमात्रामा कर छल्ने प्रयोजनले हुन्छ ।
उदाहरणका लागि कुनै वस्तु १०० डलर प्रतियुनिट पर्छ भने त्यसलाई १२० डलरले मूल्यांकन गराइन्छ र प्रतियुनिट २० डलरका दरले विदेश पुर्‍याइन्छ । यताबाट प्रतीतपत्र (एलसी), टेलिग्राफिक ट्रान्सफर (टीटी) वा ड्राफ्टमार्फत् भुक्तानी पठाइएको रकम विदेशमा रहेको अफसोर खातामा सारेर विदेशी विनियमको अपचलन गरिन्छ । यसरी नेपालबाट आयातका नाममा बर्सेनि ठूलो रकम रकम सम्पत्ति शुद्धीकरण भइरहेको अनुमान छ ।
ख. रेमिट्यान्सः
चालू आर्थिक वर्षको पहिलो १० महिनामा ७ खर्ब २५ अर्ब रुपैयाँ रेमिट्यान्सबापत नेपाल भित्रिएको छ । यही वृद्धिदर कायम रहेमा चालू वर्ष ९ खर्बको हाराहारीमा रेमिट्यान्स भित्रने प्रारम्भिक अनुमान छ । यसको ३० देखि ४० प्रतिशत रकम अनौपचारिक माध्यमबाट भित्रने गरेको आँकलन छ । विगत तीन आर्थिक वर्षदेखि विदेश जाने नेपालीहरूको संख्या लगातार घटेको, प्रमुख रोजगार गन्तव्यहरूमा आय पनि उल्लेख्य अनुपातले नबढेको परिप्रेक्षमा नेपाल भित्रने रेमिट्यान्स रकम बढ्नु आफैमा शंकास्पद छ । नेपालबाट विभिन्न नाम र बहानामा विदेश लगिएका पैसा रेमिट्यान्सका रूपमा भित्र्याइ सम्पत्ति शुद्धीकरण गर्ने प्रक्रिया बढेको हुनसक्ने आशंका बढेको छ । खासगरि भारतमा सम्पत्ति शुद्धीकरणमा गरिएको कडाइसँगै सीमावर्ति क्षेत्रमा नेपालमा औपचारिक माध्यमबाट रेमिट्यान्स भित्र्याइ त्यो रकम भारततिर लैजाने क्रम बढेको छ ।
ग. रियल इस्टेट कारोबारः
विगत दुई दशकयता जुन अस्वभाविक ढंगले नेपालको घर तथा जग्गा कारोबार (समग्रमा रियल इस्टेट कारोबार) बढ्यो वा बढाइयो, त्यसले दुई कुराको संकेत गर्छन्– या त नेपालीहरू आफै अकुत धन कमाउन सक्ने हैसियतमा पुगे वा बैंकहरूले विभिन्न प्रणालीबाट भित्र्याइएको कालोधनलाई सेतो बनाउन अन्धाधुन्ध ढंगले लगानी गरे । बीचमा बैंकहरूले पनि रियल इस्टेट क्षेत्रमा अन्धाधुन्ध लगानी गरेकै हुन् । केही बैंकहरूले कुल ऋण पोर्टफोलियोको ६५ प्रतिशतसम्म लगानी गरेको पाएपछि राष्ट्र बैंकले लगाम नै लगायो ।
त्यतिले मात्र घर–जग्गाको भाउ भने बढेको होइन । घर–जग्गाको भाउ बढाउने कस्तोसम्म चक्र देखियो भने प्रतिआना एक लाख रुपैयाँका दरले किनेको घरजग्गा चार–पाँच जनाको चक्रमा घुमाएर १० लाख रुपैयाँ प्रतिआनासम्म पुर्‍याइयो । ठूलो अनुपात (बल्क)मा जग्गा किनेर त्यो रकमलाई सम्पत्ति शुद्धीकरण प्रयोजनका लागि घुमाइएको आशंका बढ्दो छ । यदि उपत्यकासहित देशका विभिन्न क्षेक्रमा सत्रिय रहेका करिब सय जनाजति घरजग्गाका बिचौलियाहरूको सम्पत्ति छानबिन गर्ने हो भने यस कुराको खुलासा हुन्छ ।
नेपालमा परिवर्तनपछि अर्थान् सन् २००६ देखि २०१६ को बीचमा मात्र १२ देखि १५ अर्ब अमेरिकी डलरबराबरको पैसा विभिन्न माध्यमबाट नेपालबाट भित्र्याइ शुद्धीकरण गरिएको अनुमान गरिएको छ । यसबाहेक सन् २०१७ र १८ मा सम्पन्न भएका निर्वाचनहरूमा करिब ५ अर्ब अमेरिकी डलर बजारमा प्रवाह भएको देखिन्छ । यसरी शुद्धीकरण गरिएको पैसाले केही व्यक्तिहरू रातारात अर्बपति बनेको देखिएको छ, जो केही दशकअघिसम्म सामान्य आर्थिक हैसियत भएका जागिरे वा सामान्य व्यवसायीमात्रै रहेका थिए । राज्य कमजोर भएको बेला, नियामक निकायहरू निष्क्रिय भएको बेला र सत्तामा मिलेमतोवादी पुँजीवाद (क्रोनी क्यापिटलिजम) हाबी भएको बेला सम्पक्ति शुद्धीकरणको चत्र बढी चल्ने गर्छ । आगामी दिनमा यस्तो अवैध धन अझ बढी अर्थतन्त्रमा प्रवाहित हुने जोखिम अधिक छ, किनकी विगतमा यहाँबाट पलायन गरेर विदेशका बैंकहरूमा राखेको धन अब विस्तारै परिपक्व (म्याचुअर) हुँदैछन् ।

(यस  विश्लेषणमा उल्लेखित अवैध धन प्रवाहसम्बन्धि तथ्यांकबारे केही जिज्ञासा प्राप्त भएकाले, यस अनुमानका लागि खोज पत्रकारिता केन्द्र (सीआइजे)को अफसोर लगानीसम्बन्धी रिपोर्ट तथा ग्लोबल फाइनान्सियल इन्टिग्रिटीका हालसम्मका सबै प्रतिवदेनका तथ्यांकको आधार लिइ अनुभवजन्य साक्ष अनुमान विधि empirical estimation techniques प्रयोग गरिएको जानकारी गराउँदछु ।) 

कारोबार दैनिक १० असार २०७६

नेपाली सिनेमाका दुर्दिनका कारकहरू

हालैमात्र पङ्क्तिकारका नजिकको एक मित्रले सिनेमा बनाए। झन्डै करोड रुपैयाँ खर्चेर बनाइएको सिनेमाको ‘प्रोमो’ युट्युबमा सार्वजनिक गरेदेखि नै चौतर्फी आक्रमण सुरु भयो।

म आफैंले भनेँ, ‘कस्तो फिल्म बनाइस् यार? पैसा त डुबाइनस्?’

ऊ विश्वस्त थियो। भन्थ्यो, ‘कथा राम्रो छ, टप कलाकार लिएको छु।’

तर, जब प्रशारण मिति नजिक आयो, ऊमाथि घेराबन्दी सुरु भयो। उसको सिनेमा हलसम्म जानै नदिनेसम्मका षडयन्त्र रचिए। अर्को सिनेमासँग भिड्न नहुने भन्दै नेपालका नाम चलेका निर्माता–निर्देशकले उसलाई दबाब दिए।

एकपटक मिति सार्‍यो, तर पछि मसहितका साथीहरूका सल्लाहमा उसले हलमा सिनेमा त हाल्यो तर उसको सिनेमा हलमा धेरै दिन टिक्नै दिइएन। अहिले ऊ बेक्कार सिनेमामा पैसा हालेँ भनेर पछुताइरहेको छ।

मेरा मित्र एक उदाहरणमात्र हुन्। नेपाली सिनेमा क्षेत्रमा नयाँ लगानीकर्ता, नयाँ निर्देशक आए भने तिनलाई घेराबन्दी गरिन्छ। सिनेक्षेत्रमा केही सीमित हर्ताकर्ताको यति कसिलो घेराबन्दी छ, त्यो चक्रव्युह तोड्न आधुनिक युगका निकै शक्तिशाली अभिमन्युले मात्र सक्छन्।

नेपाली सिनेक्षेत्रमा सीमित हर्ताकर्ताको यति कसिलो घेराबन्दी छ, त्यो चक्रव्युह तोड्न आधुनिक युगका निकै शक्तिशाली अभिमन्युले मात्र सक्छन्।

चलचित्र विकास बोर्डदेखि स्वकथित चलचित्र निर्माता संघ, निर्देशक संघदेखि कलाकार संघसम्म तिनै सीमित व्यक्तिका माखे साङ्लो छ। हेर्दा चुनाव भएर नयाँ कार्यसमिति बनेजस्तो देखिए पनि ‘बाजेले घिउ खाए, मेरो हात सुँघ’ भन्ने टाइपका ४० र ५० को दशकमा एक–दुई फिल्म बनाएका, २–४ फिल्ममा अनुहार देखाएका वा अरू समयमा रिफ्लेक्टर उचाल्ने, फाइटका दृष्यमा हिरोका मुक्का खाने कलाकारकै हालिमुहाली छ।

पहिलो नेपाली सिनेमा ‘सत्य हरिश्चन्द्र’ भनिए पनि उक्त चलचित्रका आधिकारिक अभिलेख कतै भेटिएको छैन। त्यसैले २०२२ सालमा निर्मित ‘आमा’ चलचित्रलाई नेपाली चलचित्रको आधारशीला बनाउने सिनेमा मानिन्छ।

२०२८ सालमा शाही नेपाल चलचित्र संस्थान स्थापना हुनुपूर्व सरकार आफैंले फिल्म बनाउँथ्यो। सूचना तथा प्रशारण विभागले २०२१ सालमा आमा, २०२४ मा ‘हिजो आज भोलि’ र २०२७ मा ‘परिवर्तन’ नामका सिनेमा बनायो। यद्यपि, २०२९ सालमा शाही नेपाल चलचित्र संस्थान स्थापना भएपछि भने व्यावसायिक चलचित्रले गति लिन थाल्यो।

निजी क्षेत्रको प्रवेशपूर्व संस्थानले वर्षमा एक–दुई सिनेमा बनाउँथ्यो। मौलिक कथावस्तु छानिन्थे, उम्दा निर्देशन हुन्थ्यो, जसबाट दर्शकले पूरै प्याकेज पाउँथे। निजी क्षेत्रको प्रवेशपछि ४० र ५० को दशक नेपाली सिनेमाका लागि स्वर्णिमकाल नै बन्यो। साँच्चै भन्ने हो भने नेपालको सिनेक्षेत्रले त्यही दशकका विरासत बेचेर खाइरहेको छ।

नेपालमा अहिले वर्षमा सरदर १ सयदेखि १ सय २५ सिनेमा बन्छन्। तीमध्ये ८० प्रतिशतको लगानी उठ्न त परै जाओस्, कलाकारलाई तिर्ने पैसासमेत नभएर निर्माता भागिभागी हिँड्छन्।

राम्रो होस् वा नराम्रो, २५ प्रतिशत सिनेमाले मात्र हलमा केही दिन टिक्ने मौका पाउँछन्। वर्षमा मुश्किलले दुई सिनेमा हिट हुँदा नेपाली सिनेकर्मीले गर्व गर्नुपर्ने अवस्था छ।

यसको पछाडि को जिम्मेवार छ? आलोचकलाई गाली गरेर, थुनाएर, फेसबुकको स्टाटस लेखेर अदालतमा लान्छु भनेर धम्की दिएर नेपाली सिनेमाका दिन फर्किन्छन् भन्नु भ्रममात्र हो।

प्रनेश गौतम नामक कमेडियनले मीम नेपाल नामक पेजबाट चर्को आलोचना गरेको भनेर सिनेमा निर्माता मिलन चाम्लिङ राई अर्थात् मिलन चाम्सले उनलाई शक्ति प्रयोग गरेर थुनाए।


नेपालका सिनेमा निर्माता, निर्देशकहरू घिसापिटा कथा, उही र उस्तै दृष्य शृङ्खला, भृकुटीमण्डपको हङकङ बजारमा किनिएका कपडा, नक्कली शृङ्गार सामग्री र सस्तामस्ता अन्य सामग्री र बेकामे उपकरण लिएर सिनेमा बनाउन थाल्छन्।

भोजपुरे भएका नाताले राष्ट्रपतिदेखि प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई र गृहसचिव प्रेम राईसम्मको शक्तिको दुरुपयोग मिलन चाम्लिङले गरेको सामाजिक सञ्जालमा आरोप लगाइएको छ।

पङ्क्तिकारलाई राष्ट्रपतिको तहबाट यस्ता झिनामसिना मुद्दाका लागि शक्ति दुरुपयोग भएको हुनसक्ने कमै विश्वास छ। गृहसचिवसम्मले प्रहरी अधिकारीलाई हप्काइ–दप्काइ गरेर शक्ति देखाएका हुनसक्छन्।

चर्चित कलाकार भएका नाताले शक्तिको दुरुपयोग यसभन्दा अगाडि दीपकराज गिरीले समेत गरेका थिए। उनले ‘गुगल ड्राइभ’ मा सिनेमा अपलोड गराएको भनेर नवलपरासीका कृष्णराज सुवेदीलाई पाइरेसीको अभियोगमा पक्राउमात्र गरेनन्, आफ्नो समूह नै प्रयोग गरेर यतिधेरै धम्क्याए कि डाक्टरी अध्ययन गरिरहेका ती युवाले आत्महत्या नै गरे।

गिरीको संगठित दलबलको दादागिरी कति हाबी छ भन्ने कुराको प्रयोग गर्न चाहनुहुन्छ भने फेसबुक वा ट्वीटरमा छक्कापन्जाका बारेमा केही आलोचना गर्नुस्, त्यस सिनेमासँग सम्बन्धित सबै कलाकारदेखि माइसंसार डटकमले ‘पाँच हजारे पत्रकार’ का उपमा भिराएका पत्रकारसमेत आइलाग्छन्।

प्रनेश गौतम आमसञ्चारकर्मी होइनन्, एक दर्शकका नाताले जुनसुकै दर्शकलाई आफूले हेरेको सिनेमाको आलोचना, समीक्षा वा प्रशंसा गर्ने छुट छ। प्रनेशले गरेको समीक्षामा प्रयुक्त केही शव्दलाई लिएर साइबर अपराधको अभियोग लगाएर उनलाई थुनाउने काम भएको छ।

सांसद गगन थापाका सापटी लिएर भन्दा यस्तो हास्य विधालाई ‘एब्सर्डिस्ट ह्युमर’ भनिन्छ। यो शैली नेपालमा भर्खर–भर्खरै देखिन थालेको भए पनि विश्वभरि नै लोकप्रिय छ।

छिमेकी भारतमै पनि यस्तो विधा अतिलोकप्रिय छ। युट्युबमा आलोचना गरेको भिडियो राखेकै नाममा प्रनेशलाई थुनाएपछि सामाजिक सञ्जालमा चर्को आलोचना बढेपछि बुधबार १० वटा सिनेमासम्बन्धी संस्थाका नाममा संयुक्त विज्ञप्ति जारी गरियो।

नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, नेपाल चलचित्र संघका अध्यक्ष प्रदीप उदय, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, नेपाल चलचित्र निर्देशक समाजका सहकोषाध्यक्ष राजु अधिकारी, चलचित्र प्राविधिक संघका पुष्कर लामा, चलचित्र द्वन्द्व संघका सूर्यथोकर लामा, चलचित्र नृत्यकार संघका उपाध्यक्ष गोविन्द प्रभात, आदिवासी चलचित्र महासंघका अध्यक्ष अमृतबहादुर सुनुवारदेखि चलचित्र पत्रकार समाजका अध्यक्ष सापकोटाको हस्ताक्षरमा विज्ञप्ति जारी गरेर आलोचकलाई थुनाउने काम सही ठहर्‍याइएको छ।

हरे यिनका चेत! दर्शक धम्क्याउने, तर्साउने काम गरेर सिनेमा चल्छ कि राम्रो कथा वस्तु, निर्देशन र अभिनयबाट? हिन्दी सिनेमाको कथाको प्लट चोरेर, सातवटा बलिउड, साउथ इन्डियन र कोरियन सिनेमा दृष्य चोरेर सिनेमा चल्छ भन्ने अब नसोचे हुन्छ।

सूचना प्रविधिको यति धेरै विकास भइसक्यो कि हलिउडमा बनेको सिनेमा त्यहाँ सार्वजनिक भएको केही मिनेटभित्रै नेपाली युवाले टोरेन्टबाट ‘डाउनलोड’ गरिसकेका हुन्छन्। कोरियन हो भन्ने थाह पाउँदैनन् भनेर नसोचे हुन्छ।

यसरी दर्शकलाई सामूहिक रूपमा धम्क्याउने हो भने यिनले सिनेमा बनाएर, निर्देशन गरेर, अभिनय गरेर, रिफ्क्लेक्टर ठड्याएर, हल चलाएर के गर्नु? दर्शक नै हलसम्म गइदिएनन् भने? के सिनेमा नेपालमा मात्रै बन्छ? के यिनले अन्य देशका उदाहरण हेरेका छैनन्?

छिमेकी भारत विश्वमै सर्वाधिक सिनेमा बन्ने देश हो। त्यहाँ क्षेत्रीयसहित वार्षिक १ हजार ५ सयदेखि २ हजार सिनेमा बन्छन्। भारतीय सिनेमा उद्योगका वार्षिक कारोबार १ खर्ब ४० अर्ब भारु (२ अर्ब १५ करोड अमेरिकी डलर) रहेको पिएचडी चेम्बरको अध्ययनले देखाउँछ।

एउटा सिनेमाका सेटका लागि गर्ने खर्चले नेपालका पाँच–सात वटा सिनेमा बन्छन्। मुश्किलले ४०–५० लाख रुपैयाँ लगानी, त्यो पनि विभिन्न बैंकमा फरक प्रयोजनबाट ऋण लिएर सिनेमा बनाउनेले के सोच्छन्?

क्रिटिक्सहरूले अत्यधिक आलोचना गरेको सलमान खानको ‘ट्युबलाइट’ होस् वा आमिर खानको ‘ठग्स अफ हिन्दोस्ताँ’ वा ‘रेस थ्री’ मा कति लगानी भएको थियो थाहा छ? व्यापक आलोचना र ट्रोलिङका बाबजुद न सलमान खानले न आमिर खानले, यहाँसम्म कि रिसाहा छन् भनेर चिनिएका सलमानका निर्माता भाइ सोहेल खानले समेत कुनै आलोचकलाई प्रहरी लगाएर पक्राएनन्। हुलबाजी गरेर, विज्ञप्ति जारी गरेर हामी नै सर्वेसर्वा हौं, हाम्रा सिनेमा जस्तोसुकै झुर भए पनि हेर्न आऊ, नभए पुलिस लगाएर पक्राउँछौं भनेनन्। बरु उल्टै झुर फिल्म बनाएको भनेर दर्शकसँग माफी मागे। अघिल्लो गल्तीबाट सिकेर सलमान खान प्रोडक्सनले ‘भारत’ भन्ने सिनेमा बनायो र अहिले बक्सअफिसमा गुमेको साख फर्काउँदै छ।

बलिउड भनिने मूलधारबाहेक भारतका २० भाषामा सयौं क्षेत्रीय सिनेमा बन्छन्। पंक्तिकारले ‘मालेगाउँका सुपरम्यान’ भन्ने महाराष्ट्रको मालेगाउँ भन्ने सानो गाउँका बनेको सिनेमाबारे वृत्तचित्र हेरेको थियो। जम्मा ५० हजारको बजेट र एउटा ह्यान्डिक्याम लिएर सिनेमा बनाउने नासिर सेखजस्तै नेपालका सिनेमा निर्माता, निर्देशक घिसापिटा कथा, उही र उस्तै दृष्य शृङ्खला, भृकुटीमण्डपको हङकङ बजारमा किनिएका कपडा, नक्कली शृङ्गार सामग्री र सस्तामस्ता अन्य सामग्री र बेकामे उपकरण लिएर सिनेमा बनाउन थाल्छन्। अनि, कहाँबाट बन्छ राम्रो सिनेमा?

नेपाली सिनेक्षेत्रमा एकजना गफाडी निर्माता–निर्देशक छन्। ठेक्कामा सिनेमा बनाउने उनको मूल काम हो। सुटिङ स्थलमा जहिल्यै ‘हल्लिउड फिलिम बनाउँछु’ भनेर डिङ हाँकिरहेको सुनिन्छ। सिनेमा हे¥यो सस्तो डाइलग, सात भारतीय सिनेमा चोरिएका कथा र द्वन्द्व दृष्यबाहेक केही हुँदैन।

निकै राम्रो अध्ययन गर्ने भनेर मानिएका एक निर्देशकलाई मैले सोधेको थिएँ, तपाईंले बनाएको फिल्म किन झुर भयो?
उनले कुरा नचपाइ उत्तर दिए– ‘राम्रै सिनेमा बनाउन भनेर राम्रो कथा र पटकथा लिएर थालेको। प्रोड्युसरको यस्तो दबाब प¥यो कि ६–७ वटा सिडी ल्याएर दिए, फलानोबाट यो सिन, त्यसबाट त्यो सिन हाल भन्दाभन्दै सिनेमाको गति कहाँ पुग्यो, मैले नै थाहा पाइनँ।’

यो वास्तविकता अहिले पनि कायमै छ। अनि, दर्शकले झुर सिनेमालाई झुर भन्नै नपाउने? के यही हो अभिव्यक्ति स्वतन्त्रताको अर्थ?
मेरा ८३ वर्षीय पिताजीले कहिल्यै सिनेमा हेर्नु भएन, हेर्न मान्नु भएन। गाउँमा भएर होइन, हामी त्यसबेलाका नगरोन्मुख क्षेत्रमै बसोबास गथ्र्यौं। सिनेमा हल बनिसकेका थिए। म केटाकेटी नै हुँदा उहाँले एकपटक सत्य हरिश्चन्द्र हेर्नु भएको सम्झना छ। ‘यिनीहरूको जागीर हो, पैसा पचाउन यसो गरेका’ भन्ने गर्नुहुन्छ।

हो, सिनेमा बनाउनु, त्यसमा अभिनय वा काम गर्नु सिनेमाकर्मीको व्यवसाय हो, पेसा हो, जागीर हो, काम हो, रोजगारी हो। रहरले वा बाध्यताले बाहेक कुनै सिनेमाकर्मीले के भन्न सक्छ, मैले सिँत्तैमा काम गरेको छु, देशका लागि सिनेमा बनाएको हँु? अनि विज्ञप्तिमा सिनेमा बनाएर सार्वभौमसत्ताको रक्षा गरेका छौं भनेर लेख्नुको अर्थ के हो? त्यो शव्दको अर्थ पनि थाहा छ? पाङ्दुरे सिनेमा बनाएर, घिसापिटा अभिनय गरेर कसरी सार्वभौमसत्ता रक्षा हुन्छ?

समग्रमा यो मनोरञ्जनको व्यापार हो। व्यापारीको एउटा धर्म हुन्छ, सिद्धान्त हुन्छ, उपभोक्ता ठग्नु हुँदैन। गुणस्तरीय वस्तु दिनुपर्छ। गुणस्तरहीन वस्तुको व्यापारमा उपभोक्ताले खोट पत्ता लगाए, त्यो मालवस्तु फिर्ता गर्नुपर्छ वा प्रचलित उपभोक्ता अधिकार ऐनबमोजिम क्षतिपूर्ति भर्नुपर्छ।

धम्क्याएर, हामीले नै सारा नेपालीको मनोरञ्जन धानेका छौं भन्ने दम्भ झल्काउने विज्ञप्ति जारी गरेर के भन्न खोजेका हुन्? के गर्न खोजेका हुन्? के दर्शकबिना सिनेमा चल्छ? दर्शकले आलोचनै गर्न नपाउने, नत्र मान्छे लगाएर मुक्याउँछु, जेल हाल्छु, अदालतमा मुद्दा हाल्छु भनेर फेसबुक स्टाटस लेख्ने? यही हो व्यापारीको तरिका?

सिनेमाकर्मीहरूको निकै साँघुरो संसार छ। निर्माता, निर्देशक, भान्से, लाइट्सम्यान, साउन्डम्यान, भान्से, मेकअप म्यानसहित त्यही २५–३० जनामात्रैका जत्थाका वरिपरिकै संसार सबैथोक हो भन्ने भ्रम छ। पत्रपत्रिका पढ्दैनन्। मिडियाका नाममा युट्युबमा आउने ‘गसिप’ बाहेक हेर्दैैनन्।
सीमित सिनेकर्मीबाहेक अरूले किताब पढेको न सुनिन्छ, न कुनै अन्तर्वार्तामा चर्चै गरेको भेटिन्छ। तै पनि ती सीमित व्यक्तिलाई संसार मैले नै धानेको छु भन्ने भ्रम छ। नेपाली सिनेमा क्षेत्रमा पछिल्लो समयमा केही राम्रा, पढेलेखेका, अध्ययनशील सिनेकर्मी पनि प्रवेश नगरेका होइनन्। तिनले बनाएका केही सिनेमा अब्बल छन्। अन्तर्राष्ट्रिय मञ्चमा पनि प्रशंसा पाएका छन्।

तर, सिनेमा क्षेत्रको दलदले हिलोमा उनीहरू पनि फँसेका छन्, उनीहरू पनि मैलिँदै छन्, डुब्दैछन्। नेपाली सिनेमामा हुल वा गिरोह बनाएर बसेका पुरातनवादीले अहिले यस्ता सिर्जनशील पंक्तिलाई समेत बदनाम गर्ने काम गरेका छन्।

सामाजिक सञ्जालमा सर्वाधिक लोकप्रिय ट्वीटरमा अधिकांश युवाले अब उप्रान्त नेपाली सिनेमा नहेर्ने घोषणै गरिसके। त्यसमा विश्वविद्यालयका प्राध्यापकहरू पनि छन्। यसको जिम्मेवार को?

अंग्रेजीमा भनाइ छ– ‘माइन्ड योर बिजनेस’। यसको ठाडो अर्थ हुन्छ, आफ्नो काममा सरोकार राख। तर, यसलाई जिम्मेवार बन भन्ने अर्थमा प्रयोग गरिन्छ। यो सामूहिक विज्ञप्ति प्रकरणले नेपाली सिनेमा क्षेत्रलाई नै दीर्घकालीन रुपमा ठूलो हानी गर्दैछ। सामाजिक सञ्जालबाट दर्शक विद्रोहको घोषणा भइसक्यो, भोलि दर्शक नपाएर हलहरूमा तालाबन्दी भएका, पारिश्रमिक नपाएर कलाकारहरूले माग्दै हिँडेका दिन देख्न नपरोस्। मलामी बचाएर राख्नु भन्ने नेपालीमा उखान छ। श्रीकृष्ण श्रेष्ठले पाएको मलामी, यही ताल र तरिका हो भने अब कुनै सिनेकर्मीले पाउने छैनन्, चेतना भया!

(नेपालन्यूज.कम)

सिनेमाको अर्थतन्त्र: कर प्रणालीलाई झुक्याउने व्यापार

एउटै सिनेमाबाट १० लाखभन्दा बढीको आयआर्जन गर्ने सिनेमाकर्मीले भने विभिन्न बहाना बनाएर कर तिर्ने गरेकै छैनन ।

गजेन्द्र बुढाथोकी
यतिखेर नेपाली सिनेमा क्षेत्र निकै चर्चामा छ । मूलतः दर्शक÷आलोचकसँग चलचित्र क्षेत्रका १० संस्थाहरूले सामूहिक रूपमा भिड्ने विज्ञप्ति जारी गरेपछि सुरु गरेको यो द्वन्द्वले अब उल्टो नतिजा दिने निश्चित प्रायः छ । भर्खरै–भर्खरै व्यावासायिक रुप लिइरहेको नेपालको सिनेमा क्षेत्रले कुनै एउटा अमूक युट्युबरले आलोचना गरेकै नाममा उसलाई थुनाउन र थुनाएको पुष्टि गर्न १० सिनेमा संस्थाका नामले सामूहिक विज्ञप्ति जारी गरेर दर्शक उस्काउनु आफ्नो खुट्टामा आफै बञ्चरो हान्ने प्रवृत्ति नै हो । यस्तो प्रवृत्तिलाई कसै–कसैले कालीदास प्रवृत्ति भने पनि कालीदास यस्ता ढिठ थिएनन् । संस्कृत भाषाका महाकवि कालीदासका उपमा यी ढिठ सिनेकर्मीलाई दिन निकै अनुपयुक्त हुन्छ, कालीदासको अपमान हुन्छ ।

नेपाली सिनेमा क्षेत्रलाई यस क्षेत्रसँग लागेकाहरू धेरैले उद्योग भन्ने गरेका छन् । उद्योगको मानक के हो? नेपालको कुल अर्थतन्त्रमा ३ प्रतिशतको योगदान राख्ने होटल व्यवसायले लामो समयदेखि उद्योगको मान्यता पाउनु पर्ने माग गर्दै आएको छ । हरेक १० मध्ये १ रोजगारी पर्यटन क्षेत्रमा सिर्जित हुन्छ र त्यसको ठूलो हिस्सा होटल क्षेत्रले ओगट्दै आएको छ । वल्र्ड ट्राभल एन्ड टुरिजम अर्गनाइजेसनको तथ्यांकअनुसार सन् २०१८ मा पर्यटन क्षेत्रले १० लाख ५१ हजार रोजगारी सिर्जना गरेको अनुमान छ, जुन कुल रोजगारीको ६.७ प्रतिशत हो । नेपालको होटल क्षेत्रमा हालसम्म १ खर्ब रुपैयाँभन्दा बढीको लगानी भइसकेको उद्यमीहरूको दाबी छ र त सरकारले अहिलेसम्म उद्योगको मान्यता दिएको छैन ।

अब हेरौं सिनेमा क्षेत्रतिर । नेपालको सिनेमा क्षेत्रमा कति वटा संगठित सिनेमा उत्पादन गृह (प्रोडक्सन हाउस)हरू छन्? तिनले कतिलाई प्रत्यक्ष रोजगारी दिएको छ भन्ने औपचारिक तथ्यांक कहीँकतै छैन । अनि, के आधारमा नेपाली सिनेमा क्षेत्रलाई उद्योग भन्ने, के आधारमा उद्योगको मान्यता दिने? अनि किन दिने? अक्सफोर्ड डिक्सिनरी अफ इकोनोमिक्सले कच्चा पदार्थ प्रयोग गरेर वस्तु उत्पादन गर्ने आर्थिक गतिविधिलाई उद्योगका रुपमा परिभाषित गरेको छ । यद्यपि बृहत रोजगारी र आर्थिक उत्पादकत्व सिर्जना गर्ने क्षेत्रलाई पनि उद्योग नै भन्ने चलन छ । नेपालको सिनेमा क्षेत्रमा न त्यत्रो बृहत लगानी छ, न यसले व्यापक रोजगारी नै सिर्जना गरेको छ । सिन क्षेत्रसँग सम्बद्ध व्यवसायीहरूले आफ्नो साधारणसभामा स्वघोषित ‘सिनेमा उद्योग’मा १ लाख व्यक्तिहरू रोजगारीमा रहेको दाबी गरेका छन् । एकातिर यो तथ्यांकको विश्वसनीय आधार छैन भने कामको प्रकृति हेर्दा यो पनि मौसमी राजगारीमात्र भएको देखिन्छ ।

गत वर्ष अर्थात् २०७५ सालभरिमा नेपालमा जम्मा १२० वटा सिनेमा बनेछन् । केही सिनेमा १ देखि डेढ करोड रुपैयाँको लागतमा बनेको गफ दिइए पनि औसतमा ४० देखि ५० लाख रुपैयाँमा नेपाली सिनेमा बन्ने गर्छन् । यसलाई औसत मान्दा वर्षमा नेपाली सिनेमामा करिब ५० देखि ६० करोड रुपैयाँ लगानी हुने गरेको देखिन्छ । यति रकम त भारतको मूलधार होइन, दक्षिण भारतमा बन्ने सिनेमाको एउटा सेट र भिएफएक्स (कम्प्युटर एनिमेसनका आधुनिक प्रविधि)मा खर्च हुन्छ । देशभरि ३ सय ६७ सिनेमा हलहरू दर्ता भएकामा अहिले २ सय ५० सिनेमा हल चलिरहेको अनुमान छ । राजधानीका मल्टिप्लेक्स हलहरूले मात्र होइन, देशका प्रमुख सहरहरूमा धमाधम स्थापना गरिरहेका मल्टिप्लेक्स हलहरूले राम्रै अर्थोपार्जन पनि गरिरहेकै छन् । हिन्दी सिनेमाका वितरकहरूले करोडभन्दा माथिको रोयल्टी तिरेर ल्याउने बलिउडका सिनेमाका लागि मल्टिप्लेक्स हलहरूले २५ देखि ३० लाख रुपैयाँसम्म आर्जन गरेर बुझाउने गरेका छन् । यसले नेपालको मनोञ्जन क्षेत्रको कारोबार सानो नभएको देखाउँछ ।

नेपालकै पनि केही सफल भनिएका सिनेमाहरूले ५० करोडभन्दा बढी आर्जन गरेको भनेर मिडियामा प्रचारबाजी गरियो । हास्यप्रधान एउटा सिनेमाले भैसेपाटीको मैदानमा गरेको सफलताको पार्टीमा मात्रै ३ देखि ५ लाख रुपैयाँ खर्च भएको बताइएको छ । उक्त सिनेमाका निर्माताले बोनस भनेर सिनेमा सम्बद्ध झन्डै १०० जना र करिब तीन दर्जन सञ्चारकर्मीलाई खाममा हालेर पाँच÷पाँच हजार मात्र बाँडेको सोही सिनेमाको प्रोडक्सनसँग जोडिएका एक व्यक्तिले पंक्तिकारलाई बताएका छन् । यसका अलावा सिनेमाका निर्देशकलाई गाडी उपहारसमेत दिइएको खबर बाहिर आयो । औपचारिक रूपमा बाहिर ल्याएको आँकाडाकै आधार मान्दा पनि उक्त सिरिजका सिनेमा बनाउनले कम्तिमा २५ देखि ५० करोड आर्जन गरेको भन्ने स्पष्ट भइसके पनि उक्त सिनेमा निर्माता समूहले कति कर ति¥यो भन्ने कुरा भने सार्वजनिक जानकारीमा ल्याइएको छैन ।

केही सिने कलाकारले आफूले पारिश्रमिकबापत ५० लाख रुपैयाँ लिने गरेको हाकाहाकी बताउने गरेका छन् । त्यसलाई गफै मान्ने हो भने पनि नाम चलेका केही अभिनेता अभिनेतृले ५ देखि १० लाख रुपैयाँ पारिश्रमिक बुझ्ने गरेका छन् भने नवप्रवेशी अभिनेता–नेतृले पनि ५० हजारदेखि २ लाख रुपैयाँसम्म पारिश्रमिक बुझ्ने गरेका छन् । नेपालको सिनेमा क्षेत्रमा दुईथरि सम्झौता (कन्ट्राक्ट वा एग्रिमेन्ट) गर्ने गरिएको छ । एउटा कलाकारलाई दिइने रकमको वास्तविक, अर्को कर प्रयोजनका लागि देखाउने । कलकारलाई १० लाख दिइए पाँच लाख पारिश्रमिक बुझाइएको सम्झौतापत्र (एग्रिमेन्ट) बनाइन्छ ।

यो टिप्पणी लेख्नुभन्दा अगाडि पंक्तिकारले आन्तरिक राजस्व विभागका एक जना वरिष्ठ अधिकारीसँग नेपालका कति सिनेकर्मीले आयकर प्रमाणपत्र (प्यान कार्ड) लिएका छन् र कतिले नियमित बुझाउँछन् भनेर बुझेको थियो । उनले रेकर्ड हेरेर हाँस्दै भने– एक दर्जनभन्दा बढी छैन । वर्तमान आयकर ऐनअनुसार कुनै पनि आयजन्य कार्यमा भुक्तानी गरिँदा १५ प्रतिशतका दरले अग्रिम आयकर (टिडीएस) काट्नु पर्ने उल्लेख छ, तर नेपाली सिनेमाको कारोबार नै अपारदर्शी भएकाले यसरी आयकर तिर्ने चलन निकै कम छ ।

सिनेकर्मीहरूको वैभवशाली जीवन हेर्ने हो भने उनीहरूको आय कति छ, कसरी बाँचेका छन् भन्ने प्रश्न उब्जन्छ । आयकर प्रणालीमा देखिनु पर्छ भनेर सिनेमा क्षेत्रको ९५ प्रतिशत कारोबार नगदमा हुन्छ । वर्तमान आयकर ऐन (आर्थिक विधेयक– २०७६ले दिएको सुविधासहित) आयकरको छुट सीमा व्यक्तिका हकमा वार्षिक ४ लाख र परिवारका हकमा साढे ४ लाख छ । एउटै सिनेमाबाट १० लाखभन्दा बढीको आयआर्जन गर्ने सिनेमाकर्मीले भने विभिन्न बहाना बनाएर कर तिर्ने गरेकै छैनन । यसमा सिनेमाका निर्माता, निर्देशक, संगीतकर्मीदेखि गायक–गायिका, नायक–नायिका र वितरकहरू समावेश छन् । अधिकांश सिनेकर्मीहरू बैंकिङ प्रणालीबाट पारदर्शी कारोबार गदैनन् । राज्यलाई तिर्नुपर्न कर नतिर्ने अनि सिनेमासम्बद्ध १० संस्थाले सामूहिक विज्ञप्तिमा दाबी गरेजस्तो कसरी गरेछन् त सार्वभौमसत्ताको रक्षा?

सिनेमाको लगानीमाथि नै प्रश्न

नेपालमा वार्षिक १ सयदेखि १२५ सिनेमा बन्ने भए पनि ८५ प्रतिशत सिनेमाले लगानी नै उठाउँदैनन् भनिन्छ । वर्षमा मुश्किलले पाँचदेखि १० वटा सिनेमा हलमा सफल हुन्छन् । कतिपय निर्माताले मेरो एक करोड लगानी भएको भनेर गफ दिने गरेको सुनिन्छ । करोड रुपैयाँ सानो रकम होइन । साना–मझौला खालको उद्योग नै खोल्न पुग्छ । लगानी डुब्यो पनि भन्दै गरेको अनि हरेक वर्ष सिनेमामा लगानी पनि गर्दै गरेको देखिन्छ । केही झुर र फ्लप सिनेमाका निर्माता–निर्देशकले त्यही सिनेमाको सिक्वेलसमेत बनाइरहेका देखिन्छन् । जुन पुनः फ्लप हुने पूर्वनिर्धारित नै हुन्छ । यस्तो अवस्थामा किन लगानी गरिरहिएको छ भन्ने प्रश्न उब्जिएको छ । कतै सिनेमामा लगानीका नाममा कालोधनलाई सेतो बनाउने वा सम्पत्ति शुद्धीकरण गर्ने काम त भइरहेको छैन ?

जसरी बैंकमा जम्मा गरिने प्रत्येक रुपैयाँको आयआर्जनको स्रोत देखाउनु पर्ने नियम छ, त्यसरी नै अब नेपाली सिनेमामा गरिने लगानीको स्रोत खोज्नु पर्ने बेला भएको छ । यसमा तत्कालै सम्पत्ति शुद्धीकरण विभागको ध्यान पुग्नु आवश्यक छ ।

कम्पनी दर्ता छैनन्, आयकर नै बुझाउँदैनन्

आफूलाई अब्बल दर्जाको निर्माता हुँ भनेर नेपाल चलचित्र निर्माता संघ र नेपाल चलचित्र निर्देशक समाजका अधिकांश हर्ताहर्ताहरूको कम्पनी नै दर्ता छैन । कम्पनीमा दर्ता भए पनि तिनीहरूले नियमानुसार मूल्य अभिवृद्धि कर (भ्याट)मा आफूलाई दर्ता गरेका छैनन् । बाध्यताका कारण केही सीमितले कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गराएका भए पनि वार्षिक ५० लाखभन्दा कमको कारोबार भएको भन्दै प्यानमा मात्र दर्ता गराएका छन् तर तिनले नियमित कर विवरण नै नबुझाएको आन्तरिक राजस्व विभागका ती अधिकारीले जानकारी दिएका छन् । सिनेमा वितरणहरूको औसत कारोबार नै करोडभन्दा माथि हुन्छ भने कसरी सिनेमा कम्पनीहरू प्यानमा मात्र भइरहेका छन् भन्ने आन्तरिक राजस्व विभागको छानबिनको विषय हो ।
फँसाइन्छ नयाँ लगानीकर्ता

हालैमात्र नेपाली सिनेमामा लगानी गरेका पंक्तिकारका एक मित्रले दिएका जानकारीअनुसार पटक–पटक कहिले क्यामेरालाई अगाडि नै पैसा दिनुपर्ने, कहिले लोकेसनका लागि पैसा दिनुपर्ने, कहिले डान्सर र फाइटरलाई पैसा दिनुपर्ने भनेर कम्तिमा ५० हजारदेखि लाख रुपैयाँसम्म फुत्काइयो । कतिसम्म भने फलानो गाउँमा सुटिङ गर्दा त्यहाँको गाउँपालिकालाई पैसा दिनुपर्छ भनेरसमेत लगानीकर्तालाई मुर्गा बनाइने रहेछ । नाम चलेका नायक–नायिका, निर्देशकको माग पूरा गर्दागर्दै सुरुमा ५० लाखको बजेट लिएर बसेको निर्माताको लगानी एक करोड नाघ्ने रहेछ ।

सिनेमा अध्येता डा. प्रदीप भट्टराईको एक कार्यपत्रअनुसार नेपालको मनोञ्जन उद्योगको कुल आकार ३ अर्ब रुपैयाँबराबर रहेको छ । वर्षौंदेखि सरकारले करको दर होइन, दायरा बढाउँछु भनेर बजेटमा घोषणा गरिरहेको हुन्छ । तर, क्षेत्रको पहिचानको अभावमा सरकार नै अलमलमा परिरहेको छ । यदि, राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको संयुक्त उपक्रम प्रयोग गरेर सिनेमा सम्बद्ध निर्माता, निर्देशक, नायक–नायिक, सिनेमा प्रदर्शक, वितरकको आयव्यय र सम्पत्तिको छानबिन गर्ने भने हो, यहाँ भइरहेको कर छलीको ठूलो चक्र बाहिर आउने छ, जसबाट राज्यले करोडौंको कर प्राप्त गर्नसक्छ ।

कारोबार दैनिक ३ असार २०७६

सन्तुलित विकासमा भएको चुक

IWR 2018_Nepalinomy

सन् १९९६ मा ७५ लाख हेक्टर वन थियो, अहिले ५९ लाख हेक्टरमा झरेको छ, भनेपछि १६ लाख हेक्टर वन कहाँ गयो? केही परिवर्तनका नाममा अतिक्रणमा गरेर सकियो, केही हरियो वन तस्करहरुले सीमापार व्यापार गरेर सके, केही विकास नाममा सक्यौं ।

गजेन्द्र बुढाथोकी
विगत तीन दशकमा नेपालको अर्थतन्त्रले लोभलाग्दो प्रगति हासिल गरेको तथ्यांकले देखाउँछ । राष्ट्रिय लेखा तथ्यांकको विवरण हेर्ने हो भने सन् १९९० अर्थात् आर्थिक वर्ष २०४७÷४८ मा नेपालको अर्थतन्त्र जम्मा १ खर्ब २० अर्ब रुपैयाँको थियो, त्यो आव २०५७÷५८ मा जम्मा ४ खर्ब ४१ अर्ब रुपैयाँमात्र पुगेको अर्थतन्त्रको आकार अहिले ३४ खर्ब ६४ अर्ब रुपैयाँबराबर पुगेको छ । यसकै आधारमा निकालिने प्रतिव्यक्ति औसत आय पनि ९०को दशककमा जम्मा २०० अमेरिकी डलरको आसपासमा रहेकोमा यो सन् २००० मा आइपुग्दा मुश्किलले २६० डलरमा आइपुगेकोमा अहिले १ हजार ३४ अमेरिकी डलर पुगेको देखिन्छ ।

राष्ट्रिय लेखा तथ्यांकले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) र खुद राष्ट्रिय उत्पादन (जीएनपी)मा गणना हुने तथ्यांकलाई देखाउँछ, अर्थात एक वर्षभित्र मुलुकको सीमाभित्र उत्पादन भएका वस्तु र सेवाको कुल गणना यसले देखाउँछ । यस्तो गणनाले अर्थतन्त्रको सही तस्बिर नदेखाउने ठहर गरेरै केही वर्षयता समावेशी सम्पत्ति सूचक (आईडब्लूआई)को अवधारणा ल्याइएको छ, जसले मुलुकभित्र उत्पादित भौतिक सम्पत्तिको मात्र होइन; ती मुलुकभित्र रहेको मानवीय पुँजी र प्राकृतिक पुँजीको पनि गणना गर्छ । संयुक्त राष्ट्र संघीय वातावरणीय नियोग (यूएनइन्भारोमेन्ट)द्वारा हरेक २ वर्षमा सार्वजनिक गरिने समावेशी सम्पत्ति प्रतिवेदन (आईडब्लूआर)ले परम्परागत ढाँचाको कुल गार्हस्थ्य उत्पादनको गणना गरिँदा समग्रमा आर्थिक समृद्धि देखिए पनि समावेशी सम्पत्तिको भने खस्कँदै गएको देखाउँछ ।

खासगरी प्राकृतिक सम्पत्तिमाथि जुन ढंगको दोहन बढेको छ, त्यसबाट हाम्रो आर्थिक विकासको मोडलमाथि नै प्रश्न उब्जाउँछ । सार्वजनिक समावेशी सम्पत्ति प्रतिवेदन– २०१८ अनुसार विश्वका १४० वटा मुलुक (अति साना ५० वटा मुलुक गणना नगरिएको)को कुल सम्पत्ति गणनाअनुसार सन् १९९० देखि २०१४ को बीचमा विश्वको औसत जीडीपी वृद्धिदर ३.४ प्रतिशत रहँदा समावशी सम्पत्तिको वृद्धिदर भने १.४ प्रतिशतमात्र रह्यो । अध्ययनले विश्वभरि मानवीय र भौतिक पुँजी हिस्सा बढ्दै जाँदा प्राकृतिक पुँजीको हिस्सा भने घटेको देखाउँछ । अझ यसमा सामाजिक मूल्य (जुन डलरमा गणना हुनसक्दैन)लाई पनि जोडिनु पर्नेमा पछिल्लो प्रतिवेदनले जोड दिएको छ ।

यसलाई नेपालका सन्दर्भमा हेरौं । प्रतिवेदनअनुसार सन् १९९० देखि २०१८ को बीचमा नेपालको कुल गार्हस्थ्य उत्पादन १३.५ प्रतिशतले बढ्दा समावेशी सम्पत्ति भने ७.५ प्रतिशतले घटेको देखिन्छ । नेपाल समावेशी सम्पत्तिमा विश्वभरिमै ऋणात्मक वृद्धि गर्ने देशमा परेको छ । प्राकृतिक सम्पत्तिको मात्रै एकल गणना गर्ने हो भने सन् १९९० देखि २०१५ का बीचमा नेपालको यस्तो सम्पत्तिमा ८.६ प्रतिशतले ह्रास आएको छ । प्राकृतिक सम्पत्तिको अत्याधिक ह्रास हुने मुलुकहरूमा ब्रिक्सका चार मुलुक (ब्राजिल, इन्डिया, चीन, अफ्रिका)बाहेक अमेरिका, क्यानडा र ल्याटिन अमेरिका अग्रपंक्तिमा छन् ।

विकास पूर्वाधारमा अत्याधिक जोड दिँदै आएका यी मुलुकहरूमा लगातार प्राकृतिक सम्पत्तिको ह्रास हुँदै जानु स्वभाविकै भए पनि नेपाल, जसको विकास पूर्वाधार न्यूनतम अवस्थामा छ, जसले विकासमा प्रारम्भिक बामेसमेत सर्न सकेको छैन, उसको समेत प्राकृतिक सम्पत्तिमा ह्रास आउनु चिन्ताको विषया हो । आईडब्लूआरका लागि गणना गरिएको मूल्य (भ्यालु)अनुसार नेपालको प्राकृतिक सम्पत्ति सन् १९९० मा २ खर्ब २२ अर्ब अमेरिकी डलरबराबर रहेकोमा सन् २००५ देखि यो १ खर्ब ७० अर्ब अमेरिकी डलरमा स्थिर छ । कुल समावेशी सम्पत्ति भने सन् १९९० मा २८ खर्ब ७३ करोड रहेकोमा सन् २०१४ मा ४४ खर्ब ६७ अर्ब डलर पुगेको प्रतिवेदनमा उल्लेख छ ।

प्राकृतिक स्रोतसाधनमा हामीले कति धेरै दोहन ग¥यौं भन्ने एउटा उदाहरण लिउँ । विश्व बैंक समूहले वन संरक्षण आयोजनाका लागि सन् १९९६ मा गरेको अध्ययनअनुसार उक्त समयमा वनले ढाकिएको क्षेत्रफल ५१ प्रतिशत थियो र वन क्षेत्रले ५० प्रतिशत घरपरिवारको आयआर्जनमा योगदान गरेको थियो । आर्थिक सर्वेक्षण २०७६ अनुसार अहिले वनले ढाकेको क्षेत्रफल ४४.७ प्रतिशतमा झरेको छ, यसमध्ये पनि ४.४ प्रतिशत त बुट्यान र झाडी क्षेत्रमात्रै छ । वन क्षेत्र यतिधेरै अतिक्रमणको सिकार बन्यो कि जे गरे पनि वनलाई नै दोहन गर्ने प्रचलन छ, चाहे कुनै व्यापारीले केबुकार बनाउने नाममा होस् वा कसैले रिसोर्ट बनाउन वा जलविद्युत् आयोजना बनाउन नै किन नहोस् । सरकारलाई प्रभावमा पारेर मन्त्रिपरिषद्बाट निर्णय गराइ वनक्षेत्र हात पार्ने गलत अभ्यास पञ्चायतकालदेखि नै हाबी भएको हो । यो बहुदलीयकाल हुँदै अहिले गणतान्त्रिककालमा त अझ धेरै झांगिएर गयो ।

अहिलेसम्म कति हजार हेक्टर वन यसरी बाँडियो भन्ने कुनै आधिकारिक रेकर्ड छैन । एक अनुमानअनुसार २०४६ सालपछि मात्रै करिब १७ हजार हेक्टर वनक्षेत्र विभिन्न नाममा बाँडिएको छ । सन् १९९६ मा ७५ लाख हेक्टर वन थियो, अहिले ५९ लाख हेक्टरमा झरेको छ, भनेपछि १६ लाख हेक्टर वन कहाँ गयो? केही परिवर्तनका नाममा अतिक्रणमा गरेर सकियो, केही हरियो वन तस्करहरुले सीमापार व्यापार गरेर सके, केही विकास नाममा सक्यौं ।

वनक्षेत्रबाहेक अन्य प्राकृतिक स्रोतसाधनको दोहन पनि यसबीचमा यति तीव्र बन्यो कि यही कारणले देशका धेरै क्षेत्रले अहिले मरुभूमीकरण भोग्न बाध्य छन् । देशको निर्माण क्षेत्रका लागि चाहिने नाममा नदी, खोला र पर्वत श्रृङ्खलाहरू व्यापकरूपमा दोहन गरेर गिट्टीढुंगा निकालेर भारतको सडक र भौतिक पूर्वाधार निर्माणका लागि कौडीका भाउमा देशको प्राकृतिक साधन दोहन र शोषण गरियो । नेपालका डाँडापाखा नाङ्गा भए छिमेकी मुलुक भारतले भने नेपालकै स्रोत प्रयोग गरेर सीमाक्षेत्रमा बाँधजस्ता अग्ला सडक संरचना बनायो । भारतले नेपालका प्राकृतिक स्रोतसाधनको कौडीका मूल्यमा उपयोग गर्दै आएको यो पहिलो पटक भने होइन । राणाकालमै भारतका रेल्वे ट्रयाकका लागि चारकोशे झाडीबाट बहुमूल्य सालका काठ र कोशी नदीबाट ढुंगा बोकेर लगियो । हामीचाहिँ अहिलेसम्म त्यही ढुंगे रेलका कथा बेचेर ढुंगे युगमै बाँचिरहेका छौं । नेपालका नदीखोला, पर्वत श्रृङ्खला उत्खनन गर्ने क्रम अझै रोकिएको छैन ।

हाम्रो औद्योगीकरणका लागि खनिज चाहिन्छ, तर अहिले जुन ढंगले महाभारत पर्वत श्रृङ्खलामा चुनढुंगाका उत्खनन्का नाममा पहरा भत्काउने काम भइरहेको छ, त्यसले अर्को वातावरणीय संकट ननिमत्याउला भन्न सकिँदैन । अहिले नै देशका २२ जिल्लामा मरुभूमीकरणका संकेतहरू देखिइसकेका छन् । तराई क्षेत्रमा भूमिगत पानीको सतह १५ देखि ५० मिटर तलसम्म सुकिसकेको छ । पहाडी क्षेत्रहरूमा पानीका मुख्य परम्परागत स्रोतहरू धमाधम सुक्न थालेका छन् । पानी नपाएरै बसाइ सर्नुपर्ने अवस्था बढ्दै गएको छ ।

विकासको व्यवस्थापनका हामी कसरी चुकेका छौ र प्रकृतिको दोहनबाट हामी कसरी रमाएका छौं भन्ने कुराको अर्को उदाहरण हेरौं । सरकारले हालै देशका ७६ वटै जिल्ला सदरमुकामसम्म सडक पुगेको र देशभरि ९१ हजार किलोमिटर सडक निर्माण भएको भन्दै उपलब्धीको सूचक सार्वजनिक ग¥यो, जसमध्ये राष्ट्रिय स्तरमा अर्थात् सडक विभागले बनाएको सडक सञ्जाल ३१ हजार ४ सय किलोमिटर र स्थानीय तहमातहत बनेका सडक ६० हजार १६२ किलोमिटर पुगेको उल्लेख गरियो । यसमध्ये पिच अर्थात कालोपत्रे भएको सडकको अनुपात भने मुश्किलले १७ हजार ५ सय किलोमिटरमात्र छ । गाउँगाउँमा दिइएको पैसाबाट अरु विकासका आयोजना बन्नु त्यस्तै हो, सडक खन्ने भन्दै सुन्दर पहाड कुरुप बनाउने, वन क्षेत्र मास्ने काम धमाधम चल्दैछ । ग्रामीण पूर्वाधार विकास विभाग (डोलिडार)को एक अध्ययनका अनुसार ग्रामीण स्तरमा निर्माण भएका कुल सडकमध्ये मुश्किलले ४० देखि ४५ प्रतिशतमात्र यातायात सञ्चालनयोग्य छन्, अर्थात् ५५ प्रतिशत सडक केबल बजेट सक्ने उद्देश्यले मात्र निर्माण भएका छन् ।

बिनाकुनै इन्जिनियरिङ अध्ययन र इस्टिमेट केबल ‘डोजर इन्जिनियर’का भरमा वनपाखा, भित्ता, नदीकिनार र बस्ती छेउबाट खोस्रिइएका ती ग्रामीण सडकहरू पहिरो र अन्य वातावरणीय संकटको कारक बन्दैछन् ।

प्राकृतिक स्रोतमाथि शोषणको अर्को कारक बने बिनायोजना विकसित भएका सहरहरू । जग्गा बिचौलिया ‘प्लटिङ योजनाविद्हरू’ले अलिअलि भएका वनबुट्यान, खुल्ला ठाउँ देख्नै भएन । यी बिचौलियाहरूले कतिसम्म प्राकृतिक स्रोतसाधनको दोहन गराउन भूमिका खेले भने आगन्तुक र रैथाने पंक्षी र सरिसृपहरूको आवासका रूपमा रहेका सीमसार र रामसार क्षेत्रसमेत पुरेर जग्गा प्लटिङमात्र गराएनन, तिनमा भव्य सपिङ मलसमेत खडा गरेर आफू रातारात करोडपति बन्ने, तर प्रकृतिलाई भने तन्नम बनाउने काम गने ।

केही वर्षअघिसम्म तराईमा ठूल्ठूला आँपका बगानहरू र ती बगानका बीचमा पोखरी हुन्थे । पुजाका नाममा अग्ला सिमलका रुखहरू बचाएर राखिन्थे । त्यसको बहुआयामिक प्रभाव थियो । अहिले विकासको दौडमा ती सबै मासिए । परिणामः अहिले पिउने पानीको अभाव एकातिर देखिएको छ भने अर्कातिर वर्षायाममा बाढी र डुबानको समस्या बढेको छ । वन्यजन्तु, सरिसृप र पंक्षीहरू हराएका छन् । अनेकथरि वातावरणजन्य समस्या देखिन थालेका छन् । नयाँ नयाँ प्रजाति विषालू झार र किराहरू देखिन थालेका छन् । जलवायु परिवर्तनका असरले पहाडी क्षेत्रमा समेत गर्मी बढ्न थालेको छ र विगतमा तराईमा मात्र हुने लामखुट्टे, झिंगा र सर्पहरु पहाडतिर देखिन थालेका छन्
पृथ्वी वर्तमान पुस्ताको मात्र होइन, न त मानिसको मात्र हो । त्यसैले हाम्रो विकास प्रक्रियालाई आउँदो पुस्ताका लागि समेत हुनेगरी वातावरणीय रुपमा सन्तुलित बनाउनु जरुरी भइसकेको छ ।

कारोबार दैनिक २८ जेठ २०७६

कमजोर स्रोत परिचालनमा उच्च वृद्धिको महत्वाकांक्षा

एकै वर्ष करिब पाँच खर्ब रुपैयाँको ऋण परिचालनले गर्दा मुलुकको ऋणभार बढेर कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ४२.५ प्रतिशत पुग्ने देखिएको छ ।

गजेन्द्र बुढाथोकी
अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षका लागि १५ खर्ब ३२ अर्ब ९५ करोड रुपैयाँको बजेट भर्खरै संसदमा पेश गरेका छन् र अहिले संसदमा त्यसको दफाबार छलफल चलिरहेको छ । नेकपा डबलको सरकारद्वारा ल्याइएको यो दोस्रो बजेट हो भने संघीयता कार्यान्वयनका लागि दोस्रो वर्षकै बजेट हो । सरकारका पक्षधरहरूले यसलाई संघीयता कार्यान्वयन गर्ने बजेटका रुपमा बताइरहेका छन् भने आलोचकहरूले लोकरिझानमुखी बजेटले राज्यकोषमाथि भार पारेको भन्दै सरकारमाथि आक्रमण तीव्र पारेका छन् ।
बजेटको आकार ः चालू आर्थिक वर्षका लागि १३ खर्ब १५ अर्ब रुपैयाँको बजेट ल्याएका अर्थमन्त्री डा. खतिवडाले आगामी आर्थिक वर्षका लागि १५ खर्ब ३३ अर्ब रुपैयाँबराबरको बजेट ल्याएका छन्, अर्थात् १६.६५ प्रतिशतले बजेटको आकार बढाइएको छ, जसलाई अस्वभाविक मान्न मिल्दैन । यद्यपि चालू वर्ष नै बजेट खर्च गर्न नसकिने देखिएपछि बजेटको आकार घटाएर ११ खर्ब ९९ अर्ब रुपैयाँमात्र खर्च हुने अनुमान गरिएको थियो भने जेठको १९ गतेसम्म केबल ७ खर्ब ६१ खर्ब ५६ करोड अर्थात संशोधित अनुमानको ६५ प्रतिशतमात्र बजेट खर्च भएको छ । असारको अन्तिम सातामा बर्षाको भेलमा राज्यकोष बगाउने विगतको प्रवृत्ति अर्थात् कुल बजेटको करिब २० प्रतिशत अन्तिम सातातिर बगाउने प्रवृत्तिलाई हेर्दा मुश्किलले १० खर्ब ११–१२ अर्ब रुपैयाँ खर्च हुनसक्ने देखिन्छ । यसरी हेर्दा संशोधित अनुमानको करिब २९ प्रतिशत ठूलो बजेट ल्याएको देखिए पनि वास्तविक बजेट खर्चको ५० प्रतिशतकै हाराहारीमा बजेटको आकार बढाइएको छ ।
बजेटको स्रोत परिचालनको अवस्था हेरौं, आउँदो आर्थिक वर्षका लागि कुल १५ खर्ब ३३ अर्बको बजेटमा राजस्वबाट ९ खर्ब ८१ अर्ब १३ करोड र वैदेशिक अनुदानबाट ५७ अर्ब ९९ करोड प्राप्त हुने अपेक्षा गरिएको छ । चालू आर्थिक वर्षमा सुरुमा ८ खर्ब ९० अर्ब १३ करोड रुपैयाँ राजस्व उठाउने बजेटमा लक्ष्य तोकिएकोमा अद्र्धवार्षिक समीक्षाका क्रममा त्यो लक्ष्य पूरा नहुने देखिएपछि संशोधन गरी ८ खर्ब ४६ अर्ब ४९ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य तोकियो । त्यसमा पनि संशोधन गरी राजस्व लक्ष्य ८ खर्ब ३१ अर्ब ३१ करोड रुपैयाँमा झारिएको छ । जेठ १८ गतेसम्मको असुली ५ खर्ब ९२ अर्ब रुपैयाँमात्रै छ । लक्ष्यभन्दा करिब १२–१४ प्रतिशत कम राजस्व उठ्ने आँकलन राजस्व अधिकारीहरूको छ । हालसम्म औसत राजस्व वृद्धिदर २० प्रतिशतको हाराहारीमा हुँदा गत वर्षदेखि किन अर्थमन्त्री डा. खतिवडाले राजस्वका वृद्धिदर ३० प्रतिशतभन्दा माथिका राखिरहेका छन् भन्ने बुझिनसक्नु भएको छ ।
भन्सार अर्थतन्त्रः अर्थमन्त्री खतिवडाले गत वर्ष पदभार ग्रहण गरेलगत्तै भारतीय निर्यात र नेपालको आयातबीचको अन्तरका आँकडा विश्लेषण गरेर भन्सार विन्दुहरूमा कडाइका निर्देशन दिए, जसमा सन्दर्भ मूल्यसूचीलाई कडाइका लागू गर्ने विषय प्रमुख थियो । यस्तै, केही भन्सार दरबन्दीमा समेत हेरफेर गरे । त्यसले गत आर्थिक वर्षमा केही समय आयात व्यापार केही समय प्रभावित भएजस्तो देखिए पनि खासमा औपचारिक आयात आँकडामा केही फरक नै पारेन । अझ आयात वृद्धि भएको देखियो भने त्यसले भन्सार राजस्व असुलीमा सामान्यभन्दा वृद्धि भएको देखिएन ।
भन्सारले कुल राजस्वको ४४ प्रतिशत र कर राजस्वको झन्डै ५० प्रतिशत हिस्सा ओगट्छ । आयातको बढ्दो ग्राफबाट हौसिएका अर्थमन्त्री खतिवडाले आउँदो वर्ष आयात बढेर १५ खर्ब नाघ्छ भन्ने अनुमान राखेका छन् र त्यसबाट बढीभन्दा बढी राजस्व संकलन गराउन सकिन्छ भनेरै भन्सार दर बढाएर ४० प्रतिशतसम्म पु¥याएका छन् । राजस्वका तन्कने क्षमता (इलास्टिसिटी) अझै कम भएको भन्ने ठहरमा अर्थमन्त्रालयका अधिकारीहरू रहँदा संघीयताअनुरुप तल्लो तहबाट उठाइनेसहित करको भार बढ्दै गएको पक्षमा भने आश्चर्यजनक मौनता साँध्ने गर्छन् ।
आउँदो वर्ष झन्डै ५८ अर्ब रुपैयाँ वैदेशिक अनुदान प्राप्त हुने अपेक्षा राखिएको छ । चालू आर्थिक वर्षको फागुनसम्म मुश्किलले १३ अर्ब रुपैयाँ अनुदान आएको छ । यस वर्षको बजेटमा पनि सुरुमा ५८ अर्ब ५१ करोड नै अनुदान आउने उल्लेख भएकोमा मध्यावधि समीक्षामा करिब ४० अर्ब अनुदानको लक्ष्य राखिएको छ । हालसम्मको प्रतिबद्धताअनुसार ३०–३२ अर्ब रुपैयाँ अनुदान आयो भन्ने धन्न मान्नुपर्छ ।
बजेट घाटाः जीडीपीको १४ प्रतिशत
सरकार आफैले आउँदो आर्थिक वर्षको बजेट ४ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँले घाटामा रहेको उल्लेख गरेको छ । यो कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को १४.२५ प्रतिशत हो । सरकारको बजेट घाटाको ग्राफ चुलिँदै गएको देखिन्छ । चालू वर्ष बजेट घाटा जीडीपीको १३.३ प्रतिशत रहेकोमा गत वर्ष औसत १२ प्रतिशतको हाराहारीमा थियो । संघीयताको कार्यान्वयनसँगै बजेटको आकार बढाउँदै लैजाँदा तथा चालू खर्चमा नियन्त्रण गर्ननसक्दा बजेट घाटाको आकार पनि चुलिएको हो ।
बजेट घाटालाई पूर्ति गर्नका लागि २ खर्ब ९८ अर्ब ८३ करोड रुपैयाँ वैदेशिक ऋणबाट जुटाइने र आन्तरिक ऋणबाट १ खर्ब ९५ अर्ब रुपैयाँ जुटाइने अर्थमन्त्रीले उल्लेख गरेका छन् । सरकारले अपेक्षा ग¥यो भन्दैमा दाताहरूले नेपाललाई धमाधम ऋण दिइहाल्दैनन् । चालू आर्थिक वर्षको बजेटमा पनि सुरुमा २ खर्ब ५३ अर्ब रुपैयाँ वैदेशिक ऋण प्राप्त हुने अपेक्षा गरिएकोमा मध्यावधि समीक्षामा यो लक्ष्य १ खर्ब ६३ अर्ब रुपैयाँमा झारियो । फागुन मसान्तसम्म ९३ अर्ब ९६ करोड रुपैयाँमात्र वैदेशिक ऋण प्राप्ती भएको छ ।
चालू आर्थिक वर्षमा १ खर्ब ७२ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखिएकोमा सरकारको कमजोर खर्च क्षमताका कारण फागुन मसान्तसम्म एक पैसा पनि आन्तरिक ऋण नै उठाइएन । बजेटरी व्यवस्थापनका लागि चालू आर्थिक वर्षको अन्तिम चौमासिक अवधिमा आएर करिब ८६ अर्ब रुपैयाँको आन्तरिक ऋणपत्र जारी भए पनि हालसम्म मुश्किलले ५०–५५ अर्बको मात्र ऋणपत्र खरिद भएको छ ।
सरकारले जसरी भए पनि जुन सूत्र लगाएर भए पनि साढे ९ खर्ब राजस्व असुल गर्नसक्छ भन्ने मान्दा र मुश्किलले ४० अर्ब नै अनुदान आउने र करिब १ खर्ब ७५ अर्बका हाराहारीमा वैदेशिक ऋण परिचालन हुन्छ भन्ने अनुमान राख्दा पनि झन्डै डेढ खर्ब रुपैयाँको स्रोत अभाव हुने संकेत देखिएको छ । चालू आर्थिक वर्षको चैत मसान्तसम्म खर्च गर्न नसकेर सरकारको खातामा झन्डै १ खर्ब ४५ अर्ब रुपैयाँ सरकारको खातामा जम्मा छ । सरकारले त्यसलाई पनि आगामी वर्षको बजेटको स्रोतका रुपमा उपयोग गर्ने योजना राखेको देखिन्छ । गत वर्ष यस्तो रकम बजेटको स्रोतका रूपमा राखिएको भन्दै श्वेतपत्रमा गलत ठह¥याएका अर्थमन्त्री खतिवडा आफैले यस वर्ष खर्च नगरी बजेट बचाएर आउँदो आर्थिक वर्षको बजेट घाटा पूर्तिमा लागेका स्पष्ट देखिन्छ ।
ऋणभार जीडीपीको ४२ प्रतिशत
आगामी वर्षको बजेटको स्रोत परिचालन, बजेट घाटा र सार्वजनिक ऋणको बढ्दो दबाब हेर्दा सरकारलाई बजेट व्यवस्थापनमा निकै सकस परेको देखिन्छ । एकै वर्ष करिब पाँच खर्ब रुपैयाँको ऋण परिचालनले गर्दा मुलुकको ऋणभार बढेर कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ४२.५ प्रतिशत पुग्ने देखिएको छ । हाल यस्तो ऋणभार ३२ प्रतिशतको हाराहारीमा मात्र छ । यसमा आन्तरिक तथा बाह्य ऋणको साँवाब्याज भुक्तानीको अनुपातलाई समयोजन गर्दा आगामी वर्ष देशको ऋणभार जीडीपीको ३८ देखि ४० प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ ।
आन्तरिक राजस्वले चालू खर्च पनि धान्न नपुग्ने अवस्था छ । यस्तो अवस्थामा पुँजीगत खर्चका लागि वैदेशिक सहयोगमा नै भर पर्नुको अर्को विकल्प पनि छैन, जुन रकममा हेर्दा ४ खर्ब ८ अर्ब रुपैयाँ हो । सरकारका प्रतिरक्षकहरूले चालू खर्चभित्रमा नै प्रदेश र स्थानीय तहलाई गएको ३ खर्ब २० अर्ब रुपैयाँको अनुदानसमेत परेकाले आकार बढेको देखिएको बताए पनि चालू खर्चको शीर्षकगत विश्लेषणबाट सरकारको सालबसाली खर्च नियन्त्रणहीन ढंगले बढेको नै देखिन्छ ।
अर्कातिर, तल्लो तहका सरकारहरूलाई दिइने अनुदानको हिस्सा बढेको देखिए पनि तिनको खर्च क्षमता निकै कमजोर रहेको यस वर्षको बजेट कार्यान्वयनबाटै देखिएको छ । सँगसँगै, प्रदेश र स्थानीय सरकारहरूको आफ्नो स्रोत परिचालन निकै कमजोर छ । अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार नेपाल सीधा÷उद्र्ध वित्तीय असन्तुलन (भर्टिकल फाइनान्सियल इन्ब्यालेन्स)भएका मुलुकमध्ये पहिलो पंक्तिमा परेको छ । यसले वित्तीय संघीयताको कार्यान्वयनमा गम्भीर असर पार्छ । प्रदेश र स्थानीय सरकारहरू अत्याधिक मात्रामा केन्द्रका अनुदान र राजस्वको बाँडफाँटमा आश्रित छन् । यो अवस्था आउँदा वर्षहरूमा अझ बढेर जानेछ । यस्तो अवस्थामा कसरी स्रोतको व्यवस्थापन गर्ने हो भन्ने कुराको आधार कतै भेटिँदैन ।
चालू आर्थिक वर्षमा करिब ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल भएको बेसलाइनमा टेकेर बजेटमा साढे ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने र मुद्रास्फीतिदर ६ प्रतिशतमा सीमित राख्ने लक्ष्य राखिएको छ । अहिलेकै बजेट कार्यान्वयनको संरचना, ढाँचा र परम्पराले १३ खर्ब ६५ खर्ब रुपैयाँबराबरको बजेट खर्च भयो भने धन्न मान्नु पर्छ । यो पनि चालू वर्षको यथार्थ खर्चभन्दा ३७–३८ प्रतिशतका वृद्धिदर हुने भएकाले सरकारले त्यसले बजारमा मौद्रिक चाप सिर्जना गर्दा पुनः मुद्रास्फीति दर दोहोरो अंकको आसपासमा पुग्ने जोखिम रहन्छ । बजेट कार्यान्वयनमा केही सुधार भए र यदि श्रीपशुपतिनाथ फेरि पनि कृपावान भइदिएर मौसममा सुधार आयो भने आर्थिक वृद्धिदर भने ७.५ देखि ७.८ प्रतिशत सम्म पुग्न सक्छ ।
मुद्रास्फीति किन पनि बढ्छ भने चालू आर्थिक वर्षमा सरकारी कर्मचारीहरूको तलब २० प्रतिशतले बढाइएको छ । जेष्ठ नागरिक भत्तासहित केही अन्य सामाजिक सुरक्षा भत्तामा समेत वृद्धि गरिएको छ । कर्मचारीको तलब वृद्धि र बजार मूल्यसँग सोझै अन्तरसम्बन्ध हुँदैन, तर यही कारण जनाउँदै बजेट सार्वजनिक भएको भोलिपल्टैदेखि तरकारीदेखि सामान्य उपभोगका वस्तुको समेत मूल्य बढाउन थालिएको छ । सरकारले आफैले पेट्रोलियम पदार्थको मूल्यमा कर थोपरेर बढाइएको छ । थुप्रै वस्तुको भन्सार दरबन्दी बढाइएको छ । यी सबैका कारणले गर्दा आगामी आर्थिक वर्षमा मूल्यवृद्धि उच्च रहने छ ।

कारोबार दैनिक २१ जेठ २०७६