बुझ्नु पर्ने कुरा के हो भने बिमस्टेकसार्कको विकल्प हुँदै होइन र हुन पनि सक्दैन । यो क्षेत्रीय सहकार्यको विस्तार (एक्सटेन्सिभ) मञ्च मात्र हो ।
गजेन्द्र बुढाथोकी
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्सटेक) मुलुकका राष्ट्र/सरकार प्रमुखहरूको चौथो शिखर सम्मेलनको औपचारिक बैठकहरू मंगलबारबाट सुरु हुँदैछ । भनिरहनु पर्दैन, बिमस्टेकको चौथो शिखर सम्मेलन यस्तो बेलामा काठमाडौंमा आयोजना गरिएको छ, जुन समयमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) निष्क्रिय बनेको छ । सार्क निष्क्रियजस्तै हुनु र बिमस्टेक सक्रिय हुनु संयोगमात्र भने होइन । सन् २०१६ मा हुने पाकिस्तानको इश्लामावादमा हुनुपर्ने सार्क शिखर सम्मेलन भारत नियन्त्रित कस्मिरको उरी क्षेत्रमो आतंकवादी हमलामा १८ भारतीय सैनिक मारिएपछि तनावका कारण जनाउँदै भारतले रोक्न दबाब दियो । भारतकै लयमा भाका मिलाउँदै भुटान, बंगलादेश र अफगानिस्तानले उक्त शिखर सम्मेलनमा सहभागी नहुने बताए । अध्यक्ष मुलुक भएका नाताले नेपालले पटक–पटक सार्क शिखर सम्मेलनको वैकल्पिक मितिबारे छलफल प्रस्ताव अघि बढाए पनि भारतले कुनै कुरा सुन्नै चाहेन । बरु उसले बिमस्टेकलाई वैकल्पिक मञ्चका रूपमा अगाडि सार्दै यसलाई नै प्राथमिकताका साथ अगाडि बढायो ।
त्यसो त सार्कको शिखर सम्मेलन सरेको वा रोकिएको यो पहिलो पटक भने होइन, सन् १९८५ मा स्थापित भएयता अहिलेसम्म ११ पटक यसका शिखर सम्मेलनहरू द्विपक्षीय तनाव वा क्षेत्रीय राजनीतिका कारण स्थगन भएका छन् । विशेषगरि भारत र पाकिस्तानबीचका द्विपक्षीय चिसो सम्बन्ध नै सार्कको असफलताको कारण बन्दै गएका छन् । भारतकै कारण हालसम्म ७ पटक सार्कका शिखर सम्मेलन या त स्थगन भएका छन्, अथवा स्थगन सारिएका छन् । भारतले पाकिस्तानलाई क्षेत्रीय मञ्चहरूबाट मात्र होइन, अन्तर्राष्ट्रिय मञ्चहरूबाट समेत अलग्याउन बारम्बार प्रयास गर्दै आएको छ । प्रष्ट छ– क्षेत्रीय दादाका रूमपा भारत ‘पाकिस्तानविहीन क्षेत्रीय संगठन’को पक्षमा छ । यसका लागि ऊ कहिले बीबीआईएन (बंगलादेश, भुटान, भारत र बंगलादेश)को अवधारणामा इन्धन भर्छ, त कहिले बिमस्टेकलाई नै सार्कका विकल्पका रूपमा अघि सार्छ ।
सार्क– सुरुबाटै संशय
सन् १९७०को दशकमा जब बंगलादेशका राष्ट्रपति जियाउर रहमानले सार्कको अवधारणा अघि बढाएपछि नेपालका तत्कालीन राजा वीरेन्द्रले यसलाई मूर्त रूप दिन सक्रिय भूमिका निर्वाह गरे । वास्तवमा क्षेत्रीय स्तरमा भारतको दबदबा कम गर्नका लागि साना मुलुकहरूले सामूहिक दबाब दिने उद्देश्यसहित सार्कको अवधारणा अघि सारिएको थियो । यस सिलसिलामा भारतका एक अध्येता पद्माजा मुर्थीले सार्कलाई शितयुद्धको उपज संस्थाका रूपमा व्याख्या गरेका छन् । इन्स्टिच्युट अफ डिफेन्स स्टडिज् अफ इन्डियामा प्रकासित एक शोधपत्रमा ७०को दशकमा भारत सोभियत संघको खेमामा रहेको र त्यतिखेर बंगलादेश अमेरिकी खेमामा रहेको उल्लेख गर्दै शितयुद्धमा भारतलाई एक्ल्याउने क्षेत्रका साना देशहरूले गुटबन्दी गरि सार्क स्थापना गरेको उल्लेख छ । सुरुका दिनहरूमा भारतले सार्कलाई अमेरिकी संयन्त्रका रूपमा हेर्ने गरेको मुर्थीले उल्लेख गरेका छन् ।
भारतको यो संशय अझै समाप्त भइसकेको छैन, यसमा खासगरि पाकिस्तानको भूमिका कम गराउन र सँगसँगै पर्यवेक्षकका रूपमा चीनले जनाउन खोजेको सहभागितामा भारतको गम्भीर आपत्ती रहँदै आएको छ । भारतको सीधै आरोप छ– सार्कले आतंकवाद नियन्त्रणमा कुनै भूमिका नै खेल्न सकेन । यो आरोप विशेषगरि पाकिस्तानप्रति नै लक्षित रहँदै आएको छ । सार्क निष्प्रभावी हुनुमा यो एउटामात्रै कारण भने होइन । भारत–पाकिस्तानबीचको कटु सम्बन्धबाहेक अन्तर्राष्ट्रिय ठूला मञ्चहरूमा भारतको बढी प्राथमिकतासँगै क्षेत्रका साना मुलुकहरूसँग बरु द्विपक्षीय सम्झौता गर्ने तर अन्तरक्षेत्रीय सम्झौताहरूको कार्यान्वयनमा चासो नदेखाउने प्रवृत्तिले यसको भूमिका कमजोर बनाएको छ । भौगोलिक र आर्थिक रूपमा दक्षिण एसियाकै सबैभन्दा ठूलो अर्थव्यवस्थाका रूपमा रहेको भारतले राजनीतिक र सामारिकरूपमा पनि आफूलाई क्षेत्रकै शक्तिशाली राष्ट्र दाबी गर्छ, यो कुरा सार्कमा समेत बिम्बित होस् भन्ने उसको चाहना रहँदै आएको छ, जुन कुरामा पाकिस्तानको उपस्थितिले अवरोधकको भूमिका खेल्दै आएको छ । उसको उदाहरण हेर्नका लागि भारतीय मिडियाहरूमा प्रकासित सम्पादकीय विश्लेषण पढे पुग्छ । हुनत यसमा भारत क्षेत्रकै सबैभन्दा ठूलो अर्थव्यवस्था नै हो, दक्षिण एसियाको कुल गार्हस्थ्य उत्पादनको झन्डै ८० प्रतिशत ऊ एक्लैले ओगट्छ भने भारतपछि पाकिस्तान क्षेत्रको दोस्रो ठूलो अर्थव्यवस्था हो । भारत र पाकिस्तानको गरी क्षेत्रको कुल गार्हस्थ्य उत्पादनको ९० प्रतिशत हिस्सा ओगटिरहेका छन् ।
सार्क असफल हुनुमा ‘फोर पी’ (पावर, पोलिटिक्स, प्रिफ्रेन्स एन्ड पिस)ले मुख्य असर पारेको फरक–फरक अध्ययनहरूले देखाएका छन् । जबसम्म क्षेत्रीय शक्ति सन्तुलन हुँदैन, तबसम्म सार्कजस्ता मञ्चको भूमिका कमजोर रहन्छ र त्यसलाई झनै कमजोर बनाउनमा क्षेत्रीय राजनीतिले पनि थप भूमिका खेल्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूले पदबहाल गर्नेवित्तीकै क्षेत्रीय सहकार्य गर्ने जुन पहल थालेका थिए, उनी पदबाट बाहिरिने बेलासम्म त्यसको मूलधार पुनः पहिलाकै अवस्थामा पुग्नुले भनाइ र गराइबीचको अन्तर देखिन्छ । भारतलाई क्षेत्रीय ब्लकमा होइन, जी २०, ब्रिक्सजस्ता मञ्चमा उम्भाउने, विश्वका प्रमुख अर्थतन्त्रमध्ये एकका रूपमा चिनाउने मोदी महत्वाकांक्षा देखियो, यसको परिणाम क्षेत्रीय संगठनमा पर्नु स्वाभाविक पनि थियो ।
सार्कलाई स्वतन्त्र व्यापार क्षेत्रका रूपमा अगाडि बढाउनका लागि अघि सारिएको साफ्टासमेत क्षेत्रका ठूला मुलुकहरूबीचको तीतो सम्बन्धका कारण कार्यान्वयनमै आउन सकेन । अहिले पनि सार्कको अन्तर क्षेत्रीय व्यापार ५ प्रतिशतभन्दा कमै छ । भारतले अन्तरक्षेत्रीय व्यापार नबढ्नुमा सँधै पाकिस्तानलाई दोषी देखाउँदै आएको छ, वास्तवमा भारतले क्षेत्रीय व्यापारमा भन्दा द्विपक्षीय व्यापार प्रबद्र्धनमा सँधै जोड दिँदै आएको छ ।
बिम्सटेकको विकल्प!
भारतले ‘पाकिस्तानबिनाको दक्षिण एसिया’का अवधारणालाई मूर्त रूप दिन बिमस्टेकमा जोड दिँदै आए पनि यो समेत आफ्नो स्थापनाको २१ औं वर्षमा पुग्दा पनि प्रभावकारी हुन सकेको छैन । भारतको गोवामा सम्पन्न बिमस्टेक–ब्रिक्स सम्मेलनमा अघि सारिएको बिमस्टेकस्वतन्त्र व्यापार सम्झौता (एफटीए) अझै प्रभावकारी बन्न सकेको छैन । यस पटकको काठमाडौं शिखर सम्मेलनमा बिमस्टेकपूर्वाधार विकास बैंकका नाममा नयाँ बैंकका अवधारणा अघि सारिने बुझिएको छ ।
ब्रिक्सको सहभागिता न्यू डेलभपमेन्ट बैंक (एनडीबी), चीनको अग्रसरतामा एसियन इन्फ्रास्क्टचर इन्भेस्टमेट बैंक (एआईआईबी) खुलिसकेको अवस्थामा फेरि किन बिमस्टेक पूर्वाधार विकास बैंक खोल्ने प्रस्ताव अघि सार्नु परेको हो, बुझिनसक्नु भएको छ । त्यसो त भारतले यसअघि नै सार्क विकास बैंक (एसडीबी) खोल्ने प्रस्ताव अघि सारेको थियो, सार्क नै निष्प्रभावी भएपछि बिमस्टेक पूर्वाधार विकास बैंकको प्रस्ताव अघि सार्न लागिएको हुनसक्छ । बिमस्टेक पूर्वाधार विकास बैंकका सन्दर्भमा विचार गर्नुपर्ने पक्ष भनेको यसमा सदस्य मुलुकहरूको मताधिकारकै विषय हो । बैंकमा सातै सदस्यले सेयर सहभागिता जनाउनु पर्ने हुन्छ, जसमा भारत र थाइल्यान्डको दबदबा हुने निश्चित नै छ । किनकी, अन्य मुलुकहरूको आर्थिक हैसियत ठूलो सेयर सहभागिता जनाउन सक्ने खालको छैन । त्यसैले अमूक मुलुकको प्रस्तावकै भरमा यस्ता महत्वाकांक्षी परियोजनामा नेपालले समर्थन जनाइ हाल्नु हुँदैन ।
हालैका वर्षहरूमा स्वतन्त्र व्यापार सम्झौता (एफटीए) भारतीय आर्थिक कुटनीतिको मुख्य हिस्सा भएको छ । यसका लागि उसले हरेक क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चहरूको सक्दो उपयोग गर्ने गरेको छ, किनकी व्यापारका माध्यमबाटै अन्तर्राष्ट्रिय बजारमा पहुँच सहज हुन्छ नै, त्यसले आफ्नो अर्थतन्त्रको विस्तारमा पनि प्रभावकारी भूमिका खेल्छ ।
हालैमात्र आसियानको बैठकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले क्षेत्रको ठूलो व्यापारिक ब्लक बनाउने सहयोग गर्ने घोषणा गरेका थिए । सम्भवतः यसै वर्ष हस्ताक्षर गर्ने अपेक्षा गरिएको क्षेत्रीय विस्तृत आर्थिक साझेदारी (आरसीईपी)मा आसियानका १० सदस्य मुलुकबाहेक भारत, चीन, जापान, दक्षिण कोरिया, अस्ट्रेलिया र न्यूजिल्यान्ड सम्मिलित हुने प्रारम्भिक सहमति छ । यो व्यापार ब्लकको अवधारणाले मूर्त रूप पाउन समय लाग्छ नै, त्यतिखेरसम्म दक्षिण एसियाली क्षेत्रीय ब्यापार ब्लकको अवधारणालाई कार्यान्वयनमा ल्याउन बिमस्टेकर बीबीआईएनको अवधारणामा भारतले जोड दिएको हो ।
बिमस्टेकको चौथौ शिखर सम्मेलनमा अन्तरआवद्धता (कनेक्टिभिटी), गरिबी निवारण, व्यापार विस्तार, जलवायु परिवर्तन र शान्ति सुरक्षाका पाँच मुख्य क्षेत्रमा छलफल हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । आयोजक राष्ट्र भएका नाताले नेपालले कसरी यो क्षेत्रीय मञ्चबाट बढीभन्दा बढी फाइदा उठाउने भन्ने विषयमा सरकारको पर्याप्त तयारी नपुगेको देखियो, किनकी शिखर सम्मेलनपूर्व विज्ञ सम्मेलन, नागरिक तहको सम्मेलन केही पनि आयोजना भएको देखिएन । हतार हतारमा तीनकुनेमा टिनका पाताले छोपेर लाज ढाकेको सरकारको कमजोर गृहकार्य यसैबाट झल्कियो ।
बुझ्नु पर्ने कुरा के हो भने बिमस्टेक सार्कको विकल्प हुँदै होइन र हुन पनि सक्दैन । यो क्षेत्रीय सहकार्यको विस्तार (एक्सटेन्सिभ) मञ्च मात्र हो । सार्कको आफ्नै महत्व छ, बिम्सटेकको छुट्टै । विशेषगरि भूमण्डलीकरणको युगमा आर्थिक नयाँ बजार र आर्थिक अवसरहरूको खोजी तथा शितयुद्धपछि प्राप्त अवसरहरूको लाभ उठाउने गरि सिर्जना गरिएको मञ्च हो– बिमस्टेक। पाकिस्तानमात्र होइन, माल्दिभ्स र अफगानिस्तान पनि पछिल्लो क्षेत्रीय संगठनबाट बाहिर छन् । भारतले आफ्ना उत्तरपूर्वी राज्यहरूको विकाससँगै शान्ति पहलका लागि पनि बिमस्टेकर बीबीआईएन मञ्चको उपयोग गर्ने नीति अख्तियार गरेको छ ।
संयोगवस नेपाल अहिले दुवै मञ्चको अध्यक्ष छ । नेपालले क्षेत्रीय राजनीतिको प्रभावमा परेर कुनै पनि मुलुकलाई बाईपास गर्ने खालका सन्धी, सम्झौता, पहलहरूमा हस्ताक्षर नै गर्नु हुँदैन । यो देशको परराष्ट्र नीतिका विपरीत पनि हुन्छ । क्षेत्रीय राजनीति र अर्थसन्तुलनमा नै आइरहेको परिवर्तनलाई मध्यनजर गरेर सार्कलाई पुनः क्रियाशील बनाउन अध्यक्ष मुलुक भएका नाताले नेपालले पहल गर्नु उत्तम हुन्छ ।
कारोबार दैनिक १२ भदाै २०७५