लगानी सम्मेलनसँग जोडिएको कमजोर बाह्य लगानी

TOP 10 Countries-FDI Source

लगानीकर्ताहरूलाई नेपालमा लगानीका लागि यस कुराले अनुकूल छ भनेर उत्प्रेरित नगरिन्जेलसम्म जतिसुकै सम्मेलन गरे पनि लगानीकर्ताहरू हौसिएर नेपाल आउँदैनन् ।

गजेन्द्र बुढाथोकी
सरकार यतिखेर चैतको दोस्रो साता बृहत लगानी सम्मेलन गर्ने तयारीमा जुटेको छ । लगानी सम्मेलनकै तयारीका लागि भनेर अर्थमन्त्री डा. युवराज खतिवडा बेलायत पुगेर नेपालमा लगानी गरौं भनेर गैरआवासीय नेपालीदेखि नेपाल विकास सम्मेलनमा भाषण पनि गरेर फर्के । यदि अर्थमन्त्रालयको दाबीलाई पत्याउने हो भने लन्डनका लगानीकर्ताहरूसँगको अन्तक्रियामा ‘सिटी अफ लन्डन’का तर्फबाट नेपालमा ४ ट्रिलियन लगानी गर्ने प्रतिद्धता पनि जनाएका छन्, यो पहिला नेपाल टेलिभिजनबाट प्रशारित हुने ‘ट्वाक्क–टुक्क’ कार्यक्रममा प्रेम चरोले भन्ने– गफै त हो नि सम्धी भनेभन्दा फरक कुरा भने होइन । किनकी, ४ ट्रिलियन वा ४० खर्ब अमेरिकी डलर भनेको सानो रकम होइन । हालसम्म मुश्किलले साढे पाँच अर्ब रुपैयाँमात्र लगानी गरेको बेलायत (युके)को एउटै सहरबाट ४० खर्ब अमेरिकी डलरको लगानी आउँछ भनेर पत्याउने पनि उस्तै हुन् ।

अर्थमन्त्रीले बेलायत पुगेर विदेशी लगानीकर्ताहरूलाई यहाँ लगानीका लागि आह्वान गरिरहँदा अद्र्ध–भूमिगत विप्लव माओवादीले भने विदेशी लगानीमै सञ्चालित एनसेलको मुख्यालयमा बम विस्फोट गराउनुका साथै उसका दर्जनभन्दा अधिक बीटीएस टावरहरूमा आगजनी गरिरहेको थियो । २०६० सालदेखि पटक–पटक किनबेच भएको एनसेल (तत्कालीन स्पाइस नेपाल) को पुँजीगत लाभकर असुलीसम्बन्धी मुद्दा आफ्नो ठाउँमा होला, सर्वोच्च अदालतको परमादेशपछि उक्त कम्पनी किनबेच र सञ्चालन गर्नेहरूबाट सरकारले प्रक्रियागत रूपमा कर असुली गर्ला, तर एउटा महत्वपूर्ण वैदेशिक लगानीको कम्पनीमाथि आक्रमण हुनुले देशमा औद्योगिक–व्यावसायिक सुरक्षाको अवस्था कति कमजोर छ भन्ने झल्काउँछ । यसले सरकारको शान्ति–सुव्यवस्थासम्बन्धी कमजोरी पनि उजगार गरेकै छ ।

चाहे आन्तरिक हुन् वा बाह्य, जुनसुकै लगानीकर्ताले पनि लगानी प्रवाहका लागि हेर्ने पहिलो पक्ष भनेको सुरक्षा नै हो । आतंकवादी अवस्था जारी रहेका, शान्ति सुरक्षाको अवस्था बिग्रेका, सशस्त्र वा राजनीतिक द्वन्द्वहरू जारी रहेका कुनै पनि मुलुकमा लगानीकर्ताहरूले आँखा चिम्लेर लगानी गर्दैनन् । भलै सरकारले नेपालमा सशस्त्र द्वन्द्वको शान्तिपूर्ण अवतरण भइसकेको, शान्ति प्रक्रिया एउटा टुंगोमा पुगिसकेको, राजनीतिक अस्थिरता र द्वन्द्व समापन भइ मुलुक स्थिरताको बाटोतर्फ अगाडि बढिसकेकोलगायतका दाबी गरे पनि सरकारलाई नै चुनौती दिएर देखापरेको सुरक्षाजन्य थ्रेटले लगानीकर्ताहरूलाई पक्कै झस्क्याएको छ ।

यसबाहेक नेपालमा लगानीका लागि लगानीकर्ताहरू झस्कने अर्को तत्व हो, राजनीतिक हस्तक्षेप र नीतिगत अस्थिरता । चाहे जुनसुकै दलका शीर्ष नेताहरूले जतिसुकै ठूला कुरा गरुन्, नेपालमा नयाँ कुनै ठूलो लगानी आउने भयो भने त्यसबाट कसरी धेरैभन्दा धेरै रकम झार्न र आफ्नो व्यक्तिगत दुनो सोझ्याउन पाइन्छ भनेर माथिदेखि तलसम्म राजनीतिक दलका नेताहरू र उच्च पदस्थ सरकारी प्रशासकहरू अनेकन तानाबुना बुन्न थाल्छन् । यसका दुई वटा हालसालैका ताजा उदाहरणहरू छन्, २०७२/७३ सालमा चिनियाँ सरकारी स्वामित्वको एउटा कम्पनी नेपालमा कम्तिमा एक हजार मेगावाटको सौर्यऊर्जा प्लान्ट स्थापना गरिदिन्छु भनेर अगाडि आयो, नेपालका उत्साही ऊर्जा उद्यमीले सहजीकरण पनि गर्न खोजे । तर तत्कालीन ऊर्जामन्त्री, ऊर्जासचिवलगायतका पदाधिकारीले यति धेरै माग सिर्जना गरे कि चिनियाँ लगानीकर्ता बाफ रे बाफ भएर तर्सिए ।

यसैगरी, अर्को उदाहरण काठमाडौं उपत्यकाको फोहरबाट बायोग्यास तथा बिजुली बत्ती उत्पादन गर्ने भनेर दुई–तीन वटा कम्पनीले प्रस्ताव अघि बढाए, जसमा पर्याप्त विदेशी लगानीको प्रस्ताव थियो । तर, यहाँका ‘फोहरी अधिकारीहरू’ले “हाम्रो फोहर त सम्पत्ति हो” भनेर यति फोहरी रकमी प्रस्ताव राखेछन् कि सम्बन्धित लगानीकर्ता तेरो फोहर तैंसँग राख भनेर फर्केर आएनन् ।

यस्ता दर्जनौं उदाहरण छन्, जहाँ लगानीकर्ताहरूसँगै सीधै रकम माग गरेर नभए अनेकन प्रक्रियागत र प्रशासनिक झन्झटहरू सिर्जना गरेर भए पनि तिनलाई हतोत्साही पारिन्छ । सबैभन्दा नसुध्रेको र चिन्तालाग्दो पक्ष भनेको चन्दा आतंक नै हो । अहिले एनसेलको बम र उसका टाबरहरूमा आगजनीको मुख्य कारण पनि केही हप्ताअघि गरिएको ठूलो रकमको चन्दा मागसँग जोडिएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

आसियान र अंकट्याडले संयुक्त रूपमा प्रकासित गरेको ‘एसियन इन्भेस्टमेन्ट रिपोर्ट–२०१८’मा एसियाका ठूला लगानीकर्ता कम्पनीका रूपमा उल्लेख गरेको एक्जिएटा ग्रुपका लागि नेपाल मुख्य नाफा आर्जन हुने देशमध्ये पर्छ । प्रतिवेदनअनुसार एक्जिएटाले सन् २०१७ मा मलेसियाबाट १ अर्ब ६० करोड अमेरिकी डलर आयआर्जन गरेकोमा नेपालबाट मात्र ६० करोड अमेरिकी डलर (करिब ७५ अर्ब रुपैयाँ) आयआर्जन गरेको थियो । एक्जिएटाले नाफा धेरै कमायो, कर तिरेन यसबाट चन्दाबाटै भए पनि असुल गरौं भनेर उसमाथि आक्रमणको श्रृङ्खला जारी राख्ने हो भने कोल्गेट, आईसीटी ग्रुप (सूर्य नेपाल गार्मेन्ट)लगायतका कम्पनीजस्तै उसले पनि बहिर्गमनको सोचन नबनाउला भन्न सकिँदैन ।

के हेर्छन लगानीकर्ताले?

कुनै पनि मुलकमा लगानीकर्ताहरूले आफ्नो पुँजी फसाउनुभन्दा पहिला केही आधारभूत कुरा हेर्ने गर्छन्– १) सम्बन्धित मुलुकभित्र फैलने अवसर (२) सम्बन्धित अर्थव्यवस्थामा स्रोतसाधन मागको अवस्था (३) उसको उत्पादनको बजार माग र उत्पादनका लागि सम्भाव्यता (४) अनुकूल राजनीतिक तथा आर्थिक वातावरण (५) पूर्ण रुपमा स्थापित भौतिक पूर्वाधार र, (६) मानवीय स्रोतसाधनको उपलब्धता/श्रम लागत । यसपछि अन्तर मुलुक–अन्तर क्षेत्रीय बजार अवसर, लगानीको प्रतिफल फिर्ता लैजाने सहज व्यवस्था, कानुनी तथा प्रशासनिक खुकुलोपन, लगानी सहजीकरण, लगानी सुरक्षाको प्रत्याभूतिजस्ता अन्य तत्वहरूले काम गर्छन् ।

त्यसपछि सबैभन्दा महत्वपूर्ण तत्व हो, लगानीकर्ताको उत्प्रेरणा । यस कारणले म नेपालमा लगानी गर्छु भनेर कुनै पनि लगानीकर्ताले भित्री मनदेखि नै नचाहेसम्म वा उसलाई नेपालमा लगानीका लागि यो यो कुराले अनुकूल छ भनेर उत्प्रेरित (कन्भिन्स) नगरिन्जेलसम्म जत्रासुकै लगानी सम्मेलन गरे पनि लगानीकर्ताहरू हौसिएर नेपाल आउँदैनन् । सम्मेलनको बहानामा घुमफिर गर्न नेपाल आए र लहडको भरमा यति–उति लगानी गर्छु भनिहाले पनि कालान्तरमा लगानी नै गर्दैनन् भन्ने कुरा सन् २०१७ मा सम्पन्न भएको लगानी सम्मेलन र त्यसअघि र पछि पटक–पटक आयोजना भएका जलविद्युत् (लगानी)सम्मेलनपछि प्रवाह भएका लगानीको अवस्थाले नै देखाएको छ ।

नेपालले २०४९ सालदेखि नै आफ्नो भूमि वैदेशिक लगानीका लागि खुला गरेको भए पनि यहाँ वैदेशिक लगानी प्रवाहको अवस्था अति नै कमजोर अवस्थामै छ । अंकट्याडको तथ्यांक हेर्ने हो भने भुटान र युद्धले ध्वस्त भएको अफगानिस्तानपछि नेपालमा सबैभन्दा कम प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रवाह भएको छ । सन् २०१७ मा नेपालमा प्रवाहित हुने एफडीआई ८७ प्रतिशतले बढेर १९ करोड ८० लाख अमेरिकी डलर पुगे पनि यो क्षेत्रमै कमजोर बाह्य लगानी प्रवाहमध्येको हो । सन् २०१६ मा नेपालमा १० करोड ६० लाख अमेरिकी डलरबराबरको मात्र लगानी आएको थियो भने त्यसअघिका वर्षहरूमा औसतमा ३ करोडदेखि ९ करोड डलरसम्मका मात्र वैदेशिक लगानी भइरहेको अंकट्याडको तथ्यांकबाट देखिन्छ । नेपालमा हालसम्म प्रवाह भएको वैदेशिक लगानी पनि ठूलो मात्रामा साना उद्योग–व्यवसाय र सेवा क्षेत्रमा प्रवाहित भएको देखिन्छ ।

उद्योग विभागका अनुसार हालसम्म वैदेशिक लगानीमा खुलेका कुल उद्योगमध्ये ८५ प्रतिशत उद्योग १० करोडभन्दा कम लगानी भएका साना उद्योग वर्गका छन्, तीमध्ये धेरैजसोको त लगानी ५ करोड पनि पुग्दैन । अझ क्षेत्रगत रूपमा हेर्दा झनै ६४ प्रतिशत उद्योगहरू सेवा र पर्यटन क्षेत्रसँग सम्बन्धित देखिन्छन् । यस्ता खुद्रे वैदेशिक लगानीले न मुलुकको औद्योगिक एवं भौतिक पूर्वाधारकै विकास हुन्छ न त मुलुकमा रोजगारी नै सिर्जना हुन्छ । नेपालमा उद्योग खोल्छु भनेर आएका कतिपय लगानीकर्ताहरूले सम्पत्ति शुद्धीकरण गर्ने उद्देश्यले ‘अफसोर कम्पनी’बाट लगानी गरेको र कतिपयले सानोतिनो लगानी गरेको देखाएर नेपालमा ढुक्कैसँग आफ्नो शंकास्पद बसाइसमेत लम्ब्याएका प्रकरणहरूसमेत सार्वजनिक भइरहेका छन् । यस्तो किसिमको लगानी बढ्यो भनेर सरकार आत्मरतिमा रमाउनुभन्दा बरु लगानी नआएकै बेस हुन्छ ।

कमजोर लगानीप्रवाहको सोझो अर्थ हो नेपालले जतिसुकै जोडबल लगाए पनि यहाँ वैदेशिक लगानी प्रवाह भएकै छैन । प्रायः लगानीकर्ताहरूले नेपालमा लगानीको प्रतिफल फिर्ता लैजानमा समस्या रहेको गुनासो गर्ने गरेका छन् । त्यसैले यदि साँच्चिकै नेपालमा अब बाह्य लगानी परिचालन बढाउने हो भने सरकारले जिम्मेवार ढंगले आवश्यक सुधारका ठोस प्याकेज नै अगाडि बढाउनुपर्ने हुन्छ । जसमा प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी विद्यमान ऐन, कानुन र नीतिहरूमा समयानुकूल परिमार्जन गर्दै बाह्य लगानीका लागि अन्य मुलुकले अबलम्बन गर्दै आएका उदार व्यवस्थाहरूको सकेसम्म अनुकरण, लगानी सहजीकरण प्रक्रियालाई व्यवस्थित तुल्याउने, प्रशासनिक एवं कागजी झन्झटिलो प्रक्रियालाई सरलीकरण गर्ने, राजनीतिक हस्तक्षेप सून्यमा झार्ने, भ्रष्टाचारलाई साँच्चिकै न्यूनीकरण गर्ने, लगानी सुरक्षाको प्रत्याभूति गर्ने, शान्तिसुरक्षाको अवस्थामा सुधार गर्ने, विश्वकै प्रमुख बाह्य लगानी तथा स्रोत गन्तव्य बनेका छिमेकी मुलुकहरूले अबलम्बन गरेका विदेशी लगानीसँग तादम्यता राख्ने गरी नीतिगत व्यवस्थाहरू गर्ने, प्रमुख लगानी गन्तव्य पहिचान गरेर तीसँग द्विपक्षीय लगानी तथा करमुक्तिसम्बन्धी सम्झौताहरू गर्ने र ती सम्झौताको प्रभावकारी कार्यान्वयन गर्नेलगायतका विषयहरू पर्छन् ।

विश्वव्यापी लगानी प्रवाहको बहाव

बुझ्नै पर्ने पक्षचाहिँ अमेरिका, बेलायत र युरोपेली राष्ट्रहरू घुमेर लगानी आउँदैन् । विगत दुई दशकयता नेपालको उत्तरी छिमेकी चीन विश्वकै प्रमुख लगानीका लागि स्रोत गन्तव्य बनेको यूएन–इस्क्याप र अंकट्याडको संयुक्त अध्ययनमा उल्लेख छ । दक्षिण एसियामा चीनको लगानी ह्वात्तै बढ्दै गएको देखिन्छ । चीनले पाकिस्तानमा ऊर्जा र पूर्वाधारका निर्माण कार्यहरूमा व्यापक लगानी प्रवाह गर्दै आएको छ, जसमा चीन–पाकिस्तान आर्थिक करिडोरमा अर्बौं अमेरिकी डलरको लगानी पनि छँदैछ । श्रीलंकामा भित्रिएको कुल वैदेशिक लगानीको ३५ प्रतिशत हिस्सा चीनबाट आएको प्रतिवेदनमा उल्लेख छ भने बंगलादेशमा पनि उल्लेख्य अनुपातमा चिनियाँ लगानी प्रवाह भइरहेको छ ।
नेपालमा पनि विगत केही वर्षदेखि चिनियाँ वैदेशिक लगानी क्रमसः बढ्दै गएको देखिन्छ । गत आव २०७४/७५ सम्म कुल वैदेशिक लगानी रकम प्रवाहको आधारमा चीन दोस्रो स्थानमा छ । यसमा लगानी बोर्ड नेपालमार्फत प्रवाह भएको १० अर्ब रुपैयाँभन्दा बढीको लगानीसमेत जोड्दा उछिनेको देखिन्छ । उद्योग विभागको विवरणको विश्लेषणबाट नेपालका लागि चीन अबको मुख्य प्रत्यक्ष वैदेशिक लगानीकर्ता हुनसक्ने सम्भावना प्रवल छ, किनकी नेपालमा लगानीका लागि चिनियाँ लगानीकर्ताहरू उत्साहित देखिएका छन् । ठूलो र उत्पादनमूलक क्षेत्रमा प्रवाहित हुने वैदेशिक लगानी कसरी नेपालमा भित्र्याउने भन्ने कुरा सरकारको मुख्य प्राथमिकता बन्नुपर्छ, न कि ब्रिटिस भर्जिन आइल्यान्डबाट आउने स्रोत नखुलेका अफसोर कम्पनीहरूमार्फत् भएको लगानीलाई नै मुख्य स्रोत मानेर आत्मरतिमा रमाउने ।
लगानी सम्मेलनका लागि सरकारले ऊर्जा, कृषि, उत्पादनलगायतका क्षेत्रमा अवधारणापत्र बनाएको त देखिन्छ, तर लगानी आकर्षित गर्न त्यतिले मात्र पुग्दैन । यदि सम्भव हुन्छ भनेर सरकारले आयोजना नै लगानीका प्रस्तावित गर्नसक्नुपर्छ।

नेपालमा लगानी गर्ने मुख्य १० देश

रकमगत आधारमा

१. भारत- रु.८७ अर्ब ९१ करोड

२. चीन -रु. ८१ अर्ब ८४ करोड

२. क) चीन-हङकङ- रु.२७ अर्ब ८१ करोड

३. दक्षिण कोरिया- रु.११ अर्ब १६ करोड

४.  अमेरिका- रु.८ अर्ब ८१ करोड

५. ब्रिटिस भर्जिन आइल्यान्ड- रु. ८ अर्ब ६ करोड

६. बेलायत- रु. ५ अर्ब ५३ करोड

७. सिंगापुर- रु.३ अर्ब १ करोड

८. मरिसस- रु.३ अर्ब ३५  करोड

९. क्यानडा- रु. २ अर्ब ७४ करोड

१०. यूएइ- रु. २ अर्ब ९० करोड ४० लाख

( टप १० मा नपरे पनि जापानले २ अर्ब ९० करोड,   स्वीजरल्यान्डले २ अर्ब ९० करोड, स्पेनले २ अर्ब २ करोड,  टर्कीले १ अर्ब ८२ करोड, नेदरल्यान्डले १ अर्ब ५८ करोड, , जर्मनीले १ अर्ब ३७ करोड,नर्बेले १ अर्ब १६ करोड लगानी गरेका छन् । स्रोतः उद्योग विभाग)

FDI Flow in Nepal
नेपालमा लगानी प्रवाहका अवस्था

 

कारोबार दैनिक १३ फागुन २०७५

तथ्याङ्क नै बोल्छन् प्रधानमन्त्रीज्यू!

प्रधानमन्त्रीज्यूले चालू आर्थिक वर्षको पहिलो ६ महिनाको चालु आर्थिक वर्षको ६ महिनामा आर्थिक वृद्धि ६.७ प्रतिशत रहेको वर्षको अन्त्यसम्म वृद्धिदर ७ प्रतिशतभन्दा माथि हुने विश्वास त जनाउनु भयो, तर विद्यमान सूचकहरूले देशको आर्थिक वृद्धिदर भविष्यमा कमजोर हुनेमात्र नभई आर्थिक फाँटमा अस्थिरता एवं समष्टीगत आर्थिक समस्या गहिर्‍याउने संकेत गरेका छन् ।

गजेन्द्र बुढाथोकी

“गत पुस २२ गते प्रतिनिधि सभामा सम्बोधन गर्दा मैले केही तथ्याङ्क उल्लेख गरेको थिएँ । मेरा भनाईलाई अङ्कमा हैन भावमा सुन्न रुचाउनेहरुले ‘प्रधानमन्त्रीले तथ्याङ्क’ बोल्ने भन्दै प्रश्न गर्नुभयो । जसलाई सरकारले गरेका प्रगतिले पोल्यो, उनीहरुले त्यसलाई ‘मिथ्याङ्क’को रुपमा होहल्ला गरे । यस्तो सुनिन्थ्यो, नेपाल भन्ने एउटा यस्तो मुलुक छ, जहाँका जनताको नियति भनेकै विग्रेको, भत्केको, उजाडिएको सुन्नु हो । यो मुलुकमा प्रगतिको अङ्क बोल्ने ? त्यो त तथ्याङ्क नै हैन, मिथ्याङ्क हो … ।”

सरकारको एक वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले यसै साता गरेको राष्ट्रको नाममा सम्बोधनमा परेका अंश हुन् यी । प्रधानमन्त्री ओलीले संसदमा बजेट कार्यान्वयनको अवस्था भन्दै पाँच महिनाको पनि विवरण संलग्न नगरी सम्बोधन÷भाषण गरेपछि संसदमा पेश गरिएका तथ्यांकमा तोडमोड गरिएका कुरालाई उपलब्ध विवरणहरूका आधारमा चिरफार गरिएको थियो । प्रधानमन्त्रीको नयाँ राष्ट्रका नाममा सम्बोधनमा केही नयाँ र फरक तथ्यांक पेश भए पनि चालू आर्थिक वर्षको पहिलो ६ महिनाको बजेट कार्यान्वयनको समग्र अवस्थाको मूल्याङ्कन गर्दा सरकारले प्रगति हासिल गरेको भनेर पुष्टि गर्न सकिने आधार छैन ।

महालेखा परीक्षकको कार्यालयबाट उपलब्ध तथ्यांकलाई एकीकृत रूपमा हेरौं । पुस मसान्तसम्म सरकारले कुल विनियोजनको २८ प्रतिशतमात्र खर्च गर्न सकेकोमा चालू खर्च कुल विनियोजनको ३५ प्रतिशत रहँदा पुँजीगत खर्च केबल १७ प्रतिशतमात्र रहन पुग्यो । तथ्यांक नबुझ्ने सर्वसाधारणलाई झुक्याउन त गत वर्ष (जुन वर्ष बजेटको आकार पनि कम थियो, खर्च पनि कम थियो)को तुलनामा चालू आवको पहिलो ६ महिनामा नगदमा आधारित खर्च बढ्यो भन्दिए पनि भयो । तर, त्यो पनि मिलेन प्रधानमन्त्रीज्यू ! नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पहिलो ६ महिनाको तथ्यांकअनुसार यस अवधिमा कुल सरकारी खर्च गत वर्षको भन्दा ७ प्रतिशतले घटेको छ । पहिलो ६ महिनामा पुँजीगत खर्च ७ प्रतिशतले बढेको देखिए पनि रकमगत आधारमा हेर्दा कुल ३ खर्ब १४ अर्ब रुपैयाँको बजेटमा केबल ४५ अर्ब ७७ करोड ८८ लाख रुपैयाँमात्र खर्च भएको देखिन्छ ।
पंक्तिकारले प्राप्त गरेको सरकारको दैनिक बजेटरी खर्च स्थितिको साउन १ देखि माघ १७ गतेसम्मको दैनिक विवरणअनुसार साउन महिनाभरि लगभग पुँजीगत खर्च नै गरिएन भन्दा पनि हुन्छ, भदौमा दैनिक १ देखि २ अर्ब रुपैयाँ खर्च गरिएको देखिन्छ भने त्यसपछि पनि यो क्रम खासै बढ्ने प्रवृत्तिमा देखिएन ।

सरकारको पहिलो ६ महिनाको खर्च स्थितिलाई मन्त्रालय /निकायगत रूपमा हेरौं । सर्वाधिक बजेट लिएर बसेका मन्त्रालयहरूमध्ये प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पहिलो ६ महिनामा कुल विनियोजनको २९.५ प्रतिशत रकम खर्च गर्दा उक्त मन्त्रालयले पुँजीगत बजेटमा १८.६ प्रतिशतमात्र खर्च गर्न सकेको छ ।

विकास निर्माणसम्बद्ध मन्त्रालयतर्फ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले महिनामा कुल विनियोजनको २८ प्रतिशत रकम खर्च गर्दा पुँजीगत बजेटमा २४.४ प्रतिशतमात्र खर्च गरेको छ भने शहरी विकास मन्त्रालयले कुल विनियोजनको ३२.२ प्रतिशत रकम खर्च गर्दा पुँजीगत बजेटमा २१.५ प्रतिशत खर्च गरेको छ । यस्तै, ऊर्जा मन्त्रालयले विनियोजनको समग्रमा २०.३ प्रतिशत तथा पुँजीगतमा २० प्रतिशतकै हाराहारीमा खर्च गर्दा कृषि मन्त्रालयले समग्रमा ३२ प्रतिशत र पुँजीगतमा केबल १२ प्रतिशतमात्र खर्च गर्न सकेको छ ।

पहिलो ६ महिनाको विवरण केलाउँदा सबैभन्दा झुर कार्यसम्पादन प्रगति देखाउने मन्त्रालयमा खानेपानी र श्रम तथा रोजगार मन्त्रालय दरिएका छन्, जसमध्ये खानेपानी मन्त्रालयले केबल ५ प्रतिशत र श्रम तथा रोजगार मन्त्रालयले ३ प्रतिशतमात्र बजेट खर्चेका छन् । त्यसपछि कम खर्च गर्नसक्ने मन्त्रालयहरूमा अर्थमन्त्रालय, उद्योगमन्त्रालय परेका छन् भने सर्वाधिक खर्च गर्नेहरूमा गृहमन्त्रालय र परराष्ट्र मन्त्रालय छन्, जसले विनियोजनको ५० प्रतिशतभन्दा बढी खर्च गरिसकेको महालेखा नियन्त्रकको ६ महिने विवरणबाट देखिन्छ ।

अझ अर्को सूचकबाट हेरौं प्रधानमन्त्रीज्यू ! मुलुकले लक्षित ढंगले विकास कार्यक्रमलाई अघि बढाउन सकोस्, ठूला आयोजनाहरूलाई प्राथमिकतामा राखेर तिनलाई समयमै सम्पन्न गरी नागरिकहरूलाई समृद्धिको अनुभूति गराउन सकियोस् भनेर राष्ट्रिय गौरवका आयोजना भनेर केही विकास आयोजनालाई प्राथमिकीकरण गरिएको होइन र? राष्ट्रिय गौरव अर्थात् मुलुककै गौरवका आयोजना भनेर सूचीकृत गरिएका २१ वटामध्ये १७ वटा आयोजनाको मात्र चालू आर्थिक वर्षको पहिलो ६ महिनाको समीक्षा गरेर हेरौं ।

ती १७ वटा आयोजनाको पहिलो ६ महिनाको औसत प्रगति ३३.६ प्रतिशत देखिए पनि नयाँ थपिएको ‘दक्षिण एसिया पर्यटन पूर्वाधार विकास आयोजना’को १०८ प्रतिशतको प्रगति विवरणले अरु आयोजनाका पनि समग्र प्रगति तानेको हो, नत्र औसत प्रगति नगण्य नै छ । उदाहरणका लागि दसैंअघि नै काठमाडौंका घरघरमा पानी भनेर डङ्का फुकिएको मेलम्ची आयोजनाले कुल विनियोजनको ७.७ प्रतिशतमात्र खर्चन सक्यो भने राष्ट्रपति चुरे मधेश संरक्षण विकास समितिले ५.३ प्रतिशत, पोखरा क्षेत्रीय विमानस्थल आयोजनाले १.५ प्रतिशत, सरकारले खुब प्राथमिकता दिएर हल्ला गरेकोे रेल, मेट्रो रेल तथा मोनो रेल विकास आयोजनाले १३.८ प्रतिशत रकम खर्च गरेको छ । रानीजमरा, सिक्टा, भेरी–बबइजस्ता बृहत सिंचाइ आयोजनाका प्रगति ३० प्रतिशतभन्दा तलै छन् । सरकारले सन्तोष मान्ने सूचकचाहिँ मध्य पहाडी राजमार्ग र उत्तर दक्षिण राजमार्ग (कर्णाली, कालीगण्डकी र कोसी)ले देखाएका छन् ।

अर्थमन्त्रालयले भर्खरैमात्र सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७४/७५ को बजेट समीक्षाअनुसार गत आवमा कुल २१ आयोजनामध्ये ८० प्रतिशतभन्दा बढी प्रगति भएका आयोजना १५, ५० देखि ७९ प्रतिशतसम्म प्रगति भएका आयोजना २ र ५० प्रतिशतभन्दा कम प्रगति गर्ने आयोजना २ वटै थिए । विनियोजित बजेटमा कति खर्च भयो भन्ने आधारमा निकालिएको ‘प्रगति सूचक’ले ती आयोजनाको वास्तविक प्रगति देखाउँदैन्, स्थलगत रूपमा कति काम भयो भन्ने भौतिक मूल्यांकनका सूचकांकले हेर्ने हो भने लज्जाबोध गर्नुपर्ने अवस्था छ । यसका लागि राष्ट्रिय योजना आयोगद्वारा तयार पारिएको राष्ट्रिय गौरबका आयोजनाहरूको आव ०७४/७५ सम्मको प्रगति प्रतिवेदनले कुन आयोजना, के कस्तो हालतमा छ भन्ने कुराको स्पष्ट झलक दिन्छ ।
चालू आर्थिक वर्षमा सञ्चालित विकास आयोजनाहरूबारे विस्तृत विवरण प्राप्त नभए पनि गत आर्थिक वर्ष ०७४/७५ मा पहिलो प्राथमिकतामा १०९७, दोस्रोमा १०४ र तेस्रोमा १८ गरी कूल १२१९ आयोजनाहरु कार्यान्वयन क्रममा थिए । यो वर्ष यीभन्दा कम त अवश्य नहोलान् ।

प्रधानमन्त्रीज्यू, यी एक हजारभन्दा बढी पहिलो प्राथमिकतामा रहेका आयोजनाहरूको मात्र वास्तविक भौतिक प्रगतिसहितका तथ्याङ्क सार्वजनिक गरिदिनु भए, हामी सर्वसाधारणलाई मुलुकको विकासले कस्तो गति लिँदैछ भन्ने बुझ्न सहज हुने थियो । जबसम्म नागरिकले आफ्नो आँखाअगाडि विकासको अनुभूति गर्दैन, तबसम्म उसले कागजी तथ्यांकमा विश्वास गर्दैन । मेलम्चीको पानीमा ९० प्रतिशत भौतिक प्रगति भने पनि गाग्रीमा पानी नभरिन्जेल आम नागरिकले तथ्याङ्कलाई मात्र पत्याउँदैनन् ।

हो, सरकारले यसबीचमा कुश्त राजस्व संकलन गरेको छ । पहिलो ६ महिनामा कुल लक्ष्यको ४१ प्रतिशत राजस्व संकलन गरिसकिएकोमा फागुन ५ गतेभित्रै ४८ प्रतिशतजति राजस्व संकलन भइसकेको छ । राजस्व संकलन गरेरमात्र के गर्नु, खर्चै गर्न नसकेपछि? राष्ट्र बैंकको विवरणअनुसार पुस मसान्तभित्र सरकारले राजस्व संकलन गरेर खर्च गर्न नसकेपछि सरकारको खातामा १ खर्ब ७८ अर्ब ७५ करोड रुपैयाँ सञ्चित भएर बसेको छ । राजस्वको थुप्रोमाथि मस्त निदाएर समृद्धि आउँदैन, त्यो उत्पादक ढंगले खर्चनु पर्‍यो, अर्थतन्त्रमा क्रियाशीलता सिर्जना गर्नुपर्‍यो ।

प्रधानमन्त्रीज्यू, देशको चालू खाता घाटा व्यापक रूपमा विस्तार भइ १५२ अर्ब रुपैयाँ, ६ महिनामा शोधनान्तर घाटा ६३ अर्ब ६८ करोड रुपैयाँ पुगेको, विदेशी विनियम सञ्चिति लगातार घट्दै गएर १० खर्ब ५८ अर्ब रुपैयाँमा झरेको, खुद विदेशी सम्पत्ति घटेकोजस्ता ‘तथ्याङ्क’ यहाँका लागि झिँझो लाग्ने विषय हुनसक्छ । यहाँले उल्लेख गर्नुभएको मुद्रास्फीतिको तथ्यांकलाई मात्र यहाँ उद्धृत गर्न चाहेँ, यहाँले मूल्यवृद्धि दर औसत ४.२ प्रतिशतमा सीमित भएको उल्लेख गर्नुभएको छ । मुद्रास्फीति नियन्त्रणका लागि सरकारले के के पहल गर्‍यो? भन्नेचाहिँ उल्लेख गरेको पाइएन ।
यहाँनेर उल्लेख गर्न चाहेँ, राष्ट्र बैंकको विवरणअनुसार ०७५ पुस महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.६ प्रतिशत र भारतको २.०५ प्रतिशत छ, अघिल्लो वर्षको सोही अवधिमा नेपालको मुद्रास्फीति ४ प्रतिशत र भारतको ५.१ प्रतिशत थियो ।

मौद्रिक तथा आर्थिक क्षेत्रका जानकारहरूलाई भनिरहनु नपर्ला नेपाल र भारतको मुद्रा आपसमा आवद्ध (पेग) गरिएका छन्, अमेरिकी डलर बलियो भएसँगै भारतले आफ्नो आन्तरिक मुद्राबजारलाई स्थायित्व दिनका लागि ठूलै कसरत गरिरहेको छ । औपचारिक रुपमा ६५ र अनौपचारिक व्यापारसमेत जोड्दा ७५ प्रतिशतभन्दा माथि रहेको भारतसँगको व्यापार निर्भरतासँगै उताको मुद्रास्फीतिको बहावको असर यता पनि देखापर्छ । यस हिसाबले भारतमा भन्दा अझै पनि नेपालमा अझै पनि मुद्रास्फीति बढी नै छ, यो बढ्दो आर्थिक निर्भरताका सूचकले हाम्रो अर्थतन्त्रको प्रतिष्पर्धी क्षमता र उत्पादकत्व कम भइरहेको अवस्था त छँदैछ, भविष्यमा पनि यसको प्रभावले नेपाली अर्थतन्त्र कमजोर भइरहने जोखिम रहन्छ ।

चालू खाता घाटा र भुक्तानी सन्तुलन बढ्दो क्रममा प्रतिकूल रहेको वर्तमान अवस्थामा तत्कालै सुधारको संकेत देखापर्दैन, यसले गर्दा लगानीको वातावरणसमेत अनुकूल भइरहने सम्भावना बन्दैन । प्रधानमन्त्रीज्यूले चालू आर्थिक वर्षको पहिलो ६ महिनाको चालु आर्थिक वर्षको ६ महिनामा आर्थिक वृद्धि ६.७ प्रतिशत रहेको वर्षको अन्त्यसम्म वृद्धिदर ७ प्रतिशतभन्दा माथि हुने विश्वास त जनाउनु भयो, तर विद्यमान सूचकहरूले देशको आर्थिक वृद्धिदर भविष्यमा कमजोर हुनेमात्र नभई आर्थिक फाँटमा अस्थिरता एवं समष्टीगत आर्थिक समस्या गहिर्‍याउने संकेत गरेका छन् ।
अर्को कुरा भारतभन्दा कम मुद्रास्फीति यहाँ कम कायम रहेको भए सरकारले गर्व गर्न सुहाउँथ्यो । फेरि, अहिले भारतमा मात्र नभइ विश्वभरि नै मुद्रास्फीति घट्दो गतिमा छ, कतिपय मुलुकमा त अस्फीति (अर्थात् ऋणात्मक मुद्रास्फीति) अर्थतन्त्र नै संकटमा पर्ने चेतावनीसमेत जारी भइसकेका छन् ।

त्यसैले प्रधानमन्त्रीज्यू, तथ्याङ्क बोलिरहेका छन् । अर्थतन्त्रका सूचकहरू अझ विग्रन नदिन बेलैमा विशेष प्याकेज कार्यक्रमहरू बनाउनतिर लागौं, यहाँसँग राम्रा अर्थशास्त्रीहरू, विकासविद्हरू र सल्लाहकारको जमात वरपर छ, बेलैमा सचेत हौं– समय खेर नफालौं ।

कारोबार दैनिक ७ फागुन २०७५

अर्थतन्त्रमा गणना नभएको भयावह क्षति

सडक दुर्घटना

आर्थिक रूपमा सक्रिय जनशक्तिमध्ये झन्डै एक तिहाइ जनसंख्या हरेक वर्ष कुनै न कुनै किसिमको दुर्घटनामा परेर मृत्यु हुनु वा निष्क्रिय बन्नु देशका लागि ठूलो मानव पुँजी क्षति हो ।

गजेन्द्र बुढाथोकी

पछिल्लो समयमा एकथरि अर्थशास्त्रीहरू नेपालको अर्थतन्त्रले सन् १९९० को तुलनामा हालसम्म व्यापक उन्नति–प्रगति गरेको र त्यसले आउँदो दशकका लागि आर्थिक समृद्धिको विस्तार गर्नका लागि आधार बनेको दाबी गर्नेगर्छन् । उपलब्ध तथ्यांकहरू हेर्ने हो भने यसमा बिमति जनाउनु पर्ने ठाउँ छैन । आर्थिक वर्ष २०७४÷७५ को अन्त्यसम्म राष्ट्रिय स्तर (सडक विभागअन्तर्गत) ३० हजार ४ सय किलोमिटर सडक बनेको र सोही अवधिसम्म स्थानीय तहअन्तर्गत करिब ५५ हजार किलोमिटर सडक बनिइसकेको तथ्यांक छ ।

नेपालले सडक दुर्घटनाबाट कम्तिमा ७ अर्बदेखि ३७ अर्ब रुपैयाँसम्मको मानवीय पुँजी सम्पत्ति गुमाइरहेको छ । अझ यसमा अपाङ्गता समायोजित जीवन लागत ( डिसाबिलिटी एडजसेस्टेड लाइफ इयर–डालिज)लाई समेत जोडेर हेर्दा बहु–अर्बको क्षति हरेक वर्ष नेपालले गुमाउँदै गइरहेको छ ।

 

यसमध्ये सडक विभागअन्तर्गत मुश्किलले १७ हजार, सहरी सडकअन्तर्गत मुश्किलले ५ हजार र ग्रामीण सडकतर्फ मुश्किलले ३५० किलोमिटर सडक कालोपत्रे छ । स्थानीय तहबाट बनाइएका ५५ हजार किलोमिटर सडकमध्ये करिब ३० किलोमिटरमात्रै यातायात सञ्चालनयोग्य भएको मानिएको छ, तीमध्ये पनि करिब १७ किलोमिटरमात्रै बाह्रै महिना सञ्चालनयोग्य अवस्थामा छन् । देशभरिमा मुश्किलले ६० हजार किलोमिटर सडक बनिसक्दा गत आर्थिक वर्ष ०७४/७५को अन्त्यसम्म दर्ता भएका सवारी साधनको संख्या भने ३२ लाख २५ हजार भन्दा नाघिसकेका छन् ।
हाम्रा सडकका अवस्था हेर्ने हो भने स्थानीय तहअन्तर्गत निर्माण भएका ग्रामीण कृषि सडक वा कुनै इन्जिनियरिङ नक्साबिना नै बनाइएका ‘डोजरे सडक’हरूको त कुरा अलग्गै राखौं, ‘राष्ट्रिय राजमार्ग’ भनिएका कतिपय सडकसमेत अन्तर्राष्ट्रिय मापदण्डअनुसार सवारीसाधन कुदाउन अयोग्य नै छन् भन्दा पनि हुन्छ ।

देशमा स्पष्ट यातायात व्यवस्थापन नीति नहुँदा सडकको अवस्था, त्यसको बहन क्षमता, औसत आयु नहेरी धमाधम सवारी साधन भित्र्याउने, कारोबार गर्ने अनुमति दिइँदै गएको देखिन्छ । औसतमा हरेक वर्ष साढे ३ देखि साढे ४ लाखसम्म सवारीसाधन आयात भइरहेको देखिन्छ । ती सवारीसाधन गुड्ने यिनै साँघुरा सडकहरूमा हो, जहाँ पलपल मृत्युको भय रहन्छ ।

महानगरीय ट्रापिक प्रहरी कार्यालयको विवरणअनुसार नेपालमा सवारी साधनहरूको संख्या बढेसँगै सडक दुर्घटना पनि डरलाग्दो ढंगले बढेको छ । आव ०७०/७१ मा कुल १३ हजार ५२९ सवारी साधन दुर्घटना हुँदा १७८७ जनाले ज्यान गुमाएकोमा यो संख्या बढेर आव ०७१/७२ मा १४ हजार ८३७ दुर्घटना हुँदा मृत्यु संख्या २७०४ पुग्यो । यस्तै आव ०७२/७३ मा १६५०२ सवारी साधन दुर्घटना हुँदा मृत्यु संख्या २००६ रह्यो भने आव ०७३/७४ मा १६ हजार ५१२ सवारी साधन दुर्घटना हुँदा २३८५ जनाको मृत्यु भयो । गत आर्थिक वर्ष ०७४/७५ दुर्घटनाका हिसाबले सबैभन्दा कालो वर्ष नै सावित भयो, गत आवभरिमा १८ हजार ३४ सवारीसाधन दुर्घटना भए, जसमा परी २५४१ जनाले ज्यान गुमाए । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा १० हजार ६८० सवारी साधन दुर्घटना हुँदा १४१३ जनाले ज्यान गुमाइसकेका छन् ।

यी दुर्घटनाहरूमा परी हरेक वर्ष औसत ५–७ हजार मानिसहरू गम्भीर घाइते वा अंगभंग हुने गरेका छन् भने १० देखि १५ हजार मानिसहरू सामान्य घाइते हुने गरेका छन् । यीमध्ये वार्षिक ५ सय जना स्पाइनल कर्ड इन्जुरीको सिकार हुन्छन भने करिब ३ देखि ५ हजार कुनै न कुनै किसिमका अपाङ्गताको सिकार हुन्छन् ।

सडक दुर्घटनाका कारण वार्षिक कति आर्थिक क्षति हुन्छ भन्ने ठोस अध्ययन नै हुनसकेको छैन । अमेरिका र युरोपेली मुलुकजस्ता केही विकासित देशहरूसहित केही अल्पविकसित देशका औसत गणनाका आधारमा निकालिएको अनुभवजन्य साक्ष्यमा आधारित गणनाले सडक दुर्घटनाबाट कम्तिमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा १.५ देखि २२ प्रतिशतसम्मको क्षति हुने गरेको देखाएको छ । यद्यपि, दक्षिण एसियाका सन्दर्भहरूसमेत राखेर नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र नेपाल इन्जुरी अनुसन्धान केन्द्रलगायत केही स्वतन्त्र शोधकर्ताहरूले नेपालमा दुर्घटनाजन्य कारणले अर्थतन्त्रमा १.५ देखि ७ प्रतिशतसम्मको नोक्सानी हुने गरेको निष्कर्ष निकालेका छन् ।

आर्थिक रूपमा सक्रिय श्रमशक्तिको नोक्सानी

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले केही वर्षअघि गरेको नेपालमा दुर्घटनाको अवस्थाबारेको एक अध्ययनअनुसार देशभरि हुने कुल दुर्घटनामध्ये सडक दुर्घटनाबाट २८ प्रतिशत, त्यसपछि दोस्रो नम्बरमा खसेर (घर, रुख, सवारीसाधन वा अन्य स्थानबाट खसेर) करिब २८ प्रतिशत, कार्यजन्य दुर्घटना (काटेको, मेसिनले पेलेको, विद्युतीय करेन्ट लागेको आदि) ११ प्रतिशत विष सेवनबाट ८ प्रतिशत र आगलागीबाट २.५ प्रतिशत घाइते हुने गरेका छन् । यसरी नजानीकन घाइते हुनेहरू ७७ प्रतिशत रहँदा आफै÷जानीबुझी घाइते हुनेहरू २३ प्रतिशत छन्, त्यसमा आपसमा भिडन्त गरेर घाइते हुनेहरू सबैभन्दा बढी करिब २२ प्रतिशत छन् ।

यी दुर्घटनाका घाइतेहरूलाई उमेरगत रूपमा हेर्दा डरलाग्दो विवरण देखिन्छ । आर्थिक रूपमा उत्पादक जनशक्ति अर्थात् १५ देखि ४४ वर्ष उमेर समूहका व्यक्ति सर्वाधिक बढी (६० प्रतिशत) घाइते भएका अध्ययनले देखाएको छ, यीमध्ये पनि १५ देखि २९ वर्षसम्मका युवा उमेरका व्यक्तिहरू ३८ प्रतिशतभन्दा बढी घाइते भएको पाइएको छ । यसमा ४५ देखि ४९ वर्ष उमेरसमूहका थप १० प्रतिशत जोड्दा यो अनुपात झन्डै ७० प्रतिशत हुन आउँछ । यसपछि ५ देखि १४ वर्ष उमेर समूहका १७ प्रतिशत घाइते भएका देखिन्छ । यसले पनि आर्थिक उत्पादकत्वमा असर पार्छ ।

बहु–अर्बको लागत

नेपालमा मानवीय पुँजी मूल्य विधिलाई आर्थिक उत्पादकत्वसँग जोडेर हेर्ने प्रचलन नै छैन । हालसालै विकसित गरिएको समावेशी सम्पत्ति सूचकांक (आईडब्लूआई)ले बल्ल मानवीय, प्राकृतिक पुँजी र उत्पादित सम्पत्ति गरी तीन क्षेत्रबाट मुलुकहरूको समग्र सम्पत्ति गणना गर्न थालेको छ । संयुक्त राष्ट्र संघले समेत मान्यता प्रदान गरिसकेको यो सूचकांकको पछिल्लो प्रतिवेदन–२०१८ अनुसार नेपालको कुल समावेशी सम्पत्ति ४४ खर्ब ६७ अर्ब अमेरिकी डलरबराबर रहेकोमा मानवीय पुँजी सम्पत्तिलाई ४२ खर्ब ६६ अर्ब डलर मानिएको छ । यसअध्ययनअनुसार प्रतिव्यक्ति मानव पुँजी १ लाख ५१ हजार ४ सय अमेरिकी डलरबराबर छ । यो २ करोड ६६ जनसंख्यालाई आधार मानेर निकालिएको विवरण हो । यसै विवरणलाई आधार मान्दा पनि सडक दुर्घटनाबाट कम्तिमा ७ अर्बदेखि ३७ अर्ब रुपैयाँसम्मको मानवीय पुँजी सम्पत्ति गुमाउँछ । अझ यसमा अपाङ्गता समायोजित जीवन लागत ( डिसाबिलिटी एडजसेस्टेड लाइफ इयर–डालिज)लाई समेत जोडेर हेर्दा बहु–अर्बको क्षति हरेक वर्ष नेपालले गुमाउँदै गइरहेको छ ।

फरक एक अध्ययनले अपाङ्गता र गरिबीबीच नजिकको सम्बन्ध हुने गरेको देखाएको छ (विश्व स्वास्थ्य संगठन र विश्व बैंकको संयुक्त अध्ययन २०११) । दुर्घटनाबाट गम्भीर घाइते भइ आर्थिक रूपमा उत्पादक उमेर (१५ देखि ५० वर्षको)को घरमूलीले अपाङ्गताको अवस्था बेहोर्नु पर्दा गरिबीको रेखा आसपासमा रहेका ३ देखि ५ प्रतिशत परिवार गरिबीमा धकेलिने जोखिम अत्याधिक रहन्छ । नेपालमा सामाजिक सुरक्षाको अति नै कमजोर अवस्था रहेकोले दुर्घटनापछि गरिबीमा धकेलिएका परिवार झन्झन् चरम गरिबीको दलदलमा फँस्दै जाने जोखिम ठूलो रहन्छ ।

दुर्घटनामा गम्भीर घाइते भएका एउटा व्यक्तिले अस्पतालमा कम्तिमा ४५ दिनदेखि ६–७ महिनासम्म बिताउनु पर्ने अवस्था अनुभवजन्य साक्ष्यले देखाएको छ । औसतमा एउटा अस्पतालको दैनिक बेडचार्ज ५०० रुपैयाँमात्र राख्दा पनि उसले अस्पतालबाट बाहिरिने बेलासम्म कम्तिमा अस्पताललाई विभिन्न नामका शुल्क गरी ३ देखि ५ लाख बुझाउनु पर्ने हुन्छ भने शल्यक्रिया, औषधोपचार र कुरुवाको खर्चसमेत जोड्दा यो लागत १० देखि १५ लाख रुपैयाँसम्म पुग्नेगर्छ ।

आव २०६६ पछि सुरु गरिएको र गत आर्थिक वर्षमा संशोधन गरिएको तेस्रो पक्ष बिमासम्बन्धी प्रावधानले दुर्घटनाका घाइतेहरूलाई केही राहत प्रदान गरे पनि हालको व्यवस्थाले (मृत्युमा ३ लाख र उपचारमा ३ लाख) मृतक वा गम्भीर घाइतेका परिवारलाई पूर्ण राहत भने प्रदान गर्दैन । उक्त निर्देशिकामा भएका केही छिद्र (लुपहोल)को फाइदा उठाउँदै दुर्घटनामा संलग्न सवारी साधनका धनीहरू उम्कने प्रवृत्ति कायमै छ ।

सरकार छैन संवेदनशील

देशमा हरेक वर्ष सडक दुर्घटना व्यापक रूपमा बढेर गएको भए पनि सरकार संवेदनशील बन्नै नसकेको देखिएको छ । प्रत्येक विमान दुर्घटनापछि छानबिन समिति बनाउन हतारो गर्ने सरकारले या त हरेक वर्ष चुलिँदो दुर्घटनाको ग्राफ हेरेकै छैन, वा हेरेर पनि त्यसले व्यक्तिमा, परिवारमा, समाजमा र समग्र मुलुकमा पु¥याउने समग्र क्षतिलाई न्यून मूल्यांकन गरेर बेवास्ता गरिरहेको छ ।

यसका पछाडि मुख्य कारण भने तथ्यांकको अभाव पनि हो, ट्राफिक प्रहरीको तथ्यांक प्रहरी प्रधान कार्यालयकै सम्बन्धित महाशाखा प्रमुख डीआईजीबाहेक अरु अधिकारीले हेर्दा पनि हेर्दैनन, गृह सचिवमार्फत मन्त्री हुँदै प्रधानमन्त्री तहसम्म कहिले पुगोस्? स्वास्थ्य संस्थाहरूमा वार्षिक कति दुर्घटनाका घाइते आउँछन्, मुख्य कारण के हो? एउटा दुर्घटनाको घाइतेको उपचारका कति लागत पर्छ भनेर कुनै सम्बन्धित निकायले तथ्यांक नै बनाउँदैनन् । मेडिकल शिक्षा पढाउने प्रोफेसरहरूलाई बरु आफ्नो कुनै एजेन्डा स्थापित गराउनु छ, यस्ता विषयमा गहन शोध गराउने फुर्सद नै छैन । त्यसैले स्वास्थ्य सचिव हुँदै स्वास्थ्यमन्त्रीले यस्ता कुरा थाह पाउने सम्भावनै रहेन । तेस्रो पक्ष बिमाबाट अलिअलि तथ्यांक निस्कन्थ्यो, बिमा समितिलाई यसको तातो लागेकै छैन, त्यसैले अर्थसचिव हुँदै अर्थमन्त्रीले पनि थाह पाउने कुरै भएन । अनि, सरकारलाई त थाहै छैन भन्यो, सुतिदियो– टन्टै साफ

आर्थिक रूपमा सक्रिय जनशक्तिमध्ये झन्डै एक तिहाइ जनसंख्या हरेक वर्ष कुनै न कुनै किसिमको दुर्घटनामा परेर मृत्यु हुनु वा निष्क्रिय बन्नु देशका लागि ठूलो मानव पुँजी क्षति हो । यदि दुर्घटनाबाट मात्र आर्थिक रुपमा क्रियाशील जनशक्तिलाई बचाउन सक्ने हो भने देशको कुल गार्हस्थ्य उत्पादनमा २ देखि ७ प्रतिशतले उत्पादकत्व थप्न सक्ने शोधकर्ताहरूको निष्कर्ष छ । मानवीय पुँजी बचाउन सकियो, त्यो पुँजीलाई बढीभन्दा बढी सक्रिय तुल्याउन सकियो भने मात्र अर्थतन्त्रको उत्पादकत्व बढछ , जसले उत्पादित पुँजी (प्रोड्युस क्यापिटल) बढाउँछ । त्यही नै जीडीपीको गणना पनि हो । मुलुकमा समग्र दुर्घटना न्यूनीकरणका लागि तत्कालै राष्ट्रिय नीति, योजना, कार्यक्रम र ठोस कार्ययोजना नबनाउने हो भने आउँदा वर्षमा यस्तै दुर्घटनाका कारण मुलुकले अझ ठूलो क्षति बेहोर्नुपर्ने छ ।

कारोबार दैनिक २२ माघ २०७५