-बुढाथोकी गजेन-
बा हिसाब मिलेन, मिल्दै मिलेन
तपाईँको एटीएममा कति थियो
बचत
मायाँ, स्नेह, सुरक्षा, नैतिक धरातलको?
जतिखेर चाहियो
झिक्याैं मनलाग्दी
तपाईँले के खानु भयो?
कसरी खानु भयो?
कति खानु भयो?
सोधेनाैं कहिल्यै
भोक लाग्याे भन्याै
जुटाउनु भयो खाना
हाम्रै स्वादका ।
के लाउनु भयो?
ख्याल गरेनाैं कहिले
राम्रो नाना हामीले
पाइरह्याैं जहिल्यै
छाना जुटाउनु भयो कसरी?
चुहिँदा, तपाईँले थापेका हत्केलाबाट
तप्पतप्प सुरक्षा पो चुहिन्थ्यो ।
कहिले हलोका बिँडमा
कहिले जाँतेमा
कहिले अर्का जुठा भाँडामा
केबल हाम्रो सपना देख्नु भयो
अक्षर चिनाउने सपना
जब साक्षर भयाैं
अनि, तपाईँ नै पो झुत्रे देखिनु भयो
फाटेको टोपीका घेरामा
मलाई नै पो लाज लाग्ने भयो
तपाईँले ढाँट्नु भयो सँधैभरि
भोक लुकाउनु भयो
थकाइ लुकाउनु भयो
पीडा लुकाउनु भयो
संघर्ष लुकाउनु भयो
हाँसेर हामीलाई सँधै खुसी देखाउनु भयो
बा, हिसाब मिल्दै मिलेन ।
तैपनि
अहँ! तपाईको एटीएममा अझै
बाँकी थियो बचत
मायाँ घटेन कहिले,
स्नेह घटेन कहिले
पोहरकै कुरा त हो
खै कसले हो
बा! खानु हुन्छ कि भनेर
२ कोशा केरा दिएका दान
दाैराका फेरमा बाँधेर
नातिले खान्छ भनेर
ल्याइदिनु भएको ।
बा, हिसाब मिल्दै मिलेन
सक्तिन तिर्न
अहँ! पुग्दैन तिर्न कसैगरि
कति पो छ
तपाईको एटीएममा बचत?
-कुटी, बालुवाखानी, कपन