नेपाल भ्रमण वर्षः पहिला पर्यटकीय सुधार

यदि सही ढंगले कुनै बदनियत नराखी देशको प्रबर्धन गर्ने हो भने नेपाल भ्रमण वर्ष सुरु गर्नुअघि नै लक्षित बजार पहिचान गरेर नयाँ ढंगले विज्ञापन र बजारीकरण गर्नुपर्छ।

गजेन्द्र बुढाथोकी
सरकारले पुनः सन् २०२० लाई पर्यटन वर्षका रूपमा मनाउने तयारी गरेको छ । सन् २०२० मा १५ लाख पर्यटक नेपाल भित्र्याउने मूल उद्देश्य राखेर मनाउन लागिएको ‘भिजिट नेपाल इयर’का लागि छिट्टै नै सचिवालयसमेत गठन गरिने पर्यटनमन्त्री रविन्द्र अधिकारीले बताउँदै आएका छन् । भ्रमण वर्षको लोगो भने सार्वजनिक गरिसकिएको छ । यद्यपि, नेपाल भ्रमण वर्षको अवधारणा न वर्तमान सरकारको हो, न त यसका लागि नयाँ पर्यटनमन्त्रीले नै सोच अघि सारेका हुन् । चौधौं योजनाको दस्तावेजमा नै २०७३ लाई आन्तरिक पर्यटन वर्ष र सन् २०१८ लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने उल्लेख थियो । यसै अनुरुप २०७३ लाई घुमफिर वर्षका रूपमा मनाउने भनेर पर्यटन वर्षले घोषणा त ग¥यो, तर त्यसका लागि आवश्यक प्रबन्ध गर्नै सकेन । सरकारका सम्बन्धित मन्त्रालयहरू (पर्यटन, नागरिक उड्ययन र संस्कृति तथा अर्थमन्त्रालय)बीच समन्वय नमिलेका कारण घुमफिर वर्षको कार्याविधि नै अड्कियो । पर्यटन मन्त्रालयले बनाएको निर्देशिकालाई स्वयं मन्त्रिपरिषद्ले पारित गरिदिएन । यसअनुसार सरकारी तथा गैरसरकारी क्षेत्रमा काम गर्ने कर्मचारीलाई घुमफिर गर्नका लागि ७ दिने भुक्तानीयुक्त विदा (पेड–लिभ) दिने प्रस्तावित गरिएको थियो । अहिले निजी क्षेत्रका वाणिज्य बैंकहरूसहित नेपालमा कार्यरत केही दातृ निकायअन्तर्गतका कार्यालय, केही बहुराष्ट्रिय प्रतिष्ठान र सीमित निजी कर्पोरेट कार्यालयहरूमा संस्थाले नै निश्चित रकम प्रदान गरी वार्षिक ७ देखि १२ दिनसम्म ‘फोर्स लिभ’ दिने चलन छ । यस्तो व्यवस्थाले कर्मचारीहरूमा पुनर्ताजगीसहित आन्तरिक पर्यटन प्रबर्धनमा समेत योगदान पुग्ने गरेको छ ।
नेपालका दुई छिमेकी मुलुकहरूको उदाहरण हेर्ने हो भने सन् २०१७ मा चिनियाँहरूले ५.१ अर्ब पटक आन्तरिक पर्यटकीय घुमफिर (ट्रिप) गरेका छन् (स्रोतः चाइना डेली), भारतमा यो अनुपात १.६१ अर्ब पटक भएको देखिन्छ (स्रोतः भारतीय पर्यटन मन्त्रालय) । दुवैको जनसंख्या हेदा चीनको १ अर्ब ३७ करोड र भारतको १ अर्ब ३२ करोड छ । तुलनात्मक रूपमा भारतीयका दाँजोमा चिनियाँ पर्यटकहरूको आन्तरिक घुमफिर बढी भएको यो विवरणले देखाउँछ । यसको सोझो अर्थ के हो भने आन्तरिक पर्यटनमा दुवै मुलुकले जोड दिएका छन् । हामीकहाँ भने आन्तरिक भनेपछि पर्यटक नै होइन, यिनलाई पर्यटकीय स्तरको सेवा नै दिनु हुँदैन भन्ने मानसिकता हाबी छ । यही सोचलाई हटाउनका लागि पनि पर्यटन मन्त्रालयले घुमफिर वर्षको अवधारणा अघि सारेको थियो ।
आन्तरिक घुमफिर वर्ष नै सही ढंगले व्यवस्थापन र सञ्चालन गर्न नसकेको पर्यटन मन्त्रालय र नेपाल पर्यटन बोर्डले यसअघि प्रस्तावित ‘भिजिट नेपाल इयर २०१८’ आयोजना गर्नसक्ने सम्भावना नै थिएन । सोही कारण २०७२ वैशाख (सन् २०१५)को भूकम्पका कारण भत्किएका सम्पदा र ट्रेकिङ ट्रेलहरूको मर्मतसम्भार नसकिएको भन्दै भ्रमण वर्ष २०२० मा सार्ने प्रस्ताव अघि सारिएको हो ।
सन् २०२० मा १५ लाख पर्यटक भित्र्याउन लक्ष्य राखिरहँदा हालका केही पर्यटकीय सूचकांकहरू हेरौं । गत वर्ष सन् २०१७ मा बल्ल ९ लाख ४० हजार २१८ पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो हालसम्मकै उच्च अंक हो, तर यो पनि सन् २०११ मा मनाइएको ‘नेपाल पर्यटन वर्ष’मा राखिएको लक्ष्य, त्यसको ६ वर्षपछि पूरा भएको हो, त्यसैले पर्यटनसम्बद्ध संस्थाहरूले कुनै उत्सव मनाइहाल्नु पर्ने कारण भने छैन । त्यसो त नेपालमा हरेक १० वर्षमा पर्यटकको संख्या दोब्बरले वृद्धि हुने गरेको उपलब्ध विवरणहरूले देखाएका छन्। सरकार वा निजी क्षेत्रले कुनै खासै पहल नै नगरे पनि हासिल हुने यही उपलब्धीलाई टेकेर आत्मरतिमा रमाइरहने कि नयाँ ढंगले पर्यटकीय क्षेत्रको सुधारको प्याकेजसहित अगाडि बढ्ने भन्ने नै अहिलेको मुख्य प्रश्न हो ।
नेपालभन्दा पछि आफ्नो बजार पर्यटनका लागि खुल्ला गरेका विश्वका अन्य मुलुकहरूको पर्यटन उपलब्धी हेर्दा हामीले लाजै मान्नु पर्ने स्थिति छ । नेपालमा कमजोर आर्थिक वृद्धिदरदेखि आमनागरिकको जीवनस्तरमा पर्याप्त सुधार नहुनुसम्मका सबै कारणहरूको पछाडि एउटै कारण देखाएर पन्छने गरेका छौं– दस वर्षे माओवादी जनयुद्धले गर्दा खत्तमै भयो नि । पर्यटनको विकास नहुनुका पछाडि पनि यही कारण देखाएर तर्किइने गरिएको छ । माओवादी जनयुद्ध सुरु भएको सन् १९९६ मा जम्मा ३ लाख ९३ हजार पर्यटकले नेपाल भ्रमण गरेकोमा ‘भिजिट नेपाल इयर १९९८’ मनाइएपछि सो वर्ष ४ लाख ६३ हजार पर्यटकले नेपाल भ्रमण गरे भने १९९९ मा यो आँकडाले झन्डै ५ लाख छोयो । माओवादी जनयुद्ध चरमचुलीमा पुगेको २००१ मा पनि करिब ३ लाख ६१ हजार पर्यटकले नेपाल भ्रमण गरेकोमा यहाँको जनआन्दोलन, राजनीतिक उथलपुथलसँगैको अस्थिरताका कारण सन् २००२ मा पुनः पर्यटक संख्या २ लाख ७५ हजारमा झर्‍यो । त्यसपछि पर्यटक आगमन पुनर्बहाली हुँदै गइ राजनीतिक परिवर्तनपछि सन् २००७ मा ५ लाख २६ हजार पुगेको देखिन्छ । सन् २०१५ को महाभूकम्प र भारतीय नाकाबन्दी तथा त्यसअघि सगरमाथमा गएको हिमपहिरोका कारण पर्यटक आगमनमा आएको कमीको एक वर्षको अपवादलाई अलग गर्दा नेपाल आउने पर्यटकहरूको संख्यामा एकैनासको वृद्धिदर देखिन्छ । जुन नेपालप्रति ६० र ७० को दशकदेखि नै सद्भाव राख्दै आएका हिप्पी, पर्वतारोही र पैदलयात्रा मन पराउने (ट्रेकर) विदेशीहरू र तिनका साथीभाइको संख्या हो; कुनै वर्ष केही हजारले संख्या कमी आए पनि तिनीहरू दोहोर्‍याएर नेपाल आइ नै हाल्छन्, सरकारले केही गर्नै पर्दैन ।
पर्यटन बोर्डले करोडौंको बजेट विभिन्न देशका अर्थहीन रोड शो र ट्राभलमार्टहरूमा गएर लिफ्लेट बाँडेर सकेको भन्दा तिनै एक पटक नेपाल आएर फर्केका, नेपालप्रति सद्भाव राख्ने पर्यटकहरूले गरेको मौखिक प्रचारप्रसारले निकै प्रभावकारी भूमिका खेल्दै आएको छ । गैरआवासीय नेपालीलाई सद्भावदूत पनि घोषणा गरिएकै हो तर त्यसको नतिजा पनि प्रशंसा गर्न लायक देखिएन ।
विगत तीन दशकको औसत पर्यटक बसाइ अवधि हेर्ने हो भने ८ देखि १४ दिनबाट नाघ्नै सकेको देखिँदैन । गत वर्ष त यो १२.६ दिनमा झरेको छ । यस्तै प्रतिपर्यटक प्रतिदिन खर्च पनि ५४ अमेरिकी डलरभन्दा मुनि नै छ, सन् २००२/३ मा यो ८० डलरसम्म पुगेको थियो । पर्यटन क्षेत्रबाट हुने आय बढेर वार्षिक ५८ अर्ब रुपैयाँ पुगेको भए पनि प्रतिपर्यटक बसाइ अवधि र प्रतिपर्यटक खर्च घट्दै जानुले हामीले कुन स्तरका कस्ता पर्यटक भित्र्याइ रहेका छौं भन्ने पक्षमा विचार गनैपर्ने हुन्छ । यसले ‘ब्याग–प्याकर’ पर्यटकको संख्या बढ्दै गएको देखाउँछ । सस्ता होटल/रिसोर्टमा बस्ने, एक कप चिया, एक प्लेट मःममा बार्गेनिङ गर्दै हिँड्दै, उतैबाट सातु,चामल बोकेर आउने, धर्मशालामा सुत्ने, नेपालमा केबल मलमु त्रमात्र खर्च गर्ने (विशेषतः ‘भारतीय धार्मिक पर्यटक’) र सीमापारिबाट लुसुक्क आउने, खुसुक्क जाने (भारतीय प्याकेजमा लुम्बिनी आउने ‘पर्यटक’)बाट नेपालमा संख्यात्मक रूपमा पर्यटक बढी आएको त देखिएला तर त्यसले यहाँको पर्यटन विकासमा केही योगदान दिनेबाला छैन ।
त्यसैले नेपाल पर्यटन वर्ष–२०२० घोषणा गर्नुपूर्व मुख्यतयाः तीन कुरामा ध्यान दिनैपर्छ । पहिलो– गुणस्तरीय पर्यटकको संख्या वृद्धि, दोस्रो–सबैका लागि पहुँचयुक्त पर्यटन र तेस्रो पर्यटनको अग्र तथा पृष्ठ सम्बन्ध (फरवार्ड–ब्याकवार्ड लिंकेज)सहित प्रतिफल तल्लो तहसम्म विस्तार ।
पर्यटन वर्ष मनाउन झन्डै हामीसँग झन्डै डेढ वर्ष समय बाँकी रहेकाले गर्दा यसलाई पर्यटकीय क्षेत्र सुधारका एक अवसर पनि मानेर केही क्षेत्रमा आधारभूतदेखि आमूल सुधारका कार्य एकै पटक अगाडि बढाउनैपर्छ ।
क) ब्रान्डिङः
अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटकीय ब्रान्ड के हो भन्ने विषयमा सरकारी अधिकारीहरूदेखि निजी क्षेत्रका पर्यटन व्यवसायीहरूसमेत अकमकिने गरेका छन् । अर्पझट रूपमा दिने जवाफ हुन्छ– पर्वतारोहण (माउन्टेनियरिङ) । तथ्यांक हेरौं, नेपाल आउने कुल पर्यटकमध्ये घुमफिरका लागि÷विदा मनाउन आउने ६५ देखि ७० प्रतिशत हुने गरेका छन् भने करिब २५–३० प्रतिशत धार्मिक पर्यटक तथा ट्रेकिङ÷माउन्टेनियरिङका लागि आउने १५ देखि २० प्रतिशत मात्र हुने गरेका छन् । नेपाल विश्वकै सर्वोच्च शिखरदेखि अन्य उच्च हिमश्रृङ्खलाहरूको भूमि भएकाले ट्रेकिङ÷माउन्टेनियरिङलाई नै ब्रान्डिङ गर्ने हो भने पनि केही छैन । यदि होइन भने नेपालको भौगोलिक तथा सांस्कृतिक विविधता, सम्पदा केलाई ब्रान्डिङ गर्ने हो भन्ने विषयमा प्रष्ट नीति हुनुपर्छ ।
ख) बजारीकरण
पर्यटन बोर्ड र निजी क्षेत्रका पर्यटन व्यावसायीले जतिसुकै फुइँ लगाए पनि अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन बजारीकरण निकै कमजोर छ । ‘नेपाल पर्यटन वर्ष–२०११’मा बीबीसी र सीएनएनको विज्ञापनका बिलसमेत नतिरेर/विज्ञापनमा कमिसनको बार्गेनिङ गरेर बदनामी कमाएका तत्कालीन पर्यटन बोर्डका प्रमुख र निजी क्षेत्रका एजेन्सीहरूले अब अन्तर्राष्ट्रिय सञ्चार माध्यमबाट सही ढंगले देशको बजारीकरण गर्लान् भन्ने आशा छैन । बरु अमेरिका, अष्ट्रेलियासहितका देशका निजी ट्रक चलाउनेहरूले नेपालको पोस्टर र चित्र टाँसिदिएर नेपालको निःशुल्क विज्ञापन गरिदिइरहेका छन् । यदि सही ढंगले कुनै बदनियत नराखी देशको प्रबद्र्धन गर्ने हो भने नेपाल भ्रमण वर्ष सुरु गर्नुअघि नै लक्षित बजार पहिचान गरेर नयाँ ढंगले विज्ञापन र बजारीकरण गर्नुपर्छ।
ग) विविधीकरणः
नेपाल आउने पर्यटकले घुमफिर गर्ने गन्तव्य कहाँ हो भन्दा स्पष्ट रूपमै १०–१२ वटा गन्तव्यलाई सूचिकृत गरिएको छ । पशुपतिनाथ र काठमाडौं वरिपरि, पोखरा र अन्नपूर्ण क्षेत्र, लुम्बिनी, सगरमाथा र अन्य हिमाल, राष्ट्रिय निकुञ्जहरू (चितवन र बर्दिया), मनास्लु, मुस्ताङ, हुम्ला, अपर र लोअर डोल्पो, कञ्चनजंघा । के नेपाल भनेको यतिमात्र हो? के देशभरि अन्य पर्यटकीय आकर्षण नै नभएका हुन् त? भए किन त्यहाँ पर्याप्त मात्रामा पर्यटक जान सकेनन त? नेपाल भ्रमण वर्ष मनाउनुपूर्व यस कुराको पनि तहगत विश्लेषण गरेर अब गन्तव्य विविधीकरण गर्नैपर्छ ।
घ) क्षमता विकासः
नेपालमा विद्यमान पर्यटन उद्योगको क्षमता पनि निकै कमजोर छ । पर्यटन मन्त्रालयको पछिल्लो विवरणअनुसार अहिले तारे होटलहरूको संख्या १२५, पर्यटकस्तरका ताराविहीन होटलको संख्या ९७७ गरी कुल होटल तथा रिसोर्ट संख्या १ हजार १०१ छ, जसको बेड क्षमता प्रतिदिन ३९ हजार ८ सय ३३ मात्र छ । यसबाहेक देशभरि रहेका २८३ होमस्टेहरूमा ९४८ बेड छ, जुन नेपालले भित्र्याउने भनेर लक्ष्य राखेका वार्षिक १५ लाख पर्यटकका लागि अपर्याप्त नै हो । केही पाँचतारे र गैर तारे पर्यटक स्तरका होटलहरू थपिँदै गरिएको भनिएकाले केही आशा गर्न सकिए पनि बढ्दो संख्यासँगै गुणस्तरका प्रश्नले सेवाको अर्पाप्त अवसर झल्काउँछ ।
ङ) जनशक्ति विकास
भ्रमण वर्षमा लक्ष्य राखिएको १५ लाख र मध्यकालीन खर्च संरचनामा लक्ष्य राखिएको आव २०७७÷७८ सम्म पु¥याउने भनिएको वार्षिक २० लाख पर्यटकलाई सेवा दिन नेपालको विद्यमान पर्यटन तथा होटल व्यवस्थापनको जनशक्तिले पुग्दै पुग्दैन । अहिलेसम्म होटलमै काम गरेर अनुभवी भएका जनशक्तिबाट काम चलाउने जुन नीति लिइएको छ, त्यसमा तत्कालै सुधार गरेर दक्ष र सीपयुक्त जनशक्ति विकासको अवधारणालाई आत्मसात नगर्ने हो भने बढेका पर्यटकको स्थायित्व रहला नरहला भन्न सकिन्न ।

असम्पादीत विश्लेषणका पूर्णअंश

कारोबार दैनिक १२ असार २०७५ 

चीनसँग आर्थिक साझेदारीमा बलियो तयारी खै?

चीनसँगको हाम्रो आर्थिक सम्बन्धलाई बलियो पार्नका लागि कुन कुन क्षेत्रमा नयाँ साझेदारी आवश्यक छ भन्ने विषयमा अपरिपक्व र कमजोर तयारी देखियो ।

गजेन्द्र बुढाथोकी
प्रधानमन्त्री केपी शर्मा ओली यतिखेर छिमेकी मुलुक चीनको औपचारिक भ्रमणमा छन् । यसअघि भारतले आर्थिक नाकाबन्दी लगाएका समयमा ओली चीन पुगेका थिए, त्यस क्रममा गणतन्त्र नेपाल र संघीय जनवादी गणतन्त्र चीनबीच तेस्रो देशसँग वस्तु आयात–निर्यातका क्रममा भारतमा आश्रित नेपालका लागि नयाँ विकल्प दिने पारवाहनसम्झौतासहितका १० वटा सम्झौता र समझदारीपत्रमा हस्ताक्षर पनि भएकै हुन् । देशभित्र नाकाबन्दीले अवस्था कठिन बनाइरहेका बेला ओलीले चीनसँग गरेका सम्झौताहरूको कार्यान्वयन प्रधानमन्त्रीका रूपमा ओलीको बर्हिगमन र भारतीय नाकाबन्दी खुलेसँगै ओझेलमा परे । अहिलेको विश्व परिवेशमा कुनै एक मुलुकसँगमात्र अत्याधिक निर्भरता कति जोखिमयुक्त हुन्छ भन्ने कुराको उदाहरण यो नाकाबन्दीले देखायो । सोही समयमा चीनसँगको सम्बन्धलाई अझ प्रगाढ पारेर लैजानु पर्ने आवाज निकै उठे पनि नेपाली राजनीतिक वृत्तमा आएको उतार चढावले त्यो प्रसंग ओझेलमा पा¥यो । पेट्रोलियम पदार्थको आपूर्ति बढाउनका लागि नाकाबन्दीको अवधिमा चीनबाट पेट्रोलियम पदार्थ आयात गर्ने कुरा जोडतोडका साथ उठेको थियो, तत्कालीन उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमल थापा र आपूर्तिमन्त्री गणेशमान पुन चीनसम्म गएर त्यहाँबाट एक चौथाइ आपूर्तिको पहल गरेको भन्ने समाचार पनि सार्वजनिक नै भएको हो । तर, चीनले अनुदानमा दिएको निश्चित परिमाणको इन्धनबाहेक व्यापारिक कारोबार गर्ने हिसाबले पेट्रोलियम पदार्थ आयात हुन सकेन । अन्य सम्झौताहरूको कार्यान्वयनका पक्ष पनि उत्तिकै फितलो रहे । यसमा चिनियाँ पक्षको भन्दा हाम्रै पक्षको कमजोरी मुख्य रूपमा जिम्मेवार छ ।
विश्व अर्थतन्त्रमा नै विशालतम आकारसहित उदाइरहेको चीनको हालैका वर्षहरूमा नेपालमा पनि उपस्थिति बढ्दै गएको छ । केही सूचकमा हेरौं– हाल नेपाल र चीनबीचको वार्षिक व्यापार १ खर्ब २८ अर्ब रुपैयाँ नाघेको छ, सन् २०१२/१३ यस्तो व्यापार ६४ अर्ब रुपैयाँबराबरको थियो, जसमध्ये चीनबाट हुने आयात यस पाँच वर्षमा ६२ अर्ब ४५ करोड रुपैयाँबाट बढेर १ खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ । नेपालबाट चीनतर्फ हुने निर्यात भने निकै नगण्य छ । पाँच वर्षअघि २ अर्ब रुपैयाँबराबरको निर्यात भएकोमा अहिले पनि त्यही हाराहारीमा निर्यातको सूइ अड्केको छ ।
नेपालसँग मात्र होइन, अन्तर्राष्ट्रिय व्यापारमा पनि चीनको हिस्सा ब्यापक रूपमा बढेर गएको छ । अमेरिकी कंग्रेसको एक समितिमा यसै वर्ष पेश गरिएको एक प्रतिवेदनअनुसार सन् २०१३ सम्मकै चीन विश्वका १३० मुलुकका सर्वाधिक ठूलो व्यापार साझेदार भइसकेको छ ।
व्यापारबाहेक प्रत्यक्ष वैदेशिक लगानीमा पनि चीन विश्वव्यापी रूपमा नै अहिले दोस्रो ठूलो स्रोत मुलुक बनेको छ । पछिल्ला केही वर्षयता नेपालमा पनि चीनबाट हुने लगानी व्यापक रूपमा बढेर गएको छ । नेपाल राष्ट्र बैंकले हालै गरेको एक अध्ययनअनुसार सन् २०१६ मा खुलेका उद्योगहरूमा भएको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई)मध्ये चुक्ता पुँजी आधारमा चीन दोस्रो स्थानमा छ भने खुद एफडीआई प्रवाहमा तेस्रो स्थानमा छ । पहिलो स्थानमा वेस्ट इन्डिज– ६२ अर्ब ८० करोड रुपैयाँ लगानी, भारत २७ अर्ब १० करोड लगानी र चीन १० अर्ब ८४ करोड लगानी भएको यो अध्ययनले देखाएको छ । यसमा लगानी बोर्ड नेपालमार्फत प्रतिबद्धता आइ खुलेका ठूला कम्पनीको तथ्यांक भने समावेश छैन । त्योसमेत जोड्दा अहिले चिनियाँ लगानी नेपालमा ह्वात्तै बढेको देखिन्छ ।
यसैगरी, पछिल्लो समयमा नेपालमा चिनियाँ पर्यटकको संख्या पनि उत्साहजनक ढंगले बढेर गएको छ । पर्यटन मन्त्रालयका तथ्यांकअनुसार नेपाल भ्रमण गर्ने ‘टप फाइभ’ मुलुकका पर्यटकहरूमध्ये भारत, चीन, अमेरिका, बेलायत र श्रीलंका रहेका छन् । सन् २००८ मा केबल ३५ हजार चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेकामा गत वर्ष सन् २०१७ मा १ लाख ४ हजार चिनियाँले नेपाल भ्रमण गरेका छन् । यद्यपि यो संख्या २०१४ भन्दा केही घटेको हो, उक्त वर्ष चिनियाँ पर्यटकको संख्या १ लाख २३ हजार पुगिसकेको थियो । सन् २०१५ को भूकम्प र भारतीय नाकाबन्दीका कारण चिनियाँ पर्यटकको संख्या ह्वात्तै घटेकोमा त्यसपछि भने वार्षिक १ लाख नाघेको छ । चीनमा नेपालसम्बन्धी प्रबद्र्धन र विभिन्न चिनियाँ सामाजिक सञ्जालमा भइरहेका अन्य खालका प्रबद्र्धनका कारण आउँदा दिनमा चिनियाँ पर्यटक अझ बढ्ने अपेक्षा गरिएको छ ।
यसबाहेक नेपालमा चीनले गर्ने औपचारिक विकास सहयोगको अंश पनि बढ्दो क्रममा छ । सन् २०१०/११ देखि २०१६/१७ सम्म चीनले नेपाललाई २७ अर्ब ८० करोड अमेरिकी डलरबराबरको अनुदान प्रदान गरेको छ । यसबाहेक सन् २०१६ देखि २०१८ सम्म संयुक्त रूपमा बन्न पुनर्निर्माणका २५ आयोजनाका लागि चीनले ४५ अर्ब ६० करोड अमेरिकी डलर लगानी गरिरहेको छ भने थप १५ अर्ब २० करोड अनुदान सहायतामा हस्ताक्षर भइसकेको छ । यी सहायताहरूलाई एकमुष्ट रूपमा हेर्दा चीनले नेपालमा कुनै न कुनै रूपमा आफ्नो भूमिका र उपस्थिति बढाउन चाहेको देखिन्छ । जसका लागि फरक–फरक आयोजना वा उपक्रमका लागि सहायता सम्झौता भइरहेको छ ।
यद्यपि चीनले दिने सहायताबारे अहिले एकथरि विकास अर्थशास्त्रीहरूले प्रश्न उठाइरहेका छन् । चीनले सडक एवं आर्थिक क्षेत्र योजना (बेल्ड एन्ड रोड– बीआरआई)मार्फत गर्ने भनिएको लगानीमा अनुदानको अंश नहुने, भएको लगानी पनि ऋणका रूपमा रहने र त्यसमा सहुलियतपूर्ण ब्याजदरको प्रावधानसमेत नहुने कारणले चिनियाँ सहयोग लिँदाभन्दा नलिँदै उपयुक्त हुन्छ भन्ने उनीहरूको तर्क छ । विशेषगरी, नेपालले चिनियाँ लगानीमा रसुवा–काठमाडौं तथा काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गका लागि प्रस्ताव अघि सार्ने चर्चा चलिरहेका बेला चिनियाँ ऋण महँगो हुने भएकाले हाम्रो आउँदो पुस्ताले ऋणको भार बेहोर्नुपर्ने जोखिम उनीहरूले औंल्याएका छन् । सरकारले प्रकासित गरेको विकास साझेदारको प्रोफाइलमा भने चीनले अनुदान, ब्याजविहीन लगानी र सहुलियतपूर्ण ऋण प्रदान गर्ने गरिएको दाबी गरिएको छ ।
चीनले यसअघि नेपालका लागि भनेर विनियोजित गरिसकेको झन्डै २५ अर्ब अमेरिकी डलरबराबरको सहायता रकमसमेत यहाँबाट अन्यत्र परिचालित (डाइभर्ट) गरिसकेको चर्चा चलेको थियो । चीनले ‘एक क्षेत्र एक सडक’ योजनाअन्तर्गत अहिले आफ्नो सडक पूर्वाधार विकास गर्न व्यापकरूपमा लगानी खन्याइरहेको छ, यो आयोजनाको लागत कति हो भन्ने कुरामा विश्वभरिकै अर्थशास्त्रीहरूसमेत अन्योलमा छन् । औपचारिक रूपमा चिनियाँ सञ्चार माध्यमले प्रकासित गरेका विवरण, इकोनोमिक इन्टेलिजेन्स युनिट, वल्र्ड इकोनोमिक एसोसियनका फरक–फरक विवरणले यो आयोजनामा १.१ ट्रिलियनदेखि ८ ट्रिलियन अमेरिकी डलरसम्म खर्च हुने अनुमान गरिएको छ, जसले एसिया र युरोपका ८६ देश जोड्ने बताइएको छ । विशेषतः विगतको सिल्करोडलाई ब्युताउँन चीनले उसको दक्षिणदेखि दक्षिणपूर्वी क्षेत्रमा गरिरहेको लगानीका कारण नेपालको उत्तरी सीमा क्षेत्रहरूसम्म सडक र रेल्वे पहुँच विस्तार भइरहेका छन् । विगतमा पठार क्षेत्र भनिएको तिब्बतमा समेत सहरी विकासका लागि थप योजनाहरू बनाइदै छन् । यस्तो अवस्थामा नेपालले आफ्ना उत्तरी सीमानाकाहरूको अधिकतम् प्रयोगका लागि सहकार्य र पहल अघि बढाउनै पर्छ ।
मुलुकलाई आवश्यकता नपरेको क्षेत्रमा ऋणमात्र होइन, अनुदानसमेत स्वीकार्नु सही होइन, तर यदि हाम्रो विकास आवश्यकतालाई पूरा गर्नका लागि कोही छिमेकी खुला हृदयले छलकपट नराखी अगाडि आउँछ भने राष्ट्रिय स्वार्थअनुसार त्यसको परिचालन गर्नका लागि पछि पर्नु पनि हुँदैन । अहिले चीनले बीआरआईबाहेक चीन–पाकिस्तान इकोनोमिक करिडोरका लागि १५ वर्षे अवधिमा सम्पन्न हुने गरी ६० अर्ब अमेरिकी डलर खर्च गर्र्दैछ । माल्दिभ्समा ठूलो पुल निर्माण र राष्ट्रिय सडक सञ्जाल स्तरोन्नतिका काम नै थालिसकेको छ, श्रीलंका र बंगलादेशमा विमानस्थल र बन्दरगाहहरूको स्तरोन्नतिका लागि अर्बौं डलर लगानी सम्झौता गरिसकेको छ । नेपालमा रेल सञ्जाल विस्तारको पुरानै प्रस्ताव हो । भाषणले मात्र रेलमार्ग बन्दैन । यसका लागि ठूलो बजेट र तयारीको आवश्यकता पर्छ । यसका लागि सम्भाव्यता अध्ययन र डीपीआर तयार पारिनुपर्छ । नेपालको सम्भाव्य लगानी र लाभको पनि विश्लेषण गरिनु पर्छ । माथिबाट चीनले, तलबाट भारतले रेल लाइन विच्छ्याउने प्रस्ताव अघि सारेका छन् भन्ने भाषणले मात्र राष्ट्रिय हितलाई प्रबद्र्धन गर्दैन । त्रिदेशीय अन्तरसम्बन्ध विकास गरी सबैका लागि लाभ आर्जन हुनसक्ने कुन कुन क्षेत्र हुन हुनसक्छन् भन्ने विषयमा हाम्रो आन्तरिक तयारी पनि गर्नुपर्ने हुन्छ । त्यसको पूर्ण कार्यान्वयनका लागि नेपालले आफ्नो क्षमता भने विकास गर्नैपर्ने हुन्छ । नेपालतर्फको सडक र अन्य भौतिक पूर्वाधारका लागि नेपाल सरकारले पनि लगानी गर्नुपर्ने र आवश्यक परेमा चीन सरकारको सहयोग लिन सकिन्छ भने अर्को छिमेकी रिसाउला कि भनेर हिचकिचाउनु पर्ने अवस्था रहनु हुँदैन ।
प्रधानमन्त्रीको चीन भ्रमणका सन्दर्भमा भुल्नै नहुने र प्राथमिकताका साथ अघि बढाउनु पर्ने विषय हो द्विपक्षीय लगानी संरक्षणसम्बन्धी सम्झौता (बिप्पा) । चीनले अहिले विश्वका २४ मुलुकसँग स्वतन्त्र व्यापार सम्झौता (एफटीए)मा हस्ताक्षर गरिसकेको छ, गल्फ कोअपरेसन काउन्सिल (जीसीसी)का सदस्य देशहरूसहित श्रीलंका, इजरायल, नर्वे, मोल्दोभा, मरिसससँग समान किसिमका सम्झौता गर्ने अन्तिम तयारीमा चीन छ । नेपालबाहेक क्यानडा, कोलम्बिया, फिजीसहितका ८ मुलुकसँग एफटीए अघि बढाउन सकिने चीनको भनाइ छ । सन् २०२५ लाई ‘मेड इन चाइना’ वर्षका रूपमा घोषणा गरी चीनका प्रमुख १० उत्पादनमूलक उद्योगहरूलाई स्तरोन्नति र आधुनिकीकरण गर्ने घोषणा गरिसकेको, चीनमा आधारित प्रविधिकै अत्याधिक उपयोग बढाउने गरी आविष्कारहरूलाई प्राथमिकता दिइरहेको सन्दर्भमा नेपालले कसरी बढीभन्दा बढी लाभ हासिल गर्नसक्छ भन्ने विषयमा हचुवाका भरमा राष्ट्रिय तयारीसहित चीनसँग साझेदारी गरिनु आवश्यक छ ।
प्रधानमन्त्री ओली यतिखेर दुईतिहाइ बहुप्राप्त सरकारको नेतृत्व गरेर चीन त जाँदैछन्, तर चीनसँगको हाम्रो आर्थिक सम्बन्धलाई बलियो पार्नका लागि कुन कुन क्षेत्रमा नयाँ साझेदारी आवश्यक छ, कुन कुन क्षेत्रमा पुराना सन्धी, सम्झौता, सहमतिमा परिवर्तन आवश्यक छ भन्ने विषयमा अपरिपक्व र कमजोर तयारी देखियो । सय जनाभन्दा अधिकको भ्रमण टोली बनाउँदैमा देशको तयारी पनि भारी हुन्छ भन्ने होइन, राजनीतिक–कुटनीतिक, आर्थिक सवै क्षेत्रमा हाम्रो अवस्थाबारे बलियो प्रस्तुति गर्न सकियो भनेमात्र यसको सार्थकता रहन्छ । नभए, दिल्ली दर्शनपछि बेइजिङ दर्शन पनि एक औपचारिकतामा मात्र सीमित हुनेछ ।

कारोबार दैनिक ५ असार २०७५

प्रकोप व्यवस्थापनमा चुकेको सरकार

वर्षायाम आरम्भ हुनुअघि नै डुबानको जोखिम हल गर्ने सहमति गरेका नेपाल र भारतका प्रधानमन्त्रीले बिर्सेसँगै अब प्रकोपबाट हुने क्षति पर्खनु नै नेपालीको दुर्भाग्ययुक्त नियति मान्नु पर्ने हुन्छ ।

गजेन्द्र बुढाथोकी

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा, नेपालीमा एउटा उखान छ– जब भयो राति, तब बुढी ताती । राष्ट्रका संवेदनशील मुद्दाहरूमा हाम्रो तयारी त्यस्तै नै छ । जबसम्म संकट पर्दैन, तबसम्म न हाम्रो सरकार, सरकारका सम्बन्धित एजेन्सीहरूमात्र होइन, हामी आफैसमेत पूर्वतयारी अवस्थामा बस्दैनौं । हरेक वर्ष दोहारिने उही नियतलाई अनि सँधै धिक्कार्नेमात्र काम गर्छौं । यस वर्षको मनसुन नेपाल प्रवेश गरिसकेको छ । कृषिप्रधान मुलुक र त्यो कृषि पनि आकासे पानीमा निर्भर रहेको मुलुकमा आकासमा कालो बादल देख्दा किसान खुसी हुनुपर्ने हो, तर यहाँ उल्टो अवस्था छ । उर्लिएर आउने नदी, खोला र खहरेहरूले मलिलो खेतीयोग्य भूमिक कटान गरेर लैजाने समस्या हरेक वर्ष बढ्दै गएको छ भने चुरेको तल्लो भेग, जो कुनै समयमा देशकै मुख्य खाद्यान्न भण्डार मानिन्थ्यो, त्यहाँ बालुवा, गेग्र्यान थुप्रिने तथा वर्षामासमा भारतीय सीमाक्षेत्रका बाँध र बाँधजस्ता सडकहरूका कारण डुबान बढ्दो क्रममा छ । आफ्नो दिल्ली दर्शनलगत्तै विशेष आतिथ्यसाथ नेपाल बोलाइएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलगत्तै प्रधानमन्त्री केपी ओलीले संसदलाई जानकारी दिने क्रममा भनेका थिए–“सीमावर्ति क्षेत्रमा बनाइएका भारतीय बाँध र सडकहरूका कारण उत्पन्न समस्या सम्बोधन गर्ने विषयमा भारतसँग छिट्टै पहल गर्ने दुई देशका प्रधानमन्त्रीबीच सहमति भएको छ । यसका लागि तत्कालै संयुक्त कार्यदल बनाएर अनुगमन गरिनेछ, नेपालको गम्भीर समस्याका रुपमा बढेको डुबानको समस्यालाई समाधानका लागि दुवै देशबाट तत्कालै कार्यदल बनाएर यो वर्षायाम आरम्भ हुनुअघि नै सम्भाव्य पहल भइसक्नेछ ।”
रात बित्यो, अग्राख पलायो भनेझैं यो बाचालाई मोदीले भारत फर्किएलगत्तै बिर्सिए नै, नेपालका प्रधानमन्त्रीलाई समेत समृद्धिको सपना कोर्दैमा यस विषयमा हेक्कै भएन । वर्षायाम आरम्भ हुनुअघि नै डुबानको जोखिम हल गर्ने सहमति गरेका नेपाल र भारतका प्रधानमन्त्रीले बिर्सेसँगै अब प्रकोपबाट हुने क्षति पर्खनु नै नेपालीको दुर्भाग्ययुक्त नियति मान्नु पर्ने हुन्छ ।औपचारिक रूपमा वर्षामास आरम्भ नहुँदै देशका केही भेगमा पूर्व–मनसुनी वर्षाले नै तान्डब देखाइसकेको छ । यो वर्ष अलनिनोको प्रभाव सून्य भएकाले मनसुन पूर्णरूपमा क्रियाशील हुने मौसमविदहरूले बताइसकेका छन् । जतिसुकै सावधानी अपनाउँ, नेपालको भौगोलिक अवस्था, यहाँको परम्परागत बस्ती विकास र खेती पद्धतिजस्ता कारणले वर्षामासमा हुने क्षति निकै ठूलो रहँदै आएको छ ।
गृह मन्त्रालयअन्तर्गतको प्राकृतिक विनास न्यूनीकरण संयन्त्रले आधुनिक रूपमा कम्प्युरकृत तथ्यांक राख्न थालेको सन् २०११ देखि सन् २०१७ को सम्म तथ्यांकलाई आधार मान्दा यो सात वर्षको अवधिमा विभिन्न किसिमका प्राकृतिक प्रकोपले २७ अर्ब ४१ करोड रुपैयाँबराबरको नोक्सानी गरेको छ । यद्यपि, यो प्रहरीको स्रोतबाट संकलित तथ्यांक भएकाले यसमा गत वर्ष (सन् २०१७)मा बाढी तथा डुबानका कारण भएको करिब ६० अर्ब रुपैयाँबराबरको क्षति र सन् २०१५ मा भूकम्पका कारण भएको झन्डै ८ खर्ब रुपैयाँबराबरको क्षतिको गणना भने गरिएको छैन । (स्रोतः पीडीएनए प्रतिवेदनहरू/राष्ट्रिय योजना आयोग) । भूकम्पका कारण प्रभावित भएका झन्डै ८ लाख घरपरिवारको विवरणसमेत जोड्दा यो ७ वर्षमा प्राकृतिक प्रकोपका कारण झन्डै १० लाख परिवार प्रभावित भएका छन भने १२ हजारको ज्यान गएको छ । यही सात वर्षको औसत तथ्यांकलाई आधार मान्दा प्राकृतिक प्रकोपकै कारण प्रतिवर्ष औसतमा ५ सय जनाको ज्यान जाने गरेको छ भने औसतमा २ खर्ब ५० अर्ब रुपैयाँबराबरको नोक्सानी हुने गरेको छ, यो कुल गार्हस्थ्य उत्पादनको ०.८ प्रतिशत हो ।
यो विश्वको औसतभन्दा पनि बढी हो । स्वीस रेले प्रकासित गरेको प्राकृतिक प्रकोपले विश्व अर्थतन्त्रमा पारेको असरसम्बन्धी प्रतिवेदन २०१७ अनुसार गत वर्ष विश्वभरि प्राकृतिक प्रकोपका कारण ३ खर्ब ३७ अर्ब अमेरिकी डलरबराबरको आर्थिक क्षति पुगेको छ, यो विश्वको कुल गार्हस्थ्य उत्पादनको ०.४४ प्रतिशत हो । अमेरिकामा गएको समुद्री आँधी (हुरिकन मेरिना)का कारण सन् २०१७ मा अघिल्लो वर्ष (२०१६मा भन्दा) दोब्बर क्षति पुगेको प्रतिवेदनमा उल्लेखित छ । गत वर्ष एसियामा ३१ अर्ब अमेरिकी डलरको क्षति पुगेको छ, जुन क्षेत्रीय जीडीपीको ०.११ प्रतिशत हो ।
गत वर्ष नेपालमा मात्र होइन, मुलधार वर्षा (मेघ–विस्फोट) तथा विभिन्न प्रान्तमा बाढी तथा डुबानका कारण भारतमा पनि ४९ अर्ब भारुबराबरको क्षति पुगेको स्वीस रेले जनाएको छ, प्रतिवेदनले गत वर्षको बाढी र डुबानबाट नेपालमा ६० अर्ब ६७ लाख रुपैयाँबराबरको क्षति पुगेको उल्लेख गरे पनि राष्ट्रिय योजना आयोगकै बाढीपछिको आवश्यकता आकलन प्रतिवेदनले योभन्दा बढीको क्षति देखाएको छ । गत वर्षको मुलधार वर्षाले देशका ३५ जिल्लामा असर पारेपछि १८ जिल्लामा व्यापक क्षति तुल्यायो, जसमध्ये डुबानमा पर्ने अधिकांस जिल्ला भारतसँग सीमा जोडिएका थिए र भारतले नै बनाएका बाँध र बाँधजस्ता संरचनाहरूका कारण डुबानमा परेका थिए । झन्डै दुई लाख घरहरू पूर्ण रूपमा भत्केका वा आंशिक रूपमा भत्किए पनि बसोबास अयोग्य अवस्थामा थिए । सन् २००१ र सन् २००८ मा पनि यस्तै बाढी र डुबानका कारण सैयौं परिवार प्रभावित भएका थिए ।
मुसलधार वर्षा भयो, बाढी आयो, खेतीबाली, बस्ती कटान ग¥यो, डुबान भयो; सरकारले दुईचार हजार रुपैयाँ, कम्मल, एउटा कमजोर प्लास्टिकको पाल दिएर आफ्नो दायित्व सकिएको सम्झ्यो । ‘मन ठूलो भएका दाताहरू’ले केही थान पुराना कपडा, दुईचार प्याकेट चाउचाउ, अलिकता दालमोठ भूजिया बाँडेर ‘परोपकार’ गरे, त्यसपछि आकासबाट पानी पर्न छाडिगयो, बाढीपीडितलाई कसले सम्झिराखोस्!! प्रधानमन्त्रीलाई त सरकारले निकै ठूलो पहलवानी जितेको भन्ने देशलाई÷संसदलाई बताउनु थियो, बताइदिए– सीमाक्षेत्रका डुबान समस्या त नियती न हो, केलाई रोकथामका पहल गरिहनु प¥यो र? हँसाउन सिपालु प्रधानमन्त्रीबाट मुसलधार वर्षाबाट देशबासीलाई बचाउने के छ प्रतिरक्षा योजना भनेर कसैले प्रश्न ग¥यो भने, “के अब मैले आकास ढाक्ने छाता बनाइ दिनु प¥यो? वर्षामा पानी नपरे कहिले पर्छ त? पानी परेपछि ओत खोज्नु पर्छ त!” भन्ने जवाफ नआउला भन्न सकिँदैन ।
पानी एक वर्षमात्र पर्ने होइन, बाढी एक वर्षमात्र आउने होइन । डुबान समस्या एक वर्षमात्र देखिएको पनि होइन । वर्षौंदेखि समान किसिमका समस्या दोहोरिइ रहँदा सरकारले किन अहिलेसम्म बलियो प्रकोप व्यवस्थापन तथा नियन्त्रणका तयारी गर्न सकेन भन्ने नै अहिलको मूल प्रश्न हो । तत्कालका लागि प्रश्नकर्ताको मुख टाल्ने हिसाबले हलुकाफुल्का जवाफ दिन सकिएला, तर वर्षौंदेखि बाढी–पहिरोले घरबारविहीनहरू मुख्य राजमार्गका छेउछाउ, सामुदायिक वनको एउटा कुनामा थोत्रो पाल हालेर बसेको देख्दा जो कोहीको पनि मन कटक्क खान्छ ।
सरकारले प्रकोपको पूर्वतयारी गर्न सकेन भनेर प्रश्न उठ्दा प्रतिरक्षा कार्ययोजना त बनाएकै छौं नि भन्ने जवाफ पनि सुनिन्छ । यसै वर्ष बनाइएको ‘मनसुन आपत्कालीन कार्ययोजना–२०७५’का केही बुँदा हेरौं– इक्विपमेन्टसहितको आवश्यक न्यूनतम उद्धार सामग्रीसहित खोज तथा उद्धार कार्यमा खटिन पूर्वतयारी योजना बनाउने, ‘ह्याभी इक्विपमेन्ट’ रणनीतिक स्थानमा राख्ने, राहत सामग्रीहरू भण्डारण गर्ने, यस्ता सामग्रीहरूको उचित भण्डारणको अनुगमन गर्ने र जिल्लामा भण्डारणको व्यवस्था मिलाउने, मनसुनअगावै आवश्यक तटबन्ध निर्माण गरी बाढीको जोखिम न्यूनीकरण गर्ने ।
पूर्वसूचना प्रणालीका अन्य पक्षका सन्दर्भमा एक छिन अलग गरेर हेर्दा यो कार्ययोजनाबमोजिक सम्बन्धित राहत तथा उद्धार प्रणालीमा संलग्न संयन्त्रहरू, गृह मन्त्रालय र ऊमातहतका नेपाल र सशस्त्र प्रहरी, नेपाली सेना र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले न अहिलेसम्म उद्धार प्रयोजनकै लागि विशेष उपकरण (इक्विपमेन्ट) खरिद गरिएको देखियो, न त राहतका सामग्री नै किनेर भण्डारमा राखिएको पाइयो । यसैमा पेट्रोलियम पदार्थहरू, खाना पकाउने ग्यास, नुनजस्ता अत्यावश्यक वस्तु तथा खाद्य पदार्थको अतिरिक्त मौज्दात व्यवस्थापन गर्ने भनिएकोमा सरकारलाई आयल निगमको नाफा कायम राख्न पेट्रोलियमा मूल्यवृद्धिको निर्णयको हतारो छ, तर अहँ! संकट परे दैवले टार्छन् नि किन किनेर राख्नु प¥यो? भनेर यस्ता वस्तुको अतिरिक्त मौज्दात राख्ने विषयमा सरकारले आजका मितिसम्म कुनै निर्णय नै लिएको छैन । अनि, सम्बन्धित निकायका अधिकारीहरूमा संकट आइलागेपछि हतार हतारमा जेजस्तो पाइन्छ, कमसल चिज उठाउने, महँगो बिल बनाउने आफूले कुस्त कमाउने दाउ मात्रै देखियो ।
पूर्वसूचना प्रणालीकै सन्दर्भमा पनि बाढी, पहिरो र डुबानको जोखिममा रहेका बस्तीहरूको पहिचन गरी पूर्वसूचना दिने र सञ्चार माध्यमबाट प्रचारप्रसार गरी सुरक्षित तुल्याउने भनिएकोमा यस्ता बस्तीहरूको पहिचान बाढीले कटान गर्न थालिसकेपछि गर्ने कि, बेलैमा सावधान तुल्याउने? भन्ने विषयमा नै सरकारी अधिकारीहरू अन्योलमा देखिन्छन् ।
यो कार्ययोजनाको सबैभन्दा कोक्याउने पक्ष भनेको– “मनसुन वर्षाको कारण पहिरोले बन्द भएका नदी र खोलाबाट पहिरो पन्छाउन मित्रराष्ट्रहरूको सहयोग जुटाउने, बाढी र डुबानबाट सिर्जित आपत्कालीन अवस्थाबाट जोखिममा परेका मानिसहरूको उद्धार गर्न मित्रराष्ट्रहरूलाई सहयोगको आह्वान गर्ने,” भनिएको छ । यो जस्तो सरकारको आनन्ददायक प्रकोप पूर्वतयारी के होला ? आफूले पर्याप्त तयारी गर्र्दै नगर्ने, अनि जसका कारणले डुबान समस्या देखिँदै आएको छ, उसैलाई गुहार्ने! त्यतिले मात्र नपुगी राहतका सामग्रीमा भन्सार छुट गरिनेछ भनेर माग्ने सूची पनि त्यसमा समावेश गरिसकिएको छ ।
राज्य प्रणालीका कर प्रशासन र भ्रष्टाचार छानबिनसम्बन्धी अनेकन निकायहरूलाई आफूमातहत ल्याउन एग्रेसिभ निर्णय गराउन सक्ने प्रधानमन्त्रीले गृह मन्त्रालयमातहतको विपत् व्यवस्थापन महाशाखा र समान किसिमका कार्यप्रकृति रहेका भू–संरक्षण विभाग, जलउत्पन्न प्रकोप नियन्त्रण विभागसहितका निकायलाई एकीकृत गरी सशस्त्र प्रहरीको राहत तथा उद्धार कार्यविभाग तथा दलमलसहित रहेको प्रकोप व्यवस्थापन विभाग गठन गराउने पहल गर्न अझै ढिला भएको छैन ।

कारोबार दैनिक २९ जेठ २०७५

सरकारमा वित्तीय संकट धरापको त्रास!

प्रधानमन्त्री र अर्थमन्त्रीले सामाजिक सुरक्षाको प्रत्याभूति भएको भाषण गरिरहँदा त्यसलाई व्यवहारमा लागू गर्न सकिने ठोस कार्यक्रम छैनन्, परम्परागत ढर्राका छरुवा कार्यक्रमबाट सामाजिक सुरक्षा हुँदैन ।

गजेन्द्र बुढाथोकी
अर्थमन्त्री डा. युवराज खतिवडाले कम्युनिष्ट गठबन्धनको बहुमत प्राप्त सरकारका तर्फबाट पहिलो संघीय बजेट प्रस्तुत गरेपछि त्यसको समर्थन र विरोधमा सदनदेखि सडकसम्म, विश्वविद्यालयका प्राज्ञिक कक्षादेखि आमसञ्चार माध्यममा सम्म बजेटका बहस भइरहेको छ । बजेटका सन्दर्भका केही आलोचनाहरूमा बलियो सरकारको कमजोर बजेट भएकोे, यसले महत्वपूर्ण छलाङ्ग (क्रिटिकल डिपार्चर)का लागि जोखिम मोल्न नचाहेको, सनातनी प्रकारले बजेट निर्माणका प्रक्रिया अबलम्बन गरिएको, संघीयताको मर्म कुल्चिइएको, संविधानविपरीत बजेटमार्फत राष्ट्रिय प्राकृतिक स्रोतसाधन तथा राजस्व बाँडफाँट आयोगको कार्यक्षेत्र मिचिएको, बाम गठबन्धन (हालको नेकपा)का चुनावी घोषणपत्रलाई नै खिल्ली उडाउने काम गरेको, शीर्षक फेरेर सांसदको (खल्ती विकास) कोषमा रकम विनियोजन गरिएको भन्ने लगायतका छन् । यसका अलवा सरकार समर्थकहरूले भने वित्तीय अनुशासन पालना गरिएको, यथार्थमा कार्यान्वयनमुखी बजेट ल्याइएको, सरकारको समृद्धिको प्रस्थान विन्दु कोरेको, प्रगतिशील कर व्यवस्था लगाएर समन्यायिक प्रणाली विकास गरिएको भन्ने गरेका छन् । दुवै पक्षको बुझाइलाई एकै ठाउँ राखेर हेर्दा बजेटले केही पनि नयाँपन दिएन, तर कार्यान्वयन पक्ष बलियो भयो भने यसले आउँदा दिनमा आर्थिक विकासका लागि केही आधार सिर्जना गर्नसक्छ भन्ने नै हो ।
खासमा बजेटमा नयाँ कुरा केही पनि छँदैछैन भने पनि हुन्छ । जसरी लोकसेवा आयोगको परीक्षाका लागि पूर्वनिर्धारित ढाँचामा सोधिएका प्रश्नहरूलाई नै नयाँ–नयाँ परीक्षार्थीले आआफ्नै ढंगले उत्तर दिन्छन्, ‘टेक्नोक्र्याट’ अर्थमन्त्रीले ल्याएको बजेट पनि त्यतिमात्रै हो । राष्ट्र बैंकका तीस प्लस पाँच वर्षे जागिरे जीवन, संयुक्त राष्ट्र संघको जागिर र छोटो अवधिका लागि योजना आयोगका सदस्य र उपाध्यक्षका अनुभव– यही वरिपरि नै घुमेर बजेट बनाउन दिनमा १६ घण्टासम्म खटिएका अर्थमन्त्रीले तथ्यांकीय हिसाबचाहिँ सकभर मिलाउने प्रयास गरेका छन् । मौद्रिक अर्थशास्त्री भएको र राष्ट्र बैंकको गभर्नर हुँदा बेलाबेलामा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएफएफ)को वित्तीय अनुशासन उल्लंघन नगर भन्ने पत्र पढ्ने बानी परेका हुनाले अर्थमन्त्रीले त्यसलाई सकेसम्म नाघ्दिन भनेरै जोखिम नमोलेका हुन् । तर उनैका पार्टी सम्बद्ध सांसद र केही अर्थशास्त्रीहरूले समेत चुनावमा गरिएको बाचाबमोजिम र सरकारकै नीति तथा कार्यक्रममा बोलिएका कार्यक्रमहरूको समेत कार्यान्वयनका लागि समेत बजेट नआएकाले भोलि जनतालाई के जवाफ दिने भने प्रश्न उब्जाएका छन् ।

अंकमा चुकेको सरकार

आउँदो आर्थिक वर्षमा सरकारले कुल ९ खर्ब ४५ अर्ब राजस्व असुलीको लक्ष्य राखेको छ, यो चालू वर्षको झन्डै ३१ प्रतिशतको वृद्धिदर हो । गत वर्ष ७ खर्ब ३० अर्ब रुपैयाँ राजस्व असुलीको लक्ष्य राखिएकोमा ७ खर्ब २८ अर्ब रुपैयाँमात्र असुल हुने संशोधित लक्ष्य छ । आउँदो वर्षका लागि राखिएको राजस्व लक्ष्यमध्ये संघीय सरकारले प्राप्त गर्ने भनेको ८ खर्ब ३१ अर्ब रुपैयाँमात्र हो । बजेटमा उल्लेख भएको अंक हेर्दा आउँदो वर्ष उठ्ने कुल राजस्वमध्ये १ खर्ब १४ अर्ब रुपैयाँ प्रदेश र स्थानीय तहमा बाँडफाँट हुनेछ, यद्यपि अर्थमन्त्रीले संसदमा दिएको जानकारीमा यो रकम १ खर्ब ५२ अर्ब रुपैयाँबराबर छ ।
कुल ८ खर्ब ३१ अर्ब रुपैयाँमात्र राजस्वको स्रोत रहेको सरकारले चालू खर्च भने ८ खर्ब ४५ अर्ब रुपैयाँ त चालू खर्च गर्ने लक्ष्य राखेको छ, अर्थात् चालू खर्च नै धान्नका लागि समेत १४ अर्ब रुपैयाँ अनुदान मागेर खर्च चलाउने लक्ष्य राखिएको छ । त्यसो त कुल स्रोतका लागि ५८ अर्ब रुपैयाँ अनुदानबाट प्राप्त हुने लक्ष्य राखिएको छ । जबकी, चालू आर्थिक वर्षको संशोधित अनुमानअनुसार जम्मा ३६ अर्ब रुपैयाँमात्र अनुदान प्राप्त हुने अवस्था छ । सरकारले लक्ष्य राख्दैमा दाताले ‘अहो! नेपाल सरकारलाई चाहिएछ बाबा, दिइ हालौं’ भनेर दाताले हौसिएर दिँदैनन् भन्ने कुराको उदाहरण हेर्ने टाढा जानु पर्दैन, चालू आर्थिक वर्षको बजेटमा नै ७२ अर्ब १६ करोड रुपैयाँ अनुदान प्राप्ति हुन्छ भनेर लक्ष्य राखिएकोमा त्यसको आधा अर्थात् ३६ अर्ब रुपैयाँमात्र अनुदान प्राप्त हुने स्वयं अर्थमन्त्रालयको संशोधित अनुमान छ ।
यसरी राजस्व र अनुदान गरेर कुल ८ खर्ब ९० अर्ब रुपैयाँको संघीय स्रोत भएको सरकारले १३ खर्ब १५ अर्ब रुपैयाँको बजेट बनाएको देखिन्छ । सोझै हेर्दा २ खर्ब ६९ अर्ब रुपैयाँ अर्थात् कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ९ प्रतिशतको बजेट घाटा देखिए पनि सरकारले उठाउने लक्ष्य राखेको बाह्य र आन्तरिक ऋण ३ खर्ब ६६ अर्ब रुपैयाँका आधारमा हेर्दा सरकारको वित्त घाटा जीडीपीको १२ प्रतिशतभन्दा बढी देखिन्छ ।
बजेट घाटा पूर्तिका लागि सरकारले आउँदो वर्ष २ खर्ब २९ अर्ब रुपैयाँ बाह्य ऋण उठाउने लक्ष्य राखेको छ, जुन चालू वर्षको भन्दा ३३७ प्रतिशत बढी हो । चालू वर्षका लागि जम्मा ७४ अर्ब ९१ करोड वैदेशिक ऋण परिचालन हुने संशोधित अनुमान छ । यसबाहेक सरकारले १ खर्ब ७२ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ, यो चालू वर्षको भन्दा १८ प्रतिशत बढी हो । के दाताबाट सरकारले अपेक्षा गरेबमोजिम नै वैदेशिक ऋण प्राप्त भइ सरकारको खर्च चलाउने स्रोत जम्मा होला त? आन्तरिक ऋण त सरकारले जुनसुकै उपाय अबलम्बन गरेर पनि उठाइ हाल्छ, यदि स्रोत नै पुगेन भने तत्कालका लागि नेपाल राष्ट्र बैंकबाट ओभरड्राफ्ट उपयोग गरेर भए पनि खर्च चलाउँछ नै, तर बाह्य ऋणका हकमा त्यो कुरा लागू हुँदैन । त्यसैले बजेट सन्तुलित भएको, स्रोतअनुसार नै खर्चको व्यवस्थापन गरिएको देखाउनका लागि अर्थमन्त्री डा. खतिवडाले नै संसदमा भनेजस्तै यो अंक गणितीय हिसाब मिलानमात्रै हो ।
यदि सरकारले यही ढंगले ऋण उठाउने हो भने त देशको ऋणभार अचाक्ली बढेर जानेछ नै, तर ऋणभार बढ्नु तत्कालका लागि समस्या भने होइन । नेपालको अहिले ऋणभार कुल गार्हस्थ्य उत्पादनको ३० प्रतिशतभन्दा तल नै छ, अर्थतन्त्रमा ऋणको बहन क्षमता पनि बलियो नै छ । राज्यलाई स्रोतको अपर्याप्त अवस्थामा ऋण ग्रहण गर्नु स्वभाविक प्रक्रिया पनि हो । यदि देशको आर्थिक विकासका लागि आवश्यक पर्छ भने ऋणभार बढ्छ भन्ने कुरासँग त्रसित हुनुपर्ने आवश्यकता छैन भन्ने पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको भनाईसँग यहाँनेर सहमत हुन सकिन्छ ।
यद्यपि सरकारको वर्तमान बजेटको विनियोजनको तौरतरिका र यसका लागि गरिएको स्रोत व्यवस्थापनबाट धेरै आशा गर्न सकिने ठाउँ भने छैन । आउँदो वर्षको बजेटमा चालू खर्चको अंश ६४.३ प्रतिशत पुर्‍याइएको छ भने पुँजीगत खर्चको अंश घटेर २३.९ प्रतिशतमा झारिएको छ, यो गत वर्षको विनियोजनभन्दा कम हो । गत वर्ष चालू खर्चको अनुपात ६२.८ प्रतिशत र पुँजीगत खर्चको अनुपात २६.२ प्रतिशत थियो ।
पुँजीगत खर्च त घटाइएको छ नै त्यस खर्चमा पनि वास्तविक रूपमा विकासतर्फ जाने अर्थात् सार्वजनिक निर्माणतर्फको बजेट झनै घटाइएको छ । गत वर्ष कुल पुँजीगत खर्चमध्ये करिब ६० प्रतिशत रकम सार्वजनिक निर्माणतर्फ विनियोजित थियो भने यो वर्ष त्यो अनुपात ५४ प्रतिशतमा झारिएको छ । (हेर्नुहोस चार्ट)

सम्भवतः प्रादेशिक सरकारहरूका लागि भौतिक पूर्वाधार आवश्यकता पूरा गराउनका लागि हुनुपर्छ जग्गा र भवनतर्फको विनियोजन बढाइएको छ ।
विश्व बैंकको एक अध्ययनले संघीयता कार्यान्वयनका सिलसिलामा प्रादेशिक सरकारहरूको भौतिक आवश्यकता पूरा गर्नका लागि प्रत्येक वर्ष कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ३ प्रतिशतका दर आउँदो चार वर्षसम्म रकम खर्चनु पर्ने देखाएको थियो, तर बजेट विनियोजनको गति हेर्दा त्योभन्दा कम देखिन्छ । यसको सोझै अर्थ हो– सरकारले आवश्यकताका क्षेत्रमा समेत बजेट छुट्ट्याउन सकेन ।
अर्कातिर परम्परागत खुद्रे कार्यक्रम, प्रधानमन्त्री रोजगार कार्यक्रम, सांसदलाई चार करोडका दरले पैसा बाँड्ने, सर्टिफिकेट धितोमा कर्जाजस्ता लोकरिझ्याँइका कार्यक्रमले अर्थमन्त्रीका भनाइ र गराइबीचको तादम्यतासमेत खुट्याउन सकेन । अर्थमन्त्रीसँग यतिखेर सीमित स्रोतसाधनका बीच अत्याधिक बहुमतप्राप्त सरकारको घोषणापत्र बमोजिम महत्वकांक्षी बजेट बनाउनु पर्ने बाध्यता थियो, एक हिसाबले भन्दा अवसर पनि थियो । कुनै जोखिम मोल्न नचाहने अर्थमन्त्रीले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले बनाइदिएको परम्परागत फर्म्याटमा उत्तर लेख्नेमात्र काम गरे ।
यही बजेटका आधारमा (यदि पूर्ण कार्यान्वयन भएछ भने) र मौसम अनुकूल भइदिएछ भने ६ देखि ६.५ प्रतिशतको आर्थिक वृद्धिदर र ८ प्रतिशत हाराहारीमा मुद्रास्फीति संकुचित भइदियो भने धन्न मान्नुपर्छ, यही वर्ष ८ प्रतिशतको आर्थिक वृद्धि हासिल भइ आउँदो वर्षहरूमा दोहोरो अंकका वृद्धिदर हासिल हुने त उही मुंगेरीलाल के हसिन सपने भनेजस्तै कुरा हो । किनकी सँधैभरि श्रीपशुपतिनाथको कृपाले कुनै आर्थिक गतिविधि नै विस्तार नभईकन एकै पटक शून्यबाट साढे सात प्रतिशतको वृद्धिदर हासिल भइरहँदैन ।
छिमेकीलाई रिझाए पनि सरकार बलियो हुन्छ, छिमेकीको विकास भएपछि हाम्रो देश स्वतः विकास हुन्छ भन्ने मनोभावबाट सरकार बाहिर निस्कन नसकेको नतिजा पनि हो, चालू वर्षको बजेट । कहिलेकाँही सिनेमा हेर्न जाँदा वा कुनै पुस्तक किन्दा निकै राम्रो छ भनेर प्रचार गरिँदा अन्त्यमा खिस्रिक्क परेर फर्कनु पर्ने अवस्था आउँछ, त्यही गतिको छ चालू वर्षको बजेट ।
प्रधानमन्त्री र अर्थमन्त्रीले सामाजिक सुरक्षाको प्रत्याभूति भएको भाषण गरिरहँदा त्यसलाई व्यवहारमा लागू गर्न सकिने ठोस कार्यक्रम छैनन्, परम्परागत ढर्राका छरुवा कार्यक्रमबाट सामाजिक सुरक्षा हुँदैन । जतिसुकै आदर्शवादी कुरा गरे पनि वृद्धवृद्धा र अपांगता भएका नागरिकलाई राज्यले कल्याणकारी कार्यक्रममा समावेश नगरी हुँदैहुँदैन । यस्ता नागरिकप्रति पनि वर्तमान बलियो सरकारले चरम उपेक्षा गरेको छ । अझ, अर्थमन्त्रीले त अपांगता भएका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता बढाउँदा राज्यकोषमाथि बोझ बढ्छ भन्ने गैर जिम्मेवार जवाफ दिएका छन् । अर्थशास्त्रका ज्ञातासमेत रहेका अर्थमन्त्रीले कम्तिमा अन्तर्राष्ट्रिय प्रतिवेदनहरू नभए राष्ट्रिय तथ्यांकहरू नै केलाएर अपांगता भएका नागरिकको अवस्था कस्तो छ भन्ने अध्ययन गरेर बोलेको भए हुन्थ्यो । कुल सामाजिक सुरक्षा खर्चको ०.२ प्रतिशतमात्र गइरहेको छ, अपांगता भएका व्यक्तिको सामाजिक सुरक्षामा (स्रोतः आईएलओ, सामाजिक सुरक्षा भत्ताबारे अध्ययन), यसले राज्यकोषमा कति प्रतिशत बोझ बढ्यो अर्थमन्त्रीज्यू? यदि सांसदहरूलाई र मन्त्रीहरूलाई गोजी खर्च बाँड्न नपुगेको भए, कृपया त्यो पनि थपिदिनुहोस्, अपांगता भएकाहरू त जसरी पनि बाँची नै हाल्छन् । बजेट बचाउनुस्, समृद्घि ल्याउनुस, तपाईको घरपरिवारमा, समाजमा अपांगता भएका व्यक्ति छैनन, किन उनीहरूका दायित्व तपाईले लिइदिइराख्ने?
कारोबार दैनिक २२ जेठ २०७५

यथास्थितिवादी बजेटः समृद्धिका लागि बाधक

डा. बाबुराम भट्टराई

हामी आ.व. २०७५।७६ सालको वार्षिक बजेट एउटा सामान्य वार्षिक आय–व्ययको अनुमान मात्र होइन । नयाँ युगमा नेपाल कुन दिशामा अगाडि बढ्छ भनेर त्यसको मार्ग देखाउने मार्गचित्रमाथि हामी छलफल गर्दैछौँ । त्यस अर्थमा यस वर्षको बजेट २००८ सालमा सुवर्णशम्शेर जबराले प्रस्तुत गर्नुभएको बजेटदेखि लिएर म लगायतले ०६५/६६ मा प्रस्तुत गरेको बजेट भन्दा नितान्त भिन्न परिवेशमा यो प्रस्तुत भएको छ । त्यसैले त्यसमाथिको छलफल पनि त्यही उचाइकासाथ भएको पनि अनुभुत गरेको छु । बजेट अर्थात् कुनै पनि आर्थिक नीति भनेको सेतो र कालो हुँदैन । यसको रंग इन्द्रेणी हुन्छ । त्यसैले विभिन्न कोणबाट यसमाथि छलफल हुनु म स्वाभाविक ठान्दछु ।

हामी भाग्यमानी छौँ, हामीले यस वर्ष यस्ता अर्थमन्त्री पाएका छौँ जो विज्ञ पनि हुनुहुन्छ र पार्टीका निश्चित विचार बोक्ने एउटा विचारका बाहक पनि हुनुहुन्छ । विचार र विज्ञता दुइटैको संयोजन भएको अर्थमन्त्रीले प्रस्तुत गरेको बजेटबाट हामीले धेरै अपेक्षा गर्नु स्वभाविक पनि हुन्छ ।  वहाँले कतिपय राम्रा कुरा पनि गर्नुभएको छ, मेहनत पनि गर्नुभएको छ । त्यसका निम्ति म धन्यवाद पनि दिन चाहन्छु ।

बजेटका कतिपय राम्रा पक्षहरु छन् । जस्तै एउटा कार्यक्रमिक र विनियोजनतर्फको हिसाबबाट प्रधानमन्त्री रोजगार कार्यक्रम, रोजगारी प्रत्याभूति विधेयक, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, प्रत्येक प्रदेशमा न्यूनतम २० उद्योगग्राम स्थापना गर्ने कुरा, शैक्षिक प्रमाणपत्र धितो राखेर ५ प्रतिशत ब्याजदरमा रु ७ लाखसम्म ऋण दिने कुरा, उच्च प्राविधिक शिक्षाको निम्ति ५ प्रतिशत ब्याजमा शैक्षिक ऋण प्राप्त गर्ने कुरा, औद्योगिक उत्पादनमाथि ५ प्रतिशत अनुदान दिने कुरा, महिला, दलित लगायतका उद्यमशीलतामा कम ब्याजदर/सहुलियत ब्याजदरमा ऋण दिने कुरा, कृषिका समर्थन मूल्य, २६ जिल्लाका घरपरिवारलाई राज्य सुरक्षा परिचयपत्र दिने कुरा जुन मेरै पालामा शुरु गरिएको थियो ।

सातवटै प्रदेशमा एक–एक शिक्षाशास्त्र अध्ययन प्रतिष्ठान गठन गर्ने कुरा, एक वर्षभित्र सबै नेपालीको बैंक खाता खोल्ने कुरा, मुक्तकमैया हलीयाहरुको पुनस्र्थापना आदिका कुरा सकारात्मक छन् र अत्यन्त कर्णप्रीय पनि छन् । राजश्वतर्फ चुरोट, मदिरा इत्यादिको करवृद्धि, सबै प्रकारका भ्याट रिबेट खारेज गर्ने कुरा, चिया, कपडा, डेरी उद्योग लगायतमा आयातमा ५० प्रतिशत छुट, योगदानमा आधारित निबृत्तिभरण आदि नीतिहरु पनि सकारात्मक छन् र ती उपयोगी नै छन् । यस अर्थमा वहाँलाई म धन्यवाद दिन चाहन्छु ।

तर यो सामान्य अवस्थाको बजेट हुँदो हो त यसलाई राम्रो भन्न हुन्थ्यो, भन्नु पथ्र्यो, म पनि भन्थेँ । त्यस अर्थमा सामान्य निरन्तरतामा हेर्दा यो बजेटलाई पासमार्क दिनुपर्छ, अझ ६० प्रतिशत मार्क दिन पनि म कन्जुस्याइँ गर्दिनँ । तर यो सामान्य अवस्थाको बजेट होइन ।

यतिबेला हामी नयाँ युगमा प्रवेश गरेका छौँ र यो बजेटले आगामी हाम्रो अर्थतन्त्रले एउटा फड्को मारोस् भन्ने हामी सबैको परिकल्पना छ । एउटा तेस्रो विश्वको स्तरमा, अतिकम विकसित देशको स्तरमा जकडिइरहेको मुलुकलाई, त्यस्तो दुष्चक्रमा फसिरहेको मुलुकलाई छोटो अवधिमा मध्यम आय भएको मुलुक हुँदै पहिलो विश्वमा रुपान्तरण गर्ने हामी सबैको सपना छ । तर त्यो सपना कताकता बीचैमा मरेजस्तो भएको छ ।

दुईतिहाई बहुमत प्राप्त सरकार छ, सरकार चलाउने पार्टीले जुन घोषणापत्र प्रस्तुत गरेको थियो, नीति तथा कार्यक्रम र बजेटका नीति तथा प्राथमिकता सिद्धान्तका प्राथमिकतामा पनि केही आशा देखाइएका थिए तर बजेटसम्म आइपुग्दा त्यो आशा मरेको, त्यो सपना मरेको मलाई चाहिँ अनुभुति हुन्छ ।

एकजना कविले भन्नुभएको थियो ‘होल्ड फास्ट टु ड्रिम्स, फर इफ ड्रिम्स डाई, लाइफ विल बि ब्रोकन–विङ्ग्ड बर्ड ह्विच क्यान नट फ्लाई’ । अर्थात तपाईँ आफ्नो सपनामा दृढ रहनुपर्छ किनकी सपना मर्‍यो भने तपाईँको जीवन पँखेटाविनाको चरा जस्तो हुन्छ जुन उड्न सक्दैन । त्यसैले यति छिट्टै यति प्रचण्ड बहुमतप्राप्त सरकारले सपना मार्दै गएको, हिम्मत हार्दै गएको हो कि भन्ने मलाई चिन्ता लाग्यो । र सबुतहरु हेर्दै गर्दा पनि फोकस र दृढता देख्दिनँ । क्रमश: गरिनेछ, सम्भवत: अध्ययन गरिनेछ, शुरु गरिनेछ, यथाशीघ्र गरिनेछ, प्रक्रिया अगाडि बढाइनेछ जस्ता पदावलीहरुले एउटा आत्मविश्वास प्रदर्शन गर्दैन । त्यो किन भयो भन्ने विद्वान अर्थमन्त्रीबाट म जान्न चाहन्छु । र विद्वान अर्थमन्त्री कताकता जसरी दोबाटोमा हराएजस्तो हुनुभएको छ त्यसको कारण के होला त्यसबारे पनि जान्न म आतुर छु ।

एउटा बीस किलोमीटर प्रतिघण्टा दौडिरहेको गाडी छ, त्यसलाई तीस-चालीस किलोमिटर प्रतिघण्टा हामीले कुदायौँ भने त्यो हामीलाई बढी कुदेको जस्तो लाग्दछ, खुशी पनि लाग्दछ । तर हामी गाडी मात्रै चढ्दै छैनौँ । यहाँ हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यूको भनाइलाई उद्धृत गर्दै भन्ने हो भने हामी त जेटप्लेन, अझ दुईजना पाइलटले हाँकेको जेटप्लेन चढ्दैछौँ । जेटप्लेन उड्नको निम्ति ६० किलोमिटर प्रतिघण्टा कुदेर हुँदैन, सय किलोमिटर कुदेर पनि हुँदैन त्यसलाई टेकअफ गर्नको निम्ति २९० किलोमिटर प्रतिघण्टाको गतिमा त्यो कुद्नु पर्दछ, तबमात्रै त्यो प्लेन, बोइङ र एयरबस उड्न सक्छ । त्यसैले हाम्रो अर्थतन्त्रलाई टेक अफ गराउने हो भने यो गतिले पुग्दैन । त्यस अर्थमा म निराश हुनपुगेको छु र चिन्तित हुनपुगेको छु ।

अब म धेरै कुराहरु नराखिकन यसका विषयवस्तुमा प्रवेश गर्न चाहन्छु । थुप्रै राम्रा कुराहरु पनि छन् र थुप्रै कुराहरु यहाँ राखिएको पनि छ । कतिपय पूरानो कार्यक्रमको थुप्रै निरन्तरताहरु पनि छन् । त्यसैले हेर्दा कताकता मलाई के सम्झना आउँछ भने, यसको समस्या कहाँनेर रह्यो भन्नेमा, एउटा दृष्टिकोणको समस्या, सोचमा समस्या । अर्को, प्राथमिकता निर्धारण गर्नेमा समस्या रह्यो । जुन कुरा खोजेको हो त्यो पहिल्याउनमा समस्या रह्यो ।

हामीले रामायणमा एउटा कथा पढ्ने गछौँ । जब रामचन्द्र लक्ष्मणसहित बनवास गएका थिए, लक्ष्मण एकपटक विरामी परे र उनलाई औषधी गर्नको निम्ति विन्ध्याचल पर्वतमा सञ्जीवनी बुटी पाइन्छ, त्यहाँबाट त्यो बुटी लिएर आउनु भनेर हनुमानलाई रामचन्द्रले भने र हनुमान बुटी खोज्न गए । विन्ध्याचल पर्वतमा हनुमान घुमे, थुप्रै औषधीमुलोहरु थिए तर उनले सञ्जीवनी बुटी कुन हो छुट्याउनै सकेनन् र पूरै पर्वत नै बोकेर आएका थिए । त्यस्तै यहाँ थुप्रै कार्यक्रमहरु, पुराना कार्यक्रमका निरन्तरताहरु छन् । कुन ठीक हो, कुन बेठीक हो, कुन राम्रो हो, कुन नराम्रो हो त्यो चाहीँ ख्यालै नगरिकन अर्थमन्त्रीजी पुराना कार्यक्रमहरुका, मलाई लाग्छ जुन २००८ सालदेखिका कार्यक्रमहरु थिए, विन्ध्याचल पर्वत नै बोकेर खडा भएको जस्तो मलाई अनुभुति भयो ।

त्यसैले मुख्य समस्या फोकसको समस्या हो । फोकसको समस्या, प्राथमिकताको समस्या हुनुको पछाडि एउटा चिन्तन र दृष्टिकोणकै समस्या रह्यो कि भन्ने मलाई लाग्छ ।

यसमा म धेरै नगइकन के भन्न चाहन्छु भने यदि मैले बजेट पेश गर्ने अवसर पाएको भए, यो युगको पहिलो नयाँ बजेट पेश गर्ने अवसर तपाईँ हामी मध्ये कसैले पाएको भए हामीले हिजोकै फरम्याट पछ्याइरहनु आवश्यकता थिएन । फरम्याट पनि नयाँ बनाउनुपर्छ भन्ने मान्यता म राख्छु । सबैभन्दा पिछडिएको हाम्रो अर्थतन्त्र छ, अहिले पनि एक हजार डलर प्रतिव्यक्ति आम्दानी भएको हाम्रो अर्थतन्त्र छ, कृषिमाथि आधारित, ग्रामीण क्षेत्रमाथि आधारित अत्यन्त ग्रामीण र कृषिमुखी जुन अर्थतन्त्र छ यसका समस्या के हुन् ? यसका सम्भावना के हुन् ? यसलाई राम्रोसँग पहिले केलाउनुपर्छ ।

हाम्रो लक्ष्य ठीकठीकै निर्धारण छ – हामीले यो वर्ष ८ प्रतिशत लक्ष्य हासिल गर्नुपर्छ, पाँच वर्षपछि हामीले हाम्रो आम्दानी दोब्बर गर्नुपर्छ, कृषिलाई दोब्बर गर्नुपर्छ, दुईवर्षमा पर्यटक संख्या दोब्बर गर्दिनुपर्छ भन्ने कुरा अत्यन्त राम्रा छन् । म त भन्छु त्यतिमात्रै किन यो भन्दा अझ बढी सपना देख्नुपर्छ । तर त्यहाँसम्म पुग्नको निम्ति कुन बाटोबाट हामी जाने हो भन्ने कुरामा यहाँनेर प्रष्टता भएन । हामी एक प्रकारको जुन वैचारिक पिँजडा छ त्यसमा बाँधियौँ जस्तो लाग्छ ।

मैले यहाँ सुन्दाखेरी नव उदारवादी पिँजडाभित्रबाट एकथरी साथीहरुले यसको आलोचना र समर्थन गरेको, अर्कोतिरबाट हिजोकै राज्यकेन्द्रित, राज्यनियन्त्रित समाजवाद अथवा स्टालिनको पालादेखि राज्यले अर्थतन्त्रलाई सबथोक नियन्त्रण गर्ने  भन्ने समाजवादको  जुन पुरानो मोडेल छ त्यो पिँजडाभित्र रहेर छलफल हुन खोजेको जस्तो र अर्थमन्त्रीजी कतैकतै यो दुईवटा पिँजडाको बीचमा अल्झिएजस्तो मलाई अनुभुति भयो ।

त्यसैले अहिले हामीले हाम्रो बाटो स्पष्ट गर्नुपर्छ । त्यो बाटो भनेको अहिलेको यो चरणमा हामीले जुन कृषिप्रधान, ग्रामीणप्रधान अर्थतन्त्र छ, सामन्तवादको अवशेष रहेको जुन अर्थतन्त्र छ यसलाई तीब्र आर्थिक विकास गरेर, आर्थिक वृद्धि हासिल गरेर, त्यो भनेको दुई दशकसम्म दुई अंकको आर्थिक बृद्धिदर हासिल गर्ने, यसको औद्योगिक पुँजीवादी रुपान्तरण गर्ने नै हो । त्यो नै हाम्रो मुख्य अहिलेको लक्ष्य हो ।

त्यो प्राप्त गर्नको निम्ति पनि हामीले सामाजिक सुरक्षा लगायतका सामाजिक न्यायका कुरालाई सहयोगी बनाउनु पर्दछ भन्ने कुरालाई स्पष्ट राखेर दुई दशकसम्म निरन्तर दुई अंकको आर्थिक वृद्धिदर हासिल गर्ने ढंगले हामी जानुपर्‍थ्यो, त्यो हुन सकेन । अर्थमन्त्रीजी कहीँ त्यहीँनेर अल्मलिनुभयो । उता ढल्किदाँ यतापट्टीको डर, यता ढल्किदा उतापट्टीको डर भनेजस्तो उहाँ बीचमा उभिनुभयो । बीचमा उभिँदा न यता न उता, न हाँसको चाल न कौवाको चाल जस्तो बन्न पुग्यो । वैचारिक सोंच र भिजन दुबैको हिसाबले त्यहाँ त्रुटि हुनपुग्यो र मूलमा नै समस्या परिसकेपछि, मूल नै धमिलो भएपछि तल स्वत: नै धमिलो हुन्छ । त्यसैले गर्दा बजेट जुन ढंगले आउनुपर्‍थ्यो यो आउन सकेन । हामी त्यसरी अब अल्झिन जरुरत छैन ।

हामीले समात्ने बाटो भनेको समाजवादउन्मुख राष्ट्रिय औद्योगिक पुँजीवादको विकास गर्ने नै हो । नवउदारवादी बाटो होस् अथवा माक्र्सेली राज्यकेन्द्रित समाजवादी बाटो होस् दुइटै बाटोले यसमा अन्यथा मान्नुपर्ने केही छैन । यो भन्दा माथि उठ्न हामी सक्नुपर्छ । यसको अस्पष्टता यहाँ रह्यो भनेर म भन्न चाहन्छु । अब हाम्रो बाटो के हो त, के के विषयलाई प्राथमिकता दिनुपर्छ त भन्ने विषयमा अनेक मोडलहरु छन् ।

यूरोप र अमेरिका, चीन र रुसका मोडेलहरु पुराना भए, हामीसँग सन्दर्भ मिल्दैन । हामीसँग मिल्ने मोडेलहरु भनेका पूर्वी एशिया, दक्षिण–पूर्वी एशिया, अफ्रिका र भारत लगायत देशमा लागू भएका विकासका मोडेल हुन् । त्यसबाट हामीले सिक्ने हो । ती मध्येमा पनि पूर्वी एशिया र दक्षिण–पूर्वी एशियाको विकासको मोडेलबारे पछिल्ला चरणमा, जुन एउटा एशियन टाइगर्सको रुपमा आए, एउटा एशियन मिराकल भएर उनीहरु आए, तिनीहरुको विषयमा विद्वानहरुले ठूला तुलनात्मक अध्ययनहरु गरेका छन् ।

त्यसरी हेर्दा मेरो विचारमा हामीलाई काम लाग्ने मोडेल भनेको पूर्वी एशियाली मोडेल हो खाली चीन, कोरिया, जापान, ताइवानलगायतका देशले अपनाएको मोडेल हामीसँग मिल्दो जुल्दो हुन्छ । हङकङ र सिंगापुरको मोडेल होइन, ती चाँही एउटा टापु बन्दरगाह देशमात्रै भएकोले तिनको मोडेल हामीसँग मिल्दैन । मलेशिया, इथियोपियाका मोडेलहरु केही हदसम्म हामीसँग मिल्छ । त्यसरी हेर्दा हामीले हाम्रो बाटो पहिल्याउन सक्नुपर्छ ।

त्यसको निम्ति म दुईतीनवटा विषयमा आउँछु । एउटा, पुँजी निर्माण गर्ने । पुँजीको अल्पता छ हामीकहाँ, त्यो कसरी निर्माण गर्न सक्छौँ ? पुँजी खर्च कसरी बढाउन सक्छौँ ? भनेर जसरी हामी जान पर्‍थ्यो तर यो बजेटमा हिजोकै निरन्तरतामा पुँजीगत खर्चमा २४ प्रतिशत छ, ब्याजको ऋण १२ प्रतिशत जान्छ, ३६ प्रतिशत गयो र बाँकी जुन ६४ प्रतिशत छ त्यो चाँही हाम्रो सामान्य साधारण खर्च नियमित खर्चमा हामी विताउँछौँ ।

यसरी एकचौथाइ मात्रै विकास खर्च लगाएर कसरी हामीले दुईअंकको आर्थिक बृद्धिदर हासिल गर्न सक्छौँ ? यो सम्भवै छैन । दुईअंकको आर्थिक वृद्धिदर हासिल गर्ने हो भने  हामीले कूल गार्हस्थ उत्पादनको ३५–४० प्रतिशत खर्च गर्नुपर्दछ । त्यो भनेको अहिले हाम्रो हिसाबले १२ खर्ब विकासमा खर्च गर्नुपर्छ । हामीले राज्यको तर्फबाट सबै गर्न नसकौँला, कमसेकम आधा ६ खर्ब राज्यले खर्च गर्नुपर्छ । कमसेकम ३ खर्ब मात्र हामीले यहाँ विनियोजन गरेका छौँ र बाँकी ६ खर्ब निजी क्षेत्रबाट उत्प्रेरित गरेर लगानी गर्न सक्नुपर्‍थ्यो । यस्तो अल्पताबाट कसरी यो प्राप्त गर्न सक्छौँ ? हो कतिपय साथीहरुले अर्थमन्त्रीले वित्तीय अनुशासन कायम गर्नुभयो भनेर पनि प्रशंसा गर्नुभएको छ । यो अन्तर्राष्ट्रिय मुद्राकोषले निर्धारण गरेको कथित ‘फिनान्सियल डिसिप्लिन’ छ, त्यो हामीले पालना गर्नु जरुरी छैन ।

त्यो भनेको कति तिम्रो आम्दानी छ त्यो भित्र मात्र रहेर तिमीले खर्च गर भन्ने तरिकाले ऋणदाता देशहरुले हामीमाथि लादेको अवधारणा हो । किनकी उनीहरुले एउटा गरीबलाई ऋण दियो भने तिर्न सक्दैन भनेर यो भन्दा बढी ऋण लिन हुँदैन, ऋण दिन पाइँदैन, तैँले यति मात्र ऋण लिनु भनेर बाँधेका छन् । हामी त्यसमा बाँधिनु जरुरी छैन ।

हामीले अहिले जुन राजश्व उठाएका छौँ त्यसले त हाम्रो सामान्य खर्च गर्न पनि पुगेको छैन । ३१ अर्ब हामीले उठाएको राजश्वले सामान्य खर्च त पूरा गर्न सकेका छैनौँ बाँकी त हामीले ऋण लिइरहेका छौँ । हामीले आन्तरिक ऋण लिएर निजी क्षेत्रको बजार संकुचन हुन पुग्छ, त्यसले नै तरलता अभाव भएको हामीले देखिरहेका छौँ ।

ऋण नै लिनु छ भने हामीले वाह्य रुपमा प्रशस्त मात्रामा जुन अहिले सहुलियत दरको ऋण प्राप्त हुन्छ, एशियाली पूर्वाधार बैंक छ, विभिन्न खालका एक्जिम बैँकहरु छन् तीनले एक प्रतिशत भन्दा सस्तो ब्याजदरमा ऋण दिन्छन् भने हामीले त्यो ऋण ल्याएर किन ठूला विकासका परियोजना शुरु नगर्ने ? सबै देशले त्यो गरिरहेका छन् ।

हामीमाथि के भ्रम छरिँदैछ भने ऋण लिएर हामीले विकास गर्न हुँदैन । तर सबैभन्दा ठूलो अर्थतन्त्र, सबैभन्दा विकसित अमेरिका सबैभन्दा बढी ऋणमा छ । अमेरिकाले ऋण लिएर चलाउन हुने तर हामीले ऋण लिएर चलाउन नहुने हुन्छ ? बरु हामीले भिख माग्न हुँदैन । हाम्रो समस्या के हो भने खाली अनुदान भनिरहेका छौँ । अनुदान भन्नेवित्तिकै त्यहाँ अनेकन शर्तहरु राखिएका हुन्छन्, हाम्रो प्राथमिकता अनुसार पनि त्यो हुँदैन, लागू गराउन पनि यति धेरै शर्तहरु राख्छन् की प्रत्येक वर्ष हेर्नुभयो भने उनीहरुले भनेको अनुदानको ५० प्रतिशत पनि हामीले खर्च गर्न सकिरहेका हुँदैनौँ किनकी यति धेरै शर्त राख्छन् कि पूरा गर्नै सकिँदैन ।

यति गर १० प्रतिशत दिन्छु, फेरि यति गर १५ प्रतिशत दिन्छु भन्दाभन्दै हाम्रो काम गर्ने तौरतरिकासँग मेल नै खाँदैन त्यसैले अनुदान भनेर जुन प्रतिवद्धता व्यक्त गर्छन् त्यसको ५० प्रतिशत पनि हामीले कहिल्यै पनि खर्च गर्दैनौ ।

त्यसैले मैले यहाँ जोड दिन खोजेको कुरा के हो भने पुँजी निर्माण र आन्तरिक पुँजी सञ्चयमा ध्यान नपुग्दा बाह्य सहुलियत दरको ऋण लिने हो, हामीले माग्ने होइन, अनुदान लिने होइन । हामीले सहुलियत दरको ऋण ल्याएर विकास खर्च गर्नुपर्छ, त्यो बाटो जाने आँट गर्नुपर्छ । त्यो चाँही यहाँ अर्थमन्त्रीले देखाउन सक्नुभएको छैन ।

यसैगरी अरु थुप्रै कार्यक्रमहरुका निरन्तरता छन्, छरिएर रहेका छन् । मैले अघि भनिसकें हनुमानले विन्ध्याचल पर्वत ल्याएजस्तो हुँदैन । अब अहिले विभिन्न ढंगले नीतिगत रुपले पनि अस्पष्टता देख्छु । कुन बाटो जाने हो, पुँजीवादी बाटो हो की समाजवादी बाटो हो भन्नेमा अर्थमन्त्री अल्मलिरहनुभएको छ । निजी क्षेत्रले गर्नुपर्ने काम चाहीँ राज्यले गर्न खोजेजस्तो गर्नुभएको छ र राज्यले गर्नुपर्ने काम चाहिँ निजी क्षेत्रलाई छोडेजस्तो गर्नुभएको छ । उदाहरणको निम्ति, शिक्षा र स्वास्थ्य आधारभूत कुरा हुन्, हाम्रो संविधानले सबैको मौलिक अधिकार भनेको छ । मान्छेको मौलिक अधिकारमात्र होइन, सामाजिक न्यायको निम्ति र उत्पादक शक्तिको विकासको निम्ति पनि स्वच्छ र दक्ष जनशक्ति भए मात्रै विकास हुन्छ । त्यसमा राज्यले लगानी गर्ने हो, राज्यले दायित्व लिने हो ।

यो हाम्रो द्वैध स्वास्थ्य र शिक्षा प्रणाली छ यसमा राज्यले दायित्व लिने, निजी क्षेत्रलाई अन्यत्र लगानी गर्न आकर्षित गर्ने, शिक्षा र स्वास्थ्य क्षेत्रबाट क्रमश: उसलाई विमुख गराउने भन्ने नीतिअनुसार मेरै पालामा शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा कर लगाइएको थियो । त्यसबाट शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्ने निजी क्षेत्र छ, उनीहरुको पनि एकाउण्टीङ भएर बस्छ र सँगसँगै उनीहरुले केही बढी मुनाफा कमाउँछन् त्यसबाट केही सार्वजनिक शिक्षा र स्वास्थ्य क्षेत्रमा मद्दत पुग्छ भनेर लगाइएको थियो । त्यो आलटाल हुँदै आयो, यतिका वर्षसम्म के के गरियो र अहिले आएर यसलाई खारेजी गर्नेतर्फ वहाँ जानुभएको छ, उल्टो दिशातिर उहाँ जानुभएको छ ।

यसरी शिक्षा र स्वास्थ्य क्षेत्र निजीकरण गर्ने जुन गलत प्रतिगामी बाटो लिइरहनुभएको छ, यो समाजवादसँग कहाँनेर मेल खान्छ ? यो कस्तो समाजवाद हो ?  म यहिँनेर कतापट्टि आग्रह गर्न चाहन्छु भने निजी क्षेत्रलाई जसरी प्रशय गरिनुपर्ने छ त्यहाँ चाहीँ वहाँले उल्टो गर्नुभएको छ । मैले शुरुमै भनेको थिएँ, सुझाव माग्दा पनि मैले भनेको थिएँ, एउटै नारा बनाउनुहोस ‘नाफा कमाउ, कर तिर’ । यत्ति भने हुन्छ ।

कुनै पनि नाफामा हामीले अनावश्यक वन्देज लगाइराख्न हुँदैन । शुरुशुरुको चरणमा छौँ, उद्यमशीलता भर्खर भर्खर बढ्दैछ । साना उद्यमीहरु भर्खरै बजारमा आउँदैछन् । स्टक एक्सचेञ्ज जुन हाम्रो छ त्यसको पनि राम्ररी विकास हुन सकिरहेको छैन । त्यसैले धेरैलाई, साना बचतकर्ताहरुलाई पनि बजारमा आउन अभिप्रेरित गर्ने, लगानी गर्न अभिप्रेरित गर्ने गर्नुपर्छ र कुनै पनि प्रकारको बन्देज राख्न आवश्यक छैन भनिएको थियो । उल्टो पुँजीगत लाभकर बढाउनुभएको छ ।

स्टक एक्सचेञ्जको पनि पुँजीगत लाभकर ५ प्रतिशतको सट्टा ७.५ प्रतिशत भन्नुभएको छ । यो किन बढाउनु परेको हो ? त्यो त नभए पनि हुन्छ भन्ने मेरो भनाइ हो । उल्टो ब्रोकरलाई भ्याट लगाइएको थियो ब्रोकरको भ्याट चाहिँ हटाउनुभएको छ भने यो गर्न खोजेको के हो ? संगति पनि त्यहाँनेर देखा पर्दैन । निजी क्षेत्रलाई पुँजी लगानी गर्नको निम्ति, नाफा कमाउनको निम्ति जुन प्रशय दिनुपर्‍थ्यो त्यहाँ उहाँले कुण्ठित गर्नुभएको छ । र शिक्षा क्षेत्रमा, स्वास्थ्य क्षेत्रमा खुल्ला छोड्दिनुभएको छ भने यो उल्टो बाटो भयो । यो न समाजवाद भयो, न पुँजीवाद भयो । यो हाँसको चाल न कौवाको चाल भयो । त्यसैले म यतापट्टि ध्यान पुगोस् भन्ने ठान्छु । न समाजवाद न पुँजीवाद, यो त क्रोनि क्यापिटालिज्म, आसेपासेवादलाई पो प्रशय दिन खोजिएको त हैन भन्ने मलाई आशंका छ । यही बाटो हिड्यौँ भने खालि आसेपासे आफन्त पोस्ने, कमिशनखोरी बढाउने, भ्रष्टाचार बढाउने र केही मान्छे सम्पन्न हुने, देश चाहीँ विपन्न हुने दिशातिर जाने खतरा छ । त्यसैले यतातिर ध्यान पुगोस ।

अब के गर्ने त भन्नेमा आउँछु । टेकअफ गर्ने हो र साँच्चिकै दुई अंकको आर्थिक वृद्धिदर निरन्तर दुई दशक हासिल गरेर नेपालमा राष्ट्रिय औद्योगिक पुँजीको निर्माण गर्दै समाजवादतिर हामी जाने हो भने पुँजीवादको विकासका तीनवटा तत्वहरु हुन्छन, एउटा पुँजी, अर्को श्रम र तेश्रो बजार । त्यसैले पुँजीको निर्माणबारे मैले भनिसकेँ, देशभित्रको आन्तरिक पुँजी सञ्चय गर्न, संकलन गर्न र लगानी गर्न अभिप्रेरित गर्नु पर्दछ । बचतको निम्ति वातावरण बनाउनु पर्दछ ।

हामीले फजुल खर्च गरिरहेका छौँ । विवाह, भोज, भतेरमा म जान्छु, मलाई दिक्क लाग्छ । मान्छेले कहाँबाट त्यत्रो पैसा ल्याउँछ ? सामान्य मान्छे हुन्छ, सामान्य जागिरे हुन्छ सामान्य किसान र व्यापार गरिरहेको हुन्छ । १०–२० लाख भोज भतेरमा खर्च गरिरहेको हुन्छ । बरु कर नै लगाउने हो भने त्यसलाई हामीले किन अंकुश नलगाउने ? हामी सुन, जग्गा जस्ता कुराहरु ओगटेर राखेका छौँ । माननीय मन्त्रीज्यूहरुलाई अन्यथा नपरोस् वहाँहरु धेरैको सम्पत्ति विवरण हेरेँ, उहाँहरुले कति तोला सुन, जग्गा भनेर राख्नुभएको छ । यस्तो अनुत्पादक कुरामा किन हामीले लगानी गर्ने ? किन त्यो सम्पत्ति थुपार्ने ? बरु यसको सट्टा त शेयर लगानी गरौँ, अन्य व्यवसाय गरौँ, त्यसलाई प्रशय गरौँ न । त्यसो भयो भने उत्पादनमूलक क्षेत्रमा लगानी हुन्छ ।

त्यसलाई हामीले प्रशय दिऊँ, त्यसलाई कर नलगाऔँ । जसले अनुत्पादक क्षेत्रमा लगानी गर्छ, सुन लगायत क्षेत्रमा लगानी गर्छ त्यसमा कर बढी लगाऔँ । मैले नबुझेको कुरा वहाँले (अर्थमन्त्री) विदेशमा श्रम गरेर आउने नेपालीले प्रतिव्यक्ति १०० ग्राम काँचो सुन ल्याउन पाउने भनिएको छ । किन काँचो सुन ल्याउनु पर्‍यो बरु विदेशी मुद्रा यहाँ आउँथ्यो त्यसको सट्टा सुन ल्याएर हामीलाई केही लाभ हुन्छ ? युवाहरुले पैसा ल्याएर उद्योगमा लगानी गर्नको निम्ति प्रेरित पो गर्नु पर्‍थ्यो, तर हामीले सुन ल्याउन अभिप्रेरित गरेका छौँ । यहाँ चाहिँ हामीले बैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई सुन भरिया बनाउन खोजिरहेका छौँ, बेरोजगार युवाहरुलाई सुन भरिया बनाउन खोजिरहेका छौँ र सुन तस्करी मौलाउने दिशातिर अघि जान्छ भन्ने मलाई लागिरहेको छ ।

यसरी पुँजी निर्माण हुँदैन । आन्तरिक पुँजी र बाह्य पुँजी नल्याइ पनि हामीलाई हुँदैन । पुँजी ल्याउनको निम्ति जुन खालको प्रशय दिनुपर्दथ्यो त्यो दिइएको छैन, अत्यन्त अनिच्छा त्यहाँनेर म देख्छु । प्रत्यक्ष बैदेशिक लगानी नल्याइकन नेपालमा ठूला पूर्वाधार र उद्योगधन्दा खुल्दै खुल्दैन । शुरुको चरणमा सबैले त्यही गर्छन् । अरुको कुरा छोड्दिनुस, कम्युनिष्ट भन्ने चीनले त्यही गरेको हो । हामीले किन त्यहाँ संकोच मानेको ? त्यसमा हामीले विप्पा लगायत अर्कै केही नामको सम्झौता गरेर बाह्य पुँजी ल्याउने वातावरण ल्याउन पर्‍थ्यो त्यसमा मैले अनिच्छा देखेँ, यसले हुँदैन । त्यसको सँगसँगै सफ्ट लोनमा पुँजी ल्याएर पुँजीको जुन कमी हुन्छ त्यसलाई पूरा गर्नुपर्छ भन्ने म मान्यता राख्छु ।

दोश्रो, श्रम अथवा दक्ष श्रम शक्ति नै विकासको आधार हो । त्यसैले हाम्रा युवाहरुलाई राम्रो सीपमूलक शिक्षा दिने कुरामा नै हामीले मुख्य जोड दिनुपर्छ र बैज्ञानिक शिक्षा, प्राविधिक शिक्षा, विज्ञान र प्रविधिको रुपमा व्यापक विस्तार गर्नुपर्छ र त्यसरी मात्र दक्ष जनशक्ति निर्माण गर्न सक्छौँ । त्यसले मात्र विकासको आधार बनाउँछ ।

तेश्रो, आन्तरिक र बाह्य बजार हो । बाह्य बजार भन्दा मुख्य रुपमा हाम्रो आन्तरिक बजार नै हो । काठमाडौँ वरिपरि र केही विकसित ठाउँमा मात्रै जो हाम्रो उपभोग भैरहेको छ, त्यसले गर्दा विशाल हाम्रो ग्रामीण क्षेत्र गरीबीको दुष्चक्रमा परेर बसेको छ । त्यसैले खासगरी विभिन्न जातीय, क्षेत्रीय विपन्नताहरु छन्, विविधताहरु छन् । कर्णाली क्षेत्र, २ नम्बर प्रदेशको मधेस क्षेत्र धेरै गरीबीको दुष्चक्रमा फसेको छ त्यसलाई माथि नउकालेसम्म हाम्रो बजार विस्तार नै हुँदैन । जुन संघीयताको कुरा गरेका छौँ, संघीयतालाई राजनीतिक–अर्थशास्त्रीय दृष्टिकोणबाट पनि हेर्नुपर्‍यो । खालि एउटा राजनीतिक–सामाजिक कोणबाट मात्र हेरिरहेका छौँ, आर्थिक कोणबाट हेर्ने हो भने यो बजार विस्तारको निम्ति पनि संघीयता कार्यान्वयनको आवश्यक छ । त्यसको निम्ति हामीले प्रदेश र संघलाई बलियो बनाउने, त्यसमार्फत बढी खर्च गर्नेतिर हामी जानु पर्‍थ्यो । अब अहिलेको बजेटमा सामान्य त गरिएको छ, त्यसलाई म धेरै अन्यथा त भन्दिनँ तर पुग्दै पुगेन । हामीले स्थानीय तहलाई १४ प्रतिशत र प्रदेशलाई ९ प्रतिशत बजेट विनियोजन गरिरहेका छौँ भने एक चौथाई पनि बजेट हामीले तल दिइरहेका छैनौँ ।

तीन चौथाई माथि लिइरहेका छौँ भने यो त उही एकात्मक नै भएन ? त्यसैले तल स्थानीय तह र प्रदेशलाई बजेट धेरै विनियोजन नगरेसम्म तलको विकास हुँदैन । तलको विकास नभएसम्म माथि विकास हुँदैन । तल बजेट पठाउने भनेको त विरुवामा पानी हाल्ने भनेको हो । पानी तपाईँले जरामा हाल्नहुन्छ की पातमा हाल्नुहुन्छ ? हामी रुखको पाततिर पानी हालिरहेका छौँ । केन्द्रमा चाहीँ पैसा जम्मा पारिरहेका छौँ र तल पठाएपछि विग्रन्छ भनिरहेका छौँ । जरामा पानी नहालेसम्म रुख सप्रन्छ ? अर्थतन्त्रमा साँच्चै फड्को हान्ने हो भने हामीले साँच्चै तल स्थानीय तह र प्रदेशमा नै बढी बजेट विनियोजन गर्नुपर्दछ । अहिले कमसेकम ३५ प्रतिशत पुर्‍याएको भए हुन्थ्यो र पछि ५० प्रतिशत पुर्‍याउने ढंगले जानुपर्छ । त्यो नभएसम्म बजार विस्तार हुँदैन । अर्को कुरा भारत र चीनको मूल्य शृङ्खलासँग जोडेर नै हामीले हाम्रो अर्थतन्त्रको विकास गर्न सक्छौँ । हाम्रो निम्ति ठूलो अवसर पनि हो । त्यसैले हाम्रो अर्थतन्त्रलाई भारत र चीनको बजारले कसरी उपयोग गर्ने, कसरी जोड्ने भन्ने दिशातर्फ पनि ध्यान दिनु पर्दछ । त्यसको पनि त्यति जोडको साथ आएको छैन ।

म  के आग्रह गर्न चाहन्छु भने हामीले हाम्रा प्राथमिकता किटान गर्दा सामान्यतया त भएका त छन् तर अझै जोडका साथ म स्पष्टसँग राख्न के चाहन्छु भने हाम्रो प्राथमिकता किटान हामीले स्पष्ट ढंगले गर्नुपर्छ । त्यो भनेको कृषिप्रधान देश भएको हुनाले कृषि क्षेत्रको रुपान्तरण नै नेपालको यो चरणमा, म सधैँ भन्दिनँ, अहिलेको ६५ प्रतिशत श्रम शक्ति छ त्यसलाई २० प्रतिशतमा झार्न १०–१५ वर्ष कति लाग्छ त्यतिबेलासम्म कृषिक्षेत्र नै नेपालको विकासको नेतृत्वदायी क्षेत्र हुन्छ । यसैलाई ध्यानमा राख्दै यसको रुपान्तरणमा जानुपर्छ, यसमा कार्यक्रममा आएको छ, सकारात्मक छ तर त्यो पर्याप्त छैन ।

मुख्य भू–स्वामित्वको जुन प्रश्न हो, त्यो अहिले पनि उपयुक्त ढंगले परिचालन हुन सकिरहेको छैन । हिजो हामीले क्रान्तिकारी भूमिसुधार भन्थ्यौँ त्यो अहिलेको सन्दर्भमा सान्दर्भिक भएन भनेर बैज्ञानिक भूमिसुधार भनियो । बैज्ञानिक भूमिसुधार आयोगले प्रतिवेदन पनि दियो त्यसलाई किन कार्यान्वयन गर्न सकिँदैन ? अहिले दुईतिहाई बहुमतप्राप्त वामपन्थी सरकार छ, बैज्ञानिक भूमिसुधार कार्यक्रम लागू गर्छु भन्न किन नसकेको ? त्यो नगरी कृषि क्षेत्रमा कसरी क्रान्ति र परिवर्तन आउँछ ? कसरी औद्योगिक पुँजीको विकास हुन्छ ? त्यसैले त्यहाँ गम्भीर त्रुटि भएको छ ध्यान दिइयोस ।

त्यसरी नै सिँचाइको क्षेत्रमा सामान्य कुरा त गरिएको छ । कृषिको क्रान्तिको निम्ति सिँचाइ नै मुख्य कुरा हो । अहिले जम्मा २५ प्रतिशत खेतीयोग्य जमीनमा मात्र सिँचाइ छ त्यसलाई कमसेकम १०० प्रतिशत नभए पनि ७५ प्रतिशत पुर्‍याउने हो भने सिँचाइमा हामी व्यापक ढंगले जानुपर्छ । ठीक छ ठूला नदी, ड्राइभर्सन योजना बनाउनको लागि समय लाग्छ भने कमसेकम बिजुलीको व्यापकरुपमा उत्पादन गरेर हामीले लिफ्ट इरिगेशन किन नगर्ने ? पहाडका टारहरुमा पनि लिफ्ट इरिगेशन हुन सक्छ र तराईमा पनि डिप ट्युबेल र स्यालट ट्युबेल व्यापकरुपमा बनाएर सिँचाइ गर्न सक्यौँ भने कृषिमा एउटा ठूलो क्रान्ति आउँछ ।

२ र ५ नम्बर प्रदेशमा सबैभन्दा ठूलो र १ नम्बर प्रदेशमा क्रान्तिको आधार त्यो बन्न सक्छ त्यतापट्टि पनि जोड पुगेन । दोश्रो भनेको उद्योग क्षेत्रमा नै हो हामीले गर्ने । उद्योग भनेपछि पर्यटन पनि त्यसमै आउँछ । पर्यटनलाई पनि म सेवा उद्योगको रुपमा लिन चाहन्छु र नेपालमा उत्पादनमूलक उद्योग र पर्यटन यी दुईवटालाई हाम्रो अर्थतन्त्रको अहिलेको रुपमा सहायक र पछिल्लो समयमा नेतृत्व क्षेत्रको रुपमा अगाडि बढाउन सकेमा मात्रै दुई अंकको आर्थिक बृद्धिदर हासिल गर्न सकिन्छ ।

त्यसको निम्ति ठूला उद्योग त छँदैछ तर त्यो मुख्य होइन । स्मल एण्ड मिडियम इन्टरप्राइजेज नै हाम्रा निम्ति सबैभन्दा महत्वपूर्ण श्रोत हुन् । झण्डै ८० प्रतिशत उत्पादन र निर्यात पनि त्यस क्षेत्रबाट हुन्छ र त्यसको प्रवद्र्धनको निम्ति पनि जोड पुगेन । छ्वास्स छ्वास्स त भनियो, साना र मझौला उद्योगको प्रवद्र्धनको निम्ति जुन ढंगको सेवा सुविधा पुग्न पर्दथ्यो त्यो पुगेको छैन । हामीले उद्योगको विकासको नीतिमा पनि, निर्यात उद्योगमा ५ प्रतिशत अनुदान दिने भनेर दिशावोध त गरिएको छ त्यो त ठीक छ तर त्यो पर्याप्त छैन । हामीले निर्यातमूलक उद्योगको सँगसँगै आयात प्रतिस्थापन गर्ने उद्योग पनि र मूख्य रुपमा पछि गएर निर्यातमूलक उद्योगमा नै हामीले जोड दिनुपर्छ, त्यसमा ध्यान पुगोस् । र पर्यटनलाई बृद्धि गर्ने, दुई वर्षमा २० लाख पर्यटक संख्या पुर्‍याउने भन्ने कुरा त राम्रै छ तर त्यो अनुसार योजना आएन । खै त्यसको निम्ति पूर्वाधार चाहिएन ? त्यसको निम्ति निजगढको दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगरेसम्म हुँदैन ।

पाँच वर्ष अरु सबै एयरपोर्टको निर्माण रोके पनि केही फरक पर्दैन, काठमाडौँलाई अलिकति विस्तार गर्नुस र निजगढलाई सबैभन्दा पहिले बनाउनुस । एक अर्व रुपैयाँले निजगढ एयरपोर्ट बन्छ ? त्यसकारणले यो प्राथमिकता पुगेन । अरु क्षेत्रमा पनि धेरै ठाउँमा बजेट नछर्नुस्, प्रारम्भिक चरणमा हाम्रो धार्मिक पर्यटन र साहसिक पर्यटन एउटा कुरा हो भने खास खास ठाउँमा केन्द्रित गरेर पूर्वाधारतिर हामी लागौँ त्यसो भयो भने २० लाख मात्र होइन ५० लाख पर्यटक भित्र्याउन सकिन्छ । तर बजेट विनियोजन पुगेन । म यो टिप्पणी गर्न चाहन्छु ।

अर्को, वित्त क्षेत्रका विज्ञ हुनुभएका अर्थमन्त्रीबाट वित्तीय क्षेत्रको सुधारमा मैले अपेक्षा गरेको थिएँ । एउटा रेडिकल डिपार्चर हुने ढंगले एउटा क्रान्तिकारी परिवर्तन गर्ने ढंगले वहाँले योजना ल्याउनुहुन्छ भन्ने लागेको थियो, तर आएन । अहिलेका हाम्रा बैँकहरु भनेका हिजोका सुदखोर साहुहरुजस्ता हुन् । तिनले आफैँमा बैँकको कार्टेलिङ गर्ने, ब्याजदर आफैँ तय गर्ने, उनीहरुले भनेका खास खास क्षेत्रमा मात्र लगानी गर्ने र उत्पादनमूलक क्षेत्रमा लगानी नगर्ने जुन एउटा प्रवृत्ति छ यसलाई हामीले निर्ममतापूर्वक अन्त्य गर्नैपर्छ, उत्पादनसँग जोडिने कुरालाई जोड दिनैपर्छ । त्यसको निम्ति बैँकिङ क्षेत्रमा क्रान्तिकारी सुधार हामीले ल्याउनुपर्छ । त्यो चाहीँ भएन र यहाँनेर आएन ।

पूर्वाधारको हकमा बजेट विनियोजन भएको छ तर जोड र कोण पुगेन । म सडककै कुरा गर्न चाहन्छु,, सबैभन्दा पहिलो अहिले हामीलाई चाहिएको सडक नै हो । म सम्माननीय प्रधानमन्त्रीजीको उच्च सम्मान गर्दै वहाँले देखाउनुभएको सपनाप्रति म पनि नतमस्तक हुँदै सम्माननीय सभामुख महोदय मार्फत् म के आग्रह गर्न चाहन्छु भने हाम्रो प्राथमिकता के हो ? पानीजहाज हो की, रेलमार्ग हो की, हवाइमार्ग हो की, सडक हो ? यसमा हामी स्पष्ट हुनुपर्‍यो ।

सबै हामीलाई चाहिएको छ तर यतिबेला म भन्छु पहिलो प्राथमिकता सडक हो । दोश्रो हवाइमार्ग हो, त्यसपछि रेल र पानीजहाज सबैभन्दा पछाडि हो । हामी गज्याङमज्याङ गरेर सबैथोक एकैपटक गर्न खोज्छौँ । अलि घाँटी हेरेर हाड पनि निल्नु पर्‍यो । कुरामात्र गरिदिएर हुन्छ ? सडकमा पनि हामी थप्दै गइरहेका छौँ । उही पुराना सडक म लिस्ट हेर्छु, उही काम न काजका सडकहरुमा पनि बजेट भनेर राखिएका छन् । जुन रणनीतिक महत्वका सडकहरु छन् त्यसको वर्गीकरण छैन । मैले बुझे अनुसार पूर्व–पश्चिमका तिनवटा सडक हुलाकी मार्ग, पूर्व–पश्चिम लोकमार्ग र मध्यपहाडी लोकमार्ग यति तीनवटा लोकमार्ग पूरा गर्ने र उत्तर–दक्षिणमा कोशी–गण्डकी–कर्णाली–सेती लोकमार्ग यतिमा फोकस गरौँ न अनि अरुलाई पछि गरौँला ।

यो पनि गर्छु त्यो पनि गर्छु भनेर हुँदैन । काठमाडौँ उपत्यकामा मोनोरेल पनि यहीँ गर्ने, मेट्रोरेल पनि यहीँ गर्ने, केवलकार पनि यहीँ । सबैथोक किन काठमाडौँमा चाहियो ? मैले विज्ञहरुबाट बुझेअनुसार यहाँ चाहिने मेट्रोरेल हो । पहिले एउटा सार्वजनिक यातायात राम्रो गरौँ त्यसपछि हामीले मेट्रोरेल गरौँ, यो दशथरी किन गर्ने ? हामी त कस्ता मगन्ते भयौँ भने अर्काले दियो भने किन दियो फाइदा छ कि छैन त्यसै हात थापेर खाने, विषालु विष हो कि के हो ? दिएकै खाने भयौँ । त्यसैले यसो नगरौँ । पूर्वाधारको क्षेत्रमा पनि प्राथमिकतातिर जाऔँ । हामीले जोड दिने सडकमाथि नै हो, हवाइमार्ग नै हो । त्यस मध्येमा फास्ट ट्रयाक र निजगढ दोश्रो अन्तर्राष्ट्रिय विमानस्थललाई जोडका साथ हामीले पूरा गरौँ भन्ने आग्रह गर्न चाहन्छु । यसको सँगसँगै प्रत्येक स्थानीय तहका केन्द्रसम्म बाटो पुर्‍याऔँ । १२ महिना चल्ने बाटो ७५३ स्थानीय तहमा नै पुग्ने हुनुपर्‍यो ।

म एउटा गोरखाको पनि सांसद हुनुको नाताले यहाँ सबैलाई ध्यानाकर्षण गराउन चाहन्छु । हिमाल भन्दा पारी पनि गोरखा जिल्ला छ, हिमाल भन्दा पारीको गोरखा रसुवा, मनाङ, मुस्ताङ बराबरको छ भन्ने धेरै मान्छेलाई थाहा छैन र गोरखा भनेकै दक्षिणको भन्ने ठान्दछन् । त्यो भन्दा परको पहिले लार्केबोट भनिन्थ्यो अहिले चुम्नुब्री भनिन्छ त्यो रसुवा, मनाङ, मुस्ताङ जत्तिकै ठूलो छ तर त्यहाँ अहिलेसम्म बाटो गएको छैन । त्यहाँ बाटो लैजानको निम्ति मैले बेनिघाट–आरुघाट–लार्के सडकको बजेट २०६५ सालमा राखेको थिएँ, १० वर्ष भैसक्यो त्यो बाटो अहिलेसम्म एक तिहाइ पनि पूरा भएको छैन । किनकी जम्मा ८ करोड मात्र बजेट विनियोजन भएको छ । सय किलोमिटरभन्दा बढीको सडक छ २५–३० अर्ब रुपैयाँ कति लाग्छ तर तपाईँले ८ करोड बजेट राख्नुहुन्छ अनि त्यस ठाउँमा कहिले बाटो पुग्छ ? यस्ता विषयमा ध्यान पुग्नु पर्‍यो । कर्णालीका कतिपय डोल्पा, मुगु, हुम्ला लगायतका जिल्लामा कुराहरु आएका थिए त्यस्ता ठाउँमा बाटो पुर्‍याउने र १२ महिना चल्ने बाटोमा प्राथमिकता दिऔँ । यसमा ध्यान पुगोस्  ।

त्यसपछि उर्जा नै हो, उर्जामा हामीले खालि निर्यातमुखी उर्जाको मात्र कुरा नगरौँ । अब त्यो पुरानो भैसक्यो, उर्जा भनेको वास्तवमा प्रांगारिक उत्पादन हो, प्राथमिक वस्तु हो, त्यसको निर्यातबाट खासै लाभ हुने पनि भएन र यो सिद्धिँदै पनि छ । खासमा हामीलाई त्यति लाभ पनि भैरहेको छैन । आन्तरिक खपतको निम्ति नै उर्जा उत्पादन गर्नेतर्फ हामी जाऔँ । त्यसको निम्ति बुढीगण्डकी लगायतका जलाशययुक्त योजनाहरु छन् त्यसलाई छिटो पूरा गर्नेतर्फ हामी जानुपर्‍यो । अहिलेको बजेटमा बडो निर्माण प्रक्रिया अगाडि बढाइनेछ भनेर अमूर्त ढंगले राखिएको छ यो के हो कसरी अगाडि बढाउने भनेको हो ? त्यो आफैँले बनाउने भनेर शुरु गरिएको छ त्यो गर्न खोजिएको हो की फेरी पनि कुनै एउटा विवादास्पद कम्पनीलाई दिन खोजिएको हो, त्यो प्रष्ट छैन । त्यसैले हाम्रो आन्तरिक खपतमा नै केन्द्रित भएर जलाशययुक्त योजनाहरुमा हामी केन्द्रित गरौँ । हाम्रो आन्तरिक खपतको लागि १५ हजार देखि २० हजार मेगावाट पूरा गर्नको निम्ति पहिले केन्द्रित बनौँ । यति म सुझाव दिन चाहन्छु ।

शिक्षाको क्षेत्रमा मैले अघि पनि भने शिक्षामा आमूल परिवर्तन क्रान्ति नल्याइकन समृद्ध नेपाल बन्दैन । दक्ष जनशक्ति विना यो देशको विकास हुँदैन । त्यसमा जुन ढंगको आउनुपर्दथ्यो त्यो ढंगको आएन । केही त आएको छ, तर बजेट विनियोजन पुगेन । सबै तहमा प्राविधिक शिक्षालय खोल्ने भनिएको थियो । मैले सोचेको थिएँ ७५३ वटा तहमा नै होला नभए आधामा त होला भन्ने ठानेको थिएँ । जम्मा ८४ करोड मात्र बजेट आएको छ । ८४ करोडले सबै तहसम्म प्राविधिक शिक्षा पुग्छ ? त्यसैले बजेट विनियोजनमा त्यो कन्जुस्याइँ गरेपछि भन्नको निम्ति भन्नुको के अर्थ भयो ? त्यसैले शिक्षा क्षेत्रमा आमूल परिवर्तन हुनैपर्छ र हामीले आइटी सेक्टर, अनुसन्धान र विकासको क्षेत्रमा पनि लगानी गर्नुपर्छ । जुन देशको विकास भएको छ तपार्इँहरु हेर्नुहोस् दक्ष जनशक्ति र प्राविधिक क्षेत्रको विकास नगरेसम्म अध्ययन अनुसन्धानमा विकास नगरेसम्म, लगानी नगरेसम्म कुनै पनि देशको विकास भएको छैन । त्यसको निम्ति कूल गार्हस्थ उत्पादनको कमसेकम ३ प्रतिशत लगानी गर्नुपर्ने हुन्छ तर यहाँ बजेटमा नाम निशान छैन, यसतर्फ बढी ध्यान पुगोस् ।

अरु विषय ठीकै छन् । प्रशासनिक क्षेत्रको आमूल परिवर्तनको आवश्यकता छ भनेर मैले भनेको थिएँ, त्यो बारेमा पनि बजेटमा आएन । कर प्रशासनमा फेरि पनि टाक्कन टुक्कन मात्र कुरा आए । करको दर होइन दायरा बढाऔँ भन्दछु । यतिबेला यो जुन आयकरको कुरा छ, कमाउन दिनुहोस भन्छु । बरु फजुल खर्च रोक्नुस, सुन र जग्गामा लगानी गर्ने काम रोक्नुस तर अन्त लगानी गरेर नाफा कमाउनुहुन्छ भने कमाउनुहोस भन्नुपर्छ । आयकरको दर जुन ढंगले बढाइएको छ, त्यसले उत्साहीत गर्छ जस्तो मलाई लाग्दैन । कर्मचारी प्रशासनको हकमा पनि तपाईँले पूनर्सँरचना गर्नुपर्दथ्यो त्यो गर्नुभएन र कर्मचारीहरुको जुन अहिले तलब छ त्यो पनि बढाइदिनुपर्दथ्यो । १५–२० हजार तलबले के पुग्छ भन्नुहोस त ? जसले घरभाडा पनि आउँदैन अनि कर्मचारीले कुन मनोबलले काम गर्छ ? त्यसलाई डबल बनाउने हिम्मत गनुपर्दथ्यो । यसै ऋण खोज्नु उसै ऋण खोज्नु यो ऋण नै खोज्नुस न तर मनोबल बढाउने ढंगले जानु पर्दथ्यो त्यहाँ पनि पुगेन ।

सामाजिक सुरक्षाको क्षेत्रमा ठीकै छ । वीमा लगायतलाई बढावा दिने कुरा ठीकै छ । तर छुटेको कुरा म के देख्छु भने शहीद र वेपत्ता परिवारहरुको कुरा छुटेको छ । यत्रो त्याग र बलिदानबाट जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन, जनजाति आन्दोलनबाट हामी यहाँ पुगेका छौँ भने तिनका शहीद बेपत्ताहरुका परिवारको जुन विचल्ली छ तिनको विषयमा उदारतापूर्वक बजेटमा आउनुपर्ने थियो त्यो आएन, त्यो कमजोरी रह्यो । त्यसरी नै अपांगता भएका व्यक्तिहरु खासगरी स्पाइनल इन्जुरी भएका व्यक्तिहरु र ज्येष्ठ नागरिकहरुको जिम्मा राज्यले लिनुपर्छ । अरुलाई बरु रोजगारीको व्यवस्था गरौँ, सामाजिक सुरक्षा दिन परेन, शिक्षा स्वास्थ्यको व्यवस्था गरे पुग्छ । तर हाम्रा आदरणीय बुवा आमाहरु जसले यहाँसम्म आउनको निम्ति यत्रो त्याग र बलिदान गर्नुभयो, ज्येष्ठ नागरिकहरुलाई सामाजिक सुरक्षाको राम्रो व्यवस्था गर्नुपर्दथ्यो यसको राम्रो व्यवस्था यहाँ भएन । यहाँहरुले आफ्नै चुनावी घोषणापत्रमा प्रतिवद्धता गरेको कुरा पनि किन राख्न सक्नुभएन ? मलाई अच्चम्म लागेको छ । त्यसैले त्यसलाई तपाईँहरुले ध्यान दिनैपर्छ । अपांगता भएका व्यक्तिहरुको हकमा अपांगता र ज्येष्ठ नागरिकहरुको ख्याल हामीले राख्नैपर्छ, त्यहाँ चुकेकै छ ।

अब अन्त्यमा, एउटा पाटो बहसको निम्ति म उठाउन चाहन्छु । भारतसँगको खुला सीमाना र हाम्रो मुद्रा जुन ऊसँग स्थीर मूल्यमा जोडिएको छ त्यो विषयमा पनि के गर्ने हो ? अहिले नै त म भन्दिनँ तर एउटा विषय प्रवेश गरोस् भन्ने म सम्माननीय सभामुख महोदयमार्फत् आग्रह गर्न चाहन्छु । जबसम्म भारत र हाम्रो अर्थतन्त्रको विकासस्तरमा यति ठूलो अन्तर छ, व्यापार घाटा यति धेरै छ, प्राविधिक आदि हिसावले पनि उनीहरुको विकासस्तर हामीभन्दा धेरै माथि पुगिसक्यो । यस्तो अवस्थामा खुल्ला सीमाना राखेर यसले मूल्यमा पार्ने प्रभाव र अन्य अनधिकृत प्रकारको जुन व्यापार हुने गर्छ त्यसले हाम्रो अर्थतन्त्रलाई कसरी अगाडि बढाउला ? त्यसको निम्ति राम्ररी इपिजी मार्फत् छलफल गरेर वहाँहरुको पनि सुरक्षाको चासो छ, उहाँहरुको सुरक्षा चासो र हाम्रो आर्थिक विकासको चासोलाई मध्यनजर गर्दै सीमानालाई व्यवस्थित गर्ने ढंगले हामी जानुपर्दछ । यो मुद्राको भूक्तानीको प्रश्न छ, यो कत्तिको लाभदायक छ म त्यसको ज्ञाता त होइन तर यो विषयमा पनि छलफल गरेर टुंग्याउनेतिर जाओस भन्ने म चाहन्छु ।

अन्त्यमा एकजना विद्धानले भनेका छन् ‘इफ यु डु ह्वाट यु ह्याब अलवेज डन, यु विल गेट ह्वाट यु ह्याब अलवेज गटन’ । यदि तपाईँले जे गर्दै आउनुभएको छ, त्यही कुरा गरिराख्नुभयो भने तपाईँले त्यही पाउनुहुन्छ जुन तपाईँले सधैँ पाउँदै आइराख्नुभएको छ । हामीले गरीबी, बेरोजगारी र पछौटेपन पाउँदै आइरहेका छौँ । हामीले त्यसबाट मुक्ति पाउने हो भने त्यसबाट मुक्ति पाउने काम पनि हामीले फरक ढंगले गर्नुपर्दछ । त्यो दिशामा अगाडि बढौँ ।

 

(२०७५ जेष्ठ १८ गते प्रतिनिधिसभा बैठकमा पूर्वप्रधानमन्त्री तथा प्रतिनिधिसभा सदस्य बाबुराम भट्टराईले आ.व. २०७५/०७६ को वार्षिक बजेटमाथि गर्नुभएको टिप्पणीको सम्पादित अंश)